विचार तथा ब्लग
किन खुल्नुपर्छ निकुञ्जभित्रका होटल ?
वाईल्ड लाईफमा रमाउन आएको पर्यटक गाउँमा बच्चा रोएको, कुकुर भुकेको, गाडी कराएको, माइकिङ गरेको सुन्न चाहँदैन ।

अफ्रिकामा जंगल पर्यटन सुरु भइसकेको थियो । विश्वभरका वाईल्ड लाईफ पारखी जंगलमा रमाउन अफ्रिका पुग्थे । नेपालको जंगल राजा-महाराजाको शिकार खेल्ने थलो बनेको थियो । नेपालमा विदेशी देखिदैनथे । कहिलेकाहीँ राजा/राणाका विदेशी साथीहरु आउँथे ।
विश्वभरका मान्छेहरु वाईल्ड लाईफ भन्ने वित्तिकै अफ्रिका सम्झिन्थे । तर नेपालमा औलो लाग्ने डरले हामी तराईका जंगलमा पस्न डराउँथ्यौँ । हाम्रो प्रडक्ट भनेको काठमाडौं र पोखरा मात्र थियो । कतिपय पर्यटक हिमालतिर ट्रेकिङ र एक्पिडिसनमा जान्थे ।
सन् १९६४ ।
विदेशी नागरिकले चितवन राष्ट्रिय निकुञ्जभित्र टाईगर टप्स रिसोर्ट खोले । त्यसपछि हामीले टेम्पल टाईगर लज खोल्यौँ । अरु ५/७ वटा रिसोर्ट पनि खुले । निकुञ्ज बाहिर पनि होटल खुल्दै गए । सबैले नेपाली वाईल्ड लाईफ टुरिजमको विश्वभर प्रचार गर्यौं । नेपालमा नयाँ प्रडक्ट जन्मियो– वाईल्ड लाईफ ।
अहिले वाईल्ड लाईफको कुरा गर्नुुस्, अफ्रिका पछि नेपालकै नाम आउँछ ।

वसन्त मिश्र, पर्यटन व्यवसायी
हामी वाईल्ड लाईफ टुरिजमको पायोनियर हौं । हामीले दशकौं लगाएर वाईल्ड लाईफ प्रडक्ट श्रृजना गरेका थियौँ । तर सरकारले कुनै अध्ययन नै नगरि एकैचोटी वाइल्ड लाईफ टुरिजमका खम्बा राष्ट्रिय निकुञ्जभित्रका होटलहरु बन्द गर्ने निर्णय गर्यो । दशकौं लगाएर हुर्काइएका पर्यटकीय श्रृजनाहरूलाई एउटा क्याविनेट निर्णयका आधारमा धुजा धुजा बनाएर च्यातियो । हाम्रो विश्वास एकैछिनमा धुँवा बनेर उडयो । हामीसँग त्यसको अवशेष खरानी मात्रै बाँकी थियो ।
नेपालको वाईल्ड लाईफ टुरिजम एशियाली मुलुककै लागि नौलो र पहिलो प्रडक्ट थियो । त्यतिबेला इन्डियामा पनि वाईल्ड लाईफ टुरिजम विकास भइसकेको थिएन । अंग्रेजको पालामा खाली सिकार मात्र खेल्थे । वाईल्ड लाईफमा न इन्डियाले ध्यान दिएको थियो, न थाईल्यान्ड र मलेसियाले नै ध्यान दिएका थिए । सिंगो एशियाले नै वाईल्ड लाईफ टुरिजमबारे सोँचेकै थिएन ।
हामीले नेपाललाई वाईल्ड लाईफ टुरिजमको गन्तव्य बनायौं । नेपाली वाईल्ड लाईफ टुरिजम विश्वभरी प्रख्यात हुन थालेपछि इन्डियाले सुरु गरेको हो । हामीले नै उनीहरुलाई वाईल्ड लाईफ टुरिजम सिकाएका हौं । उनीहरुले राम्रो गर्दै गइरहेका छन्, तर हामी भने पछाडि फर्किन बाध्य भयौँ ।
ठिकै छ– गुरूभन्दा चेला राम्रो भएको देख्दा कसलाई पो खुसी लाग्दैन र ? इन्डियामा फस्टाइरहेको वाईल्ड लाईफ टुरिजम देख्दा हामी यसरी नै खुसी छौँ ।
सन् १९५० ।
फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनले ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल आरोहण गरे । तीन वर्षपछि सन् १९५३ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका एडमण्ड हिलारीले विश्वकै सर्वाेच्च शिखर (८,८४८ मि.) सगरमाथा आरोहण गरे ।
एकपछि अर्को विश्वका अग्ला हिमालको सफल आरोहण भएपछि विश्वभर सनसनी फैलियो । विश्वभरि नेपाल हिमालयको देश भनेर चिनियो । नेपालमा व्यवसायिक पर्यटनको सुरुवात यहीँबाट भएको हो । अहिले विश्वका हिमालप्रेमी नेपाल नआई अन्त जाने ठाउँ कहा छ ?
काठमाडौंका होटलमा हिप्पी पर्यटक आएर बस्दा चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलमा भिआईपी पर्यटक जंगल सफारी गरिरहेका हुन्थे । काठमाडौंका पर्यटकले २/४ डलर खर्च गर्दा चितवनका पर्यटकले २/४ सय डलर खर्च गरिरहेका हुन्थे । गुणस्तरीय पर्यटनको अर्थ हामीले बुझ्नै सकेनौँ । सायद, आज पनि बुझिरहेका छैनौँ ।
सन् १९६०/७० को दशकमा काठमाडौंमा हिप्पी पर्यटक आउँथे । फाट्टफुट्ट मात्रै ट्रेकिङ र एक्सिपिडसनमा जाने पर्यटक आउँथे । गुणस्तरीय पर्यक आउँदैनथे । त्यो बेलामा हामीसँग हिमाल बाहेक बिक्री गर्ने अरु प्रडक्ट थिएनन् ।
जब नेपालमा वाईल्ड लाइफ टुरिजम सुरु भयो । यहाँ क्वालिटी पर्यटक आउन थालिहाले । विश्वको ध्यान नेपालतर्फ मोडिन थाल्यो । आखिर एशियालाई वाईल्ड लाईफ टुरिजम सिकाउने गुरू नेपाल नै हो । हामी नै हौँ ।
इन्डियाको मध्यप्रदेशमा वाईल्ड लाईफ टुरिजम राम्रोसँग चलिरहेको छ । हाम्रो एक्स्पर्टीज लगेर सुरु गर्ने मुलुक वाईल्ड लाईफ टुरिजममा चम्किदै छ । तर हामी हराउँदै गयौं ।
पहिला हाम्रो जंगलमा गैंडा, बाघ बचाउन नसक्नुको एउटै मात्र कारण थियो– गरिवी । चितवनको गरिवीलाई वाईल्ड लाइफ टुरिजमले नै हटाएको हो । होटल बनेपछि मान्छेले काम पाए । व्यवसाय गर्न सिके । निकुञ्ज बाहिर आफ्नै सानोतिनो होटल खोल्न थाले । निकुञ्ज भित्रका होटलले खर्चालु पर्यटक भित्र्याउने मात्र होइन, उद्यमशीलता पनि विकास गरिरहेका थिए । तर जंगलभित्रका होटल बन्द गरिदिँदा समग्र मुलुककै पर्यटन सुस्ताएको छ ।
गुणस्तरीय पर्यटनको अवस्था चिन्ताजनक छ ।
यो प्रकृतीको बरदानमा आधारित पर्यटन हो जो यो दुनियाँमा जो कसैले पाएको छैन । यस मानेमा नेपाल विश्वकै भाग्यमानी देश हो । हामीले त्यो भाग्यलाई सन्दूकभित्र भोटे ताल्चा लगाएर थुनेका छौँ । र, भाग्यको खोजीमा भौतारिईरहेका पनि छौँ उही नाभीको बिणा थाहा नपाएर भौतारिइरहने कस्तुरी जस्तो ।
वाईल्ड लाईफ कहिल्यै पनि मास टुरिजममा जान सक्दैन । यो त कन्ट्रोल टुरिजम हो । त्यस बेलाको नियम अनुसार जंगलभित्र हरेक १२ किलोमिटर दूरीमा होटल खोलिएको थियो ।
सरकारले व्यवसायीलाई कडा नियममै बाँधेको थियो, ‘तिमीहरु यति कोठा बनाउन पाउँछौ, यति मात्रै सुविधा दिन पाउँछौ । यतिवटा हात्ति राख्न पाउँछौं । यति डुंगा राख्न पाउँछौं । सूर्य उदाएदेखि सुर्य नअस्ताउँदासम्म मात्र निकुञ्जभित्र पर्यटक घुमाउन पाउँछौ ।’
सरकारले जुनसुकै बेला पनि आएर होटलका कोठा कोठामा निगरानी गर्न सक्थ्यो । यदि शंका लागेको खण्डमा पर्यटकको झोला खोलेर पनि हेथ्र्यो । हामीले पनि नियममै बाँधिएर व्यवसाय गरिरहेका थियौं ।
हाम्रो जंगल पर्यटन विश्वकै लागि उदाहरण बनेको थियो ।
वल्र्ड बैंकका तत्कालिन अध्यक्ष रोबर्ट म्याकनमराले सिंगापुरमा भएको इन्टरनेशनल कन्फ्रेन्समा भनेका थिए, ‘कन्जरभेसन र टुरिजम कसरी अगाडि बढाउने भनेर सिक्नका लागि एकपटक अनिवार्य रूपमा नेपाल जाउ ।’
उनले अगाडि बढ्दै भने, ‘नेपालले कन्जरभेसन र टुरिजम दुबैलाई फाइदा हुने गरि व्यवसाय गरिरहेको छ ।’
विश्वकै वाईल्ड लाईफ टुरिजमको उदाहरण बनेका निकुञ्ज भित्रका होटल बन्द भएको पनि ६/७ वर्ष भयो ।
अदालतले निकुञ्जभित्र होटल खोल्न अनुमति दिएको छ । तैपनि बन मन्त्रालयले रोकिदियो ।
हामीले निकुञ्ज भित्र त्यो बेला होटल खोलेका थियौं, जतिबेला चितवन, बुटवल हेटौंडातिर होटल नै थिएनन् । काठमाडौं र पोखरामा मात्र केन्द्रीत भइरहेका थिए ।
चितवन र बर्दिया राष्ट्रिय निकुञ्जभित्र ७/८वटा होटल खोलिएको थियो । निकुञ्ज बाहिर दुई/तीन होटल थिए होलान् । निकुञ्ज भित्रका ७/८ होटलमात्रै काठमाडौंपछि सबैभन्दा बढी विदेशी मुद्रा कमाउनेमा पर्थे । र, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने पनि यिनै होटल थिए ।
कुनै पनि चिज कसैको कारणले बिग्रिदै छ भने त्यसको व्यक्तिगत लाभ हेर्न हुँदैन । राष्ट्रको लाभ हेर्नुपर्छ । यहाँ त विनाअध्ययन होटल बन्द गरियो । होटलले केही विगार गरेका थिएनन् ।
त्यसपछि नेपालको गुणस्तरीय पर्यटनमा ब्रेक लाग्यो ।
निकुञ्जभित्र आउने पर्यटक नेपालमा आउनै छाडे । विभिन्न मुलुकका प्रेसिडेन्ट, पास्ट प्रेसिडेन्ट, खेलाडी, कलाकार, सेलिबे्रटिहरु आएर निकुञ्जभित्र बस्थे । संसारको नाम चलेको व्यक्ति निकुञ्जका होटलमा नआएको र नबसेको भन्ने थिएन । कोही चुपचाप आउँथे, कोही आउँदा जानकारी गराउँथे ।
बिनाअध्यन होटल बन्द गरिएको थियो, अब पुनः खोल्नु पर्छ, यदि नेपालमा गुणस्तरीय पर्यटनको सम्वर्धन गर्ने हो ।
भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने कुरा छ । हामीले निकुञ्जभित्रका होटल खुलेको विश्वभर सन्देश फैलाउन सकियो भने भ्रमण वर्षमा एउटा भाइब्रेन्ट आउँछ । त्यसले पर्यटकको संख्या बढाउछ । तर, सवाल नेपालको पर्यटनलाई अर्को स्तरमा पुर्याउन सक्छौँ कि सक्दैनौँ भन्ने हो । गुणस्तरीय पर्यटनको विकास गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो ।
हामी भिजिट नेपाल २०२० मा केहि सकारात्मक सन्देश नेपालले दिन सकोस् भन्ने चाहान्छौँ । त्यसमध्येको एउटा निकुञ्जभित्र बन्द भएका होटल खुला गरिएको सन्देश विश्व पर्यटन बजारमा दिन सकियोस् ता कि नेपालको पर्यटकीय गुणस्तरलाई कम्तिमा दोब्बर बनाउने आधार तयार होस् ।
निकुञ्जभित्रका होटलको नियमनका लागि अझै कडा नियम बनाए पनि हुन्छ । तर, होटल नै बन्द गर्ने गलत निर्णय भने सच्याईनुपर्छ । छोरो ड्रङ्किस होला कि भन्ने डरले बच्चा नै नपाउने कि उसलाई असल सस्कार दिने ? यो त आमाबाबु बन्न चाहनेले सोच्ने बिषय हो । नेपालको वाईल्ड लाईफ टुरिजमबाट उच्चतम फाईदा हासिल गर्ने कि यसो वा उसो होला भन्ने आशंकाले यसलाई समाप्त पार्ने ?
यसअघि निकुञ्जभित्र होटल चलाउन हुन्छ कि हुँदैन भनेर गरिएका अध्ययनले चलाउन दिनु उचित हुन्छ भनेको छ । निकुञ्जभित्रका होटल कसैको पेटी इन्ट्रेष्टको शिकार बनेका हुन् ।
पहिलो, निकुञ्ज बाहिरका व्यवसायीलाई भित्रका होटल बन्द भएमा ती सबै पर्यटक हाम्रोमा आउँथे भन्ने लागेको थियो होला । त्यसो भएन, बरु निकुञ्जमा आउने धेरै पर्यटक नेपालमै आउन छाडे ।
दोस्रो, उनीहरु के सोँचेनन् भने निकुञ्जभित्रका होटल बन्द भएपछि बाहिर हाम्रोभन्दा राम्रा होटलहरु खुल्न थाल्छन् ।
यस्तै गल्ती केन्यामा पनि भएको थियो । सरकारले जंगलभित्रका होटल बन्द गरिदियो । लगत्तै बाहिर यति धेरै होटल आइदिए कि जंगल नै जोगाउन गाह्रो भइदियो । फेरी सरकारले बाहिरका होटल बन्द गरेर भित्र चलाउन दिएपछि मात्रै जंगल जोगाउन सम्भव भयो ।
कतिपय राष्ट्रहरु, जस्तो अमेरिकाको नेशनल पार्कबाहिर निश्चित दुरीसम्म होटल खोल्नै पाइँदैन । निकुञ्जभित्र मात्र खोल्न पाइन्छ । निकुञ्जभित्र सञ्चालित होटलहरु सरकारले कुनै पनि बेला चेकजाँच गर्न सक्छ । नीति कडा बनाएर कन्ट्रोल गर्न सक्छ । तर, बाहिर त व्यक्तिको निजी प्रोपर्टी हुन्छ, कन्ट्रोल गर्न पनि गाह्रो हुन्छ ।
अहिले पनि मोटो रकम खर्चिने पर्यटक वाईल्ड लाईफमा रमाउन जंगलभित्र नै जान चाहन्छन्, चाहे केन्या जाओस्, चाहे ताञ्जानिया जाओस्, चाहे जहाँसुकै जाओस् ।
निकुञ्जभित्र होटल खोल्न दिने विषयमा देश अनुसार फरक फरक नियम बनाइएको पाइन्छ । कतिपय नियमहरु एउटै पनि हुन्छन् ।
विदेशी मुलुकले नेशनल पार्कभित्र एउटा होटल खोलेपछि निश्चित दुरी तोकेर अर्को होटल खोल्न दिन्छ । वा, एउटा एरियामा दुई/चार वटामात्र होटल चलाउन दिन्छ ।
उनीहरु निकुञ्ज बाहिर होटल खोल्न प्रोत्साहन गर्दैनन् । वाईल्ड लाईफमा रमाउन आएको पर्यटक गाउँमा बच्चा रोएको, कुकुर भुकेको, गाडी कराएको, माइकिङ गरेको सुन्न चाहँदैन ।
निकुञ्जभित्र खर्चालु पर्यटक आउने हुनाले बाहिरका १५/२० वटा होटलले कमाउने पैसा भित्रका एउटै होटलले कमाई दिन्छ ।
सरकारले पनि जंगलभित्र होटल खोल्ने भए न्यूनतम यति मूल्य हुनुपर्छ, यति ट्याक्स बुझाउनु पर्छ, यति पर्यटक राख्न पाउँछौ भनेर कडा नियम बनाइदिन सक्छ । तर, निकुञ्जभित्र होटल चाँही चल्न दिनुपर्छ ।
अहिले राप्तीदेखि नारायणी नदिको किनारमा एउटै खाली जग्गा भेटिदैन । होटलै होटलले भरिएका छन् । ती होटलहरु कसरी व्यवस्थापन गर्न सकिन्छ ? तिनले गर्ने प्रदुषण कसरी रोक्ने ? निकुञ्जभित्रका होटल यस्ता अव्यवस्थित थिएनन् ।
नेपाल, इन्डिया र अफ्रिकाको वाईल्ड लाईफमा धेरै फरक छ । इन्डियाको कुनै शहरबाट नेशनल पार्कमा पुग्नु पर्यो भने प्लेन चढेर पनि ५/७ घण्टा मोटर चढ्नुपर्छ । हाम्रोमा काठमाडौंबाट प्लेन चढ्ने वित्तिकै २० मिनेटमा चितवन पुगिन्छ । चितवनबाट आधा घण्टामै निकुञ्ज पुगिन्छ । हाम्रो हिमालको एडभान्टेज पनि यही हो । हिमाल नजिक छन् ।
नेपाल, अफ्रिका र इन्डियाको जंगलमा जुन किसिमले जनावर देखिन्छ, त्यसमा पनि आकाश जमिनको फरक छ । जंगलको बनावट नै फरक छ । इन्डियाको निकुञ्जभित्र मोटर चढेर सरर हिँड्यो भने जति पनि जनावर देखिन्छन् ।
अफ्रिकामा पनि टन्नै जनावर देख्न सकिन्छ । तर नेपालमा जंगलभित्र अग्लो घाँस, सालको जंगल, झाडीले गर्दा हात्तीमा चढेर जनावर खोजेर हेर्नुपर्छ । त्यो च्यालेन्ज हो । हाम्रोमा जनावर बाटोमा हिँडिरहेको समय, घाँस काटेको ठाउँमा वा कहीँ मचान बनाएको खुला ठाउँमा मात्र देख्न सकिन्छ ।
नेपालमा जनवरीसम्म पनि घाँस लामो हुन्छ । त्यसपछि मात्र घाँस काटिन्छ । वा सुकेर जान्छ । अनि सजिलै जनावर देखिन्छ । यो भनेको दुई/तीन महिनामात्र हो । दुई/तीन महिना होटल चालएर सभाईभ हुन सकिदैन । त्यसैले इन्डियामा जे नियम छ, त्यही नियम नेपालमा लगाएर पनि हुँदैन ।
पर्यटक सोभै चितवन वा बर्दिया पुगेर फर्किने होइनन् । पर्यटक पहिला काठमाडौं आउँछ, शहर घुम्छ । अनि नेशनल पार्क जान्छ । एक दुई दिन पोखरा जान्छन् । कसैले ¥याफ्टिङ गर्छन्, कसैले ट्रेकिङ गर्छन् । यिनीहरु भनेको हाई पेइङ टुरिष्ट हुन् । नेशनल पार्कभित्र घुम्नेहरु प्रायः पैसावाल नै हुन्छन् ।
आरोप लगाइन सक्छ, निकुञ्जका होटलले जनावरको संरक्षण गर्न सकेनन् । म यो कुरा मान्दिन । जसले पनि तथ्यांकमा टेकेर दोष दिनुपर्छ । निकुञ्जमा होटल खुलेपछि झन संरक्षण भएको छ । हिजोका ६०/६५ गैंडाहरु अहिले बढेर ५ सय पुगिसकेका छन् । यसै गैंडाको संरक्षण भएन भन्दिने !
होटल नजिकै जनावर कसरी मर्छन ?
यसबारेमा स्पष्ट पार्न चाहन्छु ।
प्रायः जनावरहरु बुढो भइसकेपछि अरु जनावरले दुःख नदेओस्, सजिलै बस्न पाइयोस भनेर अरु जनावर नआउने ठाउँहरु खोज्दै ब्यारेक नजिकै, होटल नजिकै आएर बस्छन् । त्यहीँ बस्दा बस्दै मर्छन् ।
जंगलभित्र चलेका होटलका कारण कहिल्यै पनि गैंडा मरेका छैनन् । किनभने भित्रका होटलले जनावर विरामी हुने वित्तिकै सरोकारवाला निकायलाई जानकारी गराई हाल्थ्यो । नेशनल पार्क कार्यालय, आर्मी, होटल र स्थानिय समुदाय कसैले बदमासी गर्छ कि भनेर एउटाले अर्कोलाई कडा निगरानी गरिरहेको हुन्थ्यो । कहीँ केही हुने वित्तिकै तुरुन्तै खबर पुग्थ्यो । होटलले देख्यो भने आर्मी र पार्कलाई खबर गर्थ्यो । चारवटा बडी मिलेर जंगलको टुरिजम प्रडक्ट चलेको थियो ।
जंगल भित्रका होटल गहनाका रुपमा थिए । हामीसँग भएका गहना त विगार्न भएन नी । प्रिमियम प्रडक्ट मास्नु भएन । निकुञ्जभित्रका होटलमा वाईल्ड लाईफ पर्यटकलाई जाउँ–जाउँ लाग्छ । यो राम्रो खर्च गर्ने ठाउँ हो ।
निकुञ्जका होटलहरु अदालतले खोल्न स्वीकृति दिएको छ । बन मन्त्रालयले रोकेर राखेको छ । कसैको इन्ट्रेष्टले काम गरेजस्तो लाग्छ ।

Sajan Deuja
February 8, 2020 at 5:44 pm
अनि रिजोर्ट को नाममा गैंडा को ख्याक र बाघको छाला तस्करी गर्न भयपनि खोल्नुपर्यो नि माहासय।
harisharan pandey
February 8, 2020 at 10:08 pm
ठिकैै छ निकुञ्ज िभत्रै होटल खोलौ त र निकुञ्जको क्षेत्रफल बढाउ नासिने काम मात्र नगरौ।