Connect with us

एजेण्डा

क्रान्ती मर्दैमा सत्ता मर्दैन कामरेड

केपी ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’को लक्ष्य सत्तामा कब्जा जमाउनु हो ।

कामरेड घनश्याम भुसाल बारम्बार सवाल उठाइरहन्छन्,– …नत्र कम्युनिष्ट पार्टी मर्छ !

उनको सवालले गाउँमा अलि धेरै उद्वेलन पैदा गर्छ । किनभने गाउँमा अहिले पनि कम्युनिष्टहरू ज्यूँदै छन् ।

तर उनको बाण झर्ने त शहरमा हो । पहिलो शहर काठमाडौं हो जहाँ उनको पार्टी नेकपाले एकलौटी चुनाव जितेको छ । त्यसपछि उनको बाणको छर्राहरू देशभरका शहरहरूमा फैलिन्छन् । तर, अहँ कतै पनि हलचल हुँदैन । पानाभरीको आलेखको शिर्षक हेरेर केन्द्र र सातै प्रदेशका सरकारहरू, स्थानीय सत्ताका ‘मालिकहरू’ संसदमा रहेका माननीयहरू मुन्टो बटार्छन् ।

हामीले गरिखाएको देखि नसहने कोही न कोही प्रतिगामी पार्टीबाट नहराउने नै भयो … !

तर घनश्याम आशा राख्दा हुन्– उनको स्टेटमेन्टले पार्टीभित्र र समाजमा क्रान्तिको आभा भर्नेछ । मर्नै लागेको क्रान्तिले फेरी सास फेर्न थाल्नेछ । कामरेडहरू कम्युनिष्ट पार्टीको आदर्श पथमा फर्किनेछन् । गरिव निमुखाहरूले फेरी ‘इन्क्याब– जिन्दावाद !’ को नारा घन्काउनेछन् । दलाल पुँजीपतिहरू थर्कमान हुनेछन् !

उनले ज्यूदो राख्न चाहेको कम्युनिष्ट पार्टी यस्तै पो हुदो हो कि !

२०७६ को वैशाख २२ गते नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालिन एमालेका पूर्व अध्यक्ष झलनाथ खनाललाई मञ्चमा राखेर घनश्यामले उद्घोष गरे– हाम्रा नेताको दिनमा सय जना दलालसँग भेट हुन्छ । भन्सारका दलालदेखि जग्गा दलालसम्म ।

प्रधानमन्त्री निवास आफ्नो नाममा नामसारी गर्ने आफ्नै पार्टीका महासचिव कामरेड बिष्णु पौडेलतर्फ पनि उनको औला सोझिएको थियो । घनश्यामले कार्ल मार्क्सको २०१ औं जन्मस्मृतीको अवसरमा आयोजित कार्यक्रममा यो ठोकुवा गरेका थिए ।

त्यसको केही दिनमा अध्यक्ष कामरेड प्रचण्डको ५० औं विवाह उत्सव मनाइयो । प्रचण्डले सार्वजनिक रूपमै स्पष्टिकरण दिए– विरामी श्रीमतीको आग्रह टार्न नसकेर यसो गर्नु परेको हो । यो धेरै हदसम्म माननीय संवेदनासँग जोडिएको बिषय हो जसलाई सम्मान गरिनुपर्छ ।

तर अध्यक्ष कामरेडको ५० औं विवाह उत्सव एकजना विवादास्पद ब्यापारी निरन्जन गोविन्द बैद्यको निवासमा सम्पन्न भएका खबरहरू सार्वजनिक भए । उनी नेपालमा सबैभन्दा ठूलो कर छली प्रकरणसँग जोडिएको एनसेलमा २० प्रतिशत साझेदार थिए । एनसेलको खरिद विक्रीमा कर छलेको अभियोग प्रमाणित भएपछि उनले करिब १० अर्बको हाराहारीमा कर तिरेका थिए ।

कामरेड घनश्यामले निकै महत्वका साथ दोहोर्याइ रहने दलाल पुँजीपति कस्ता हुन्छन् कुन्नी ? उनका पार्टी अध्यक्षको विवाह उत्सवको स्पोन्सर गर्ने वैद्यजस्ता व्यापारी कुन क्याटेगोरीमा पर्दा हुन् ?

त्यसको केही दिनमा अध्यक्ष प्रचण्डले सत्ता साझेदारीको बिषयलाई यसरी उठाइदिए नेकपा पार्टी मात्रै होइन सिंगो देश नै तरंगित हुन पुग्यो । २००७ सालपछिको नेपालको राजनीतिक इतिहासमा दुई तिहाई बहुमतको समर्थन प्राप्त यो सरकारले आफ्नो पाँच बर्षे कार्यकाल सफलताका साथ पूरा गर्ने जुन विश्वास राखिएको छ ।

उपलब्धीविहिन नै सहि तर यो सरकारले पाँच बर्षको कार्यकाल पूरा गर्नु मात्रै पनि नेपालको राजनीतिका लागि एउटा महत्वपूर्ण परिघटना सावित हुने अवस्था छ ।

प्रचण्डले तत्कालिन नेकपा माओवादी र एमालेबीच एकिकरण हुँदा कोरिएको सहमतिका ५ बुँदा अर्का अध्यक्ष केपी ओलीलाई सम्झाउन खोजिरहेका थिए ।

जसको बुँदा नम्बर ४ मा लेखिएको छ–
समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।

प्रचण्डको सत्ता साझेदारीको दावीलाई अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले चुनौतीको शैलीमा जवाफ दिए– पाँच बर्ष मलाई प्रधानमन्त्री मान्न तयार छैनौ भने तिमीहरू आफ्नो बाटो लाग्न सक्छौ । ओलीकै शैलीलाई सापटी लिएर भन्ने हो भने, तिमी जताबाट आएका हौं त्यतै गए हुन्छ ।

घनश्याम भुसालले सिद्धान्तमाथि, कम्युनिष्ट पार्टीको आचरणमाथि र कम्युनिष्ट सरकारको डेलिभरीमाथि प्रश्न उठाउँदा सिंगो नेकपा वृत्त मौन थियो । घनश्यामले उठाएको सवाललाई अर्को एक चरण वहशमा लैजाने इच्छा कसैले देखाएनन् ।

तर प्रचण्डले सत्ता साझेदारीको दावी पेश गर्नासाथ सिंगो नेकपा पार्टी जुर्मुराएर उठ्यो मानौं पार्टीमा प्रलय हुन लागेको छ ।

कामरेड माधव नेपालले औला ठड्याएर भने– यहि सरकार पाँच बर्ष चल्नेछ ।

कामरेड वामदेव गौतमले मुठ्ठी उठाएर भने– पार्टी एकताको समयमा गरिएका सझदारीहरू इमान्दारीपूर्वक पालना गरिनुपर्छ । कामरेड प्रचण्डलाई साढे दुई बर्ष प्रधानमन्त्री बन्न दिइनुपर्छ ।

ईश्वर पोखरलेले त केपी ओलीको पक्षमा मोर्चा नै खोलिदिए– केपी ओलीलाई पाँच बर्ष प्रधानमन्त्रीबाट कसैले हल्लाउन सक्दैन ।

यो बहसमा पूर्व माओवादी नेताहरूको अनुहार भने बाहिर देखिएन । उनीहरू एक दशक युद्धको नेतृत्व दिने प्रचण्ड पथका आफ्ना नायकलाई खुलेयाम साथ दिन सक्ने अवस्थामा देखिएनन् । उनीहरू प्रचण्डको पक्षमा खुल्न नसक्नुको अर्थ उनीहरू मौन रुपमा केपी ओलीको समर्थनमा छन् भन्ने हो ।

ओलीको प्रत्यक्ष समर्थनमा कोही छैनन् भने पनि उनीहरू ओलीको ‘नेगेटिभ लिस्ट’ मा पर्न चाहदैनन् । आजको दिनमा ओलीको ‘नेगेटिभ लिस्ट’मा पर्नु भनेको प्रचण्डकालिन युद्धमा श्रम शिविरमा पठाइए जस्तै कार्वाही भोग्न तयार हुनु हो । यस बारेमा थप जान्न चाहनेहरूले भीम रावल, योगेश भट्टराई, ठाकूर गैरेहरूस“ग लामो छलफल गर्नुपर्छ ।

नेकपाका केही वरिष्ठ नेताहरूले प्रश्न उठाईरहेका छन््– पार्टीको नीति के हो ? पार्टी एकताको सैद्धान्तिक आधार के हो ? पार्टी कुन वर्गको हो ? पार्टीको शत्रु को हो ? र, पार्टीको मित्र को हो ?

समाजवादमा पुग्ने पार्टीको बाटो कुन हो ?

एकजना अध्यक्ष एवं प्रधानमन्त्री के पी ओलीलाई किन किन नेकपाका नेताहरू सैद्धान्तिक प्रश्न सोध्ने जाँगर देखाउदैनन् । यदि उनलाई यस्ता प्रश्न सोधिदो हो त सायद उनको जवाफ यस्तो रहन्थ्यो होला–
अहिले सरकार हिडिरहेको बाटो नै समाजवादमा पुग्ने बाटो हो । यहि बाटो नविराई हिड्दा सिधै साम्यवादमा पुगिन्छ ।

कम्युनिष्ट भाषामै भन्नुपर्दा नेकपाका लागि अहिलेको प्रधान बिषय सिद्धान्त होइन । सत्ता हो । प्राप्त सत्ताको रक्षा गर्नु र भविष्यमा सत्तामा पुग्नु नै पार्टीको पहिलो र अन्तिम कार्यभार हो ।

पार्टी सत्तामा रहेका बेला सिद्धान्तको खोजी गर्नेहरू जडसुत्रबादी हुन् । यस्ता नेताहरूबाट पार्टीलाई जोगाउनुपर्छ ।

हिजोका दिनमा नीति र नेतृत्वको कुरा प्रधान थियो । जसको नीति उसलाई नै नेता मान्नुपर्ने बाध्यता थियो । तर पार्टीको परिवर्तित भूमिकामा नीति होइन नेता प्रधान हो । नेताले जे बोल्छ, जे गर्छ र जे चाहान्छ त्यहि नीति हो । त्यहि सिद्धान्त हो । २१ औं शताब्दीका पार्टी कामरेडहरूले यति कुरा पनि नबुझ्ने हो भने पार्टी कमजोर हुन्छ । र, यहि कमजोरीमा टेकेर प्रतिक्रियावादीहरूले पार्टीमाथि आक्रमण गर्छन्।

संसदीय व्यवस्थामा आइसकेपछि स्वर्गिय गिरिजाप्रसाद कोइरालाबाट पार्टीले धेरै कुराहरू सिक्न खोजिरहेको छ । र, सिक्नु परेको छ । नत्र पार्टी चलाउन गाह्रो छ ।

नेकपाको सैद्धान्तिक आधार बुझ्न हामी अलिकति विगतमा फर्किनु राम्रो हुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी कामरेड प्रचण्ड र केपी ओली दुई जना क्याप्टेनले हाँकेको पार्टी हो ।

३० बर्षअघि कामरेड प्रचण्ड २०४६ सालको राजनीतिक परिवर्तनलाई धोका हो भनिरहेका थिए ।

२० बर्षअघि ‘दिर्घकालिन जनयुद्ध’ मार्फत सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्न उनी प्रचण्डपथको कार्यान्वयन गरिरहेका थिए । उनी माओ बन्न चाहान्थे । उनी लेनिन बन्न चाहान्थे ।

१५ बर्षअघि उनी निर्वाचनमार्फत् नेपालको पहिलो राष्ट्रपति कामरेड प्रचण्ड बन्न चाहन्थे ।

१० बर्षअघि उनी निर्वाचनमार्फत् प्राप्त सफलताको कडिमा डा. बाबुराम भट्टराईलाई साइजमा राखेर आफु प्रधानमन्त्री बनिरहन चाहान्थे ।

५ बर्षअघि उनी संसदमा तेस्रो दलको हैसियतमा सत्ताको चाँबी आफ्नो हातमा लिई कहिले एमालेसँग त कहिले कांग्रेससँगको संसदीय अंकका आधारमा प्रधानमन्त्री बन्न चाहान्थे ।

आज उनी कामरेड मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादको सच्चा प्रवक्ता बनेर नेकपाको एक्लो पार्टी अध्यक्ष बन्न चाहान्छन् ।

उनको यो सैद्धान्तिक राजनीतिक यात्राको सश्लेषण नै आज नेकपाको सिद्धान्त बन्न सक्छ । तर, यसको सश्लेषण गरेर सिद्धान्त स्थापित गर्ने काममा उनका सहयोगीहरू अलि उदासिन देखिन्छन् । किनभने उनी नै नेकपाको शक्तिकेन्द्र बन्नेछन् भन्नेमा उनीहरु ढुक्क छैनन् ।

पार्टी सत्ता र राज्य सत्ताको केन्द्रमा केपी ओली रहेका छन् ।

२०५४ सालमा महाकाली सन्धी पारित गर्न भारतलाई गुन लगाएपछि ओलीको राजनीतिक उदय भएको हो ।

पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा उनी राजालाई समर्थन गर्दै प्रधानमन्त्री बन्न चाहान्थे । त्यसको वातावरण बनाउन उनले प्रचण्डले नेतृत्व गरिरहेको गणतन्त्र स्थापनाको मुद्धामा कठोर टिप्पणी गर्दै भनेका थिए– वयलगाडा चढेर अमेरिका पुग्न सकिदैन ।

पार्टी नेतृत्वमा नरहेका र ओलीलाई प्रधानमन्त्री बनाउदैमा तत्कालिन सिंगो एमालेले राजतन्त्रलाई समर्थन गर्ने वातावरण नबन्ने देखेपछि ज्ञानेन्द्रले उनलाई मन्त्री मात्र बनाउने इच्छा देखाए, राधाकृष्ण मैनालीलाई जस्तै । तर, ओलीले मन्त्रीमात्रै बनेर तुल्सी गिरीको क्याविनेटको सदस्य हुन चाहेनन् ।

२०६४ सालमा पार्टीले नराम्ररी चुनाव हार्नु र तत्कालिन माओवादी विरूद्ध आक्रामक रुपमा प्रस्तुत हुनुले उनलाई पार्टीभित्र माधव नेपालको विकल्पको रुपमा स्थापित गर्यो ।

नया“ संविधान जारी गर्दासम्म पनि उनी भारतीय सस्थापनको प्रिय पात्र नै थिए । केपी ओली, डा. बाबुराम भट्टराई र डा. अमरेश कुमारमध्ये भारतले सबैभन्दा मन पराउने व्यक्ति को हो भनेर छुट्टयाउन सक्ने स्थिती थिएन ।

नेपालले संविधान जारी गर्दै गर्दा भारतले गरेको अवरोधसम्म पनि ओली खुल्न सकेका थिएनन् । सुशील कोइराला प्रधानमन्त्री थिए र त्यसपछि ओली प्रधानमन्त्री बन्ने वृहत राजनीतिक सहमति थियो ।

तर जब ओली प्रधानमन्त्री बन्ने समय आयो, भारतले सुशीललाई नै उनका विरूद्ध प्रस्तुत गरेर उनलाई नराम्रो झट्का दियो । २०५४ सालमा भारतलाई लगाएको गुनको वदला भारतले उनलाई प्रधानमन्त्री बन्नबाट रोकेर तिर्न चाहेजस्तो देखियो ।

यसपछि ओली राष्ट्रवादी नेताका रुपमा उदाए । भारतीय नाकावन्दीको विरूद्ध चिनस“ग नजिक भए । भारतसँग नझुकेरै नाकावन्दी फिर्ता गराउन सफल भए ।

उनी नायक भए । यहि भारतविरोधी नायकत्वका आधारमा नेकपाले प्रचण्ड बहुमत ल्यायो । र, सरकार बनायो ।

भारतको समर्थनबाट उदाएका नेता भारतको विरोधपछि झनै उचाईमा पुगे ।

तर आज उनी फेरी २०५४ सालतिर फर्किन लागे जस्ता देखिन्छन् ।

गणतन्त्र उनको एजेण्डा होइन । मदन भण्डारीले अगाडि सारेको सिद्धान्त जनताको बहुदलीय जनवादका भने उनी कट्टर समर्थक हुन् ।

नेकपाका एकजना अध्यक्ष प्रचण्ड मदन भण्डारीको जनताको बहुदलीय जनवाद कम्युनिष्ट विरोधी सिद्धान्त हो भन्ने मान्यताबाट आएका हुन् ।

नेकपाका अर्का अध्यक्ष ओली नेपालमा गणतन्त्रात्मक शासन व्यवस्था संभव छैन भन्ने मान्यताबाट आएका हुन् ।

एक जना अध्यक्ष संघीयतालाई आफ्नो उपलब्धी ठान्छन् ।

अर्का अध्यक्ष संघीयता रोक्न नसक्नुलाई आफ्नो असफलता ठान्छन् ।

दुवै अध्यक्षका मान्यतामा जुन दिन फ्युजन हुनेछ त्यो नै नेकपाको सिद्धान्त बन्नेछ ।

बाँकी समयमा लागि पार्टी सत्ता र राज्य सत्ता नै नेकपाको सबैभन्दा ठूलो सैद्धान्तिक आदर्श हो ।

त्यहाँ पुग्न प्रचण्डको यात्रा प्रारम्भ भईसकेको छ । उनको पहिलो रोजाई राज्य सत्ता र दोस्रो रोजाई पार्टी सत्ता हो ।

साढे दुई बर्षका लागि प्रधानमन्त्री बन्ने प्रचण्डको तिब्र चाहना छ । नसके एक्लो पार्टी अध्यक्ष बन्ने, आगामी महाधिवेशनबाट पुनः अध्यक्षमा चयन हुने र राज्य सत्ता पनि हातमा पार्ने उनको दिर्घकालिन लक्ष्य हो ।

ओली अहिले नै राज्य सत्ता र पार्टी सत्ताको समेत एक्लै उपभोग गरिरहेका छन् । बाँकी जीवनमा यी दुई सत्ता आफैमा राख्ने उनको एकमात्र रणनीति हो ।

अबका दिनमा जम्माजम्मी पार्टीको सिद्धान्त पनि यहि हो ।

२०४६ सालपछि बचेखुचेको सिद्धान्त अन्तिम पटक कामरेड मनमोहन अधिकारीसँगै दाहसँस्कार गरिएको हैन र !

फेरी पनि कामरेड घनश्याम भुसाल सवाल उठाइरहन्छन् ;–

क्रान्ति मौन छ । क्रान्तिले आत्मसमर्पण गर्दैछ ।

क्रान्ति जाग्नु पर्छ । क्रान्ति जुर्मुराउनु पर्छ ।

नत्र भने कम्युनिष्ट पार्टी मर्छ !

मर्नका लागि त जिउँदो हुनु पर्दैन र कामरेड ?

घनश्यामलाई कसले भनिदेओस्– तिम्रो क्रान्तिले उहिल्यै आत्मसमर्पण गरिसक्यो । राजाको पाउमा दाम चढाएर । राजदरबारमा प्रधानमन्त्री बन्न आवेदन चढाएर । र गणतन्त्रलाई बयलगाढामा चढाएर ।

अँ, यसको शुरूवात २०५३/२०५४ सालतिर लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री र कामरेड बामदेव गौतमलाई गृहमन्त्री बनाएर शुरू भएको धिमा याद त बाँकी नै छ नि है !

यदि पार्टी भनेको सिद्धान्त हो । वर्गिय पक्षधरता हो । जनताको पक्षमा काम गर्ने प्रणाली हो । समाज परिवर्तन गर्ने सस्था हो । र, एउटा व्यक्तिको जीवनमा सकारात्मक परिवर्तनको दियो बाल्ने साधन हो भने माफ गर्नुहोला– तपाईको पार्टी उहिल्यै मरिसक्यो ! किन मर्ला है भनेर चिन्ता गरिरहनुहुन्छ ?

हैन पार्टी भनेको बलिया नेताहरूको समूह हो । चुनाव जित्ने हतियार हो । सत्ता हो । जनतामाथिको शासन हो । धन सम्पत्ती कमाउने साधन हो भने क्षमा गर्नुहोला– तपाईको पार्टी मर्नै सक्दैन । यो त झनै अजम्बरी बनेको छ ।

तर चिन्ता नगर्नुस् कामरेड– क्रान्ति मर्दैमा सत्ता मर्दैन !

यो पनि पढ्नुहोस्

 नेपाली राजनीतिमा बैकल्पिक शक्ति

सरकारको नीति तथा कार्यक्रम परम्पराको निरन्तरता

अर्थतन्त्रको अप्रेशन

मा प्रकाशित

Trending

error: Content is protected !!