Connect with us

कभर स्टोरी

एउटा ‘आशा’को अवसान

जनताले बाबुराम भट्टराईको अनुहारमा देङस्यायो पिङ, महाथिर मोहम्मद र लि क्वान युको प्रतिरूप देखिरहेका थिए ।

हाम्रो पुस्ता अर्थात् २०४६ सालको राजनीतिक परिवर्तनसँगै हुर्किएको पुस्ता । बामपन्थीहरूले युवाहरूमा जवर्जस्त क्रान्तिकारी भावना भरेका थिए । सशस्त्र संघर्ष गर्दै २०४६ सालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई यिनै वामपन्थीहरूले ‘अक्रान्तिकारी’ पार्टीका रूपमा ब्राण्डिङ गरिदिएको समय पनि यहि हो । त्यसपछि कांग्रेस क्रान्तिकारी पार्टी हो भनेर कहिल्यै पनि युवा पुस्तामा जम्न सकेन ।

क्रान्तिकारीहरूको भिडमा पनि डा. बाबुराम भट्टराई अब्बल दर्जाका क्रान्तिकारी थिए । किनभने, उनले २०४६ सालमा कांग्रेस र वाममोर्चाले आव्हान गरेको संयुक्त जनआन्दोलनलाई ‘धोका’ हो भनेर घोषणा गरेका थिए । पञ्चायती व्यवस्थाको अन्त्य गरि बहुदलिय राजनीतिक व्यवस्था स्थापना भएको ऐतिहासिक राजनीतिक परिवर्तनलाई समेत अस्विकार गर्ने उनी कुन तहका ‘क्रान्तिकारी’ थिए होलान् !

त्यो समय नेपाली कम्युनिष्टहरू यति क्रान्तिकारी थिए कि केही केही समूह त कामरेड माक्र्सलाई नै संसोधनवादी देख्थे ! चेयरमेन कामरेड माओले चार श्रीमती भोग गर्नु नै क्रान्तिकारिता हो भन्ने मान्यता राख्थे ! र, कामरेड लेनिनले लगाएका जुत्तामा क्रान्तिकारिता छ कि छैन भनेर महिनौं बहस/प्रशिक्षण चलाउँथे । यस्तै क्रान्तिकारी बिषयमा मतभेद भएर कम्युनिष्ट पार्टी विभाजन हुँदै लगभग दुई दर्जन पुगेको समय पनि यहि हो ।

क्रान्तिको यस्तो राप बलेका बेला कामरेड बाबुराम भट्टराई ‘अक्रान्तिकारी’ हुनुपर्ने कुनै कारण थिएन । काठमाडौंको सम्पन्न नेवार परिवारमा जन्मी हुर्कि नयाँ दिल्लीको आधुनिक विश्वविद्यालयबाट इन्जिनियरिङ गरेपछि ‘सर्वहारा’ बनेकी कामरेड हिसिला यमीसँग विवाह गरेपछि बाबुरामको क्रान्तिकारितामा नयाँ लाली छाएको थियो ।

प्रधानमन्त्री बनेपछि सुभेच्छुकको साथमा बाबुराम भट्टराई र पत्नी हिसिला यमी ।

त्यसो त उनी दिल्लीको जवहारलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा अध्ययन गर्दा नेपाली कांग्रेसको विचारलाई फलो गर्थे । अखिल भारतीय नेपाली विद्यार्थी संघको अध्यक्ष हुँदा नयाँ दिल्लीमा उनको राजनीतिक लाइन वीपी कोइरालासँग मिल्थ्यो । तर, जब भारतले टिक्न नदिएपछि वीपी २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किए, बाबुरामलाई चित्त बुझेन । अनि उनी लागेका हुन्– कम्युनिष्ट कित्ताको राजनीतिमा ।

बाबुरामलाई बहुदलिय व्यवस्था कत्ति मन परेको थिएन । तर, पनि पार्टीको निर्णयलाई सिरोधार्य गर्दै उनी संयुक्त जनमोर्चाको तर्फबाट २०४८ सालको संसदीय निर्वाचनमा भाग लिए । र, विजयी पनि भए । त्यतिबेला जनमोर्चाको तर्फबाट चुनाव जितेका १२ भाई अब्बल क्रान्तिकारीमध्ये अगुवा उनै थिए । संसदीय बैठकमा भाग लिएर संसदीय व्यवस्थाको उछित्तो काड्ने अभियानका नेता थिए उनी । ‘संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भनेर आम नेपालीलाई बताउने काम बाबुरामले नै गरेका हुन् जुन उनले कामरेड चेयरमेन माओवाट दिक्षा पाएका थिए ।

२०४८ सालको संसदीय निर्वाचनमा ६९ सीट जितेर प्रमुख प्रतिपक्षी बनेको तत्कालिन नेकपा एमाले बाबुरामको नजरमा सोह्रै आना प्रतिगामी पार्टी थियो । जबकी कांग्रेससँगको तुलनामा एमालेले आफुलाई ‘२४ क्यारेट’को क्रान्तिकारी पार्टी मान्थ्यो । २०४९ सालमा एमालेका तत्कालिन महासचिव कामरेड मदन भण्डारीले ‘जनताको बहुदलिय जनवाद’ को नीति महाधिवेशनबाट पारित गराएपछि त बाबुरामको पार्टीले एमालेलाई वामपन्थी नै देख्न छाडेको थियो ।

काँग्रेस र एमालेलाई त्यतिबेला कसैको डर थियो भने यिनै बाबुरामहरूले नेतृत्व गरेको मशाल पार्टीको थियो । उनीहरूले सक्ने ठाउँमा विचार, विश्लेषण र भाषणले मात्रै होइन, ढुंगामुडाले नै काँग्रेस एमालेको सातो लिन्थे । ‘क्रान्तिकारीको शरिर हाड मासुले होइन, इस्पातले बनेको हुन्छ’ भनेर आफ्ना कार्यकर्ताका हात, खुट्टा, टाउकोलाई फलाम बनाइदिने काम उनीहरूले गरेका थिए ।

काँग्रेस र एमालेलाई त्यतिबेला कसैको डर थियो भने यिनै बाबुरामहरूले नेतृत्व गरेको मशाल पार्टीको थियो । उनीहरूले सक्ने ठाउँमा विचार, विश्लेषण र भाषणले मात्रै होइन, ढुंगामुडाले नै काँग्रेस एमालेको सातो लिन्थे । ‘क्रान्तिकारीको शरिर हाड मासुले होइन, इस्पातले बनेको हुन्छ’ भनेर आफ्ना कार्यकर्ताका हात, खुट्टा, टाउकोलाई फलाम बनाइदिने काम उनीहरूले गरेका थिए ।

अर्कै दुनियाँबाट आएजस्ता लाग्ने यि क्रान्तिकारिका अगाडि कांग्रेस, एमाले भएर उभिनेहरू डरले थुरथुर हुन्थे । यिनै क्रान्तिकारीहरूका गुरू थिए, डा. बाबुराम भट्टराई ।

कामरेड निर्मल लामाले नेतृत्व गरेको चौथो महाधिवेशन (चौम)बाट अलग अलग हुँदै बनेको एउटा क्रान्तिकारी समूह जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । ‘दिर्घकालिन जनयुद्ध’ गरि नेपालमा सर्वहारा वर्गको अधिनायकत्व रहेको कम्युनिष्ट शासन स्थापना गर्ने योजनामा समर्पित थिए ।

२०५१ सालमा एमालेको अल्पमतको सरकार बन्यो । जसलाई पहिलो कम्युनिष्ट सरकार भनिन्छ । तर, बाबुरामहरू भने उक्त सरकारलाई प्रतिगामी भन्थे । सरकारसँग सार्वजनिक मुठभेड गर्ने मनःस्थितीमा थिए । केही निहुँ खोज्ने र एमालेलाई क्रान्तिकारीहरूको स्वाद चखाउने उनीहरूको रूचि थियो ।

यहि क्रान्तिकारीता प्रदर्शन गर्ने क्रममा २०५१ सालमा रत्नपार्कमा भित्ते काण्ड भएको थियो ।

बाबुरामहरूले रत्नपार्कस्थित तत्कालिन एमाले अखिलको केन्द्रिय कार्यालय रहेको रातो घर अगाडिको नेपाल विद्युत् प्राधिकरणको भित्तोमा क्रान्तिकारी नाराहरू कुँदेका थिए । सत्ताको राप/तापमा रहेको एमालेका अगाडि बाबुराम भट्टराईहरूको सानो समूहलाई उनीहरू राजनीतिक शक्ति नै देख्दैनथे । सत्ताको त्यहि शक्ति प्रदर्शन गर्दै एमालेहरूले रत्नपार्कको भित्तोमा लेखिएका बाबुरामको पार्टीका नारा मेटेर एमालेका नाराहरू पोते । ‘इस्पात’ले बनेका बाबुरामहरूलाई यो कुरा सैह्य भएन । उनीहरू एमालेस“ग भिड्ने तयारीका साथ रत्नपार्क आउने तय भयो ।

एमालेहरू पनि के कम । २०२८ सालमा झापामा हतियार उठाएर आएका क्रान्तिकारिताको लिगेसी आफुमा देख्थे । देखाउनका लागि उनीहरूसँग पनि ‘लालसेना’ थियो जसको कमाण्डर थिए– प्रदीप नेपाल । उनको मातहतमा रूपनारायण श्रेष्ठहरूको जमात थियो । जसको सार्वजनिक छबी राजनीतिक कम अराजकता बढि थियो । यिनै रूपनारायणले २०५४ सालमा एमाले विभाजन भएपछि एमालेका नेता प्रदीप ज्ञवालीहरूको बुटवलमा टाउको फोडेका थिए ।

रत्नपार्कको भित्ते काण्डको सम्झना गर्दै दुर्गा सुवेदीले आफ्नो पुस्तक ‘विमान विद्रोह’मा लेखेका छन्– दुवै पक्षबीच भीडन्त हुने सार्वजनिक चर्चाले मान्छेहरू रमिता हेर्न रत्नपार्कमा भेला भएका थिए । प्रदीप नेपालहरू पनि तयारी अवस्थामा थिए । बाबुरामले नेतृत्व गरेको टोली नारा लगाउदै त्यो ठाउ“मा त पुग्यो तर लडाईमा उत्रिने साहस देखाएन । उनीहरूले नारा लगाउदै रत्नपार्क–भद्रकाली परिक्रमा गरिरहे ।

प्रचण्ड नेतृत्वमा माओवादी पार्टी बनिसकेको थियो । उनी भूमिगत थिए । मोर्चाको माध्यमद्वारा बाबुरामले सोही पार्टीको खुला फाँट सम्हाल्थे । २०५२ सालको एक दिन बाबुराम आफ्ना ५२ बुँदे मागपत्रको सूचि लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिन पुगे । तर, सानो पार्टी, क्रान्तिकारी कुरा बढि गर्ने र कांग्रेसमाथि जाईलाग्नेको ज्ञापनपत्रलाई देउवाले खासै वास्ता गरेनन् । पछि भेटेर छलफल गर्ने भन्दै झारा टारेर बाबुरामलाई आफ्नो अफिसबाट जतिसक्दो चाँडो बाहिर पठाइदिए ।

२०४८ सालको संसदीय निर्वाचनमा ६९ सीट जितेर प्रमुख प्रतिपक्षी बनेको तत्कालिन नेकपा एमाले बाबुरामको नजरमा सोह्रै आना प्रतिगामी पार्टी थियो । जबकी कांग्रेससँगको तुलनामा एमालेले आफुलाई ‘२४ क्यारेट’को क्रान्तिकारी पार्टी मान्थ्यो ।

प्रचण्डको योजनाबमोजिम यो ज्ञापनपत्र उनीहरूकै भाषमा ‘जनयुद्ध’ को तयारी स्वरूप प्रधानमन्त्रीसँगको ‘अन्तिम भेटवार्ता’ थियो । देउवाले ज्ञापनपत्रको नियत थाहा पाउनुअघि नै माओवादीले रोल्पा–रूकुमका प्रहरी चौकीमाथि आक्रमण गरि युद्ध शुरू गरिसकेको थियो । देउवा भन्ने गर्थे– मैले मागहरूका बारेमा अध्ययन गर्न नपाउँदै उनीहरूले बन्दूक पड्काउन शुरू गरिहाले । मलाई त समय नै दिएनन् !

१० बर्षे माओवादी युद्धका बारेमा पुस्तकहरू लेखिएका छन् । राजनीतिक समिक्षा गरिएका छन् । सर्वहारा वर्गको अधिनायकत्व स्थापित गरि आफुलाई कामरेड माओजस्तै शासकका रूपमा स्थापना गर्ने प्रचण्डको रहरको इतिहास पनि हो यो जसका लागि करिब १७ हजार नेपाली नागरिकले जीवन गुमाउनु पर्यो ।

यो युद्धका नायक कामरेड प्रचण्ड हुन् । तर, आम नेपालीले यसको नायक वा खलनायक बाबुरामलाई नै मान्थे । किनभने युद्धकालमा प्रचण्ड भन्ने व्यक्ति छन् वा छैनन् भन्ने नै पक्का थिएन । सार्वजनिक रूपमा बाबुरामको एकलौटी राजनीतिक छबी बन्न थालेपछि प्रचण्डले शुरूमा आफ्नो अनुहारको स्केच र पछि फोटो सार्वजनिक गरेका थिए । पार्टी बाहिर यस्तो अवस्था रहे पनि पार्टीभित्र भने बाबुराम यो युद्धका सहनायक थिए जसको कत्र्यव्य आफ्ना सेना नायकको आदेश पालना गर्नु र सेना नायकले मागेको अवस्थामा आफ्ना सुझाव दिनु मानिन्थ्यो ।

तर, सार्वजनिक छबीको आडमा बाबुराममा कहिलेकाँही युद्धको नायक आफै हुँ भन्ने भ्रम श्रृजना हुन्थ्यो । देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा समेत उनकै चर्चा चलिरहन्थ्यो । जेएनयुमा पढ्दा भारतीयहरूसँग बढाएको हिमचिम र मित्रताले उनीहरू बाबुरामलाई आफ्नै हितैषी ठान्थे । उनीहरूको माध्यमद्वारा पनि बाबुरामको चर्चा अन्तर्राष्ट्रिय तहसम्म पुगेको थियो ।

युद्धकालमा पार्टीभित्र बाबुरामले आफुलाई राजनीतिक आर्किटेक्टका रूपमा प्रस्तुत गरिरहे । प्रचण्डको दिमाग आफु नै हुँ भन्ने छबी स्थापित गरि उनले पार्टीभित्र दोस्रो नेताको मर्यादा क्रममा आफुलाई स्थापित गरे ।

पार्टी बाहिरको समूह, देश र विदेशमा समेत एकलौटी छबी, पार्टीभित्र दोस्रो तहको निर्विकल्प नेता र सैद्धान्तिक रूपमा फरक मतहरू राख्न थालेपछि भने प्रचण्ड निकै शसंकित बने । कम्युनिष्ट पार्टीमा मुख्य नेतालाई चुनौती दिइएको भान हुनु भनेको राजाको शासनमा राजगद्धी ताकेजस्तै हो । दुबै अवस्थामा यस्तो चुनौती दिने नेताको ‘सफाया’ गरिन्छ । प्रचण्डले लगभग बाबुरामको सफायाको तयारी गरेका थिए भन्ने उनले आफै बयान दिएका छन् ।

प्रचण्ड र बाबुराम प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक सार्वजनिक हुँदाको तस्वीर ।

प्रचण्डले बाबुरामलाई पार्टीभित्रैको कालकोठरीमा थुनेर राखे । नजरबन्द गराए । रसद पानीमा नियन्त्रण गरिदिए । श्रम शिविर पठाए । उनीमाथि कारवाही गर्न बाँकी थियो भने एउटै कुरा मात्र थियो ‘जनसेना’द्वारा सफाया । आफुमाथि एकदिन आफ्नै ‘जनसेना’ले गोली हान्नेछन् भन्ने लगभग अनुमान गरेका थिए बाबुराम आफैले पनि । यस्तै परिस्थितीबाट गुज्रिरहेका बेला २०५८ साल जेठ १९ मा राजदरबार हत्याकाण्ड भयो । राजा विरेन्द्रको वंश विनास भयो ।

नयाँ राजाको अवतारमा प्रकट भएका ज्ञानेन्द्र शाहले माओवादी अर्थात् प्रचण्डको भविष्य समाप्त पारिदिने भय जब प्रचण्डलाई भयो, उनले बाबुराम माथिको कार्वाहीलाई फिर्ता लिए । र, भारतसँग सम्वन्ध बढाई सुरक्षाको चाँजोपाँजो मिलाउन बाबुरामलाई जिम्मा दिए ।

राजनीतिक रूपमा बाबुरामले एउटै लाइन लिएको देखिन्छ– राजतन्त्रको अन्त्य गर्नका लागि भारतसँग सहकार्य गर्ने । आवश्यक परे कांग्रेस एमालेस“ग मिलेर राजा विरूद्ध संघर्ष गर्ने । तर, मौसम अनुसार राजनीतिक लाभ लिन माहिर प्रचण्डका लागि भने यो एउटै मात्रै सिद्धान्तको कुनै अर्थ थिएन ।

कुनै बेला उनी राजाको प्रधानमन्त्री बनेर कांग्रेस एमालेलाई सिध्याउन पनि मानसिक रूपमा तयार थिए । भारतले पेलेको बेला राजासँग सहकार्य गर्न पनि तयार । र, भारतले साथ दिएको अवस्थामा उसैसँग मिलेर गणतन्त्र स्थापना गर्न पनि तयार ।

के बुझिन्छ भने प्रचण्डले राजा विरेन्द्रसँग सहकार्य गर्न लागेको बेला राजदरबार हत्याकाण्ड भएको थियो । र, नयाँ राजा ज्ञानेन्द्रले प्रचण्डलाई बाल मतलव दिएका थिएनन् ।

युद्धकालमा पार्टीभित्र बाबुरामले आफुलाई राजनीतिक आर्किटेक्टका रूपमा प्रस्तुत गरिरहे । प्रचण्डको दिमाग आफु नै हुँ भन्ने छबी स्थापित गरि उनले पार्टीभित्र दोस्रो नेताको मर्यादा क्रममा आफुलाई स्थापित गरे ।

जसबाट बाबुराम भट्टराईलाई प्रत्यक्ष फाइदा पुगेको थियो । लगभग सफायाको अवस्थामा रहेका बाबुरामको राजनीतिक लाइनमा प्रचण्ड फर्किएका थिए । र, उनीमाथिको कारबाही फिर्ता मात्रै होइन, तत्कालिन राजनीतिक लाइनका आर्किटेक्टका रूपमा पार्टीमा उनको पुनर्वहाली भएको थियो । आफ्नो लाइनमा प्रचण्ड आएपछि सबैभन्दा पहिला आफुलाई दुःख सुखमा साथ दिने भारतीय संस्थापनको सेवामा उनी पुगे ।

देशभित्रका राजनीतिक पार्टीलाई ज्ञानेन्द्रले पेलेको पृष्ठभुमिमा उनीहरूसँग सहकार्य गरेर जाने भारतको सुझावलाई उनले आफ्नो पार्टीको राजनीतिक लाइनका रुपमा स्थापित गरे । र, अन्ततः भारतीय इच्छा अनुसार माओवादी र नेपाली संसदीय दलबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गर्न मुख्य भूमिका निर्वाह गरे ।

बाबुरामसँग भारत जहिले पनि सकारात्मक थियो । उनले भारतलाई नेपाली राजनीतिक व्यवस्थापनको तालाचाँवी नै बुझाइदिए । ढंग र बुद्धि दुवै नभएका राजा ज्ञानेन्द्रसँग भारत रूष्ट भएको समयमा बाबुरामले भारतलाई यस्तो राजनीतिक क्रेडिट लिन पाउने अवसर दिए कि उसकै चाहनामा नेपालमा गणतन्त्र स्थापना भएको हो । भारतको सहयोगमा नयाँ दिल्लीमा नेपालका सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे राजनीतिक समझदारी भएको थियो । राजा ज्ञानेन्द्रकै मुर्खताका कारण नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला माओवादीसँग मिल्न पुगेका थिए ।

देशमा राजा ज्ञानेन्द्रको शासन चलिरहेको थियो । कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । राजा ज्ञानेन्द्रलाई कोइराला हटाएर आफ्ना चाप्लुसलाई प्रधानमन्त्री बनाउने मन थियो । यो २०६० सालतिरको कुरा हो ।

एकदिन दरबारमा राजा र प्रधानमन्त्री आमने सामने बसेका थिए ।

ज्ञानेन्द्र गिरिजालाई गलाउन चाहान्थे ।

‘पिएम ! तिमीलाई त आम जनताले भ्रष्ट्राचारी भन्छन् नि ?’ ज्ञानेन्द्रले बाण छोडे ।

जीवनभर राजासँग त्यो पनि सर्वशक्तिमान पञ्चायती व्यवस्थाका राजासँग जुधेर आएका गिरिजाप्रसाद त्यति सजिलै गल्ने स्वभावका थिएनन् ।

उनले प्रतिउत्तर फर्काए

‘महाराज ! तपाइलाई पनि जनताले दाजु विरेन्द्रको हत्यारा हो भन्छन् नि । के म यो कुरा भन्दै हिँडु ?’

राजा र प्रधानमन्त्रीबीच शक्ति संघर्ष शुरू भयो ।

सेनाका परमाधिपति र एक सय ४० बर्षे राजतन्त्रको लिगेसी बोकेका ज्ञानेन्द्रका अगाडि गिरिजाप्रसाद कमजोर सावित हुनु स्वभाविक थियो ।

उनले प्रधानमन्त्री पदबाट राजिनामा दिए । तर, निश्चय गरे कि ज्ञानेन्द्रलाई पतन गराएरै छाड्छु ।

प्रधानमन्त्रीको पदबाट हट्नुभन्दा पनि ज्ञानेन्द्रको राजा हुनुको रवाफ गिरिजाप्रसादका लागि इगो बन्यो ।

प्रधानमन्त्री हुँदा उनले सत्ताका लागि यति धेरै सम्झौता गरे कि अर्थमन्त्री हुँदा कमाएको इज्यत समेत सबै धुलोमा मिलाइदिए । नेपाल बनाउने एकजना नेता छ भनेर आम जनताले गरेको विश्वासलाई उनले छियाछिया पारिदिए ।

हो, यहि समयमा हो, दिल्लीमा १२ बुँदे राजनीतिक समझदारी भएको । जुन बाबुरामको राजनीतिक लाइन थियो । त्यो लाइनमा पार्टीभित्रबाट सर्वशक्तिमान प्रचण्ड र राजनीतिक दलहरूबाट सर्वशक्तिमान गिरिजाप्रसाद कोइराला आइपुगेका थिए ।

आफ्ना राजनीतिक स्वार्थहरूलाई नजरअन्दाज गरेर ज्ञानेन्द्रले चिनसँग सम्वन्ध बढाउन किर्तिनिधि विष्टलाई मन्त्रिपरिषदको उपाध्यक्ष बनाएको बदला लिन भारतलाई पनि उपयुक्त मौका यहि थियो ।

यहि पृष्ठभुमिमा नेपालमा २०६२/६३ को दोस्रो राजनीतिक आन्दोलन भएको थियो । जसले एक सय ४० बर्षे राजतन्त्रलाई उखेलेर फालिदिएको थियो ।

यो राजनीतिक लाइन सफल भएपछि बाबुराम पार्टीभित्र र पार्टी बाहिर पनि निकै शक्तिशाली नेताका रूपमा उदाए । प्रचण्ड र बाबुरामले खैरो रंगको सुट लगाएर प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्ड जत्तिकै हैसियत उनले प्राप्त गर्नुमा यहि उपलब्धीको देन थियो ।

खुला राजनीतिमा आएपछि प्रचण्ड र बाबुराम एक अर्काका छायाँ जस्तै बनेका थिए । खासगरी प्रचण्डलाई बाबुरामको साथ अपरिहार्य थियो । किनभने सार्वजनिक रूपमा बाबुरामको छवि प्रचण्डको भन्दा राम्रो थियो । प्रचण्ड अलौलिक पात्र थिए । तर, समाजमा घुलमिल हुन, देशी विदेशी राजनीतिज्ञ, कुटनीतिज्ञ र विद्वानहरूसँग डिल गर्न उनलाई बाबुरामको खाँचो थियो । नयाँ बजारको एउटा घरमा प्रचण्ड र बाबुराम सँगै बस्थे । बरू बाबुराम पत्नी हिसिला भने अन्यत्रै छुट्टै बस्थिन् ।

शान्ति प्रकृया टुंग्याउन, माओवादी सेनालाई निशस्त्र गर्न र माओवादीलाई ‘संसदीय भास’मा पुर्याउन प्रचण्डलाई बाबुरामकै ज्ञान आवश्यक थियो । बाबुरामलाई निरन्तर भारतीय सस्थापनको दिक्षा । भारतले प्रचण्डलाइ पेल्ने र बाबुरामलाई काखी च्याप्ने क्रम जारी रहँदा प्रचण्डले भारतले आफुलाई पनि काखी च्यापोस् भन्ने चाहना पुरा गर्न बाबुरामलाई नै सेवा गर्नुपर्छ भन्ने राम्ररी बुझेका थिए ।

यति गर्दा पनि भारतले साथ नदिएपछि बेला बेलामा उनी भारत विरूद्ध खुलेआम वाकयुद्धमा ओर्लिन्थे । युद्धको क्रममा बाबुरामलाई कार्वाही गरेको समयमा भारतले आफुलाई दुःख दिइरहेपछि प्रचण्डले भारत विरूद्ध ‘सुरूङ युद्ध’ गर्ने भन्दै नेपालको पहाडी जिल्लाका स्कुल स्कुलमा बंकर खनेका थिए । खुला राजनीतिमा आइसकेपछि उनले भारतका विरूद्ध बेला बेलामा भाषणमार्फत जेहाद छाड्थे ।

दुवै तरिकाबाट भारत विरूद्ध प्रस्तुत हुनुको उदेश्य एउटै थियो– भारतले आफुलाई पनि बाबुरामलाई जस्तै माया गरोस् ! साथ देओस् !

 

२०६४ सालमा संविधान सभाको निर्वाचन भयो । माओवादीले सबैभन्दा बढी सिट जितेर पहिलो पार्टी बन्यो । प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने वाचा गरेका थिए । त्यो लोभले आफ्नै नेतृत्वमा संविधान सभाको निर्वाचन गराएका गिरिजाप्रसाद कांग्रेसलाई भोट माग्न समेत बालुवाटारबाट बाहिर निस्केनन् ।

निकै शान्त र सभ्य भएर आफ्नै नेतृत्वमा निर्वाचन गराएको गिरिजाप्रसादले पहिलो पटक थियो ।

तर, जब माओवादीको बहुमत आयो, प्रचण्डले आफ्नो वाचा भुले । र, गिरिजाप्रसादलाई ललकार्न थाले, गिरिजाले पनि सरकार बनाउने बाटो अवरूद्ध गरिरहे । केही महिनापछि जब प्रचण्डको नेतृत्वमा माओवादी सरकार बन्यो, बाबुराम भट्टराई अर्थमन्त्री बने । माओवादी सरकारका आर्किटेक्ट लगभग उनी नै थिए ।

अर्थमन्त्री बन्दासम्म पनि बाबुराम भट्टराई नेपाली समाजका लागि हाउगुजी नै थिए । अर्थात् उनी खुलेर बोल्दैनथे । उनी हाँसेको कमै मानिसले देखेका थिए । कम बोल्थे र जति बोल्थे भय श्रृजना हुने गरि बोल्थे । कडा स्वभाव देखाउँथे । प्रचण्डको भन्दा पनि उनको व्यक्तित्व आम मानिस र कर्मचारीतन्त्रका लागि हाउगुजी बनिरहेको थियो ।

त्योभन्दा पनि ठूलो कुरा १० बर्षे युद्ध हुँदै सरकारमा आएको माओवादी । आमूल परिवर्तनका एजेण्डाहरू उठाएको पार्टी । यो सरकारले ठुल्ठुला परिवर्तनको नेतृत्व लिन्छ भन्ने परेको थियो सबैलाई । त्यसमध्ये पनि बाबुरामले नै सबै चलाउनेछन् भन्ने सोचिएको थियो ।

बाबुरामको यो छबी नै कामयावी सावित भयो– अर्थमन्त्रालय मातहतको भ्रष्ट कर्मचारीतन्त्रलाई एक हदसम्म तह लगाउन । राजश्व र भन्सारसँग जेलिएको कर्मचारीतन्त्र बाबुरामलाई पर्ख र हेर, अनिमात्र पैसा असुल्ने धन्धा शुरू गरौंला भन्ने मनस्थितीमा पुग्यो ।

बाबुराम अर्थमन्त्री भएको प्रारम्भिक महिनाहरूमा अर्थमन्त्रालय मातहतका कर्मचारीले ‘भोकमरी लागेको’ बताउँथे । अर्थात् यो समयमा घुस खाने हिम्मत गरेका थिएनन् । कर्मचारीतन्त्र अलि सजग भएपछि राजश्व बृद्धिदर ह्वात्तै बढेर ३५ प्रतिशतसम्मको वृद्धिदर हासिल भयो । बाबुरामका लागि अर्थमन्त्रीका रूपमा यो नै सबैभन्दा महत्वपूर्ण उपलब्धी सावित भयो ।

अर्थमन्त्री हुँदा बाबुराम केही नया“ परिवर्तनकारी काम शुरू गर्न चाहान्थे । तर, के काम शुरू गर्ने भन्ने भने प्रष्ट थिएन । मन्त्रालयमा उनी त्यतिबेलाका राजश्व सचिव कृष्णहरी बाँस्कोटाको भर परेका थिए जबकी बाँस्कोटाको हैसियत अरूले अह्राए खटाएको काम गर्न सक्ने तर आफै योजना बनाउन सक्ने थिएन । अर्थसचिव रामेश्वर खनाललाई चिन्न बाबुरामलाई केही महिना लाग्यो ।

बाबुरामले केही नयाँ काम गर्नुपर्यो भन्ने कुरा बारम्बार दोहोर्याइरहे । कर्मचारीतन्त्र सोच्थ्यो, उनीसँग पक्का केही योजना छ । केही दिनमा भन्नेछन् । तर, समय घर्किन थाल्यो । केही नयाँ गर्ने त भनिरहे तर यो काम शुरू गर्ने भन्ने प्रष्ट कुरा नआएपछि उनीसँग खास योजना केही छैन भन्ने थाहा भयो ।

एकदिन सचिव खनालले सुझाव दिए– युवा स्वरोजगार कार्यक्रम शुरू गरौँ । यसो गर्दा युद्वबाट आएका युवाहरूलाई उद्यमीमा परिणत गर्न सकिन्छ । उनीहरूलाई उद्यम गर्ने तालिम र सिड मनि उपलब्ध गराऔं । सफल भएपछि सिड मनि फिर्ता लिने व्यवस्था गराैं ।

बाबुरामलाई यो योजना खुब मन पर्यो । माओवादी सरकारको नयाँ कार्यक्रममा रूपमा यसलाई लागू गरियो । तर, कार्यान्वयनमा लैजाने समयसम्ममा यो कार्यक्रम पूर्णतः राजनीतिक संक्रमणको शिकार भइसकेको थियो । यो माओवादी कार्यकर्ताका लागि पैसा बाँड्ने कार्यक्रमका रुपमा पार्टी नेताहरूले भित्रभित्रै ब्रिफ गरिसकेका थिए । अन्ततः एउटा राम्रो सोंचले अगाडि ल्याइएको कार्यक्रम राज्यकोष दोहन गर्ने अर्को माध्यमका रुपमा परिणत भयो ।

तथापी बाबुरामको अर्थमन्त्री काल सफल रहयो । मिडियाले उनलाई नेपालको इतिहासकै सफल अर्थमन्त्रीका रुपमा मात्रै ब्याख्या गरेनन्, उनी जतिसक्यो छिटो प्रधानमन्त्री बनेर देशलाई आर्थिक विकासको नेतृत्व दिनुपर्ने पक्षमा निरन्तर वकालत गरिरहे ।

वातावरण यस्तो बन्यो कि आमजनतामा बाबुराम नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने छाप पर्यो । पार्टीभित्र बाबुराम अल्पमतमा हुदाहुदै पनि प्रचण्ड पछाडि बसेर बाबुरामलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्यो । प्रचण्डलाई पेल्ने र बाबुरामलाई हिरो बनाउने भारतीय नीति कार्यान्वयन गर्न देशभित्र बाबुरामको पक्षमा बनेको सकारात्मक वातावरण निकै कामयावी सावित भयो ।

भारतले मधेशवादी दलहरूलाई मिलाएर बाबुरामको नेतृत्वमा सरकार गठन गर्ने वातावरण बनाइदियो । प्रचण्ड यसलाई नमिठो मानेरै पनि सदर गर्न बाध्य भए ।

बानेश्वर माइतीघर सडक । डा. बाबुराम भट्टरार्इ प्रधानमन्त्री हुँदा सडक विस्तारको काम सुरू गरेका थिए ।

मधेशवादी दलहरूको सहयोगमा प्रधानमन्त्री बनेपछि बाबुरामको ओह्रालो यात्रा शुरू भयो । अर्थमन्त्री हुँदाका एउटै पनि सकारात्मक छाप उनले छोड्न सकेनन् । बरू उनले मधेशवादी दलबाट बनेका मन्त्रीहरू र आफ्नी श्रीमती हिसिला यमीलाई जतिसक्दो पैसा उठाउन प्रोत्साहित गरिरहे ।

उनको प्रधानमन्त्रीत्व कालमा सिंहदरबार ‘मछली बजार’मा परिणत भयो ।

मन्त्रीहरू खुलेयाम आफ्नै कार्यालयमा पैसाको डिल गरिरहेका हुन्थे । उता प्रधानमन्त्री पत्नीले योसँग वा उसँग यति करोडको बार्गेनिङ गरिरहेका चर्चाहरू काठमाडौंमा ‘टक अफ दी टाउन’ बनिरहेका थिए ।

एकदिन सिंहदरबारमा नेपालस्थित एक विकसित मुलुकका राजदूले उच्च पदस्थ कर्मचारीहरू समक्ष प्रश्न उठाएछन्– तिमीहरू बाबुराम भट्टराई निकै सक्षम शुसासन दिने नेता हुन् भनिरहेका छौ । म सुनिरहेको छु, प्रधानमन्त्री पत्नीले खुलेयाम गैरकानूनी रूपमा पैसा उठाइरहेकी छन् । उनले त्यो गैरकानूनी काम आफ्ना पति बाबुराममार्फत् मात्रै गराउन सक्छिन् । जब पत्नीले यस्तो काम गरिरहेकी छन् र बाबुरामले त्यसलाई साथ दिइरहेका छन् भने उनी कसरी असल नेता हुन सक्छन् ? उनी कसरी शुसासन दिने शासक हुन सक्छन् ?

कर्मचारीहरूले एक अर्कोको मुखामुख मात्रै गरेछन् । राजदूत महोदय एक कदम अगाडि बढेर भनेछन्– हो पति असल र पत्नी खराब राजनीतिज्ञ हुन सक्छन् । हाम्रो देशमा पनि यस्तो भएको छ । तर, जबसम्म बाबुरामले पत्नी हिसिलालाई डिभोर्स दिँदैनन् तबसम्म म बाबुराम असल नेता हुन् भनेर मान्न सक्दिन । किनभने यो पति पत्नीबीच मिलेमतोमा भइरहेको काम हो ।

कर्मचारीहरू सुनेको सुन्यै भए । त्यहि समयमा हो, न्यूयोर्क टाईम्सले हिसिलालाई एसियाकै सबैभन्दा भ्रष्ट महिलाको उपमा दिएको ।

उनले पश्चाताप त जति पनि गर्न पाउलान् ! तर, १० बर्ष युद्ध गरि आफ्नै एजेण्डा अनुसार संविधान सभामार्फत् नयाँ संविधान जारी गर्दा स्वागत गर्ने अवसर भने बाबुरामले कहिल्यै पाउने छैनन् । देशले नाकावन्दी भोगिरहदा नेपाली जनताको आत्मसम्मानमाथि कुल्चिदै गरेको गल्तीको प्रायश्चित सायद उनले यो जीवनमा गर्न सक्ने छैनन् !

आजकल बाबुराम दक्षिण एसिया र नेपालको महान महिला नेतृ भन्दै पत्नी हिसिला यमीको सार्वजनिक रूपमा प्रशंसा गरिरहन्छन् । बाबुराम हिसिलाको विदेश भ्रमण निकै बाक्लिएको छ । मानौं, उनीहरूले बल्ल हनिमुनमा जान पाएका छन् ।

प्रधानमन्त्री हुँदा उनले सत्ताका लागि यति धेरै सम्झौता गरे कि अर्थमन्त्री हुँदा कमाएको इज्यत समेत सबै धुलोमा मिलाइदिए । नेपाल बनाउने एकजना नेता छ भनेर आम जनताले गरेको विश्वासलाई उनले छियाछिया पारिदिए ।

झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड, शेरबहादूर देउवा बाबुराम सफल प्रधानमन्त्री बनेर हामीलाई माथ गर्ने हुन् कि भन्ने ठूलो चिन्तामा थिए । उनीहरू बाबुराम आफुहरूकै हैसियतमा रहुन् भन्ने चाहान्थे । बाबुरामले उनीहरूको इच्छा पुरा गरिदिए ।

दोस्रो संविधान सभाको निर्वाचनपछि बाबुरामलाई संविधान जारी गर्न सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापति बनाइयो । २०७२ सालको भूकम्पपछि हाम्रा राजनीतिक दलहरू संविधानका तपसिलका विवादहरूबाट माथि उठी नयाँ संविधान जारी गर्न सहमत भए ।

मधेशी दलहरूले संविधान अड्काउन अवरोध पुर्याइरहेकै थिए । उनीहरू सिधा ‘नयाँ दिल्ली’बाट गाइडेड थिए । संविधान निर्माण गर्ने विषयमा विवादहरू श्रृजना गरिरहने र नेपाललाई अस्थिरताको भूमरीमा पारिरहने नयाँ दिल्लीको योजना कार्यान्वयन गर्न सबैभन्दा बफादार मधेशवादी दलहरू नै थिए ।

त्यसका बाबजुत कांग्रेस, एमाले र माओवादी नयाँ संविधान जारी गर्ने अन्तिम सहमतिमा पुगे । यो सहमतिलाई नयाँ दिल्लीले नेपालका दलहरू आफुप्रतिको बफादारीबाट बाहिर निस्किन खोजेको अर्थमा बुझ्यो । नेपालभित्र उसले आफ्ना बफादार मधेशवादी दलहरूलाई विरोधमा सक्रिय बनायो । त्यतिले मात्रै नपुग्ने भएपछि आफ्ना तत्कालिन विदेश सचिवलाई नेपाल पठाएर संविधान जारी नगर्न दबाब दियो ।

तर, भारतको दबाबलाई नेपालका प्रमुख राजनीतिक दलहरूले टेरपुच्छर लगाएनन् । उनीहरूले नेपाल भारतीय अर्धउपनिवेशबाट मुक्त भएको सन्देश दिँदै २०७२ असोज २ गते नयाँ संविधान जारी गरे । जसबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालप्रति क्रुद्ध बने ।

मधेशवादी दलहरू नयाँ दिल्लीबाट जे सन्देश आउँछ त्यसलाई शिरोपर गरि आन्दोलन शुरू गरेका थिए । तर, प्रमुख धारका राजनीतिक दल र नेताहरूले भने नेपालको राजनीतिमा भारतीय दवदवालाई तोडेर नयाँ इतिहास कायम गरेका थिए । नेपालको शासनमा भारतको प्रभुत्व तोडिदा भारतीय शासक रन्थनिएका थिए ।

नयाँ संविधान जारी भएपछि असन्तुष्ट बनेर मधेश झरेका बाबुराम भट्टरार्इ र हिसिला यमी मधेशवादी दलको अान्दोलनमा सहभागी हुँदै ।

तर प्रमुख राजनीतिक दलका नेताहरूमध्ये अमरेश सिंहहरूको क्याटेगोरीलाई छाडिदिदा एकजना नेता मात्रै यस्ता निस्किए जसले भारतीय भाषालाई थप विश्लेषण गर्दै आम नेपालीलाई तर्साइरहेका थिए । उनी थिए– डा. बाबुराम भट्टराई ।

भारतीय चाहना विपरित नेपालमा संविधान जारी गर्नु निकैं महँगो सावित हुने धम्कीसहित उनी प्रस्तुत भए । र, यतिसम्म भन्न भ्याए कि यसको परिणाम सायद नेपाल एकिकृत राष्ट्र नरहन पनि सक्छ ।

उनी मधेशका जनताको अधिकारलाई आवरणमा देखाउथे । र, साउथ ब्लकको योजना कार्यान्वयन गर्न निकै ठूलो मेहनत गरे ।

उनको यो मेहनत अन्ततः तत्कालिन एकिकृत माओवादीबाट अलग भई नयाँ शक्ति पार्टी गठनसम्म पुग्यो । बाबुरामलाई के लागिरहयो भने २००७ सालदेखि १२ बुँदे सहमतिसम्म भारतीय पकडमा रहेको नेपाली राजनीति फेरी पनि भारतकै पकडमा रहनेछ । र, उसको प्रिय पात्रहरूले मात्रै नेपालको शासन सत्ता चलाउन पाउनेछन् ।

हुन पनि यस्तै नै भइरहेको थियो । उनी प्रधानमन्त्री हुनुमा आफ्नो पार्टी माओवादी वा यस पार्टीका नेता प्रचण्डकोभन्दा भारतकै भूमिका कता हो कता बढी थियो । तर, त्यतिखेर नेपाली जनता खासगरि बौद्धिक र युवा जमातले राजनीतिक आग्रहलाई एकातिर थन्क्याएर एकलौटी समर्थन गरेको थियो भन्ने कुरालाई उनले गौण ठाने ।

तर्क गरिएला, बाबुरामले चुनाव जितेकै छन् । एउटा पार्टीको अध्यक्ष छन् । र, चर्चामा कायमै छन् । जनताले उनीबाट खोजेको यत्तिमात्रै थिएन । जनताले उनको अनुहारमा देङस्यायो पिङ देखिरहेका थिए । महाथिर मोहम्मदको प्रतिरूप देखिरहेका थिए । र, लि क्वान यु देखिरहेका थिए । चुनाव जितेर सांसद त नानीमैया दाहाल पनि बनेकी थिइन् !

जेनएनयुमा अध्ययन गर्दादेखि प्रधानमन्त्री बन्दा र नयाँ संविधान जारी गर्दासम्म भारतीय सस्थापनसँग नजिकको संगत गरेका बाबुरामलाई लाग्यो, भारतको सहयोगमा आफ्नो पार्टी नेपालको प्रमुख पार्टी बन्न सक्छ र भारतले सजिलै आफुलाई प्रधानमन्त्री बनाइदिन्छ ।

माओवादीमा दोस्रो तहको नेताका रूपमा प्रचण्डको छाँयामा बसिरहने इच्छा पनि मरेर आएको थियो । प्रचण्ड राजनीतिबाट अवकास हुदा आफु पनि सँगै अवकास हुने उमेरको हिसाब उनले गरेका थिए ।

त्यसैले उनले माओवादीबाट अलग भई नयाँ पार्टी बनाउने निर्णय लिए । भारतप्रति थप वफादारी प्रदर्शन गर्न उपयुक्त समय त्यहि थियो । प्रमुख राजनीतिक दलहरूले अवज्ञा गरेपछि भारतलाई पनि नेपालमा यस्तै राजनीतिक दलको खाँचो थियो जो पूर्ण रूपमा आफुप्रति वफादार बनोस् ।

यहि पृष्ठभूमिमा बाबुरामले नयाँ शक्ति पार्टी गठन गरेका हुन् ।

आफ्नो चाहना विपरित नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि नाकावन्दी लगायो । मधेशवादी दलका नेताहरूलाई वीरगन्ज रक्सौलबीचको सिमामा धर्नामा उतारी उसले नेपालको आयात निर्यात ठप्प पार्यो ।

देशले नाकावन्दी भोगिरहेको छ । बाबुराम भट्टराई भने काँधमा गम्छा हालेर मधेशवादी दलहरूलाई धाप मार्न मधेश झरेका थिए ।

नाकाबन्दीको विरोधमा उनले एउटै शब्द उच्चारण गरेनन् ।

नाकावन्दीको विरोधमा बोल्न नसक्ने कांग्रेस लगायतका दलहरू नेपालमा अरू पनि थिए । तर, देशले नाकावन्दी भोगिरहदा खुच्चिङ गर्नेमा भने बाबुराम भट्टराई महन्थ ठाकुर र राजेन्द्र महतोहरूस“गै मिसिएका थिए ।

बाबुरामलाई यस्तो लाग्थ्यो र सायद अहिले पनि लागिरहेकै होला– नेपाली राजनीतिको वैतरणी नदी भारतकै पुच्छर समाएर मात्रै तर्न सम्भव छ र त्यो भक्तको पहिलो नम्बरमा आफै पर्नुपर्छ ।

यस्तो सोंचिरहदा उनले वीरगन्जको मितेरी पुलमा नेपालमा नाकावन्दी गराउने भारतीय चाहना पुरा गर्न धर्नामा बसिरहेका महन्थ ठाकुरको अनुहारलाई किन विर्सिए कुन्नी ! नेपाली कांग्रेसमा मधेशबाट महत्वपूर्ण हैसियतमा प्रतिनिधित्व गर्ने महन्थ ठाकुरलाई कांग्रेस परित्याग गरि मधेशवादी दल गठन गर्न प्रोत्साहित गर्ने पनि आखिर भारत नै थियो ।

नेपाली जनताको साथबीनै भारतको चाहनाले मात्रै नेपालको सत्तामा रहन सम्भव हुने भए महन्थ ठाकुर नेपालका सदावहार प्रधानमन्त्री भइरहने थिए । यदि, उनले कांग्रेस परित्याग नगरेको भए गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने लगभग निश्चित थियो भनेर कांग्रेसजनहरू भनिरहन्छन् ।

गत बर्षको संसदीय निर्वाचन परिणामबाट बाबुरामले पनि बुझे होलान्– ब्यालेट बक्समा भोट खसाल्न भारत आउदैन । गोर्खाका जनताकै मन जित्नुपर्छ । अघिल्ला निर्वाचनहरूमा सबैभन्दा बढि ८२ प्रतिशत मत ल्याएर विजयी भएका बाबुरामलाई यस पटक निर्वाचन जित्न कांग्रेसको पुरापुर सहारा लिँदा पनि हम्मेहम्मे पर्यो । बाँकी सिँगै पार्टी कहाँ छ भनेर खोज्नुपर्ने भयो ।

सायद बाबुरामले यसबाट केही शिक्षा त अवश्यै लिएका होलान् । आजकल सार्वजनिक सभामा उनले वीपीका बारेमा होस् वा अन्य वारेमा बोल्दै गर्दा भारतप्रति अलि आलोचनात्मक दृष्टिकोण राख्न थालेका छन् ।

उनले पश्चाताप त जति पनि गर्न पाउलान् ! तर, १० बर्ष युद्ध गरि आफ्नै एजेण्डा अनुसार संविधान सभामार्फत नयाँ संविधान जारी गर्दा स्वागत गर्ने अवसर भने बाबुरामले कहिल्यै पाउने छैनन् । देशले नाकावन्दी भोगिरहदा नेपाली जनताको आत्मसम्मानमाथि कुल्चिदै गरेको गल्तीको प्रायश्चित सायद उनले यो जीवनमा गर्न सक्ने छैनन् !

दश बर्षे युद्धपछि शान्ति प्रकृयामा फर्किएका बाबुराम नेपाली जनताका आशा थिए । भरोसा थिए । एउटा नेताप्रति आम जनताले यति धेरै विश्वास देखाएको यो विरलै घटना थियो । अर्थमन्त्री बन्दासम्म उनले जनताको विश्वासलाई गुम्न दिएनन् । तर, प्रधानमन्त्री बन्दा आफ्नो वजन नराम्रोस“ग घटाए र संविधान जारी गर्दासम्म उनीप्रति नतमस्तक जनता आफैले आफैलाई धिक्कार्ने अवस्थामा पुगे ।

उनीप्रति आशा, भरोसा, विश्वास र देशलाई आर्थिक समुन्नतीमा पुर्याउँछन् भनेर विश्वास राख्ने युवाहरू उनलाई यति धेरै साथ दिन तयार थिए कि उनीहरूले सार्वजनिक मिडिया र सोसल मिडियामा नारा नै लगाईरहे– बाबुराम आउ, देश बनाउ । सोसल मिडियामा १० लाखभन्दा धेरैले उनलाई फलो गर्नुको कारण पनि यहि थियो । हिजोका ति फ्यानहरू आज बाबुरामका लागि ‘दुश्मन’ मा बदलिएका छन् । उनीहरूले बाबुरामप्रति प्रतिक्रिया त जनाउछन् तर असाध्यै नकारात्मक रूपमा ।

नेपाली राजनीतिमा जनताको एउटा आशाको दियो निभेको छ । जनता चुपचाप त्यो दृष्य हेर्न विवश भए । जनताले बाबुरामलाई मलिनो अनुहार बनाएर विदाई गरेका छन् । सायद दोस्रो पटक प्रधानमन्त्रीको कुर्सिमा फर्काउन नचाहने गरि ।

यसको अर्थ यो होइन कि मानिस सुध्रिनै पाउदैन । यस्तो हुदैन । बाबुराम पनि सुध्रिन पाउछन् । र फेरी पनि नेपाली जनताको सेवा गर्ने अवसर उनका अगाडि प्रसस्तै छ । सवाल उनले आफ्नो समिक्षा कति चाडो गर्लान् वा कति लचक हुन सक्लान् भन्ने हो ।

तर्क गरिएला, उनले चुनाव जितेकै छन् । एउटा पार्टीको अध्यक्ष छन् । र, चर्चामा कायमै छन् । जनताले उनीबाट खोजेको यत्ति मात्रै थिएन । जनताले उनको अनुहारमा देङस्यायो पिङ देखिरहेका थिए । महाथिर मोहम्मदको प्रतिरूप देखिरहेका थिए । र, लि क्वान युदेखिरहेका थिए । चुनाव जितेर सांसद त नानीमैया दाहाल पनि बनेकी थिइन् !

मा प्रकाशित
Continue Reading
1 Comment

1 Comment

  1. विश्व प्रल्हाद श्रेष्ठ

    February 8, 2020 at 10:58 pm

    राम्राे लेख अायाे भनेर ध्यान दिदै थि २/४ हरफ पढ्याे पछि दातमा ढुङ्गा लाग्याे कठै २०४८ काे चुनाव मा वावुरामले उठेकाेरे जितेकोरे १२ सिट अा रे कठै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!