Connect with us

विचार तथा ब्लग

लकडाउनमा टोलबासीको सक्रियतामा लिन सकिने फाइदाहरु

सामाजिक सञ्जालहरु भाईबर, ह्वाट्स एप, फेसबुक मेसेञ्जरमा टोलबासीको ग्रुप बनाई घरबाटै रचनात्मक काम गर्न सकिन्छ ।

कोरोनाको महामारीबाट बच्नका लागि दुई सातादेखि मुलुक लकडाउन छ । लकडाउन बैशाख ३ गतेसम्म लम्बिएको छ । अझै कति दिन लकडाउन लम्बिने हो अहिले यकिन गर्न पनि सकिने अवस्था छैन ।

लकडाउनको बेलामा घरमै दिक्क मानेर बस्नुहुन्छ कि रचनात्मक काम गरेर बिताउनु हुन्छ ? यो बेलामा आ–आफ्नो घरमै बसेर पनि विभिन्न टोलसुधार समितिहरु वा टोलटोलमा बसोबास गर्नेे व्यक्तिहरुको स–साना समूहहरुले कोरोना भाइरसबाट सिर्जना भएको फुर्सदको समयलाई महत्वपूर्ण काममा सदुपयोग गर्न सकिन्छ ।

यसको लागि सबैभन्दा पहिला टोलबासीहरुले भाइबर, ह्वाट्स एप, मेसेन्जर वा अन्य कुनै सामाजिक सञ्जालमा गु्रप बनाएर एक आपसमा जानकारी तथा सहयोग लिन दिन सकिन्छ । यस्ता समूहहरु बनाउँदा विभिन्न टोल सुधार समाजहरु वा व्यक्तिहरुको सक्रियतामा सम्भव भएसम्म सबैलाई समेट्ने प्रयास गर्नुपर्छ ।

१) टोलहरुमा सामानहरु घरघरमा पुर्याउने व्यवस्था मिलाउने

अनलाइन, टेलिफोन, अन्य विद्युतीय सञ्चारमाध्यमहरु वा एप्लिकेसनको सहयोगबाट अत्यावश्यक सामानहरु घरघरमा पुर्याउने व्यवस्था गरेमा भिडभाड कम हुने र सरुवा रोगबाट बच्न सकिने हुँदा दुबै पक्ष लाभान्वित हुन्छन् ।

पसलेहरुको लागि पनि यो परिस्थितिबाट सिर्जना भएको अवसर हो । यो विशेष परिस्थितिपछि पनि सधैका लागि यो व्यवस्था कायमै गर्न सकिन्छ । टोलबासीहरुले भाइबर, ह्वाट्स एप, मेसेन्जर वा अन्य कुनै ग्रुप बनाएर आ–आफूले उपलब्ध गराउन सक्ने वस्तु वा सेवाको बारेमा जानकारी गराउन सक्छन् ।

सामानहरु घरघरमा पुर्याउँदा मास्क, पञ्जा लगार्य कोरोना भाईरस सर्न नसक्ने गरी तोकिएको मापदण्ड पूरा गरेर भरपर्दो व्यवस्था गर्ने । आफूसँग उपलब्ध बस्तु वा सेवाको जानकारी तस्विर र मूल्यसहित सम्बन्धित टोलको गु्रपमार्फत शेयर गर्ने र आवश्यक परेको बखत घरघरमा पुर्याउने । यथासक्य विद्युतीय सेवामार्फत भुक्तानीको व्यवस्था गरौं, जसले गर्दा कोरोना लगायत अन्य रोगहरु सर्न पाउँदैनन् र बैंकहरु बन्द भएको अवस्थामा समेत सहज हुन्छ ।

यो व्यवस्थाबाट व्यवसायीहरुलाई आ–आफ्नो व्यवसाय दीर्घकालीन रुपमा प्रवद्र्धन गर्ने अवशर समेत मिल्छ ।

२) स्वयम सेवकको भूमिका

हरेक टोलमा विभिन्न पेशा, व्यवसाय र रोजगारी गरिरहेका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल व्यक्तिहरु हुन्छन् । जस्तै,स्वास्थ्य, कृषि, कानून, इन्जिनियरिङ, शिक्षा, सुरक्षा, अन्य विशेष वा व्यवसायिक शिक्षा हासील गरेका व्यक्तिहरु ।
आफ्नो विज्ञता वा ज्ञानलाई एक आपसमा साटासाट गरी सहयोगको आदानप्रदान गर्न सकिन्छ ।

को सँग के ज्ञान र सीप छ, समाजसेवा गर्न तत्पर व्यक्तिहरुको सामाजिक सञ्जालमा गु्रप बनाएर अनलाइनबाटै सेवा दिन पनि सकिन्छ । जस्तै, कसैले स्वास्थ्य समस्या सम्बन्धमा जानकारी दिन सक्छन्, कसैले करेसाबारी बनाउने, कसैले जैबिक मल बनाउने, कसैले योगा सिकाउने, कसैले कप्युटर सिकाउने, कसैले कानूनी तथा इन्जिनियरिङङ्ग सम्बन्धी परामर्श दिने, कसैले नाचगान र बजाउन सिकाउने, सरकारी वा अर्ध सरकारी सेवामा कार्यरत कर्मचारीहरुले तततत् क्षेत्रको बारेमा तालिम, जानकारी वा सेवा प्रदान गर्न सक्छन् । हरेक व्यक्तिसँग बेग्लै र विशिष्ट ज्ञानहरु रहेका हुन्छन् नै ।

यस्तो तालिमको जानकारी दिन सबैभन्दा पहिला आफूले प्रदान गर्न सक्ने ज्ञान, सिप वा तालिमको बारेमा सम्बन्धित टोलको सामाजिक गु्रपमा पोष्ट गर्न सकिन्छ । सिक्न चाहने इच्छुक व्यक्तिहरुको समूह बनाई निश्चित मिती र समय तोकी गु्रप भिडियो, फेसबुक लाइभ आदि मार्फत तालिम वा कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

३) एक आपसमा परिचय र भाइचारको सम्बन्ध स्थापना

यो कठिन परिस्थितिमा सबै एक आपसमा मिलेर पारस्परिक सहयोगको आदान प्रदान गर्नु महत्वपूर्ण हुन्छ । यो एउटा समाजमा बसोबास गर्ने व्यक्तिहरु बिचमा विद्युतीय माध्यमबाट परिचय गर्ने र भाइचाराको सम्बन्ध स्थापना गर्ने अवसर पनि हो ।

यो फुर्सदको समयलाई सदुपयोग गर्दै सामाजिक गु्रपमार्फत परिचय गरी सहयोगको आदान प्रदानले आत्मसन्तुष्टी हुनुका साथै सधैभरिका लागि असल सम्बन्ध स्थापित हुन सक्छ ।

४) मनोरञ्जन तथा शारिरीक अभ्यास

हरेक दिन निश्चित समयमा आ–आफ्नो छतछत वा कौशिमा जम्मा भएर बत्तीहरु बालेर उज्यालो गराई नाचगान, शारीरिक व्यायम वा संयुक्त रुपमा योगा आदि गर्न सकिन्छ । फेसबुक लाइभ वा गु्रप भिडियो वा कलबाट पनि एकसाथ गर्न सकिन्छ । जसले गर्दा रातदिन भित्रै बसिरहने र दिक्क लाग्ने अवस्था दूर हुन सक्छ । गु्रपका सदस्य जो कसैले यसको प्रस्ताव वा पहल गरी अरुले अनुसरण गर्न सकिन्छ ।

५) सरसफाइ तथा वातावरण संरक्षण

सबैले आ–आफ्नो घर अगाडिको सडक चोक बढारेर सफा सुग्घर राख्न सकिन्छ । बगैंचा वा कौशिमा बोटबिरुवा रोप्न सकिन्छ । यो समय घरमा बगैंचा वा करेसावारी बनाउन सकिन्छ ।

आफ्नो घरमा बढी भएका वा आफूले उपलब्ध गराउन सक्ने फलफुल तरकारी आदिका बोटबिरुवाहरु गु्रपमा शेयर गरी सशुल्क वा निशुल्क उपलब्ध गराउन सकिन्छ । नर्सरीहरुले बोटबिरुवाहरुको मूल्य तथा तस्विरसहित सामाजिक सञ्जालमा पोस्ट गरेमा ग्राहकले अर्डर गर्न सक्छन् । र, नर्सरीहरुले घरघरमा बोटबिरुवा पुर्याई दिन सक्छन् ।

अहिले धेरैजसो नर्सरीमा फुल र बोटहरु सुक्न लागेको सुनिन्छ । यसरी नर्सरीमा फुल र बोट सुकाउन पर्दैन । ग्राहकले अनलाइन अर्डर गर्ने र नर्सरी सञ्चालकले घरघरम पुर्याउने व्यवस्था गरेमा दुबै पक्ष लाभान्वित हुन्छन् । यस्तो बेलामा सुक्न लागेका बोटविरुवा ग्राहकले सस्तोमा पाउने सम्भवना पनि हुन सक्छ । किनभने, यो समयमा नर्सरीका बोटविरुवाको माग स्वात्तै घटेको छ ।

६) व्यक्तित्व विकास, मर्मत सम्भार र अन्य व्यवस्थापन

स्टोर सफा गर्ने सकिन्छ । लामो समयसम्म स्टोरमा वा दराजमा थन्किएका कपडा मिलाउन सकिन्छ । अहिले जाडोका लुगा थन्काएर गर्मीका लुगा निकाल्ने बेला पनि भएको छ । किचनका भाडाकुडा मिलाउन सकिन्छ । विद्युतीय र मेसिनरी सामान पुछपाछ गरेर मिलाएर राख्न सकिन्छ । फर्निचरमा धुलो लागेको हुन सक्छ, पुछपाछ गर्नुहोस् । पर्दा, तन्ना धनुुहोस् । यही समयमा गलैंचा धोएर राख्न सकिन्छ । बैठक कोठा मिलाउन सकिन्छ ।

घरमा बढी भएका वा काममा नआउने सामानहरु बिक्री गर्न वा निःशुल्क उपलब्ध गराउन गु्रपमा सूचना दिनुहोस् । घर रंगरोगन गनुहोस् । युट्युब भिडियोहरु हेरेर जानकारी लिएर घरमा प्रयोग नभएका वा उपयोग नभएका सामानहरु बैकल्पिक प्रयोगमा ल्याउने र अन्य मर्मत सम्हार गर्न सकिन्छ ।

आफ्नो भविष्यको योजना र व्यवसायको खाका तयार गर्ने, भाषा सिक्ने, आर्ट गर्न सिक्ने, नातेदार इष्ट मित्रहरुलाई फोन गरी सम्बन्धलाई प्रगाढ बनाउने, चर्चित र राम्रा सिनेमाहरु हेर्ने, म्युजिक सुन्ने, नाचगान तथा बजाउन सिक्ने, अघिदेखि लेख्ने सोँच गरेको कार्यलाई पूरा गर्ने, आफ्नो कार्यक्षेत्रको कामलाई कसरी बढिभन्दा बढी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बनाउने आदि गर्न सकिन्छ । आफूले गर्ने र अरुलाई पनि गर्न ग्रुपबाटै प्रोत्साहन गर्ने गर्नुहोस् ।

७) अध्ययन अध्यापन सम्बन्धी कार्य

शिक्षकहरुले आ–आफ्ना विद्यार्थीहरुलाई भिडियो वा फोनबाट नियमित सम्पर्क गरी सल्लाह दिन सकिन्छ । विद्यार्थीलाई गृहकार्य दिने, आफूले पढाउनु पर्ने विषयको नियमित रुपमा अनलाइनबाटै अध्यापन गराउनु पर्छ ।

विद्यार्थीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएर उनीहरुलाई सक्रिय राख्न सकिन्छ । यसको लागि कुनै औपचारिक निर्णय पर्खनु पर्दैन । हरेक शिक्षकले स्वेच्छिक रुपमा तुरुन्त गर्न सक्छन् । आफूले गरेको रचनात्मक काम ग्रुपमा सेयर गरेमा अरुलाई पनि उत्पेरित गर्न सक्छन् ।

८) कोरोना नियन्त्रण सम्बन्धमा अनुगमन र निगरानी

नवआगन्तुक वा जथाभावी घुलमिल हुने वा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्तिले तोकिएको मार्गदर्शन पालना गरे नगरेको निगरानी गरौं । त्यसो नगरेको पाइएमा सम्बन्धित निकायमा तुरुन्त खबर गरौं । सबै व्यक्ति र समाज सचेत नभई सरकारले मात्र प्रभावकारी कार्य गर्न कठिन हुन्छ ।

कोरोना नियन्त्रणमा सरकारले जारी गरेको आदेशलाई पूर्ण पालना गराउने र टोल तथा बस्तीहरुमा भाइरस फैलनबाट रोक्नको लागि कसैले आदेशको उल्लंघन गरेको पाइएमा तुरुन्त उजुरी गर्नुपर्छ ।

खाद्य वा औषधी पसलहरुमा भिडभाड नगरी तोकिएको दूरीको पालना गरी एक/एक गरेर मात्र सामान खरिद बिक्री गर्ने व्यवस्था गर्ने । तोकिएको मापदण्ड पुरा नगरी वा भिडभाड गराएर पञ्जा र मास्क नलगाई समान बेचबिखन गर्ने पसलेहरु भएमा यसो नगर्न सुझाब दिन सकिन्छ । अटेर गरेको खण्डमा प्रहरीमा उजुरी गर्नुस् । र, त्यस्तो पसलहरुबाट समान खरिद नगर्नुहोस् ।

चोकचोकमा अनावश्यक रुपमा भिडभाड गरेको देखिएमा सम्बन्धित निकायमा खबर गनुहोस् । र, समाजको कोही व्यक्ति कोरोना संक्रमित भएमा के कसरी व्यवस्थापन र एक आपसमा सहयोग गर्ने सम्बन्धमा आन्तरिक योजना तयार पार्नुहोस् ।

लेखक परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागका महानिर्देशक हुन् ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!