Connect with us

विचार तथा ब्लग

देश धनी छ, जनता गरीव किन ?

देशको ढुकुटीमा अथाह सम्पत्ती संचित छ । तर, ढुकुटीको साँचो खेल्न सक्ने र जान्ने नेता कहिल्यै जन्मिएन ।

हाम्रो देश कता गइरहेको छ ? नेपाली समाज कता जाँदैछ ? यो प्रश्नले मलाई सोँचमग्न बनायो । अन्तरआत्माबाट सहजै उत्तर पाउन सकिनँ । यही प्रश्नको ज्वारभाटामा डुबुल्की मारिरहेँ । अहिले नेपाली समाज बिचलित हुँदैछ । हत्या, हिंसा, बलत्कार, भ्रष्टाचारले जरा गाड्न थालिसकेको छ । यस्ता हर्कतले नेपाली समाजलाई कता लैजाने छ ।

जब मेरो मनमस्तिस्कमा कुनै बिचारले प्रभुत्व जमाउन थाल्छ । म दर्शनमा होइन, यथार्थमै उत्रिन खोज्छु । यो बेला मेरो जीवनका भोगाई र अनुभवमार्फत सचेतनाको अनुभुतिलाई छुने कोशिस गर्छु । र, तीन अनुभुतीहरु शब्दमा उतार्ने कोशिस गर्छु ।

सायद त्यसैले होला, म एउटा उद्यमी भएर पनि केही हदसम्म एउटा साधारण लेखक पनि बन्न सकेको छु । म जीवनको ७६ औं वर्षमा दौडिरहेको छु । यो अवधिमा समाजमा थुप्रै कुराहरु देखेँ र बुझें पनि । मेरो बुझाई छ, हाम्रो देश बिडम्बनै बिडम्बनाको माखो साँग्लोमा अल्झिरहेको छ ।

देश धनी छ, तर जनता गरीव भएर बाँचिरहनु परेको छ । परिवर्तनको सपना देखाउँदै देशमा अनगिन्ती क्रान्ती भए, तर कुकुरको पुच्छर कैले सोझो भएन । अर्थात्, जनताले दुःख पाइनै रहे । समृद्धि सपनामात्रै रह्यो ।

देशको ढुकुटीमा अथाह सम्पत्ती संचित छ । तर, ढुकुटीको साँचो खेल्न सक्ने र जान्ने नेता कहिल्यै जन्मिएन । अब, जन्मिएलान कि भन्ने आशा पनि हराइसक्यो । नेपाली जनता पनि आफै सुनको खानीमा राज गरिरहेका छन् । तर, सुनको असली रङ नचिनेर पितलको नक्कली ‘पीत’ जीवनशैली खोज्न भौतारिरहेका छन् ।

यसको दोष कसलाई दिने ? नेता, व्यापारीलाई दिने ? अथवा, १० किलो चिनी खाएर गुलियोको स्वाद थाहा नपाउने अबुझ जनतालाई दिने ? माल पाएर पनि चाल नपाउने हामी जनता मालिक बन्न कहिल्यै जानेनौैं । सधै नोकर बन्नमै रमायौं ।

विश्वमै तिब्र गतिमा विकास गरिरहेका चीन र भारत छिमेकी मुलुक हुन्, जसको बिचमा नेपाल अवस्थित छ । अहिले चीन र भारतले गरेको विकास लोभलाग्दो छ । त्यहाँ भएको विकास नेपालमा चुहिएमात्र नेपाल समृद्ध बन्न सक्छ । तर, हामी छिमेकी मुलुकको प्रगति कहिल्यै अनुसरण गरेनौं ।

हामी छिमेकी मुलुकको विकासको नीति अनुसरण गर्नुको सट्टा गल्ती र त्रुटीहरु पछ्याएर दलदलमा फस्दै गइरहेका छौं । बरु भुटानले हाम्रो कमजोरीबाट सिकेर विकासको बाटोमा लम्किन सफल भइरहेको छ । भुटानले छोटो अवधिमा गरेको विकास विश्वकै लागि पाठ बनेको छ ।

हामी विकासका धेरै गफ गर्छौं । बिहान चियाको कप समातेदेखि विकासका गफहरु निस्किन्छन् । यस्तो लाग्छ, नेपालीहरु विकास र समृद्धिमा ज्यादै चिन्तित छन् । तर, हामीले कहिल्यै बुझ्न चाहेनौं की नेपालको समस्याको समाधान आकाशमा हैन, आफ्नै नाकमुनि छ भनेर ।

मलाई लाग्छ, सफलता भनेको सम्भावना र अवसरको अंशियारले हैन, सही अध्ययन र सही अन्वेषणको उपलब्धी हो । नक्कली सफलता उतार्न सकिन्छ, सक्कली सफलता जन्माउनै पर्छ ।

साँच्चिकै भन्ने हो भने हामीले विकासको अबधारणलाई बुझेकै छैनौं । हामी विकासलाई सधै पूर्वाधारको कसीबाट जाँच्न खोज्यौं । यो भुल हो, किनकी विकासको सफलता तराजुमा जोख्ने हैन, चेतना र विवेकशीलताको ढकले जोख्ने हो ।

त्यसैले म भन्छु, यदी विकास ‘हार्डवेयर’ हो भने, चेतना र विवेक ‘सफ्टवेयर’ हो । र, सफ्टवेयर बिना हार्डवेयरले मात्र काम गर्दैन ।
यदी आदर्श र दर्शनलाई यथार्थको चालनीमा छानेर हेर्ने हो भने घेरै व्यवहारिक भावात्तेरिक उदाहरणहरू पाउछौँ । जुन मैले यहाँ प्रस्तुत गर्ने जमर्को गरेकोछु ।

१. बुद्धी सधै उपलब्धीभन्दा एक कÞदम अगाडि बढ्ने हुँदा हामीलाई सधै अपुग र अभावले सताउने गरिरहेको छ । यो प्रकृतिक नियम हो । यसबाट आतिनुपर्ने अवस्था छैन ।

२. हामी निन्दाशिल हल्लाखोर मान्छेहरूबाट सतर्क हुनुपर्छ । किनकी, उनीहरूको शब्दकोशमा तर्क कुतर्कको कुनै अर्थ हुँदैन । त्यसैले उनीहरूसँग बाद बिबाद गरेर बस्नु भनेको समय बर्बाद गर्नु हो।

३. देश भाषणले हैन, काम गरेर बन्छ । त्यसैले म आफ्नो जिवनलाई उपलब्धीमुलक बनाउन चाहन्छु ताकी भविष्यमा आफ्ना सन्ततीलाई सफलताको कथा सुनाउँदा अरु कसैको उदाहरण दिन नपरोस ।

‬४. हरेक मान्छेमा इच्छा र सोख हुन्छ र हुनु पनि पर्छ । तर, यो पनी थाहा हुनुपर्छ की इच्छा र सोख भनेको फरक–फरक बिषय हो । इच्छा योजना बिनाको चाहना हो भने सोख योजना बिनाको इच्छा हो ।

त्यस्तै, आजकाल हामी ‘बाध्यता–बाध्यता’ भन्दै आफुले आफुलाई चोख्याई रहन्छौं । तर मलाई लाग्छ, बाध्यता भनेको विकल्प हुन सक्तैन । तर, यो लचिलो असमर्थताको अस्पष्ट व्यक्तिगत अकर्मन्यताको अभिव्यक्ति मात्र हो । खाने मान्छे लाई जुंगाले छेक्दैन ।

५. बास्तवमा हाम्रो देश खत्तमै भएको छैन । राम्रो–राम्रो कामहरू पनी भएका छन, भइरहेको छ । तर, नकारात्मक निरासावादको बादलमा ती राम्रा कामहरु हराएका मात्र हुन् ।

यो देशमा हामीले सधै जिम्मेवारी बीहिन नेता र बौद्धिक व्यक्तिहरुलाई आफ्नो नायक बनायौं । तर, कुनाकाप्चामा काम गरिरहने अलिखित अदृश्य कर्मबीरहरूलाई चिन्न सकेनौं । जबसम्म समाजमा अदृस्य नायकहरूको पहीचान र सम्मान हुँदैन, जबसम्म उनीहरूको राम्रो कामलाई प्रोत्साहन गरिदैन, तबसम्म समाज प्रगतिशील हुनै सक्दैन ।

राम्रो कामलाई राम्रो भन्न नसक्ने र गर्न पनि नदिने मनस्थिती हाबी भइरहेको हुँदा हाम्रो देशमा सबथोक भएर पनी केही नभएको ‘रिसोर्स कर्स’को रोग लागेक हो ।

म अहिले ७६ बर्षको सुनौलो साँझको झ¥याङमा ओर्लिरहेको छु । मेरो सकृय जीवनको अर्थपूर्ण समय सीमित छ । जे गर्नु छ, अहिले नै गर्नुपर्छ । त्यसैले म धनवान, बुद्धिमान, बलवानहरुसँग समय बिताउन चाहन्न । किनकी, उनीहरू आफै जानकार हुन्छन, म उनीहरूलाई परिवर्तन गर्न सक्दिन ।

अचेल म ‘भोलीका कर्णाधार, आजका साझेदार’ युवाहरूसँग साक्षतकार गरिरहेको छु । उनीहरूसँग सकरात्मक सोच साटिरहेको छु । जुन बेलासम्म सकारात्मक सोच, चेतना र बिबेकको नियमले जनमानसलाई नियमन गर्न सक्तैन, त्यो बेलासम्म समाज र देशलाई कुनै पनि नियम कानुन विधान, संविधानले पार लगाउन सक्दैन ।

म यही कोशिसको थालनीमा छु । आजका युवाहरु बयस्क बन्न एक जुग लाग्न सक्ला । एक जुग भनेको मान्छेको जीवनमा लामो होला, तर राष्ट्रको सवालमा एक क्षणमात्र हो ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!