Connect with us

एजेण्डा

किन डुब्दैछ काठमाडौं ?

राजधानीमा बाढी र डुबानको समस्या अझ बिकराल हुन सक्छ । अब पूर्वसतर्कता अपनाउनु पर्छ ।

तीन दिनदेखि परेको अबिरल बर्षाका कारण मुलुक बाढी र डुबानमा परेको छ । बाढी र डुबानले भएको धनजनको क्षतिका विवरण बाहिर आइरहेका छन् । काठमाडौंमा पनि भारी वर्षा भएपछि खोला बस्तीमा पसे । होचो ठाउँका बस्तीहरु डुबानमा परेका छन् । शुक्रबार राजधानी त्राही त्राही बन्यो । गुडिरहेका र पार्किङ गरिएका गाडी डुब्नुका साथै धनजनको पनि क्षति भयो ।

किशोर थापा, पूर्वसचिव

शहरका बिचबाट बग्ने बाग्मति, विष्णुमति, हनुमन्ते, मनोहरा, धोबी खोला, कलंकीको खोलो बस्तीमा पसे । गत वर्ष भक्तपुरको हनुमन्ते खोला बस्तीमा पसेपछि भक्तपुर डुबेको थियो । धोबी खोला अनामनगरको बस्तीमा पसेको थयो । गत वर्षभन्दा यो वर्ष डुबान र बाढीको समस्या अझ विकराल बन्यो । यो समस्या घट्ने देखिदैन, अझ बढ्दै जानेवाला छ ।

काठमाडौं उपत्यका किन डुबानमा पर्न थाल्यो त ?

धेरै कारण छन् ।

पहिला पुर्खाहरु अग्लो ठाउँमा बस्थे । थुम्कातिर बस्ती बसेको हुन्थ्यो । होचो जमिनमा खेती गर्थे । होचो जमिनमा सिचाईंको पनि समस्या हुन्नथ्यो । बाढी वा डुबानमा पर्दा पनि ठूलो नोक्सानी हुँदैनथ्यो । पुर्खाहरु बाठा थिए, बठ्याईं गरे ।

पुर्खाले खेतीका लागि छुट्याएको होचो ठाउँमा अहले बस्तीले भरियो । खोलाका किनार, खोल्सा, कुलामाथि पनि घरहरु बन्न थाले । पानीको निकास साँघुरियो । अव्यवस्थित बस्ती विकासको परिणाम अब देखिन थालेको छ ।

कारण १

अव्यवस्थित बस्ती विकास मुख्य कारण हो । पछिल्लो समय काठमाडौंमा व्यवस्थित प्लानसहित बस्ती विकास भएको छैन । घर जग्गा व्यवसायीले बस्ती विकास गरिरहेका छन् । पानीको निकास नबनाई बसेको बस्ती डुबानमा परेका छन् । पानीलाई निर्बाध रुपमा बग्न दिनुपर्छ । कतिपय बस्तीमा साना हिम पाइप राखेर ढल बनाइएका छन जसले वर्षातको पानी थेग्न सक्दैनन् ।

बस्ती विकास गर्दा ढलको निकास दिन चुक्यौं । ढल पनि निकै साना बनाइयो । ढल निकासका लागि जमिनको स्लोप कतातिर छ, पानी कतातिर बग्छ, कता निकास दिने भनेर नसोँची ढल बनाइयो । जुन ढलबाट पानी बग्न सकेन । घर बाटो पनि यसरी बनाइयो कि जसले पानीको बहावलाई नै छेकिदिन थाले ।

कारण २

काठमाडौं उपत्यकाभित्र आधा दर्जन खोला बग्छन् । नदी नाला अतिक्रमण गरिएको छ । खोलाको किनारसम्म प्लटिङ गरेर घर बनाउँदा खोला साँघुरा बन्दै गइरहेका छन् । नदी बग्ने ठाउँ खुम्चिनु नै डुबानको अर्को मुख्य कारण हो । भक्तपुरको हनुमन्ते र कलंकीको खोलो बस्तीमा पसेर धनजनको क्षति पुराउनुको कारण नै खोलाको बाटो साँघुरो बनाइनु हो । खोलाको भाग अतिक्रमण गरेर घर बनाउने क्रम बढ्दो छ ।

कारण ३

काठमाडौंमा थुप्रै खोल्सा, कुलाहरु थिए । अहिले कुनै पनि खोल्सा र कुलो देखिदैनन् । खोल्सो र कुलोमाथि कि त सडक बनाइएको छ, कि त घर नै ठडाइएको छ । पहिलाका कुला र खोल्साहरु छोपिँदै छन् । कुलो र खोल्सा मासिँदै पानीको सहज निकास हुन सकेन । साँघुरा ढलले पानीको बहाब थेग्न सकेनन् । काठमाडौं उपत्यकाका बस्ती डुबानमा पर्नुको कारणमा खोल्सा र कुलोको अतिक्रम पनि देखिन्छ ।

कारण ४

धुले बाटो ग्राभेल भए, ग्राभेल बाटा पिच भए । खाली जमिनमा भवन ठडिए । त्यसो हुँदा पानी सोस्न पाएन । जमिनले पानी सोस्नु पथ्र्यो । हामीले गरेको ढलान र पिचले गर्दा पानी जमिनले सोस्नै सकेन । सतहबाट पानी बग्यो । जमिनमा पानी रिचार्ज भएन । जमिनले पानी सोस्दा पनि डुबान कम हुन्थ्यो । हामीले सबै ठाउँ टालिसक्यौं ।

कारण ५

हामीले व्यवस्थित ढल बनाउन सकेनौं । साँघुरा ढलले वर्षातको पानी थेग्न सकेनन् । पानी सडक र बस्तीबाट बग्न थाल्यो । ढल बनाउँदा पानी सोस्ने गरि बनाउन सकिन्थ्यो । तर हामीले छिटोभन्दा छिटो पानी बगोस भन्ने ढंगले ढल बनायौं । पानी सोस्ने किसिमको ढल नै छैनन् । पानी बग्दै जाँदा जमिनले पनि सोस्दै जानुपर्छ । यो किसिमको ढल बनाउन सकिन्छ ।

कारण ६

घरको कम्पाउन्ड वाल ठूूला बनाउँदा पनि डुबानको समस्या बढेको हो । ठूला पर्खाल बनाएपछि वर्षातको पानी छेकिन्छ । निर्वाध बग्न पाउँदैन । अनि घर डुबानमा पर्छ । घरको पर्खाल ग्रिलको बनाउँदा राम्रो हुन्छ ।

 

के गर्नुपर्छ ?

बस्ती डुबानमा परेपछि पनि उद्दारका लागि साँघुरा गल्लीका कारण समस्या देखिएको छ । अब होचो ठाउँका बासिन्दाहरु समयमै सचेत हुनुपर्ने देखिएको छ । किनकी डुबान र बाढी घट्नेवाला छैन, अझै बढ्दै जाने हो । भोलीका दिन अझ बिकराल हुन सक्छन् । अव्यवस्थित बस्ती बढेको बढ्यै छ । पानीको डुबानपूर्व नै सतर्कता अपनाउनु पर्छ । पुर्वतयारी गर्नुपर्छ ।

अब विपतको सामना गर्न पूर्वतयारी गर्ने बाहेर अर्को विकल्प देखिदैन । हामीले पानी बग्ने बाटो साँघुरो बनाइसक्यौं । कतिपय पानी बग्ने बाटो अतिक्रमण गरिसक्यौं । अब डुबान हुने ठाउँमा ठूल्ठूला पम्प रेडी अबस्थामा राख्नुपर्छ । ताकी बस्ती वा सडक डुबानमा पर्ने वित्तिकै पानी तानेर बाहिर फाल्न सकियोस् ।

शहरी विकास इञ्जिनिय र तथा पूर्वसचिव थापासँग गरेको कुराकानीमा आधारित ।

मा प्रकाशित
Continue Reading
1 Comment

1 Comment

  1. Nepali engineer

    July 15, 2019 at 12:57 am

    You yourself were the leader in urban planning in Kathmandu, Nepal and do you agree that you did not do the responsible thing while you had the resource, time and authority! What made you fail miserably in your assignments and yet you claim to be an expert now! Was it corrupt practices, was it your incompetency? I am ashamed of your service delivery and your turncoat attitude now identifying the reason kathmandu is flooded. There is only one reason! Incompetent and suspect experts like you, who made it worse for us and the future generations by your ineptitude!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!