Connect with us

विचार/ब्लग

किन चित्त दुखाए शेर्पाले ?

एउटा खेलाडीले राम्रो खेल्न नसके खेलमात्र हार्छ । तर एउटा आरोहीले जीवन नै गुमाउनु पर्छ ।

नेपालको पर्यटन हिमालबाट सुरु भयो । र, अहिलेसम्म हिमालमै अडिएको छ । सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । सन् १९५३ मा एडमन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगे । अनिमात्र नेपालमा पर्यटनको सुरुवात भयो ।

विश्वमा नेपाललाई चिनाउने हिमाल र शेर्पाहरु नै हुन् । नेपाल हिमालयको देश भनेर चिनिन्छ । वर्षेनी हिमाल चढ्न आउने सयौं विदेशी आरोहीलाई शेर्पाहरुले सकुशल हिमालको चुचुरोमा पुर्याउँछन् । सगरमाथा चढेर फर्किने विदेशी आरोहीले आफ्नो देशमा राष्ट्रिय सम्मान पाउँछन् । तर, आफ्नो ज्यान जोखिममा राखेर विदेशीलाई हिमाल चढाउने शेर्पा आरोहीको नेपालमा कुनै इज्यत गरिँदैन । विश्वलाई नै चकित बनाउने वर्ल्ड रेकर्ड होल्डर शेर्पाले समेत राज्यबाट सम्मान र इज्यत पाउँदैनन् ।

आङछिरिङ शेर्पा, निवर्तमान अध्यक्ष – नेपाल माउन्टेनियरिङ एशोसियसन

कामिरिता शेर्पाले २४ पटक सगरमाथा चढेर विश्वलाई चकित बनाउनु भयो । उहाँ स्वदेशी विदेशी मिडियामा राम्रो कभरेज हुनुभयो । विश्वका चर्चित मिडियाहरुले उहाँको किर्तिमानलाई प्राथमिकता दिए । खासमा उहाँले नेपालको गरिमा उँचो बनाउने काम गर्नुभयो ।

दुःखका साथ भन्नुपर्छ, कामिरिता एभरेष्टबाट फर्किदा हामी उहाँलाइ एयरपोर्टमा लिन जाँदा सरकारको तर्फबाट कोही पनि उपस्थित थिएनन् । सबैभन्दा धेरै पटक हिमाल चढ्ने उहाँ त संसारकै हिरो हो नी ।

कामिरिताले सरकारको व्यवहारप्रति असन्तुष्टी पोख्दै आउनु भएको छ । शेर्पा आरोहीलाई विश्वले सम्मान गर्छ । तर आफ्नै सरकारले वास्तै गर्दैन । आज कति वल्र्ड रेकर्ड होल्डर शेर्पाहरु आफ्नै देशमा गुमनाम भएर बस्नु परेको छ ।

धेरै शेर्पा आरोही रिटायर्ड भएपछि विदेश गइसक्नुभयो । विदेशमा नेपाली शेर्पा आरोहीलाई राम्रो सम्मान पाउँछन् ।विदेशमा पनि शेर्पाहरुले आरोहणको लिडिङ भुमिका निभाइरहेका छन् । मोटिभेसनल स्पिकर बनेका छन् ।

यो पेशामा ४४ वर्षदेखि आवद्ध छु । हामीले सरकारसँग शेर्पा अन्यायमा परेको कुरा राख्दै आयौं । तर कहिल्यै पनि चासो राखिएन । आरोहण पेशा यति कठिन छ कि हरेक पटक मृत्यूलाई जितेर फर्किनु पर्छ । एउटा खेलाडीले राम्रो प्रर्दशन गर्न नसके खेलमात्र हार्छ । तर एउटा आरोहीले जीवन नै गुमाउनु पर्छ ।तर यहाँ एउटा खेलाडी र आरोहीलाई गर्ने व्यवहारमा कति फरक छ ?

खेलाडीले अन्तर्राष्ट्रय र राष्ट्रिय खेल खेलेर फर्किदा विमानस्थलमै भव्य सम्मान हुन्छ । बाजागाजासहित खेलाडीलाई शहर घुमाइन्छ । एयरपोर्टमै मन्त्री सम्मान गर्न पुग्छन् । राष्ट्रपति र प्रधानमन्त्रीले बोलाएर सम्मान गर्छन्, रात्रिभोज दिन्छन् । खेलाडीलाई विभिन्न सेवा सुविधा दिने घोषणा गर्न तछाडमछाड गर्छन् । देशको इज्यत राखेको भन्दै खुब प्रशंसा गर्छन् ।

आज सिंगो मुलुकलाई विदेशमा चिनाउने शेर्पाहरुले मृत्यूसँग लडेर हिमाल आरोहण गरि फर्किदा कुनै सम्मान छैन । सेवा सुविधा त धेरै टाढाको कुरो भइहाल्यो । मन्त्रीको कुरै छाडौं, कर्मचारी पनि एयरपोर्टमा स्वागत गर्न पुग्दैनन् । शेर्पाहरु हिमालका खेलाडी हुन् । हिमालसँग लडेर देशको इज्यत उँचो बनाउँछन् । ज्यान जोखिममा पारेर विदेशीलाई चुचुरोमा पुर्याउँछन् । मुलुकको पर्यटन जिवित राखेका छन् ।

जतिबेला शेर्पाहरु स्कुल र कलेज जानुपर्थ्यो, त्यो बेला उहाँहरु विदेशीलाई हिमालको चुचुरोमा पुर्याउन व्यस्त भए । त्यसैले पढ्न लेख्न पाएनन् । लेखापढीनहुँदा पछाडी परे । एउटा आरोही ४५/४६ वर्षपछि रिटायर्ड हुन्छ । विदेशीहरु पनि युवा आरोही खोज्छन् । ४० वर्षमुनिको गाइड छैन ? भनेर सोध्छन् ।

चुचुरोमा पुगेपछि सामुहिक फोटो खिचाउँदै आरोहीहरू

आरोहीरिटायर्ड भएपछि पेन्सनको व्यवस्था छैन । शिक्षा नभएपछि सामाजिक रुपमा पनि ब्याकवार्ड नै भयो ।जागिर पनि पाउँदैनन् । उर्जाशिल उमेर हिमालमै वितिसकेको हुन्छ । रिटायर्ड भएपछि कसरी जीवन यापन गर्ने? बिजोग अवस्था हुन्छ । त्यसैले त धेरै आरोही विदेश छिरेका छन् ।

म नेपाल पर्वतारोहण संघ (एनएमए)को तीन कार्यकाल अध्यक्ष बनेँ । मेरो कार्यकालमा ९ वटा पर्यटनमन्त्री फेरिनुभयो । आरोहीको विषयमा ९ वटा नै निवेदन बुझायौं ।मन्त्री र सचिव परिवर्तन भइरहने, हामी निवेदन दिइरहने भयो । कार्यान्वयन हुन सकेन ।

सन् २०१४ मा सगरमाथा हिमपहिरो गायो । १३ जनाको तत्कालै निधन भयो । लास पनि भेटियो । तर ३ जनाको लास अझै पनि भेटिएको छैन । १६ जना आरोहीको ज्यान गुमेपछि शेर्पाहरुले आर्थिक तथा सामाजिक सुरक्षाका लागि आन्दोलित हुनुपर्यो ।

त्यो भन्दा अगाडि आरोहीको इन्स्योरेन्स १० लाखमात्र थियो । विरामी परेमा मेडिकल बिल १ लाख हाराहारी कभर हुन्थ्यो । हेलिकोप्टर रेस्क्यूको व्यवस्था थिएन । हामीले आरोहीको इन्स्योरेन्स १० लाखबाट २५ लाख बनाउन भन्यौं । मेडिकल बिल कभरेज ८ लाख, रेस्क्यू कभरेज बिल १० लाख बनाउन भन्यौं । नेपालमा बिमा कभरेज अधिकतम १५ लाख रहेछ । १५ लाखमा चित्त बुझायौं । मेडिकल बिल ४ लाख पुर्यायौं । रेस्क्यू बिल १० लाख कभरेज हुने भयो ।

विश्वका आरोहीलाई शेर्पाले हिमालको टुप्पोमा पुर्याउँछन् । उनीहरु आफ्नो देशमा प्रख्यात आरोही बन्छन् । यो शेर्पाकै देन हो । मैले विदेशी प्रख्यात ६/७ जना आरोही साथीहरुलाई भनेँ,शेर्पाका छोराछोरीको शिक्षादिक्षा, औषधोपचार, आरोहीको सुरक्षाका लागि कोष खडा गर्न लागेका छौं, तपाइँहरुबाट सहयोगको अपेक्षा छ । मैले अपिल गर्नेवित्तिकै ९ जनाबाट तीन करोड जम्मा भयो । त्यो फण्डबाट शेर्पाका छोराछोरीको शिक्षा र काम गर्न नसक्ने अवस्थामा पुगेका आरोहीलाई सहयोग भइरहेको छ ।

निजी क्षेत्रले यति गर्दा पनि सरकारले केही गरेन । हिमालबाट मोटो रकम रोयल्टी उठ्छ । आरोही रिटायर्ड भएपछि पेन्सन वा अन्य आर्थिक तथा सामाजिक सुरक्षाको व्यवस्था गरिनुपर्छ भनेर सरकारलाई सुझाव दियौं । सरकारलाई हिमालबाट उठेको रोयल्टीबाट कम्तीमा १० प्रतिशत आरोहीको वेलफेयर अलायन्समा राखिदिन लिखित सुझाव दिइरह्यौं ।

पर्यटन मन्त्रालयले ५ प्रतिशत छुट्याउने सहमति गर्यो । त्यो बेला पर्यटनमन्त्री सरदसिंह भण्डारी हुनुहुन्थ्यो । त्यो प्रस्ताव मन्त्रीपरिषदबाट पारित हुनुपथ्र्यो । मन्त्रीपरिषदमा प्रस्ताव पुग्यो वा पुगेन थाहा हुन सकेन । मन्त्री र सचिव सकरात्मक हुनुहुन्थ्यो । दुर्भाग्य, सरकार परिवर्तन भइहाल्यो । अस्थिर सरकार हुनाले कार्यान्वयन हुन सकेन ।

मेरो परिवार ४ पुस्तादेखि आरोहणमा छ । बुवा तेञ्जिङ नोर्गे शेर्पाको साथी हुनुहुन्थ्यो । गाउँको मुखिया पनि । आरोहण पेशा एकदमै कठिन हुनाले बुवाले मलाई डाक्टर वा इञ्जिनियर पढाउने भन्नुभयो । अनि डाक्टर पढ्न गएको हुँ । १९७० तिरको कुरा हो, पढ्दा पढ्दै अष्ट्रिया गएको थिएँ । इमिग्रेसनका हाकिमले पासपोर्टमा शेर्पा देख्ने वित्तिकै दायाँ बायाँ नहेरी ड्याङ छाप हन्दियो । र, बाहिर आएर म सँग फोटो खिच्यो ।

२४ पटक सगरमाथा आरोहण गरेर वर्ल्ड रेकर्ड राखेका कामिरिता शेर्पा चुचुरोमा ।

तपाइँहरु हिमाल चढ्ने मान्छे भन्दै फोटो खिच्यो । अहिले पनि शेर्पालाई विदेशमा खुब सम्मान गर्छन् । हाम्रो पेशा नै आरोहीलाई सुरक्षित रुपमा हिमाल आरोहण गराएर खुशी तुल्याउने हो ।

प्रथम सगरमाथा आरोही तेञ्जिङ विदेश जानुभयो । कामिरिता भन्दा अगाडि सबैभन्दा बढी सगरमाथा चढ्ने रेकर्ड आप्पा शेर्पाको थियो । २१ पटक सगरमाथा चढेका आप्पा अमेरिका हुनुहुन्छ । आप्पालाई पनि सरकारले कुनै भ्यालु दिएन ।

नेपालमा थुप्रै वल्र्ड रेकर्ड होल्डर छन् । उनीहरुलाई स्वदेशमै राम्रो सम्मान र सेवा सुविधा भइदिएको भए विदेश जाँदैनथे ।

आज जति पनि प्रख्यात आरोही छन् उनीहरु विदेशमै छन् । ९ चोटी सगरमाथा चढेकी वल्र्ड रेकर्डधारी महिला आरोही लाक्पा शेर्पा पनि अमेरिकामै हुनुहुन्छ । मिडियाबाट पहिला सगरमाथा चढ्ने आङ छिरिङ शेर्पापनि विदेशिनुभयो । १९/२० चोटी सगरमाथा चढ्ने कामिरिताको भाई लाक्पारिता पनि बाहिर हुनुहुन्छ । छोटो समयमा सगरमाथा चढ्ने स्पिड काजी अमेरिकामै बस्नुहुन्छ । अरु थुप्रै महिला पुरुष आरोही अमेरिका जानुभएको छ । अन्य मुलुकमा पनि नेपाली आरोही हुनुहुन्छ ।

सगरमाथामा वर्ल्ड रेकर्ड राख्ने अनि अमेरिका छिर्ने ।

रिटायर्ड भएपछि जीवन धान्नका लागि शेर्पाहरु विदेशिन बाध्य भएका हुन् । स्वदेशमा कुनै भ्यालु छैन्, इज्यत छैन । तर विदेशमा ठूलो सम्मान र इज्यत मिल्छ ।

अमेरिकामा आप्पाले ठूल्ठूला कर्पोरेट कम्पनी र संघसंस्थाका मोटिभेसनल कार्यक्रममा लेक्चर दिनुहुन्छ ।

विदेशमा नेपाली आरोहीले राम्रो काम पाइरहेका हुन्छन् । त्यहाँको सरकारले सम्मान गरेर राखेको छ । विदेशमा खाने, बस्ने, छोराछोरी पढाइदिने गर्छन् ।उहाँहरु स्टान्डर्ड जीवन विताइरहनु भएको छ ।

विदेशिएका कतिपय नेपाली आरोही युवा छन् । उनीहरुले त्यहाँका हिमाल चढ्न लिड गरिरहेका छन् ।

विकसित मुलुकका मान्छे किन लाइन लागेर नेपालमा हिमाल आरोहण गर्न आउँछन् ? उनीहरुले सर्वोच्चशिखर सगरमाथा वा ८ हजार माथिका हिमाल आरोहण गरेर आफ्नो मुलुक फर्किदा राष्ट्रिय व्यक्तित्वको सम्मान पाउँछन् । ठूल्ठूला सेमिनार र कार्यक्रममा लेक्चर दिन बोलाउछन् ।

आरोही अमेरिकामा बढी

नेपाली आरोही सबैभन्दा बढी अमेरिका पुगेका छन् । जापान र युरोपतिर पनि छन् । हिमालय भएका मुलुकमा नेपाली आरोहीले काम गरिरहेका छन् ।

२१ पटक सगरमाथा चढेका आप्पा शेर्पा । अहिले उनी अमेरिकामा बस्छन् ।

तर पनि सबैभन्दा बढी सेवा, सुविधा र सम्मान दिएर राख्ने अमेरिका नै हो । जापान र युरोपमा पनि सुविधा छ । अमेरिकामा नेपाली आरोहीलाई ठूल्ठूला कार्यक्रममा लेक्चर दिन लगाइन्छ । ह्यान्डसम पैसा पे गर्छन । कुनै पनि कम्पनीले एक डेढ घण्टा लेक्चर दिएको २ हजार २५ सय डलर दिन्छन् । महिनामा ५ वटा मात्र लेक्चर दियो भने पनि राम्रो कमाई गर्छन् ।

गुमनाम हिमचितुवा 

आङरिता शेर्पा हिमचितुवा भनेर चिनिनुहुन्छ ।अर्थात् हिउँमा चितुवा झैं कुद्ने मान्छे । उहाँले १० पटक बिनाअक्सिजन सगरमाथा चढेर वल्र्ड रेकर्ड राख्नुभयो । कुनै समय धेरै पटक सगरमाथा चढेको रेकर्ड पनि उहाँकै थियो । पछि आप्पा शेर्पाले उहाँको रेकर्ड ब्रेक गर्नुभयो । आप्पाको रेकर्ड कामिरिताले तोड्नुभयो । कति रेकर्ड धारीहरु हिमाल चढ्दा चढ्दै दुर्घटनामा परेर मरेका छन् । १० पटकभन्दा बढी सगरमाथा चढ्ने शेर्पाहरु धेरै हुनुहुन्छ ।

वर्ल्ड रेकर्डधारी आङरिता शेर्पा सरकारबाट उपेक्षित हुनुहुन्छ । उहाँको उपचारमा समेत सरकारले चासो दिएको छैन । १८/२० वर्षअघिको कुरा हो, उहाँको अवस्था दयनिय थियो । रिभर रिभोर सिरेसिस भएर सोलुखुम्बुको खुन्दे हस्पिटलमा उपचार भइरहेको थियो । डाक्टरले यहाँ उपचार हुन सक्दैन, राम्रो ठाउँमा लैजानुस् भनेको रहेछ । मैले थाहा पाउने वित्तिकै हेलिकोप्टर चार्टर्ड गरीआङरितालाई टिचिङ हस्पिटल ल्याएँ । डेढ महिना टिचिङमा राखेर उपचार गरियो । यदि २ दिन मात्र ढिलो भएको भए उपचार हुन सक्दैन रहेछ ।

दुई वर्षअघिको कुरा, म एनएमएको अध्यक्ष थिएँ । आङरितालाई राती बेथाले च्यापेछ । परिवारले चावहिलको मेडिकेयर हस्पिटल लाग्नुभएछ । मेडिकेयरले ब्रेनमा समस्या भनेपछि तुरुन्तै न्यूरो हस्पिटल लगिएछ । मैले थाहा पाउने वित्तिकै तुरुन्तै गएँ । परिवार चिन्तित थियो । उपचार गर्न ठूलो रकम लाग्थ्यो ।

न्यूरोमा पुगेर भनेँ, आङरितालाई पहिला उपचार गरिहालौं, पैसाका लागि सरकारसँग पहल गरौंला, व्यवसायीसँग मागौंला । उहाँको अप्रेसनमा न्यूनतम ४३ लाख लाग्ने भनिएको थियो । धेरै ठूलो रकम थियो । निको पार्ने काम गरौं, पैसाको मुख नहेरौं । सबैसँग मागेर भएपनि जुटाउँला भनेँ ।

१० पटक बिनाअक्सिजन सगरमाथा चढेर वर्ल्ड रेकर्ड राखेका आङरिता शेर्पा । उनी हिमचितुवा भनेर चिनिन्छन् ।

हाम्रा नेताहरु सामान्य उपचारका लागि करोडौं रुपैयाँ खर्च गरेर विदेशका सुविधा सम्पन्न हस्पिटल धाउँछन् । तर संसारकै आइकन उपचार नपाएर मर्ने अवस्थामा छ । यो कति दर्दानक अवस्था हो ।सरकारले ५०/६० लाख पनि खर्च गर्न सक्दैन ।

आङरिताको उपचार भयो । मन्त्रीहरु हस्पिटल पुगेरै आश्वासन दिने काम गरे तर आश्वासन पुरा गरेनन् । अहिले उहाँको स्वास्थ्य ठिक छ । जोरपाटी बस्नु हुन्छ । उहाँ जत्तिको मान्छेले राष्ट्रिय सम्मानका साथ जिउनु पर्ने होइन ? राज्यले रेखदेख गर्ने होइन ? उहाँ विदेश नगएकै कारण दुखी जीवन जिउनुपर्ने अवस्था सिर्जना भएको हो ?

सरकारी कर्मचारीको रबैया

म पर्यटनमा लागेको ४४ वर्ष भयो । अध्ययन अनुसन्धान पनि गर्छु । हामी हिमालको विद्यार्थी ठान्छौं । तर सरकारी कर्मचारी पर्यटन सम्वद्ध निकायमा आएको ७/८ महिना पनि भएको हुँदैन, आफुलाई हिमालको विज्ञ नै ठान्छन् । अरुबाट सुझाव लिए आफ्नो मान मर्दन घटेको अनुभव गर्छन् ।

खासमा हिमालमा समन्वय गर्ने सरकारी अधिकारी (लेजो अफिसियर) शेर्पा आरोही नै राख्नुपर्ने हो । रिटायर्ड भएका शेर्पा आरोहीलाई लेजो अफिसर बनाउँदा आर्थिक सहायता पनि हुन्छ । शेर्पाको सम्मान पनि हुन्थ्यो । समन्वय पनि प्रभावकारी हुन्थ्यो । यो कुरा मान्न सरकार तयार छैन् ।

लेजो अफिसरको काम हिमालमा आरोही र सरकारबीच समन्वयकारी भूमिका खेल्ने हो । आरोही, एक्सपीडिसन टिम, गाईडलाई केही अप्ठ्यारो परेमा समन्वय गर्ने हो । लेजो अफिसर कम्तीमा एभरेष्ट बेसक्याम्पसम्म पुग्ने शारिरिक क्षमता भएको हुनुपर्छ । बेसक्याम्पमै पनि पुग्न नसक्नेहरु लेजो अफिसर हुन्छन् ।

सरकारले खटाएका लेजो अफिसरप्रति हरेक एक्सपीडिसन टिमले गुनासो पोख्छन् । यो आजदेखिको समस्या होइन, १९६० को दशकदेखिकै हो । जहिले पनि लेजो अफिसरप्रति असन्तुष्टी प्रकट हुन्छ । सरकारले पनि चासो दिँदैन ।

हामी भन्छौं, आरोहीलाई लेजो अफिसर राख्नुपर्छ । उनीहरुलाई लेजो अफिसर बनाइदिए क्याम्प वान, क्याम्प टुतिर दुर्घटना भएमा दौडेर गएर उद्दार गर्न पनि सक्छन् नि । सरकारले पनि शेर्पाको सम्मान गरेको ठहर्छ । आरोही रिटायर्ड भएपछि उसलाई जीवन यापन गर्न पनि सहज हुन्छ । नयाँ पुस्ताले पनि हिमालमा सम्भवना देख्न थाल्छन् । लेजो अफिसर सक्षम आरोही हुनुपर्ने देख्छु ।

तीब्बतमा एउटा लेजो अफिसर र एउटा इन्टरप्रेटर (भाषा अनुवादक) हुन्छन् । दुई जनाले सगरमाथा चढ्ने पुरै टिमको व्यवस्थापन गरेका हुन्छन् । उनीहरु आवश्यक परेमा एडभान्स बेसक्याम्प ६ हजार ४ सय मिटरमा पनि पुग्न सक्छन् । अरु समय बेस क्याम्पमा बसेर समन्वय गर्छन् ।

हाम्रोमा लेजो अफिसर बेसक्याम्प गयो भने पनि समस्या हुन्छ । नगए पनि समस्या निकाल्छन् । लेजो अफिसरले कुक र किचेन व्यायलाई हैरान पार्छन् । दिशा गर्न जान पनि तातो पनि देउ भन्छन् । हिमालमा आइस पगालेर पानी तताउने हो । धेरै समय लाग्छ ।

कहाँबाट तातो पानी दिनु ?ताजा खशीको मासु,कुखुराको मासु चाहियो, यो चाहियो, त्यो चाहियो भन्छन् । त्यो ठाउँमा कुखुरा र खशीको ताजा मासु खोज्नकहाँ जाने ?

धेरैजसो लेजो अफिसर नाम्चे, तेङबोचेतिर बस्छन् । बेसक्याम्प पुग्न सक्दैनन् । अरु काम हुँदैन तास खेलेर बस्छन् । तेङबोचेमा एक बोटल वियरको ७/८ सय पर्छ । एउटैले स्न्याक्स, खाजा, खाना गरेर तीन/चार हजार खर्च गर्दिन्छन् ।

उनीहरु मोटो रकमको बिल उठाउँछन् । लेजो अफिसर बेसक्याम्पमा बस्छ कि भनेर एक्पिडिसन टिमले उसको खाने, बस्ने सारा व्यवस्था मिलाएको हुन्छ । एक्सपीडिसन टिमलाई एकातिर बेसक्याम्पमा खर्च हुन्छ, अर्कोतिर तलको बिलले थिचेको हुन्छ ।

लेजो अफिसरको माग पुरा गरिसक्नु हुँदैन । म उपसचिव, सहसचिव, सरकारी अधिकृत भन्दै घुर्काउँछन् । उनीहरुको सम्पूर्ण खर्च एक्सिपीडिसन टिमले बेहोर्नु पर्छ । कहिलेकाहीँ लेजो अफिसर र आरोहण टीमबीच बार्गेनिङमा खटपट पन हुन्छ ।

आरोहणको भविष्य ?

भविष्य संकटमा देखिन्छ । पछिल्लो पुस्ताका शेर्पाहरुले राम्रो स्कुल कलेज पढेका छन् । निकै ट्यालेन्टेड छन् । जागिर, व्यवसाय, आरोहण वा विदेश जाने अप्सन पनि छ ।

पहिला एउटा एक्सपिडिसन टिमलाई २० आरोही चाहिएको छ भने सयौं आरोही गाइडले धेरै अगाडिदेखि नै मलाई राख्देउ भन्दै आउँथे । तर अहिले विदेशी आरोही आउनु ७/८ महिनाअघि नै लाखौं रुपैयाँ एडभान्स दिएर गाईड रिजर्भ गर्नुपर्छ । यदि विदेशबाट आरोही टिम आएन भने एडभान्स रकम गुमाउनु पर्छ ।

सगरमाथाको चुचुरोतर्फ लाग्दै आरोहीहरू ।

पहिला शेर्पा आरोही मलाई काम देउ भन्दै व्यवसायीकोमा धाउँथे, अहिले व्यवसायी नै गाईडको खुट्टा ढोग्न जाने अवस्था छ ।

राज्यको दायित्व

आरोहणलाई निरन्तरता दिनराज्यले दक्ष जनशक्ती उत्पादन गर्न तालिम दिनुपर्छ । जबसम्म दक्ष जनशक्ती हुँदेनन, आरोहणले निरन्तरता पाउँदैनन् । किनकी पुराना आरोही रिटायर्ड हुँदैछन्, नयाँ पुस्ता आरोहणमा आउने शंकेत देखिदैन ।

विदेशी आरोहीको ज्यान शेर्पा गाईडको हत्केलामा हुन्छ । गाईडको थोरैमात्र गल्तीले आरोहीको ज्यान जान सक्छ । गाईडले हिमाल चढाउने मात्र होइन, इमरजेन्सी पर्दा रेस्क्यू पनि गर्नुपर्छ । तत्काल प्राथमिक उपचार गर्नुपर्छ । यो सब थाहा हुनुपर्छ ।

गाईड रिटायर्ड भएपछि जीवन यापन गर्न सक्ने स्रोतको व्यवस्था गरिनु पर्छ । अंगभंग हुँदा आर्थिक सहायता हुनुपर्छ । रिटायर्ड गाईडलाई पेन्सनको व्यवस्था गर्नुपर्छ । तिब्बतमा गाईडलाई धेरै सुविधा दिएको छ । घर नै दिएको छ ।

इन्डियामा पनि रासन र बासको सुविधा छ । इज्ययत उत्तिकै छ ।सरकारी जागिर दिएको छ । हरियाणा राज्यमा सगरमाथा चढ्ने वित्तिकै पुलिसको डिएसपी भइने रहेछ । अनि १५/१६ लाख आइसी पनि दिने रहेछ । इन्डियन पुलिसको ठूलो टिम आउने कारण पनि त्यही रहेछ ।

इन्डियामा तीन तहको सरकारबीच आरोहलाई सेवा सुविधा दिन तछाड मछाड हुन्छ । इन्डियामा नेपाली आरोहीलाई पनि ठूलो सम्मान दिइन्छ । इन्डियाले कतिपय हिमाल चढ्न नेपाली गाईडलाई बोलाउँछन् । नेपाली गाईडले लिडर बनेर काम गरेका छन् । सरकारी सेवा सुविधा पाएका छन् ।

विश्वमै सबैभन्दा बेस्ड क्लाइम्बर भनेको शेर्पा नै हुन् । जुनसुकै मुलुकमा पनि शेर्पाको डिमाण्ड छ । नेपालले मात्र शेर्पाको योगदान चिन्न नसकेको हो ।

युरोपका विभिन्न मुलुकमा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कन्फ्रेन्सहरु भइरहन्छन् । त्यहाँ जहिल्यै मलाई बोलाउँछन् । एक त शेर्पा भन्ने वित्तिकै धेरैलाई क्युरिसिटी हुँदो रहेछ । शेर्पा भनेको कस्तो हुँदो रहेछ, हिमालमा बाँदरजस्तै चढ्ने होला भन्ने सोँच्ने रहेछन् ।

हामीलाई बिजनेश क्लास टिकट काटेर पठाउँछन्। पाँचतारे डिलक्स होटलमा कोठा दिन्छन् । कन्फ्रेन्स आयोजकले नेपालबाट प्रख्यात आरोही आउँदैछ भनेपछि हलमा अटाई नअटाई मान्छे आउँछन् रे । हामीलाई बिजनेश क्लास टिकट र तारे होटलमा राखेर उनीहरुलाई खर्च हुँदैन, धेरै गुना फाइदा हुन्छ रे ।

विदेशमा प्रख्यात नेपाली आरोहीले लेक्चर दिएरै समृद्ध जीवन यापन गरिरहेका छन् ।

आरोहीको समस्या

उनीहरु राम्रो कमाउँछन् र खर्च पनि गर्छन् । अरोहणमा जानुअघि जीवन रक्षा गर्न पुजा पाठ गर्छन् । धेरै खर्च पुजा पाठमै हुन्छ । भोज भतेरमा धेरै खर्च गर्छन् । भोली मारिन्छ वा बाँचिन्छ यकिन हुँदैन भन्ने शेर्पामा छ । आरोहण गरेर फर्केपछि दुःख गरेर कमाएको बिर्सन्छ, अनि बाँचेर फर्किएँ भन्दै खर्च गर्छन् । उनीहरुको कमाई बचत हुँदैन ।

कतिपय आरोहीहरु धेरै सचेत पनि हुनुहुन्छ । भविष्य हेर्नुहुन्छ । उहाँहरुको राम्रो प्रबन्ध पनि छ ।

मा प्रकाशित

Trending

error: Content is protected !!