Connect with us

कभर स्टोरी

उद्योग वाणिज्य महासंघमा चण्डी ढकालको शासन

अध्यक्षमा चुनाव हारेको एक दशकसम्म पनि चण्डीले महासंघमा एकलौटी राज चलाइरहेका छन् ।

चण्डीराज ढकाल ।

नेपालका वरिष्ठ व्यवसायी । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष । बिजनेश लिडर ।

अहँ ! उनको यो परिचय नामेट भइसक्यो !

नेपालको कर्पोरेट दुनियाँले चण्डीलाई माया गर्न छाडेकै कम्तिमा एक दशक भइसक्यो । तर पनि नेपालका बिजनेश टाईकुनहरू यदि कसैसँग डराउँछन् भने त्यो यहि मान्छे हो– चण्डीराज ढकाल ।

उनीसँग नजिकको सम्बन्ध बनाउन चाहने बिजनेसम्यान आजको नेपालमा छैनन् भन्दा पनि हुन्छ । तर, उनीसँग टाढाको सम्बन्ध बनाउन सक्ने बिजनेसम्यान पनि कोही छैनन् ।

उही प्रहरीसँगको जस्तै । पत्रकारसँगको जस्तै । शहरका नाम चलेका गुण्डाहरूसँगको जस्तै सम्बन्ध ।

असल व्यवसायीहरू प्रहरी, पत्रकार र गुण्डाहरुसँग पटक्कै नजिकिन चाहदैनन् । तर, भाग्न सक्ने हिम्मत पनि उनीहरूसँग हुँदैन । उनीहरूले भनेको कुरा कहिले ठिकठिकै हुन्छ । कहिले त पटक्कै मन पर्दैन । तर, पनि ‘हो मा हो’ मिलाएरै उनीहरूले सम्बन्ध विग्रिन दिएका हुदैनन् । उनीहरुका मागलाई ‘मन’ ले नमाने पनि पुरा गरिरहेका हुन्छन् ।

आज आफ्नै नेता चण्डी ढकालसँग व्यवसायीहरूको हालत यस्तै छ । भागौँ भाग्ने ठाउँ छैन । नभागौं कतिखेर शिकार भइने हो टुँगो छैन !

नेपाल उद्योग बाणिज्य महासंघको राजनीतिमा लागेका व्यवसायीका लागि त चण्डी अहिले ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ सावित नै भएका छन् ।
किन त ?

महासंघका एक पदाधिकारी भन्छन्– उनको पेशा नै अहिले महासंघको राजनीतिमा ‘शिकार खेल्ने’ हो । उनको फन्दामा को कहिले पर्छ कुनै ठेगाान हुँदैन !

चण्डीपछि महासंघमा पाँचजना अध्यक्ष भइसके । तर, महासंघको बैठकमा अहिले पनि चण्डीले नै ‘अध्यक्षता’ सम्हाल्छन् । बहालवाला अध्यक्ष ‘नेमप्लेट’मा मात्रै सिमित छन् । महासंघका पदाधिकारीहरूका लागि यो व्यवहार स्विकार्य छ । चण्डीको व्यवहारलाई उनीहरूले नतमस्तक भएर स्वागत गरिरहेका छन् । जसले असहमतिको भाषा बोल्छ, उसले राजिनामा गरेर हिँडे हुन्छ– ज्ञानेन्द्रलाल प्रधानले जस्तै ।

देशको निजी क्षेत्रको सबैभन्दा महत्वपूर्ण संस्था नेपाल उद्योग बाणिज्य महासंघमा कसरी ‘चण्डीराज’ शुरू भयो ? यस बारेमा जान्न विगतमा फर्किनु पर्छ ।

विक्रम सम्वत २०५० को दशकको प्रारम्भ ।

नेपालमा पहिलो पटक मनमोहन अधिकारीले नेतृत्व गरेको कम्युनिष्ट सरकार गठन भयो ।

देशभित्र र देश बाहिरका लगानीकर्ताको मनमा ढयाङ्ग्रो ठोकिएको थियो– उद्योग धन्दाहरू सबै राष्ट्रियकरण हुने त होइनन् भन्ने डरले । ‘घर कस्को’– पोत्नेको । ‘खेत कस्को’– जोत्नेको । ‘उद्योगधन्दा कस्को’– श्रमिकको ।

२०५१ सालको मध्यावधी निर्वाचनमा तत्कालिन नेकपा (एमाले)ले बहुमत पाउन भित्ता भित्तामा पोतिएका नारा यिनै थिए ।

विश्वभरका लगानीकर्ताहरूमा त्रास बढिरहेका बेला बीबीसी, सिएनएन लगायतका मिडियाहरूले कम्युनिष्ट सासनका कारण नेपालमा पर्न सक्ने नकारात्मक असरका बारेमा समाचार विश्लेषण दिन थालिसकेका थिए ।

त्यहि बेला नेपाली निजी क्षेत्रको एकमात्र प्रभावकारी संस्था नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष थिए, विनोद चौधरी ।

यो पृष्ठभूमिमा बनेको कम्युनिष्ट सरकारका कारण विनोद चौधरीलाई पहिलो चिन्ता त आफ्नै सम्पत्ती राष्ट्रियकरण हुने हो कि भन्ने थियो । दोस्रो चिन्ता देशभरका उद्यमी व्यवसायीको यो चिन्तालाई कसरी सम्बोधन गर्ने भन्ने थियो ।

सरकारले अलिकति पनि अनुदार नीति अवलम्बन गर्न थाल्यो भने तत्काल आन्दोलनको तयारीमा रहनुपर्ने बाध्यतामा थिए उनी ।

महासंघको राजनीतिमा चासो भएका प्रभावशाली एवं हिम्मतिला युवा व्यवसायीहरूलाई महासंघमा भित्र्याई उनीहरूलाई आवस्यकता अनुसार परिचालन गर्नुपर्ने सोँचका साथ चौधरीले महासंघमा टिम बनाउँदै थिए ।

हो, त्यति नै बेला चौधरीको आँखा चण्डीको अनुहारमाथि परेको हो ।

गार्मेन्ट उद्योगबाट अगाडि बढिरहेका, बोलक्कड अनि हेर्दै हट्टाकट्टा जिउडाल । चौधरीले चण्डीलाई प्रोत्साहित गरेर महासंघको औपचारिक राजनीतिमा प्रवेश गराए– महासंघको केन्द्रिय सदस्यका रुपमा ।

चण्डी नेपाली कांग्रेसका लगभग कार्यकर्ता नै थिए । कांग्रेसका तत्कालिन सर्वशक्तिमान नेता गिरिजाप्रसाद कोइरालासँग प्रत्यक्ष सम्बन्ध थियो ।

सायद चौधरीले चण्डीको राजनीतिक कनेक्सन समेत बुझेर उनलाई अगाडि सारेका थिए होलान् ! व्यवस्थापनमा माहिर चौधरीले एकैसाथ चार दिशाको मौसम ठम्याउन जो सक्छन् !

राजदरबारसँग पारिवारिक सम्वन्ध भएका कलाकार निर शाहलाई पनि चौधरीले उनीसँगै महासंघमा भित्र्याएका थिए ।

चण्डीका ससुरा राजेश्वर आचार्य राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष थिए जो पछि चीनका लागि नेपाली राजदूत पनि भए । गिरिजा बाबुको सरकार । चम्किएको गार्मेन्ट उद्योग । चम्किएको राजनीति । चण्डीले आँखा चिम्म गरेर शक्तिको दुरूपयोग गर्दै गार्मेन्ट विजनेश  विस्तारका लागि भन्दै बाणिज्य बैंकबाट मोटो रकम ऋण लिए ।

त्यतिबेलाको राजनीतिक शक्ति सन्तुलनमा सरकार चलाउने एमालेसँग भिड्नु परेको भए एकातिर कांग्रेस र अर्कोतर्फ राजदरबारको साथ पाउँदा सरकार सकसमा पर्ने निश्चितै थियो ।
तर, मदन भण्डारीको बहुदलीय जनवादको अभ्यास गर्दै सरकारमा पुगेको एमालेले अमेरिकी राजदुतलाई पार्टी कार्यालयमा आमन्त्रण गर्दा माक्र्स लेनिनका फोटा टेबुलमुनि लुकाउने र उनीहरू अफिसबाट बाहिरिएपछि फेरी सोही ठाउँमा झुण्डयाउन थाल्यो ।

विश्व बैंक, एसियाली विकास बैंक एवं अन्य दाताहरूसँग मिटिङ गर्दा खुला बजार अर्थतन्त्रको पक्षमा एक कदम अगाडि बढेर उनिहरूलाई आश्वस्त पार्ने र यो समाचार प्रकाशित नगरिदिन मुख्य धारका सम्पादकहरूलाई अनुरोध गर्ने नीति अख्तियार ग¥यो ता कि कार्यकर्ताहरू कम्युनिष्ट नै बनिरहुन् ।

उद्यमी व्यवसायीहरूलाई आफु कांग्रेसभन्दा पनि उदारीकरणको पक्षपाती रहेको बताउने र मजदुरहरूलाई उद्यमी व्यवसायीको विरूद्धमा जाइलाग्न प्रशिक्षित गरिरहयो । सरकारमा के पुगेको थियो एमाले साह्रै विचरा पार्टी बन्यो– नीतिगत अस्पष्टताको सन्र्दभमा ।

सरकारसँग भिड्नुपर्ने सम्भावनाको आँकलन गरेका चौधरी त सोही एमालेको सबैभन्दा नजिकको ‘वर्गिय मित्र’ पो बन्न पुगे । त्यतिबेलाका अर्थमन्त्री भरतमोहन अधिकारीसँग उनको ‘आजिवन दोस्ती’ बन्यो । चौधरी एमालेको तर्फबाट पछि सांसद पनि भए ।

चण्डीराज ढकाल, निर शाहहरू जस्ता राजनीतिक खेलाडीले गेम खेल्न नपाई बेन्चमै थन्किनु पर्यो ।

चण्डीका लागि भने यो अवसर नै जीवनको सबैभन्दा महत्वपूर्ण कदम सावित भयो । गार्मेन्ट विजनेश चम्किदै थियो । गिरिजाप्रसाद कोइराला कांग्रेसका निर्विकल्प नेता बनिरहेका थिए । महासंघमा चण्डीलाई आफ्नो प्रभाव बढाउँदै लैजान उपयुक्त समय सावित भयो ।

विनोद चौधरी अध्यक्ष पदमा दोस्रो कार्यकाल (२०५२–२०५४) का लागि पद्म ज्योतीसँग प्रतिस्पर्धामा उत्रिए । चण्डीले विनोदलाई खुलेर साथ दिए । विनोदले चुनाव त जितेनन् तर चण्डी भने महासंघमा झनै शसक्त बने ।

त्यो समयमा नेपालको गार्मेन्ट उद्योग निकै चम्किएको थियो । चण्डीको ‘मोमेन्टो एपेरल्स’ गार्मेन्ट नेपालकै गार्मेन्टहरुमध्येको सर्वश्रेष्ठ उद्योग । झापामा खोलिएको यो उद्योग गार्मेन्टमध्ये सबैभन्दा बढि निर्यात गर्ने, सबैभन्दा बढि डलर नेपाल भित्र्याउने लगायतका शिर्षकमा बर्षेनी पहिलो नम्बरमा सरकारबाट पुरस्कृत हुन्थ्यो । यसका मालिक चण्डी महासंघको राजनीतिमा जमेका थिए । राष्ट्रिय राजनीतिमा जमेका थिए, गिरिजाप्रसाद कोइराला ।

अँ, चण्डीको जीवनका सायद सबैभन्दा सुनौला दिनहरू तिनै थिए २०५० को अन्त्यतिरको समय ।

चण्डीका ससुरा राजेश्वर आचार्य राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष थिए जो पछि चीनका लागि नेपाली राजदूत पनि भए । गिरिजा बाबुको सरकार । चम्किएको गार्मेन्ट उद्योग । चम्किएको राजनीति । चण्डीले आँखा चिम्म गरेर शक्तिको दुरूपयोग गर्दै बाणिज्य बैंकबाट करिब ७० करोड रूपैयाँ ऋण लिए, गार्मेन्ट विजनेशको विस्तारका लागि भन्दै ।

तर, त्यो ऋण उद्यममा लगानी भएन । पैसाको खासै चिन्ता गर्नुपर्ने अवस्थामा पनि उनी थिएनन् । शहरमा चर्चा त कतिसम्म चल्यो भने चण्डीले ऋण लिएको त्यो पैसा ‘क्यापिटल ल्फाईङ’ गरि अमेरिका पु¥याए र त्यहाँ केही ग्याँस स्टेसन (पेट्रोल पम्प)मा लगानी गरे । त्यसताका उनको अमेरिका आउ जाउ निकै बाक्लिएको थियो ।

एकपछि अर्को खुड्किलो पार गर्दै २०६२ सालमा चण्डी महासंघको अध्यक्ष पदमा निर्वाचित भए । महासंघको राजनीतिमा शिखर चढिरहँदा चण्डीको व्यवसाय भने जोडदार ओह्रालो यात्रामा थियो । चण्डीको मुख्य व्यवसाय नै गार्मेन्ट थियो जुन अमेरिकाले नेपाली गार्मेन्ट निर्यातमा दिएको कोटा सुविधा २००५ को बिहानीसँगै अन्त्य हुँदा नेपालका धेरै गार्मेन्ट उद्योगहरू धरासायी हुने बाटोमा थिए । त्यही बाटो पछ्याउदै थियो– मोमेन्टो गार्मेन्ट्सले पनि ।

सफल व्यवसयीले समयमै आफ्नो व्यवसायमा विविधता ल्याउँछ ता कि एउटा उद्योग डुब्दैमा आफ्नो व्यवसायिक जहाज नडुबोस् । जुन उद्योग संकटमा पर्दैछ भन्ने संकेत प्राप्त हुन्छ त्यसलाई जोगाउने वैकल्पिक उपायहरू (क्राईसिस म्यानेजमेन्ट)मा दत्तचित्त भएर लाग्छ । डुब्ने नै भयो भने पनि न्युनतम नोक्सानीका लागि व्यवस्थापन गर्छ ।

त्यो समय चण्डी महासंघको राजनीतिमा प्राप्त सफलतामा यति धेरै खुसी देखिन्थे कि मानौं उनको व्यवसाय उसैगरि चम्किएको छ । उनी महासंघको गतिविधिमा दिनरात भिडिरहेका देखिन्थे । तर, आफ्नो उद्योगलाई धरासायी हुनबाट जोगाउने रणनीतिमा कमै केन्द्रित भएका थिए ।

मोमेन्टो देशकै पहिलो नम्बरको उद्योगका रुपमा चम्किरहदा नै चण्डीले बाणिज्य बैंकबाट लिएको ऋणको किस्ता भुक्तानीमा वेवास्ता गर्दै आइरहेका थिए । उनको उद्योगले सबैभन्दा बढि निर्यात गरेको र सबैभन्दा बढि बैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याएको भन्दै सरकारले पुरस्कृत गरिरहेको थियो ।

अब समस्या चण्डीको मात्रै थिएन । नेपाल उद्योग बाणिज्य महासंघकै इज्यतको सवाल थियो । आफ्नो अध्यक्ष औपचारिक रुपमा ‘डिफल्टर’ घोषित हुँदै बैंकको कालोसूचिमा पर्ने निश्चित जस्तै भएपछि महासंघका पदाधिकारी तथा सदस्यहरूले ‘रेस्क्यू’को योजना बनाए ।

तर, सोही समयमा बाणिज्य बैंकको ऋण भुक्तानीमा उनले गरेको वेवास्ताका कारण बैंकका अधिकारीहरूको ओठतालु सुक्न थालेको थियो । अन्ततः यो विषय बाणिज्य बैंकको मात्रै नभएर नेपाल राष्ट्र बैंक, सरकार र बाणिज्य बैंकको सुधारमा सहयोग गरिरहेको विश्व बैंकसम्म पनि पुग्यो । यो बिषय मिडियामा समेत छाउन थालेपछि यसमा आममानिसको समेत ध्यान तानिएको थियो ।

राजनीतिक पहुँचका बाबजुद विश्व बैंकले सरकारको तहमा नै यस बिषयमा कुरा उठाउन थालेपछि चण्डी राष्ट्रिय बाणिज्य बैंकको ऋण भुक्तानीका लागि चर्को दवावमा परे । त्यसका लागि उनले अर्को ‘डिफल्टर समुह’ले संचालन गरेको तत्कालिन नेपाल बंगलादेश बैंक (एनबी बैंक)बाट ४० करोड रूपैयाँ ऋण लिन सफल भए । र, उक्त रकम बाणिज्य बैंकको ऋण आंशिक भुक्तानीका लागि प्रयोग गरे ।

तर, यसले समस्याको समाधान गरेन । एउटा बैंकको ऋण आंशिक रुपमा त तिरियो तर अर्को बैंकको मिटर उसैगरि चढ्न थाल्यो । ऋणको भुक्तानीमा कुनै प्रगती नभएपछि उनलाई राष्ट्र बैंकको ताकेतामा एनबी बैंकले ऋण भुक्तानीका लागि निकै दबाव दियो । तर, उनीसँग पैसा थिएन । उनी बैंकको ऋण भुक्तानी गर्न सक्ने अवस्थाबाट टाढा पुगिसकेका थिए । नेपालको गार्मेन्ट उद्योग ढलिसकेको थियो । अमेरिकी कोटामा मात्रै बाँचेको यो उद्योगसँग आफै खुट्टा टेक्न सक्ने कुनै हैसियत थिएन । बैकल्पिक बजार र प्रतिस्पर्धी क्षमता बढाउने बारेमा कसैले सोचेकै थिएनन् । बंगलादेशको गार्मेन्ट उद्योग चम्किरहदा नेपाली गार्मेन्ट उद्योगमा भने हेर्दा हेर्दै धुलो उठेको थियो ।

अब समस्या चण्डीको मात्रै थिएन । नेपाल उद्योग बाणिज्य महासंघकै इज्यतको सवाल थियो । आफ्नो अध्यक्ष औपचारिक रुपमा ‘डिफल्टर’ घोषित हँुदै बैंकको कालोसूचिमा पर्ने निश्चित जस्तै भएपछि महासंघका पदाधिकारी तथा सदस्यहरूले ‘रेस्क्यू’को योजना बनाए । त्यतिबेला दिवाकर गोल्छा प्रथम उपाध्यक्ष, कुश कुमार जोशी द्धितिय उपाध्यक्ष थिए, महासंघमा ।

कुश जोशीले आफ्नो अध्यक्षलाई कालोसूचिबाट जोगाउन महासंघमा रहेका पदाधिकारी एवं कार्यसमिति सदस्यहरू र देशका उद्यमी व्यवसायीसमक्ष एउटा फण्ड बनाउन अपिल गरे जुन फण्डलाई चण्डीको ऋण भुक्तानीका लागि प्रयोग गर्ने र उनलाई कालोसूचिबाट जोगाउने उदेश्य थियो ।

भनिन्छ, कुश यो पहलमा सफल नै भएका थिए । धेरै व्यवसायीले ऋण व्यवस्थापनका लागि पैसा संकलन गरे । कुशको पहलमा त्यतिबेला चण्डीका लागि करिब ९/१० करोड रूपैयाँ जम्मा भएको थियो ।

महासंघमा अध्यक्षपछिको तेस्रो वरियतामा रहेका कुशले चण्डीका लागि रकम संकलन गर्दासम्म दुवै जनाको सम्वन्ध निकै गाढा थियो । जब करिब पैसा जम्मा भयो चण्डीको वित्तीय संकटलाई नजिकबाट हेरिरहेका कुशले चण्डीको यहि कमजोरीलाई आफ्नो अनुकुल बनाउने प्रयास गरे ।

जानकार भन्रछन्, रकम संकलन भइसकेपछि कुशले चण्डीलाई अध्यक्ष पद त्याग्न र आफुलाई भावी निर्वाचित अध्यक्षका रुपमा ग्यारेन्टी गर्न तयार भएपछि मात्रै रकम हस्तान्तरण गर्ने बार्गेनिङ गरेका थिए ।

चण्डीको वित्तीय संकटको फाइदा उठाएर महासंघमा शान्तिपूर्ण ‘कु’ गर्ने कुशको प्रयास असफल भयो । त्यहि मितिदेखि चण्डी र कुशबीचको सम्बन्ध पनि तिक्ततामा परिणत भयो । जो आजका दिनसम्म पनि जारी छ ।

बरू चण्डीले अर्को कार्यकालका लागि समेत कुशलाई अध्यक्ष पद छोड्न तयार भएनन् । उनी कुशसँग दोस्रो कार्यकालका लागि चुनाव लडे । तर, कुशसँग चुनाव हारे । यहीँबाट चन्डीको महासंघमा स्वार्थसँगै ईगोको लडाई पनि सुरु भयो ।

आफ्ना वहालवाला अध्यक्षलाई तत्काल कालोसूचिमा पर्नबाट त्यतिबेलाका महासंघका प्रायः सबै पदाधिकारीले वित्तीय सहयोग गरेका थिए ।

यसको अलवा गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले चण्डीलाई करिब ५ करोड रूपैयाँ दिएका थिए । अष्ट्रेलियाको सिड्नीमा व्यवसाय गरि बस्ने दीपक खड्काले पनि करिब ५ करोड रूपैयाँ चण्डीलाई दिएका थिए । हाल उनी अष्ट्रेलियाका लागि नेपालका काउन्सिलर जेनरल छन् ।

कति रकम सहयोगका लागि त कति रकम व्यवसायिक पार्टनरसिपका नाममा चण्डीमाथि लगानी गरिएको थियो । पार्टनरसिपका नाममा चण्डीमाथि लगानी गर्ने अर्का मुख्य व्यक्ति भवन भट्ट हुन् । डुबिसकेको मोमेन्टो गार्मेन्टमा उनले करिब ३० करोड रूपैयाँ लगानी गरेको बुझिन्छ । भवनले डुबिसकेको प्रोजेक्टमा लगानी मात्रै गरेनन्, आफ्नो कान्छो भाई शुसिल भट्टलाई समेत सोही लगानीका कारण कालोसूचिमा पारेका छन् ।

चण्डीको एउटा बानी छ, एकचोटी निचोर काम नलाग्ने देखेपछि फ्याँकिहाल्छन् । र, नयाँ व्यक्ति समात्छन् । उखु र कागतीलाई झैं व्यवहार गर्छन् ।

नेपालमा भवन भट्टको पहिचान नै डुब्नै लागेका प्रोजेक्टमा लगानी गर्ने र आफ्नो थप लगानी पनि डुबाउने व्यवसायीका रुपमा बनेको छ । यद्यपी यस्तो लगानीभित्रको अर्थशास्त्र के हुन्छ भन्ने मामिला भने गोप्य नै छ । जापानमा भने उनी सफल व्यवसायी हुन् ।

चण्डीको सितापाईलास्थित घर आफ्नो नाममा सारेर भवनले केही रकम उठाएका छन् ।
चण्डीलाई बचाउने सारा प्रयासका बाबजुद उनको बैंक ऋण व्यवस्थापन हुन सकेन र उनी २०६७ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचिमा छन् ।

जब उनी महासंघका अध्यक्ष थिए, उनलाई गिरफ्तार गर्न प्रहरीले वारेन्ट पनि जारी गरेको थियो ।
केही शक्तिशाली मानिसका हकमा नेपाल प्रहरीले यतिसम्म नाटक गर्छ कि उसले पक्रन नचाहेको मानिसलाई फरार करार गर्छ । र, गिरफ्तार गर्दैन । अझ भद्धा नाटक त के गर्छ भने सोही समयमा प्रहरीका उच्च पदस्थ अधिकारीहरूले सोही फरार व्यक्तिसँग मञ्च सेयर गरिरहेका हुन्छन । र, त्यति नै बेला कसैले प्रश्न उठायो भने हामी खोजिरहेका छौँ भनेर जवाफ दिन्छन् ।

चण्डीको हकमा पनि प्रहरीले यस्तै भद्धा नाटक मञ्चन गरेको थियो । यसका लागि चण्डीले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धलाई अत्यधिक उपयोग गर्न सफल भए ।
महासंघमा अध्यक्ष रहेका बेला चण्डीले विधान संसोधन गराई दुई वर्षे कार्यकाल तीन बर्षको बनाए । विधान संसोधन गर्ने र आफु अनुकुल मानिसलाई महासंघमा ल्याउने उनको त्यो खेल अहिले पनि जारी छ ।

कुशसँग बदला लिन चण्डीले कुशको कार्यकालपछिको अध्यक्षका लागि सुरज वैद्यलाई तयार पारे । कुशका उम्मेदवार थिए आजाद श्रेष्ठ । चण्डी आफै कुशसँग हारे पनि कुशको कार्यकालभर उनले जिल्ला उद्योग बाणिज्य संघहरूसँगको सम्बन्ध निकै बलियो बनाएका थिए । परिणाम त सुरजलाई सहजै जिताउन सफल भए ।

तर, सुरजसँग चण्डीको सम्वन्ध भने महासंघमा भोटिङ गर्ने दिनसम्म मात्रै कायम रह्यो । अध्यक्ष पदमा निर्वाचन जितेको खुसियालीमा सुरजले आयोजना गरेको पार्टीमा उनलाई निर्वाचन जिताउन मुख्य भुमिका निर्वाह गर्ने मुख्य हस्ती चण्डीको उपस्थिती थिएन । चण्डी चाहान्थे होला– सुरज ‘डमी’ अध्यक्षको हैसियत स्विकार गरून् । सबै काम आफैले गर्न पाईयोस् । तर, सुरज अलि फरक स्वभावका छन्– त्यो तहसम्मको हस्तक्षेप उनले स्विकार गर्न सकेनन् ।

सुरजलाई निर्वाचन जिताएको पहिलो दिनदेखि नै चण्डी सुरजलाई असफल बनाउने योजनामा लागे । सुरज चण्डीका अवरोधहरू चिर्दै महासंघ चलाउने रणनीतिमा । चण्डीले पूर्वअध्यक्षहरुलाई सुरजको विरुद्ध उत्रिन उक्साए । सुरजको बानी फोन नउठाउने र समय व्यवस्थापन गर्न नसक्ने थियो । चण्डीले पूर्वअध्यक्षहरुलाई सुरजविरुद्ध उचाल्न उनको यही बानीको फाइदा उठाए । उनले सुरजको कार्यसमितीका पदाधिकारी र सदस्यलाई पनि बिच्काएर भाँडभैलो मच्चाए । सुरजको कार्यकाल असफल बनाउन केही थान पूर्वअध्यक्ष पनि हात धोएरै लागेका थिए ।

सुरजको कार्यकालभरि दुईबीच शक्ति संघर्ष जारी रह्यो । र, दुवैले एकले अर्कालाई पुर्णतयाः असफल बनाउन भने सकेनन् । महासंघमा ‘पावर ब्यालेन्स’को अवस्था कायम रह्यो ।

आफ्नो कार्यकालपछि सुरज भाष्करराज कर्णिकारलाई अध्यक्ष बनाउन चाहान्थे । तर, चण्डीको योजना भने सुरजलाई जसरी पनि महासंघको राजनीतिबाट अलग गर्नु थियो । चुनाव जितेपछि सुरजले धोका दिएको बुझाई उनको थियो । चण्डीले प्रदीपजंग पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाए । र, जिताएरै छाडे । महासंघमा फेरी पनि चण्डी नै सफल भए ।

कालोसूचिमा परेका चन्डीलाई बोकेर हिँडेको भन्दै भवानीसँग व्यवसायिक सर्कल असन्तुष्ट छ । कहीलेकाहीँ मन मिल्नेहरु भेट हुँदा असन्तुष्टी शेयर गर्छन । तर, अगाडि सरेर बोल्ने आँट कसैको छैन ।

प्रदीपको छोटो कार्यकालमा चण्डीले आफुलाई कार्यकारी अध्यक्षकै रुपमा प्रस्तुत गरेका थिए । महासंघको कार्यसमिति र सचिवालयले प्रदीपको हैन चण्डीको आदेशअनुसार काम गथ्र्यो । जसले गर्दैनथ्यो, उ कार्वाहीको भागिदार बनिहाल्थ्यो । महासंघमा चन्डीको विरुद्ध बोल्ने हिम्मत कैले गर्दैनथे ।

प्रदीपका लागि भने महासंघको अध्यक्ष पद आफ्नै घाँटीको पासो सरह सावित भयो । चुनाव हारेको रिस फेर्न भाष्करले पञ्चायत कालमा प्रदीपमाथि लागेको खानेपानी संस्थानको भष्ट्रचार मुद्धा अगाडि सारेनन् मात्रै, यसलाई इगोकै रुपमा अगाडि बढाउदै साम, दाम, दण्ड, भेद सबै शक्ति लगाएर प्रदीपलाई जेल पठाएरै छाडे ।

महासंघको अध्यक्ष बन्ने लोभले प्रदीपलाई जेलमा बसेर विलाप गर्नुपर्ने अवस्था आइलाग्यो ।

जब प्रदीप कमजोर सावित हुँदै गए, चण्डीले उनको साथ छोडिदिए । सुरजसँग बदला लिन उपयोग गरेको पात्रको औचित्य सकिएपछि चण्डीले फर्केर पनि हेरेनन् । चण्डीको एउटा बानी छ, एकचोटी निचोर काम नलाग्ने देखेपछि फ्याँकिहाल्छन् । र, नयाँ व्यक्ति समात्छन् । उखु र कागतीलाई झैं व्यवहार गर्छन् ।

चण्डीले दिएको त्यो धोका अहिले पुस्तान्तर हुँदै प्रदीपका छोरा र चण्डीबीचको इगोका रुपमा मौलाउदै छ । प्रदीपका छोरा प्रवलजंग पाण्डे सार्वजनिक रुपमै चण्डीप्रति बारम्बार रोष प्रकट गरिमात्रै रहदैनन् मौका मिल्नासाथ चण्डीलाई अपमान समेत गर्न भ्याइसक्छन् ।

चण्डी यो सबै चुपचाप सहिरहन्छन् । यस्ता अपमानहरु सजिलै पचाउन सक्ने पाचन शक्ति चण्डीमा विकास भइसकेको छ ।

प्रदीप जेल गएपछिको बाँकी कार्यकालका लागि अध्यक्षमा चण्डीले बरिष्ठ उपाध्यक्ष रहेका पशुपति मुरारकालाई सहयोग गरे । सुरज पनि लडाईबाट पछि हटिसकेका थिएनन् । उनले भाष्करलाई नै अध्यक्ष बनाउन आफ्नो तागत खर्च गरे । तर, यसपटक पनि चण्डी नै सफल भए । सुरज असफल ।

यो अवसरलाई भने चण्डीले वर्तमान अध्यक्षका लागि मात्रै होइन, भावी अध्यक्षका लागि समेत भवानी राणालाई तयार पारे । भवानी राणालाई बरिष्ठ उपाध्यक्ष बनाउने शर्त कार्यान्वयन गर्दै पशुपति महासंघको बाँकी कार्यकालका लागि अध्यक्ष बने । भवानीले पशुपतिसँग बरिष्ठ उपाध्यक्षमा हारेर बसेकी थिइन् । चण्डीले बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाएर भवानीलाई निर्विरोध बरिष्ठ उपाध्यक्ष बनाउन सफल भए ।

भवानीप्रति चण्डीको बिशेष कृपा रहेको मानिन्छ । यी दुई व्यवसायीबीचको ‘बिशेष मित्रता’का कारण चण्डी भवानीलाई महासंघको अध्यक्ष बनाउन चाहन्थे । भवानी अध्यक्ष भएपछि चण्डीले आफै अध्यक्षको हैसियतमा महासंघ चलाउन पाउने सबैभन्दा सुवर्ण अवसर प्राप्त हुन्थ्यो । यो अवसरलाई अलिकति पनि चुक्न नदिई चण्डीले पशुपति अध्यक्ष रहेको बेलामा महासंघको विशेष साधारणसभा बोलाउने व्यवस्था मिलाए । र, विधान संसोधन गरि बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने कानुनी संरचना नै तयार पारे । विधान संसोधनका लागि जिल्ला नगर उद्योग वाणिज्य संघलाई उपयोग गरे । त्यतिबेला विधान संसोधनमा धेरैजसो पूर्वअध्यक्षहरुले असहमति जनाएका थिए । त्यही बेलादेखि पूर्वअध्यक्षहरु महासंघ र चण्डीबाट टाढा हुँदै गएका हुन् ।

चण्डीले महासंघलाई नै विजनेश बनाए । महासंघको नेतृत्वमा जान चाहने प्रत्यासीहरू उनको परिक्रमा गर्नैपर्ने वातावरण तयार गरेका छन् । तर, उनीहरूले त्यो परिक्रमा गरेर मात्रै उनको मन जित्न सक्दैनन् । उनको मन जित्न परिक्रमासँगै भेटी पनि चढाउनुपर्छ । जसले चित्त बुझ्दो भेटी चढाउछ, उसैले महासंघको नेतृत्वमा जाने अवसर पाउछ ।

चण्डीले पनि पूर्वअध्यक्षहरुलाई महासंघमा सक्रिय हुन, खेल्न नदिन सस्त्रअस्त्र प्रयोग गर्दै आएका छन् । पूर्वअध्यक्षहरु सक्रिय भए महासंघमा आफ्नो भूमिका कमजोर हुने उनको बुझाई छ ।

सोही कानुनी संचरनाको आधारमा भवानी बरिष्ठ उपाध्यक्षबाट स्वतः बढुवा पाएर महासंघको अध्यक्ष बनिन् । चण्डीले बिशेष विजय उत्सव मनाए ! आफ्ना प्रतिद्वन्दीहरू लाखा पाखा लगाएर आफ्नो चाहना अनुसार महासंघको लगाम आफ्नो हातमा ल्याउन सफल भएकोमा !

चुनाव नजिति बरिष्ठ उपाध्यक्ष बनेकी भवानी स्वतः अध्यक्ष भएकोमा पूर्वअध्यक्षले असन्तुष्टी जनाएका थिए । तर, चन्डीका अगाडि के लाग्थ्यो र ।

महासंघको इतिहासमा भवानी सबैभन्दा कमजोर अध्यक्षका रुपमा अहिले आफ्नो इतिहास लेखाइरहेकी छन् भने चण्डीले प्रत्यक्ष नायवी शासन चलाइरहेका छन् । अध्यक्षको अधिकार चण्डीले प्रयोग गर्दा भवानीलाई कुनै हिनताबोध छैन । मानौं, सपिङमा गएका श्रीमान श्रीमतीमध्ये जो सुकैले ‘पेमेन्ट’ गरे पनि कुनै फरक महशुस हुँदैन ।

महासंघका अधिकांश पदाधिकारीहरू विना हिच्किचाहट टिप्पणी गर्छन्– अहिले भवानी अध्यक्ष हो कि चण्डी हो भन्ने थाहै हुदैन । चण्डीले बोलेको कुरा अध्यक्षले नै बोलेको हो भन्ने बुझेर महासंघको सचिवालय, पदाधिकारी र कार्यसमितिले काम गरिरहेको छ ।

कालोसूचिमा परेका चन्डीलाई बोकेर हिँडेको भन्दै भवानीसँग व्यवसायिक सर्कल असन्तुष्ट छ । कहीलेकाहीँ मन मिल्नेहरु भेट हुँदा असन्तुष्टी शेयर गर्छन । तर, अगाडि सरेर बोल्ने आँट कसैको छैन । महासंघको नेतृत्वमा पुग्न चाहने संभावित पदाधिकारीहरू त चण्डी कतै रिसाउलान् र आफ्नो योजना असफल होला भनेर उनका सामु को बढि आज्ञाकारी बन्ने भन्ने प्रतिस्पर्धामा हुन्छन् ।

चण्डीले महासंघका बैठकमा यस्तो आक्रमक महोल बनाउँछन्, अरु बोल्ने हिम्मत नै गर्दैनन् । उनले महासंघ आफ्नो पेवाजस्तो गराउँदा पनि सदस्यहरु अगाडि सरेर बोल्दैनन । महासंघको मिटिङमा कोही बढी बोल्न थाल्यो भने तिम्रो÷तेरो बोल्ने पालो सकियो भन्दै बस्न लगाउँछन् । र, आफ्नो पक्षमा बोल्नेलाई अगाडि सार्छन् । महासंघका पदाधिकारी र सदस्यहरुले चन्डीको हैकम मान्नुपर्छ, अध्यक्षको होइन ।

चण्डीलाई महासंघ चलाउन यत्रो शक्ति कहाँबाट प्राप्त भइरहेको छ त ?

चण्डी आज विजनेशविहिन अवस्था छन् । बैंकको कालोसूचिमा छन् । तर पनि दुई दशकदेखि महासंघको राजनीति लगभग आफ्नै नियन्त्रणमा राखेका छन् ।

महासंघको राजनीतिमा रहदा नै उनको विजनेश धाराशायी भयो । उनी अरू विजनेश शुरू गर्नेतिर लागेनन् । र, महासंघको राजनीति पनि छोडेनन् । उनी महासंघको राजनीतिमा यसरी जेलिदै गए कि कुनै दिन महासंघको राजनीतिबाट अगल हुनु परेको दिन उनको हालत लडाई हारेको एउटा सिपाहीको जस्तै हुनेछ !

चन्डीको खेल अन्तिम घडीसम्म कसैलाई पत्तो हुँदैन, उनी कसलाई समर्थन गर्दैछन् । सबैलाई लाग्छ, मलाई नै गर्नेछन् । त्यसैले चुनाव लड्नेहरु अन्तिम घडिसम्म चन्डीकै पछाडि दौडिन्छन् । उनले अन्तिम प्रहरमा पत्ता खोल्छन्, जबकी त्यो बेला अरु विकल्प हुँदैनन्, उम्मेदवारले पावर शेयरिङ र पैसामा नेगोसेसन नगरी सुखै हुँदैन ।

महासंघ आफैमा भोलेन्टियर संस्था हो । व्यक्तित्व विकासका लागि राम्रो अवसर दिने ठाउँ । विजनेश म्यानहरूले महासंघलाई यसैगरि लिए । महासंघमा आए अनि स्वभाविक रुपमा गए । मूल कर्म विजनेशमै ध्यान दिए । महासंघकै पूर्वअध्यक्ष विनोद चौधरीले दोस्रो कार्यकालका लागि चुनाव हारेपछि आफ्नो विजनेशलाई विश्वव्यापी फैलाउने अवसर आफुलाई प्राप्त भएको बताएका छन् आत्मकथामा ।

भनिन्छ, चण्डीले महासंघलाई नै विजनेश बनाए । महासंघको नेतृत्वमा जान चाहने प्रत्यासीहरू उनको परिक्रमा गर्नैपर्ने वातावरण तयार गरेका छन् । तर, उनीहरूले त्यो परिक्रमा गरेर मात्रै उनको मन जित्न सक्दैनन् । उनको मन जित्न परिक्रमास“गै भेटी पनि चढाउनुपर्छ । जसले चित्त बुझ्दो भेटी चढाउछ, उसैले महासंघको नेतृत्वमा जाने अवसर पाउछ ।

यो क्रम सुरज बैद्यको पालादेखि नै कार्यान्वयन भइरहेको बताउँछन्, महासंघका अधिकारीहरू । सुरज, प्रदीप, पशुपति र भवानी यि चारै जनाले महासंघको नेतृत्वमा आउन चण्डीमाथि ‘राम्रै लगानी’ गरेको दाबी गर्छन् जानकारहरू । त्यसका अलावा बरिष्ठ उपाध्यक्ष वा अन्य पदहरूमा निर्वाचन जित्न पनि चण्डीको चित्त बुझाएपछि पक्का †

यसरी हात परेको भेटीको केही अंश चण्डीले खर्च पनि गर्छन् । त्यो खर्च गर्ने ठाउ“ हो जिल्ला उद्योग बाणिज्य संघहरू । चण्डीको महासंघ शक्तिको राज नै जिल्ला उद्योग बाणिज्य संघहरू हुन् जहाँ चण्डीको लगभग एकलौटी पकड छ ।

महासंघको राजनीतिमा ५० प्रतिशत भोट जिल्ला उद्योग बाणिज्य संघहरूसँग रहेको छ । २० प्रतिशत वस्तुगत र ३० प्रतिशत एसोसियट । ५० प्रतिशत भोटिङ राइट रहेको जिल्ला उद्योग बाणिज्य संघमा चण्डीको पकड । यहि पकडका आधारमा चण्डीले महासंघको केन्द्रिय नेतृत्वलाई मुसा खेलाए जस्तै खेलाई रहेका छन् ।

चण्डी राजधानीका ठूला विजनेश फोरमहरूमा भेटिदैनन् । देशका कर्पोरेट हाउसका मालिकहरूसँग उनको लन्च/डिनर निकै टाढाको कुरा भइसकेको छ । तर, जिल्लाका सामान्य विजनेश कार्यक्रमहरूमा पनि चण्डी छुटेका हुँदैनन् । उनको संगत जिल्ला तहका विजनेशम्यानहरूसँग निकै जमेको छ । धेरै पटक विदेशबाट फर्किंदा विमानस्थलबाटै अर्को जहाज चढेर जिल्लाका कार्यक्रममा पुगेका छन् ।

जिल्ला उद्योग बाणिज्य संघका पदाधिकारीहरू भनेका साना एवं मझौला व्यवसाय गर्नेहरूकै बाहुल्यता छ । उनीहरूलाई कहिले राजश्वले दुःख दिन्छ । कहिले सिडियोले सताउछन् त कहिले प्रहरीले । कहिले अदालतका मुद्धा मामिलाहरू सेटिङ मिलाउनुपर्छ । कहिले कर्मचारीहरूले घुस मागेर सताइरहेका हुन्छन् ।

सिंगो जिल्ला उद्योग बाणिज्य संघहरूले उनीहरूको मत चण्डीको खल्तीमा राखिदिएका छन् । त्यही मतको शक्तिमा उनले महासंघ हल्लाई रहेका छन् ।

जिल्लाका व्यवसायीले जब यि समस्या भोग्नुपर्छ उनीहरूले सम्झिने एकमात्र नाम चण्डी ढकाल नै हो । जिल्लाका व्यवसायीका समस्या सुन्न चण्डीको मोबाइल २४ सै घण्टा खुला रहन्छ । जबकी महासंघको नेतृत्वमा जाने इच्छा राखेको कुनै कर्पोरेट मालिकसँग सम्पर्क गर्नु भनेको उनीहरूका लागि असम्भव जस्तै हो ।

चण्डीको प्रहरी प्रशासनसँग राम्रो पहँुच छ । कर्मचारीहरूसँग राम्रो उठवस छ ।

अदालतसँगको सम्वन्ध पनि उनले राम्रै ढंगले गाँसेका छन् । राजनीतिज्ञहरू पनि उनी नजिककै सम्वन्धमा बस्छन् ।

जिल्लाका व्यवसायीले भलै दुई/चार पैसा खर्च गर्नु पर्ला तर चण्डीमार्फत् अगाडि बढाएको काम धेरैजसो सफल हुन्छ । देशभरका व्यवसायीलाई यो कुरा थाहा छ ।

केही काम त उनले हप्काएर वा धम्क्याएर पनि गराउन सक्छन् । प्रहरी प्रशासन र कर्मचारीतन्त्रलाई उनले आवस्यक परे च्यालेन्ज पनि गर्छन् । किनभने उनले प्रहरी हेड क्वार्टर र सिंहदरबारका उच्च पदस्थसँग राम्रै सम्वन्ध मेन्टेन गरेका छन् ।

जिल्लाका व्यवसायीलाई चाहिने यत्ति हो । आफ्नो पहुँचमा भएको नेतृत्व, समस्यामा साथ दिने नेतृत्व । बोलाएको बेला आनाकानी नगरी आफ्नै घरमा खाना खान आइपुग्ने नेतृत्व । कतिका ट्रकहरू पुलिसले समातेर हैरानी पारिरहेका बेला चण्डीको एक कल फोनले खुरूक्क छोडिदिन्छन् ।

अड्डामा कर्मचारीले घुस मागेर सताईरहेका बेला चण्डीको एक धम्कीले खुरूक्क पछाडि हटेर काम गरिदिन्छन् । कुरा यत्ति हो । जतिसुकै सिद्धान्तका कुरा गरे पनि मानिस आफ्नो व्यक्तिगत समस्यामा साथ दिनेलाई नै आफ्नो भाग्यदाता मानिरहेका हुन्छन् ।

जिल्ला उद्योग बाणिज्य संघहरूमा चण्डीको एकलौटी पकड हुनुको कारण यहि नै हो ।

महासंघमा २० प्रतिशतको भोटिङ राइट राख्ने वस्तुगततर्फ चण्डीको जिल्लामा जस्तो पकड त छैन तर उनका सामु जवाफ फर्काउने हिम्मत पनि कसैले गर्दैन । बरू चाहिएको बेला काम लाग्ने मानिस हो भनेर चण्डीप्रति नै लोयल छन् धेरैजसो ।

कर्पोरेटले उनलाई गन्दैन । उनले पनि कर्पोरेटलाई आफ्नो ठान्दैनन् । कर्पोरेटले महासंघको नेतृत्वमा आउनुलाई आफ्नो प्रतिष्ठा ठान्छन् । त्यतिबेला चण्डीले हिसाव किताव गरेर उनको चित्त बुझ्यो भने लेनदेनकै आधारमा उ सँग डिल गर्छन् ।

किनभने सिंगो जिल्ला उद्योग बाणिज्य संघहरूले उनीहरूको मत चण्डीको खल्तीमा राखिदिएका छन् । त्यही मतको शक्तिमा उनले महासंघ हल्लाई रहेका छन् ।

२०७६ चैतमा महासंघको केन्द्रिय नेतृत्वका लागि निर्वाचन हुनेछ ।

भवानीलाई अध्यक्ष बनाउन चण्डीको चाहनामा संसोधन भएको विधान अनुसार हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् ।

तर चण्डीलाई यो कुरा मन परिरहेको छैन ।

महासंघको भावी अध्यक्ष हुनका लागि चण्डीप्रति जति वफादार हुनुपर्ने हो शेखर त्यति वफादार नहुने निश्कर्षमा चण्डी पुगिसकेका छन् ।

त्यसैले शेखरलाई स्वतः महासंघको अध्यक्ष बन्नबाट रोक्नु अहिले उनको मिसन बनिरहेको छ ।
उनी अहिले पनि जिल्ला दौडाहामा नै छन् । महासंघको बिशेष साधारण सभा बोलाउने, विधान संसोधन गर्ने र शेखरलाई अध्यक्ष हुनबाट रोक्ने उनको एकमात्र लक्ष्य हो ।

भवानीका लागि तयार गरिदिएको ‘फास्ट ट्रयाक’को फाईदा शेखरले पनि पाउन भन्ने उनको पटक्कै चाहना छैन । तर, समय घर्किदैछ र शेखरको पक्षमा वातावरण तयार हुदैछ पनि ।
विधान संसोधन नै भए पनि शेखरका लागि लागू नहुने कानूनी मान्यता पाउन सक्ने अवस्था पनि उत्तिकै छ ।

वरिष्ठ उपाध्यक्ष हुँदा नै लगानी गर्नु परेका शेखरले विधानको यो सुविधा पाए भने संभवतः चण्डीमाथि थप लगानी नगर्ने भेउ उनले पाइसकेका छन् ।

चण्डीको मिसन शेखरलाई यथास्थितीमा अध्यक्ष हुनबाट रोक्नु हो । कि शेखर ‘लगानी’का लागि तयार हुनुप¥यो । अन्यथा अर्को एक वर्षभित्रमा अध्यक्ष हुने बाटोमा चण्डीले खडा गरेका धेरै अवरोधहरूको सामना गर्नु पर्ने सम्भावना देखिन्छ ।

त्यसैगरि बरिष्ठ उपाध्यक्षको लाइनमा रहेका चन्द्र ढकाल, उमेश श्रेष्ठ, दिनेश श्रेष्ठ, किशोर प्रधानहरूले पनि चण्डीसँगको ‘नेगोसियसन’ जति चाँडो टुंग्याउनेछन् उनीहरूको महासंघको भावी दिशा प्रष्ट हुनेछ । १३ महिना अघि चण्डीले सम्भावित बरिष्ठ उपाध्यक्षमध्येका एक किशोर प्रधानलाई साथमा देखाएर बाँकी तीन जनालाई ‘राम्रै सन्देश’ दिइसकेका छन् ।

विधान संसोधन गराउने चण्डीको मिसनमा अहिले किशोर साथसाथै छन् । तर, भोली ‘नेगोसियसन’मा सफल हुनेका अगाडि किशोरको नियती प्रदीपजंग पाँण्डेको जस्तै हुनेछ भन्नेहरूको पनि महासंघमा कमी छैन । उदाहरण पनि छ, शेखरसँग नेगोसेसन भएपछि चण्डीले आफैले अघिल्लो कार्यसमितिमा जिल्ला÷नगरतर्फको उपाध्यक्ष बनाएका किशोरलाई वर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लत्ताइदिए । अहिले फेरी गोटी बनाउन किशोरलाई बोकेर हिँडिरहेका छन् ।

चन्द्र ढकाल, उमेश श्रेष्ठ र दिनेश श्रेष्ठ सबै चण्डीको सेवामा जुटेकै छन् । उनको कृपाविना बरिष्ठ उपाध्यक्ष हुदै महासंघको अध्यक्ष पदमा पुग्न सकिदैन भन्ने निश्कर्षमा उनीहरू पुगिसकेका छन् ।
बेला बेलामा भाष्करराज कर्णिकारसँगका मिटिङका फोटाहरू सोसल मिडियामा राखेर चण्डीले चारै जनालाई ‘नेगोसियसन’का लागि ढिलाई नगर्न पनि सम्झाइरकेका छन् । अध्यक्ष पदमा चुनाव हारेका भाष्करले पुनः बरिष्ठ उपाध्यक्षको बाटो हुँदै महासंघको अध्यक्ष हुने चाहना राखिरहेका छन् भन्ने सन्देश चण्डीले नै दिइरहेका छन् ।

चन्डीको खेल अन्तिम घडीसम्म कसैलाई पत्तो हुँदैन, उनी कसलाई समर्थन गर्दैछन् । सबैलाई लाग्छ, मलाई नै गर्नेछन् । त्यसैले चुनाव लड्नेहरु अन्तिम घडिसम्म चन्डीकै पछाडि दौडिन्छन् । उनले अन्तिम प्रहरमा पत्ता खोल्छन्, जबकी त्यो बेला अरु विकल्प हुँदैनन्, उम्मेदवारले पावर शेयरिङ र पैसामा नेगोसेसन नगरी सुखै हुँदैन ।

महासंघमा आगामी १३ महिनाको खेल निकै रोमाञ्चित हुने देखिन्छ ।

महासंघको नेतृत्वमा पुग्ने गोल्छा परिवारको आधा शताब्दी लामो सपना पुरा गर्न शेखरले चण्डीसँग कुन तहसम्मको ‘नेगोसियसन’ गर्छन्, त्यो हेर्न बाँकी नै छ । किनकी, चण्डी विधान संसोधन गरेर स्वतः शेखरलाई अध्यक्ष बन्ने बाटो छेक्न हात धोएर लागेका छन् । चण्डीको व्यवहार बुझेकाहरु भन्छन्, शेखरले अन्तिममा चण्डीसँग ‘नेगोसेसन’ नगरी सुखै पाउने छैनन् ।

शेखरपछिको रोलक्रममा रहेर महासंघको अध्यक्ष बन्ने आकांक्षा राखेका चन्द्र ढकालको सपना पुरा हुन्छ कि हुदैन ? उनले प्रतिस्पर्धीले भन्दा धेरै लगानी गर्न त सक्छन् तर भवानीकै कार्यकालमा जस्तै चण्डीलाई कार्यकारी अध्यक्ष चलाउन दिने ग्यारेण्टी गर्छन् कि गर्दैनन् ?

महासंघमा जब आगामी निर्वाचनको पर्दा खुल्नेछ कर्पोरेट दुनियाँका लागि यि दृष्यहरू चर्चित हिन्दी सिनेमा ‘पद्मावत’ भन्दा कम रोमाञ्चित हुने छैन ।

यो पनि पढ्नुहोस्

उद्योग वाणिज्य महासंघमा चण्डी ढकाललाई ‘अन्तिम भोज’

मा प्रकाशित
Continue Reading
1 Comment

1 Comment

  1. PRAMOD SHRESTHA

    April 17, 2019 at 10:42 pm

    चापलुसे हरू डराउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!