Connect with us

विचार तथा ब्लग

५० लाख पर्यटक असम्भव होइन

नेपाली पर्यटनको इतिहास ६८ वर्ष पुरानो भइसक्यो । तर, अझै हामी १० लाख पर्यटकमा अडिएका छौं ।

नेपाली पर्यटनको इतिहास सन् १९५० को दशकबाट सुरु हुन्छ । सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । सन् १९५३ मा एडमन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको चुचुरो पुगे ।

विश्वकै अग्ला चुचुरामा मानव पाइला परेपछि नेपालको विश्वभरी चर्चा भयो । नेपाल हिमालयको मुलुक भनेर चिनिन थाल्यो । हिमालको सफल आरोहणपछि नेपाली पर्यटनको सुरुवात भयो । त्यही समयमा भारत पनि ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भयो ।

नेपालमा सन् १९५८ मा प्याकेज टुर सुरु भइसकेको थियो । बोरिस लिसानोभिचले बहादुर भवनमा रोयल होटल खोलेर पर्यटकलाई प्याकेज बेच्न सुरु गरिसकेका थिए । रोयल होटलमा विदेशी पर्यटक आउँथे । उनले पर्यटक घुमाउँथे पनि ।

बसन्त मिश्र

सन् १९६० को दशकमा हिप्पी मुभमेन्ट आयो । बेलायती आर्मीका कर्णेल जिम्मी रोबर्टस्ले ट्रेकिङ सुरुवात गरे । जिमले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्ट खोलेर सफारी पर्यटन सुरु गरेका थिए । पर्यटकीय मुलुकको रुपमा नेपालको ब्रान्डिङ त्यहीबेला भइसकेको थियो । तर, नेपालले पर्यटनबाट प्रयाप्त लाभ लिन सकिरहेको छैन ।

नेपाल एउटा घुम्नै पर्ने मुलुक हो । एउटा रमणिय मुलुक हो । सानो मुलुकमा हरेक चिज हेर्न पाइन्छ । साहसिक पर्यटन होस्, सांस्कृतिक पर्यटन होस् वा वाईल्ड लाईफ होस्, नेपालमा हरेक किसिमको प्याकेज प्रोभाइड गर्न सकिन्छ । नेपालमा ५० लाखमात्र होइन, करोडौं पर्यटक भित्र्याउन सकिने सम्भवना छ ।

नेपालमा ठूलो संख्यामा पर्यटक आउँदा पनि स्तरीय सेवा सुविधा पुर्याउन सकिन्छ । हाम्रो सेवाबाट अहिलेसम्म कुनै पर्यटक बेखुसी भएर फर्किएको छैन । हामी स्तरीय सेवा दिन सक्षम छौं । माओवादी जनयुद्धमा समेत नेपालमा पर्यटकमाथि त्यति हमला भएन । नेपाल पर्यटकका लागि सुरक्षित मुलुक रह्यो ।

पर्यटन नेपालको भरपर्दो उद्योग पनि हो । मुलुकमा १० वर्ष लामो माओवादी जनयुद्धमा पनि पर्यटन उद्योग मरेन । दुःख चाहीँ पायौं । तर, दुःख सुख चल्यो । यो नेपालका लागि गतिलो उद्योग हो । पर्यटनको राम्रोसँग स्याहार सुसार गर्न सकियो भने सम्पूर्ण नेपालीलाई पाल्न सक्छ ।

लक्ष्य २० लाख पर्यटक

सरकारले नेपाल भ्रमण वर्ष, २०२० घोषणा गरेरै वार्षिक २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । अहिले आइरहेको पर्यटकको संख्या दोब्बर बनाएपछि २० लाख पुग्नेछ । नेपाली पर्यटनको इतिहास ६८ वर्ष पुगिसकेको छ । यस अवधिमा बल्लतल्ल साढे १२ लाख पर्यटकको लक्ष्य पुरा हुँदैछ । हुन त सरकारले १० लाख पर्यटकको लक्ष्य राखेको थियो । सोँचेभन्दा दुइ लाख पर्यटक बढी भित्रिएका छन्। यो सकरात्मक हो ।

नेपालमा २० लाख पर्यटक ल्याउने साधन स्रोत छ कि छैन ? पर्यटक राख्ने ठाउँ त छ । यदि धेरै पर्यटक आउँछन भने हामी रातारात होटल पनि बनाउँछौं । र, बस पनि किन्छौं । नेपाली पर्यटन टेन्टेड क्याम्पबाट सुरु भएको थियो । हामी स्तरीय टेन्टेड क्याम्प पनि राखौंला । अहिले ठूलो संख्यामा होटल बन्दैछन् । डेढ दर्जनभन्दा बढी त पाँचतारे होटल बनिरहेका छन् ।  नेपालमा २० लाख पर्यटक राख्नका लागि होटल तयार भइसकेका छन् ।

याे पनि पढ्नुहाेस् : देशभर २० वटा पाँचतारे हाेटल थपिँदै

पर्यटनको लामो इतिहासमा हाम्रो एउटै समस्या रह्यो, अन्तर्राष्ट्रिय विमानस्थल । नेपालमा पर्यटन विकासको अवरोध भनेकै एयरपोर्ट भनिरहेका छौं । अहिले एउटैमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटक आइरहेका छन् । त्यसमाथि त्रिभुवन विमानस्थलको व्यवस्थापन चुस्त देखिँदैन् ।

सरकारले २० लाख पर्यटक भित्र्याउने आधार निर्माणाधिन भैरहवा विमानस्थललाई देख्यो होला । यो विमानस्थल सन् २०१९ भित्र सञ्चालनमा आइसक्ने बताइएको छ । त्रिभुवन विमानस्थल पनि चौबिसै घन्टा सञ्चालन गर्ने तयारी हुँदैछ । दुईवटा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने र विदेशमा व्यापक रुपमा पर्यटन प्रवद्र्धन गरेमा लक्ष्य हासिल हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणापत्रमा २०२७ सम्ममा ५० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको छ । गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका एमाले र माओवादी एक भएर नेकपा बनेको । जसको दुई तिहाई बहुमतको सरकार छ ।

यो सरकारले चाहेमा ५० लाख पर्यटकको लक्ष्य पनि हासिल हुन्छ । किनकी, नेपालमा ५० लाख पर्यटकका लागि होटल तयार भइसक्ने छन् । र, पर्यटक तान्ने प्रडक्ट प्रयाप्त छन् ।

सन् २०२७ सम्ममा निजगढ र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आइसक्छन् । सरकारले बजेटमार्फत तराईका चारवटा विमानस्थलको स्तरोन्ती गरी भारतमा उडान गर्न लायक बनाउने घोषणा गरिसकेको छ । यो काम पनि सकिएला । यदि सरकार गम्भिर भएर लागेमा भारत र चीनबाट रेल पनि आइपुग्ला ।

एयरपोर्ट व्यवस्थापन चुस्त बनाउँ

नेपालमा एयरपोर्ट व्यवस्थापनमा समस्या देखिन्छ । यही आकारको विमानस्थल भएका विदेशी मुलुकले हामीले ह्यान्डल गरेभन्दा २० गुना बढी पर्यटक ह्यान्डल गरिरहेका छन् । हामीले राम्रो व्यवस्थापन गर्न सकेमा २० लाख पर्यटक भित्र्याउन एउटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयाप्त हुनेछ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने भनेको पनि वर्ष दिन पुग्न थालिसक्यो । तर, अहिलेसम्म कसरी भित्र्याउने रणनीति बनेको छैन । कुन मुलकबाट कति पर्यटक ल्याउने ? कसरी ल्याउने ? मार्केटिक कसरी गर्ने ? कसरी अगाडि बढ्नै ? नेपालको बारेमा भइरहेको नेगेटिभ पब्लिसिटी कसरी खन्डन गर्ने ? र, पोजेटिभ समचार कसरी प्रवाह गर्ने ? यस्तो रणनीतिक योजना ल्याउन ढिलो हुन लाग्यो ।

पर्यटक भित्र्याउने एउटा तार्गेट त राख्नै पर्छ । हामी १० लाख पर्यटकमा अल्झिएर बस्नु हुँदैन । यदि सरकार गम्भिर भएमा २० लाख पर्यटक पुग्छन्, यदि नपुगे पनि १५ लाख त पु¥याउन सकौंला नी । अहिलेदेखि नै लागेमा २०२७ को ५० लाख पर्यटक लक्ष्य हासिल गर्न सकिन्छ ।

मेरो बिचारमा २० लाख पर्यटक महत्वाकांक्षी लक्ष्य होइन । तर, त्यो लक्ष्य हासिल गर्न मेहेनत गरेनौं भने सफलता मिल्दैन । सबै पक्ष (सरकार, निजी क्षेत्र) एकजुट भएर लाग्नुपर्छ । हाम्रो मुख्य समस्या अन्तर्राष्ट्रिय बजारीकरण हो । यसमा पनि कार्ययोजना बनाएर लाग्नुपर्छ । कुन बाटो जाने र कसरी पर्यटक ल्याउने । यसमा स्पष्ट हुनुपर्छ ।

समय कम भएकोले २० लाख पर्यटक ल्याउन हम्मेहम्मे त पर्ला । किनकी, पर्यटक दोब्बर पु¥याउन लागेका छौं । तैपनी मेहेनत गरेमा असफल भइएला झैं लाग्दैन । तर, त्यसमा कति सिरियस छौं भन्ने हो ।

सम्भव छ, ५० लाख पर्यटक ?

हामीले २०२० को लक्ष्य कति भेट्याउँछौं । त्यसैले २०२७ को भविष्य निर्धारण गर्नेछ । वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यमा पुग्न सकिन्छ कि सकिदैन भनेर अढाई वर्षपछि थाहा हुनेछ । विमानस्थल, सडक र ट्रफिक कन्जेसनबाहेक निजी क्षेत्रले होटेल, रेष्टुरेन्ट, ट्रेकिङ लगायतका आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउन सक्षम छौं ।

अहिले देशमा इन्टरनेशनल होटल चेन आइरहेका छन । सुविधा सम्पन्न होटल बनिरहेका छन् । वार्षिक २० लाख पर्यटकलाई अहिलेकै होटलले सुविधा पुर्याउन सक्छौं । देशमा पर्यटक आगमन बढ्ने र यही रफ्तारमा होटलमा लगानी भइरहे ५० लाख पर्यटक धान्ने होटल छिट्टै तयार भइसक्ने छन् ।

१० वर्षमा नेपाल भित्रिएका पर्यटक

वर्ष पर्यटक संख्या 
२००८ ५,००,२७७
२००९ ५,०९,९५६
२०१० ६,०२,८६७
२०११ ७,३६,२१५
२०१२ ८,०३,०९२
२०१३ ७,९७,६१६
२०१४ ७,९०,११८
२०१५ ५,३८,९७०
२०१६ ७,५३,००२
२०१७ ९,४०,२१८
२०१८ ११,७३,०७२

स्रोतः पर्यटन मन्त्रालय

नेपाल वाइल्ड लाइफ टुरिजमको पायोनियर हो । हामीले अरुलाई सिकाएका हौं । तर, सरकारले निकुञ्ज भित्रका होटललाई गलहत्याएर निकालेको छ । यो गलत थियो । अहिले पनि अफ्रिकाले वाइल्ड लाइफ टुरिजममा लिड गरिरहेको छ । उसले पुरै राष्ट्रिय निकुञ्ज निजी क्षेत्रलाई जिम्मा लगाएको छ । बरु कानुन कडा बनाउ, बदमासी गर्नेलाई कडाभन्दा कडा कारबाही गर । तर, निकुञ्जभित्र होटल चलाउन देउ ।

नेपाल ट्रेकिङको पनि पायोनियर हो । सन् १९६० को दशकमै बेलायती आर्मीको कर्णेल जिम्मी रोवर्टसले नेपालमा ट्रेकिङ सुरु गरेका हुन् ।

अबको पर्यटनमा रिसर्च बेस्ड मार्केटिङ हुनुपर्छ । अनिमात्र लक्ष्य हासिल हुन्छ । हाम्रो देशमा द्धन्द्ध रोकिने वित्तिकै पर्यटकको संख्या ह्वात्तै माथि बढ्यो । हामीले कुनै मार्केटिङ गरेर होइन । रिसर्च पनि गरेको होइन । तर, राम्रो सन्देश संसारभर पुग्यो । नेपालको ब्रान्डिङ पहिल्यै भइसकेको छ । सगरमाथा नेपालमै छ । आठ हजार मिटर अग्ला चढ्न नेपाल नै आउनु पर्छ । एक सिंगे गैंडा र बाघ हेर्न पनि नेपाल धाउनु पर्छ ।

हामीले भिजिट नेपाल १९९८ र भिजिट नेपाल २०११ प्नि मनायौं । हामी मार्केटिङमा जान्छौं, सरकारी पैसा खर्च गर्छौं । तर, त्यसको अडिटिङ कहिल्यै पनि हुँदैन । हामीले अडिट गर्नैपर्छ । हामी इमान्दार हुनैपर्छ । मैले गरेको काम सफल भयो भनेर चारवटा अखबारमा लेखाएर, ट्वीट ठोकेर पुग्दैन ।

हामीले अडिट गरेपछि अर्को वर्ष कमजोरी सच्चाउन पाइन्छ । २०२० मा १५ लाख पर्यटक आयो रे । हामीले किन ५ लाख पर्यटक आएनन् भनेर अध्ययन गरेमात्र २०२७ सम्ममा ५० लाख पु¥याउन सकिन्छ । हामीले करेक्सन गर्ने बानी बसाल्नुपर्छ । पर्यटनबाट फड्को मारेका मुलुकले पनि पर्यटक आगमन बढाउन यसै गरेका हुन् ।

पूर्वाधार

पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार विकास हुनैपर्छ । विमानस्थल, सडक निर्माण हुनुपर्छ । सरकारले बनाउन खोजेका त्रिभुवन विमानस्थल स्तरोन्नती, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, निजगढ विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ ।

चीन र भारतबाट रेल ल्याउने कुरा छ । त्यसलाई पनि मुर्त रुप दिनुपर्छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, महेन्द्र राजमार्गको समानान्तर विद्युतीय रेल, चीन जोड्ने नाकाको स्तरोन्नती, बुटवल–पोखरा, पोखरा–काठमाडौ सडक ४ लेनमा स्तरोन्नती लगायत काम समयमै सम्पन्न गर्नुपर्छ । नागढुंगाको जाम हटाउन सुरुङ निर्माण गर्ने कुरा छ । त्यो पनि समयमा हुनुपर्छ ।

हाम्रो सडक पनि राम्रो भएन । केही समय मुग्लिन–नारायणगढ सडकले दुःख दियो । धेरै वर्षदेखि नागढुंगाको बाटोले सताइरहेको छ । यो बाटो छिचोल्नै समस्या हुन्छ । यस्ता सानो कुरमा पनि ध्यान पु¥याउनु पर्छ ।

नेपालको तराईदेखि सगरमाथाको चुचुरोसम्म छ । यहाँ धेरै प्रकारको पर्यटकीय प्रडक्ट छ । म भन्छु, सम्पूर्ण नेपाल नै पर्यटकीय प्रडक्ट हो । हाम्रा हरेक जिल्लामा पर्यटकीय प्रडक्ट छन् । हामीले जे देखाएर पनि पर्यटक खुशी पार्न सकिन्छ ।

हामीले कुन–कुन मुलुकबाट पर्यटक बढी भित्र्याउन सकिन्छ । कुन–कुन मुलुकलाई कम प्राथमिकता दिए पनि हुन्छ । यसमा रिसर्च हुनुपर्छ । कुनै मुलुक आर्थिक संकटमा छ भने त्यहाँ पैसा खर्चिएर गरेर मार्केटिङ गर्नु आवश्यक छैन ।

हामीले भारत र चीनलाई फोकस्ड गर्नैपर्छ । नेपालका भरपर्दो पर्यटक भारतीय र चिनियाँ हुन् । बरु धेरै भारतीय र चिनियाँ भित्र्याउन पहल गर्नुपर्छ । भारतबाट१०÷२० लाख पर्यटक ल्याउनु कुनै ठूलो कुरो होइन । चीनबाट ५÷१० लाख पर्यटक सजिलै भित्र्याउन सकिन्छ ।

हाम्रो ट्रडिस्नल मार्केट पनि छन् । अमेरिका, बेलायत, जर्मन, फ्रान्स, स्पेन, इटाली लगायत मुलुकबाट आउने पर्यटकको संख्या बढाउन पनि पहल गर्नुपर्छ । दक्षिण पूर्वी मुलुकबाट पनि प्रशस्तै पर्यटक घुम्न निस्कन्छन् । हाम्रो लागि दक्षिण पूर्वी मुलुक पनि महत्वपूर्ण हुन् ।

लेखक बसन्त मिश्र बरिष्ठ पर्यटन व्यवसायी हुन् ।

मा प्रकाशित

Trending

error: Content is protected !!