Connect with us

एजेण्डा

शेरबहादूर दाई– जिन्दावाद !

कांग्रेसीहरू ढुक्क भए हुन्छ– अर्को कार्यकालको सभापति शेरबहादूर दाईलाई नै पाउनुहुनेछ !

कुन अनुहारले कांग्रेसको उद्धार गर्ला ?

नेपाली कांग्रेसको जीवनमा अहिलेको सबैभन्दा महत्वपूर्ण प्रश्न यहि हो । तर, कांग्रेसीहरू यति विन्दास छन् कि उनीहरूलाई यो प्रश्नप्रति वास्तै छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घोषणा गरिदिए– अबका दुईवटा निर्वाचन कांग्रेसले लगालग जित्छ । नेपाली कांग्रेसको एकमना सरकार बन्छ । कम्तिमा १० बर्ष नेपाली जनता कांग्रेसी शासन भोग्न तयार भएर बसे हुन्छ !

विश्वप्रकासले कुन सुत्र लगाउदा कांग्रेस सरकार आउने हिसाव निकालेका हुन ? ज्योतिषीको भरमा मात्रै त उनले पक्कै पनि यति ठूलो घोषणा गरेनन् होला कि †

कतै उनले ऐरावत हात्तिले शेरबहादूर देउवालाई सुनको विजयी माला पहिर्याइदिएको, कांग्रेस दिग्विजय भएको र आफु सञ्चार मन्त्रीको कुर्सिमा बसेर सरकारको प्रवक्ताको हैसियतले प्रेस मिट गरिरहेको सपना पो देखेका थिए कि !

उनी प्रष्ट छन् । आजका दिनसम्म इमान्दार नेता हुन् । पारदर्शितामा विश्वास राख्छन् ।

त्यसैले सुत्र भए व्हाईटबोर्डमा हिसाव गरेर देखाइदिनेछन् । ज्योतिषीले भनेका हुन् भने ति महान ज्योतिषी को हुन् दुनियाँलाई चिनाईदिनेछन् । सपना देखेको भए खुलस्त पारिदिनेछन् ।

तर कांग्रेसलाई कुन अनुहारले उद्धार गर्ने हो भन्नेमा अहिलेसम्म पनि कुनै संकेत देखा परेको छैन ।

कांग्रेसको भविष्य निर्माताका रूपमा अग्रिम पंक्तिमा रहेको अनुहार हो– शेरबहादूर देउवा ।

देउवा समकालिन कांग्रेसी नेताहरूमा अग्रज हुन् । पार्टी निर्माणमा योगदान भएका नेता हुन् । पार्टीकै कारण उनले जीवनभर राम्रोसँग बोल्न नसक्ने अवस्थाबाट आफुलाई गुजार्नु परेको छ ।

पुँजीवाद, समाजवाद, उदारवाद, नवउदारवाद जस्ता राजनीतिक दर्शन-सिद्धान्तमा देउवालाई चासो छैन । उनी उपभोगवादमा पूराकापूरा विश्वास राख्छन् ।

कांग्रेसभित्र उपभोगवादमा अटल विश्वास राख्ने नेता कार्यकर्ताहरूको स्पष्ट बहुमत छ । पार्टीभित्र उनको राम्रो पकड हुनुको राज यहि हो ।

राजा ज्ञानेन्द्रसँग उनको दोस्ती हुनुको कारण पनि यहि थियो ।

२०५८ साल असोज १८ गते साँझ तत्कालिन राजा ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री देउवालाई नारायणहिटी दरबार बोलाएर संसद भङ्ग गर्ने सिफारिस गर्न भने ।

गिरिजाप्रसाद कोईरालाजस्तो नेता हुँदाहुदै उनको सल्लाहविनै संसद विघठन गर्ने निर्णय लिदा पार्टीबाट आफ्नो हैसियत सकिने अलिअलि ज्ञान देउवामा पक्कै पनि थियो ।

तर ज्ञानेन्द्रले उनलाई तीनवटा कुरामा आश्वस्त बनाए ।

पहिलो, प्रधानमन्त्रीको पद यथावत रहन्छ ।

दोस्रो, गिरिजाप्रसादले पार्टीबाट निकाले भने नयाँ पार्टी बनाएर देउवालाई नै सभापति बनाईदिने ।

तेस्रो, आउने निर्वाचनमा देउवाको पार्टीलाई दरबारले खुलेर सहयोग गर्ने । र, त्यसपछिको प्रधानमन्त्री पनि उनलाई नै बनाईदिने ।

सत्ताको भोग आफ्नै भागमा पर्ने भएपछि देउवाले राजाका सचिवले लेखेको सिफारिसमा त्यहि सहि गरिदिए । र, लोकतन्त्रलाई दरबारमा लगेर बुझाए ।

तर राजाले धोका मात्रै दिएनन् देउवालाई जेल नै हालिदिए ।

दोस्रो पटक फेरी प्रधानमन्त्री बनाउदा देउवाले तीन हात उफ्रेर भने- गोर्खाका राजाले न्याय दिए ।

फेरी पनि राजाले असक्षम घोषणा गरेर प्रधानमन्त्रीको पदबाट हुत्याईदिएपछि पनि उनले लामो समय गोर्खाका राजाबाट न्याय पाउने आशामै विताए ।

राजाबाट पटक पटक गलहत्याईएपछि बल्ल देउवाको चेत खुल्यो । गिरिजााप्रसाद मेरा नेता हुन् भनेर घोषणा गरेपछि पार्टी एकता भई उनी मूल कांग्रेसमा समाहित भए ।

नेपालका राजनीतिक पार्टीमध्ये संसदीय व्यवस्थाको सबैभन्दा पक्षधर पार्टी नेपाली कांग्रेस हो ।

तर संसदीय व्यवस्थाको सबैभन्दा बदनाम गर्ने काम कांग्रेस नेता यिनै देउवाबाट भयो ।

२०५० को दशकमा ‘हङ पार्लियामेन्ट’को सबैभन्दा दुरूपयोग गर्ने गुरू बने देउवा ।

प्रधानमन्त्री हुन उनले सांसदहरूको ‘किनवेच’ गरिदिए ।

आफ्ना सांसद र आफुले खरिद गरिसकेका सांसदलाई अरूले नकिनून् भन्नाका लागि हप्तौसम्म होटल काठमाडौंमा सुरा सन्दरीको व्यवस्थासहित ‘नजरबन्द’मा राखे ।

(होटल काठमाडौं महाराजगञ्जमा राष्ट्रपति कार्यालय नजिक थियो जुन पछि बन्द भयो । त्यो होटलमा देउवाका ससुरालीहरूको लगानी थियो ।)

सांसदहरूलाई बैंकक सयरमा पठाए ।

सांसदहरूलाई प्राडो र पजेरो उपलब्ध गराए ।

अर्थात् सत्ताका लागि जुनसुकै सौदावाजी गर्न यिनी तयार भए ।

प्रचण्डसँग उनको निकट सम्वन्धको रहस्य पनि यहि उपभोगवाद नै हो ।

यस मामिलामा देउवा र प्रचण्डको ‘इन्ट्रेस्ट’ गज्जवले मिल्छ ।

प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री हुनु छ । तर, के पी ओलीले पार्टी एकताको समयको सहमति पालना गर्ने छाँटकाँट छैन ।

ओलीलाई तर्साउन प्रचण्डले देउवासँग बलियो लगनगाँठो कस्नुपर्छ ।

त्यसैले अहिले प्रचण्ड र देउवाको दिनमा एकपटक सहभोज हुन थालेको छ ।

यदि प्रचण्डले कांग्रेसका सांसदको भोट पाउँदा संसदमा बहुमत पुर्याउने सम्भावना भयो भने त्यही दिन यि दुईबीच आधा आधा समय प्रधानमन्त्री पद बाँडेर खाने सहमति हुनेछ ।

भलै नेकपाभित्र प्रचण्डको गणितीय राजनीति कमजोर छ ।

फेरी पनि यि दुईले सत्ता पल्टयाउने बुद्धि भने एकापसमा बाँडि नै रहेका छन् ।

सत्तामा हुँदा देउवा अलि अन्धाजस्तै महशुस हुन्छन् ।

लोकले के भनिरहेको छ भन्नेमा खास वास्ता गर्न रूचाउदैनन् ।

प्रधानमन्त्री हुँदा यिनले लोकले घृणा गरिरहेको लोकमानसिङ कार्कीलाई लामै समय काँधमा बोकेर हिडिरहे ।

लोकले इतिहासकै असल प्रधानन्यायधिशका रूपमा श्रद्धा गरिएकी शुसिला कार्कीमाथि महाभियोगको प्रस्तावमा सहिछाप गरे ।

लोकमानलाई काँधमा बोक्दा र शुसिलालाई महाभियोग लगाउदा आफ्नो सत्ताभोग सहज हुन्छ भन्ने निश्कर्ष थियो यिनको ।

तर, पछिल्लो चुनावमा मतदाताले कांग्रेसलाई भनिदिए– लोकमान तिम्रो अदर्श हो । शुसिला तिम्रो दुश्मन हो । तर हाम्रा लागि यो उल्टो हो । त्यसैले यसपटक रूखमा भोट हालिदैन ।

देउवासँग मतदातालाई दिने उत्तर थिएन ।

उनी कम्युनिष्टको सत्ता आए रून पनि पाईदैन भन्ने एक लाईनको भाषण गरेर हिडेका थिए ।

विपक्षी दलको सरकार छ, कांग्रेसले नियुक्त गरेका राजदूतहरू प्रायः हटाईएका छन् । तर देउवाकी सासु प्रतिभा राणा भने यथावत छन् । जबकी उनी राप्रपाकी नेता समेत हुन् ।

उपभोगबाद उनको सर्वप्रिय राजनीतिक आदर्श हो ।

कांग्रेसलाई इतिहासमै थिलोथिलो बनाएको पृष्ठभूमिमा देउवा कांग्रेसको सत्तामा छन् ।

गएको स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेसले नयाँ इतिहास रच्यो– संसदीय राजनीतिमा आएदेखिकै सबैभन्दा कमजोर हालतमा पुगेर ।

पार्टी सभापतिको जिम्मेवारीमा देउवा थिए/छन् ।

हारको जिम्मेवारी स्वभाविक रुपमा पार्टी सभापतिमा जान्छ ।

हारको जिम्मेवारी लिदै सभापति पदबाट राजिनामा गरेको भए सायद उनको राजिनामा स्विकृत हुदैनथ्यो । उनको राजनीतिक हाइट अरू बढ्थ्यो ।

हारको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने आवाज कांग्रेसभित्र धेरै उठ्यो ।

तर उनले पार्टीको सत्ता प्रयोग गरेर त्यो आवाज उठाउनेहरूलाई नै ठेगान लगाईदिए ।

अहिले पनि कांग्रेस हारको जिम्मेवारी कसैले लिएकै छैन ।

कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमतको सरकारलाई हल्लाउने गरि भष्ट्रचार काण्डहरू सार्वजनिक भए :

वाईडबडी बिमानमा ४ अर्बको घोटाला ।

प्रधानमन्त्री निवास नै भूमाफियाको चंगुलमा ।

प्रतिपक्षी दलले यि काण्डको पर्दाफास गरेर सरकारलाई हायल कायल पार्नुपर्ने हो ।

संसदीय व्यवस्थामा प्रतिपक्षी दललाई यसैकारण उच्च महत्व दिइएको हो ।

चुनावी परिणामले झोक्र्याएको कांग्रेस बौराउने अवसर पनि यिनै हुन् ।

पार्टी सभापतिसँग भेट नहुदै कांग्रेसका गाउँतिरबाट आएका सांसदले यसो संसदमा कुरा उठाउन खोज्छन् । वाक्य पूरा नहुँदै उनीहरूले मन्तव्य टुंग्याउन बाध्य हुन्छन् ।

एकैछिनमा उनीहरूले थाहा पाउँछन्– यसको एउटा बिलो पहिल्यै बुढानिलकण्ठ पुगिसकेको छ ।

भाई महतले सायद अलि हप्काएरै झपार्दा हुन्– चुनावको बेला तिमिलाई पठाएको पैसा नत्र कहाँबाट आउछ ?

भष्ट्रचार विरूद्धमा आवाज उठाउन खोज्ने कांग्रेसी सांसदको मन मष्तिस्कमा के खेल्दो हो ? उनीहरूले आफुलाई कसरी चित्त बुझाउदा हुन् !

भारतमा कांग्रेस आईको पराजयसँगै अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा दिए ।

तर उनले राजिनामा दिए पार्टी झनै कमजोर हुन्छ भन्दै देशभरका कार्यकर्ताले उनको राजिनामा अस्विकृत गर्न दवाव दिइरहेका छन् ।

तर पनि राहुलले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन नयाम्ह अध्यक्ष नै चाहिने दावीका साथ आफ्नो राजिनामा स्विकृत गर्न आग्रह गरिरहेका छन् ।

यता कांग्रेस आइसँग वैचारिक रूपमा नजिक मानिएको नेपाली कांग्रेसको हालत भने यस्तो छ ।

यहि पृष्ठभूमि बोकेर कांग्रेस महाधिवेशनमा जादैछ । र, देउवा फेरी सभापतिको उम्मेदवार बन्ने पक्का जस्तै छ ।

राजनीतिक जोकहरू अहिले बजारमा चर्चित छन् । प्रधानमन्त्री केपी ओली भन्छन् रे– कांग्रेसमा देउवा सभापति भइरहुन अरू दुई/चार वटा निर्वाचनमा टेन्सन लिनु पर्दैन !

सरकारको जत्तिसुकै आलोचना भइरहोस, उता देउवाको अनुहार देखाईदिएपछि मतदाता बाध्यै भएर पनि नेकपालाई भोट हाल्नेछन् भन्ने उखान बनिरहेका छन् ।

कांग्रेसीजनहरू ढुक्क भए हुन्छ– अर्को कार्यकालको सभापति तपाइँहरूले शेरबहादूर दाईलाई नै पाउनुहुनेछ ।

तपाईहरूको सत्ता बाचिइरहनेछ ।

शेरबहादूर दाई– जिन्दावाद !

मा प्रकाशित

Trending

error: Content is protected !!