Connect with us

कभर स्टोरी

प्रधानमन्त्रीको कार्यशैलीमा आएको आश्चर्यजनक परिवर्तन

एउटा कुशल सिईओले कम्पनी चलाएजस्तै भान हुने गरि प्रधानमन्त्री ओलीले देश चलाउन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘परफमेन्स’ कमजोर छ ।

उनको कामको जाँच लिएर कपी जाँच्ने अधिकार कसैलाई होस् त आजको दिनमा उनी १०० पूर्णाङ्कमा ३१ नम्बर ल्याएर फेल हुन्छन् होला !

शक्तिले सुसज्ज्ति भएर शासन गर्नमा उनले कम्युनिष्ट शैली पछ्याएका छन् । तर, सर्भिस डेलिभरीमा भने उनको सरकार असफल छ । तर उनले आफ्नै ‘परफरमेन्स’ जाँच्ने व्यवस्था भने बनाएका छन् । ओलीले शासन प्रणालीमा गरेको यो सकारात्मक सुधार हो ।

संसदमा दुई तिहाई बहुमतको समर्थनप्राप्त सरकारले के गर्न सक्यो र के गर्न सकेन भन्ने समिक्षा अब गम्भिर रूपमा शुरू हुनेछन् । र, प्रधानमन्त्री ओलीले जनतालाई जाँचकी बनाएर लगातार परिक्षा दिइरहनुपर्ने छ ।

तर अहिले यहाँ केही फरक पक्षमा चर्चा गर्न लागिएको छ जसमा ओलीमा आएको सुधार लगभग आश्चर्यजनक नै मान्दा हुन्छ ।

त्यो हो उनको काम गर्ने शैली र समय व्यवस्थामा आएको सुधार ।

परिवर्तनका सूचकहरूको विश्लेषण गर्नुअघि उनको कार्यशैलीको पृष्ठभूमीलाई नियाल्नु जरुरी छ ।

प्रधानमन्त्री ओली कहिल्यै पनि समय पालना गर्ने व्यक्ति होइनन् । जेलमा समय कटाउनु नै ठूलो उपलब्धी हुने पृष्ठभूमीबाट आएको नेता भएर हो कि उनले समयको मूल्यलाई कहिल्यै आत्मसाथ गरेनन् ।

म २०५६ सालको एउटा घटना संझिदा एक्लै हाँस्ने गर्छु । मिति ठयाक्कै याद भएन तर त्यो जाडोको समय थियो । ओलीले अन्तर्वार्ताका लागि विहान ८ बजे घरमा बोलाएका थिए ।

म र त्यो बेला मैले काम गर्ने पत्रिकाका सम्पादक हतार हतार ८ बजे उनको घरको गेट खोल्न पुगेका थियौँ ।

ओली ओभर कोटमा थिए । ओलीले घर बाहिर घाममा बसेर कुरा गर्न शुरू गरे । मलाई लागेको थियो– यति ठूलो नेतासँग आधा घण्टा अन्तर्वार्ता गर्ने समय पाइयो भने गज्जब हुनेछ !

कुराकानी अनौपचारिक रुपमा शुरू भयो । त्यो नेकपा एमालेको विभाजन भएको समय थियो । कामरेड बामदेव गौतम र सिपी मैनाली मिलेर नेकपा (माले) गठन गरेका थिए । ओली एमालेका दोस्रो दर्जाका नेता थिए । माधव नेपाल एमालेका महासचिव थिए ।

ओलीको बिषयवस्तु एमालेकै विभाजन थियो । माले गठन गर्ने बामदेव, सिपी, राधाकृष्णदेखि देवी ओझासम्म कति खराव नेता हुन् भनेर बयान गर्दा गर्दै घण्टौ समय व्यथित भयो ।

महाकाली सन्धी राष्ट्रवादी कि राष्ट्रघाती भन्ने बिषयमा एमालेमा शुरू भएको विवाद पार्टी विभाजनसम्म पुगेको थियो । ओली महाकाली सन्धीको सबैभन्दा कट्टर पक्षधर नेता थिए । उनीमाथि तत्कालिन मालेले ‘राष्ट्रघाती’को आरोप लगाएको थियो ।

अहिले उनी महाकाली सन्धीलाई राष्ट्रवादी वा राष्ट्रघाती के भन्दा होलान् !? समय मिल्यो भने कुनै दिन पक्कै पनि सोधिनेछ ।

त्यो बेला उनले आफुमाथि लागेका आरोपको खण्डन गर्दा गर्दै विहानको ११ बज्यो । तर, अन्तर्वार्ता शुरू नै भएन । अब भोक लाग्यो । ओलीलाई भेट्न विहानैदेखि कुरेर बसेका कार्यकर्ताहरू पनि थकित भईसके ।

ओलीलाई पार्टीको कुनै कार्यक्रममा जानु थियो जुन विहान ९ बजेका लागि तय गरिएको थियो । ‘अब त जानु प¥यो’ ओली आरामले कुर्सीबाट उठे र भने अन्तर्वार्ता साँझ ४ बजे यहि गरौँ हुन्न ? हुन्न भन्न सक्ने अवस्था थिएन किनभने सम्पादकसँग त्यो हप्ताको एक पेज अन्तर्वार्ताले भर्नु थियो । साँझ ४ बजेको सट्टा ५ बजे मात्रै अन्तर्वार्ता शुरू भयो र एक घण्टामा अन्तर्वार्ता सकियो ।

ओली मन्त्री र प्रधानमन्त्री भईसक्दासम्म यो देशका लगभग सबै नागरिकलाई थाहा भयो कि उनको घडी कम्तिमा दुई घण्टा ढिलो चल्छ !

काठमाडौंका सार्वजनिक कार्यक्रममा उनी कम्तिमा २ घण्टा ढिलो पुग्थे । अवस्था यस्तो श्रृजना भयो कि आयोजकहरूको ओली २ घण्टा ढिलो आईपुग्छन् भन्ने मानसिकता तयार भयो । कार्यक्रमका सहभागी ‘ओली समय’ अर्थात् आफ्नो घडीमा दुई घण्टा घटाएर कार्यक्रममा पुग्न थाले ।

काठमाडौं बाहिरका कार्यक्रमका लागि ओलीले दिएको समय शुरू भईरहदा उनको काठमाडौंस्थित निवासमा खाना वा खाजाको समय हुन्थ्यो । त्यसपछि मात्रै हवाई जहाज वा हेलिकोप्टर चढेर उनी आरामले दुई÷चार घण्टा ढिलो कार्यक्रममा पुग्थे ।

काठमाडौंका गैर राजनीतिक कार्यक्रममा प्रधानमन्त्रीलाई बोलाउन कम गरिएको थियो । कारण उनी समयमा आउदैनन् । निश्चित घण्टाका लागि बुक गरिएको हल समयमा छोड्न सकिदैन । कार्यक्रमका सहभागी झर्को मान्छन् । वा, मिडिया आउछन् र प्रधानमन्त्री आइपुग्दासम्म त अर्को कार्यक्रम समेत भ्याईसकेका हुन्छन् । वा, प्रधानमन्त्रीलाई बोलायो भने पुरै दिन खराव हुन्छ भन्ने मानसिकता तयार भईसकेको थियो ।

पार्टी कार्यक्रम वा बैठकहरूमा पनि ओलीले यसैगरि नेताहरूलाई कुराईरहे । बैठकका लागि वालुवाटार पुगेका नेताहरूले तल बैठक कक्षमा एक घण्टा कुरिरहदा पनि ओली माथिबाट ओर्लिदैनथे । कारण बुझ्दा थाहा हुन्थ्यो– उनी परिवारका सदस्यहरूसँग हासिमजाक गफमा बसिरहेका हुन्थे ।

नारायणकाजी श्रेष्ठ र माधब नेपालले त ओलीको यो व्यवहारबाट आजित बनेर बैठक नै छोडेर हिडेका थिए । यो घटना ओली प्रधानमन्त्री भएपछिकै हो ।

यस्तो भद्रगोल अवस्थाबाट गुज्रिने वा भनौं समय पालना नगर्नुमा रमाउने ओलीको व्यवहारमा अहिले अकल्पनीय परिवर्तन आएको छ ।

उनी अहिले बिरामी छन् । बिरामी हुदाका सिमाहरूलाई कसैले पनि नाघ्न सक्दैन ।

तर विरामीले थलिनुअघि नै ओलीले आफ्नो कार्यशैलीमा ब्यापक परिवर्तन ल्याएका छन् ।

उनी अहिले बैठकमा बालुवाटार आउने नेताहरुलाई एकाध घण्टा कुराउदैनन् । बरू समयमै बैठक शुरू गर्न रूचाउछन् । नारायणकाजी श्रेष्ठ र माधव नेपालले त्यसपछि बैठक छोडेर हिड्नु परेको छैन ।

कार्यक्रमहरूमा पनि ओली समयमै पुग्न थालेका छन् । आयोजकहरूले दुई घण्टा कुर्नुपर्ने दिनको अन्त्य भएको छ ।

त्योभन्दा पनि महत्वपूर्ण पक्ष उनले कर्मचारीतन्त्र र आफ्ना सहयोगीहरूको समेत नतिजामा आधारित कामको मूल्यांकन गर्न थालेका छन् । कर्मचारीतन्त्रलाई त उनले ठिक ठाउँमा ल्याउन सकेका छैनन् । तर, नतिजा नदिनेहरूप्रति उनी सहिष्णु बन्ने छैनन् भन्ने सन्देश भने पर्याप्त दिएका छन्– आफ्नै सचिवालयका सहयोगीहरू हटाएर । ति सहयोगीहरू पार्टी राजनीतिमा बर्षौदेखि आफ्नै गुटका सक्रिय सदस्य थिए ।

परफमेन्सका आधारमा उनले मन्त्रिमण्डलको पनि पुनर्गठन गरे र रघुवीर महासेठजस्ता आफ्ना गुटका इमान्दार कार्यकर्तालाई समेत हटाए । पछिल्लो पटक मन्त्रिमण्डल पुनर्गठन गर्दा खानेपानी मन्त्री विना मगर र सन्चार मन्त्री गोकुल बाँस्कोटालाई समेत हटाउन सकेको भए उनी साँच्चिकै काम नगर्नेहरूप्रति कुनै मोलाहिजा नगर्ने प्रधानमन्त्री हुन् भनेर स्थापित हुने थिए । यि दुई पात्रका कारण ओली अझै पनि ‘राम्रा’ लाई होइन ‘आफ्ना’लाई च्याप्न छाडेका छैनन् भन्ने सन्देश बाँकी नै छ ।

यसमा उनका केही आफ्नै व्यक्तिगत स्वार्थ र केही अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यक्तिगत स्वार्थको संरक्षण गर्नुपर्ने थियो होला !

मन्त्रीहरूको कार्य सम्पादन मूल्यांकनको परिपाटीले मन्त्रीहरू एकातिर आफ्नै प्रधानमन्त्रीप्रति र अर्कोतर्फ आफ्ना मतदाता र आम जनताप्रति उत्तरदायि हुनुपर्ने अवस्था श्रृजना भएको छ । भित्रभित्रै गुटबन्दीमा सबै काम सल्टाउन बानी परेका नेताहरूले अब सार्वजनिक रुपमा जनताप्रति पनि उत्तिकै ध्यान पु¥याउनुपर्ने बाध्यता श्रृजना भएको छ । गुट राजनीतिको जतिसुकै कुशल खेलाडी भए पनि आफ्नो परफमेन्स राम्रो भएन भने जनताको नजरमा मन्त्रीहरुले शिर निहुराउनुपर्ने वातावरण बनेको छ ।

यो वातावरण बनाउने जस प्रधानमन्त्री ओलीलाई नै जान्छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको मनिटरिङ गर्न आफ्नै कार्यालयमा ‘कन्ट्रोल रूम’ बनाएका छन् । ई सिस्टममार्फत कुन परियोजनामा के काम भइरहेको छ उनी आफ्नै कन्ट्रोल रूमबाट हेरिरहेका छन् । विकास परियोजना कार्यान्वयन देशकै प्रमुख समस्या बनिरहेका बेला प्रधानमन्त्रीले सिधै परियोजनाका एक एक कामहरू हेर्ने व्यवस्था मिलाइनु निकै नै महत्वपूर्ण कदम हो ।

प्रोजेक्ट म्यानेजर समेत साईटमा नबसी दुई/चार महिनामा यसो अनुहार झुल्काएको भरमा काम गर्ने बानी परेकाहरुका लागि प्रधानमन्त्रीको सिधा निगरानीले विकास परियोजनाको सफल कार्यान्वयनमा नयाँ इतिहास शुरू हुने अपेक्षा गर्न सकिन्छ ।

विकास प्रगतीको नियमित उच्चस्तरीय समिक्षा बैठकमा प्रधानमन्त्री आफै उपस्थित हुने मात्रै होइन, एक एक सूचकमा सम्वन्धित अधिकारीलाई प्रश्न सोध्न थालेका छन् । प्रधानमन्त्रीले जब यस्ता प्रश्न सोध्न थाल्छन् उत्तर दिनुपर्नेले औपचारिकता पूरा गर्न उत्तर दिएर मात्रै पुग्दैन कामको नतिजा दिन सक्नुपर्छ । प्रधानमन्त्रीलाई जवाफ दिनुपर्ने भएपछि उसले आफ्नो मातहतका कर्मचारीबाट पनि त्यसैगरि जवाफ खोज्छ । आफ्नो टाउको फुट्ने भएपछि त्योभन्दा अगाडि जसले पनि मितकै टाउको फुटाल्छ ।

पछिल्ला विकास समिक्षा बैठकहरूमा प्रधानमन्त्रीको प्रस्तुती वास्तवमा निकै लोभलाग्दो देखिएको छ । उनले अन्य राजनीतिज्ञले जस्तो मन्त्री वा सचिवहरुले दिएको जवाफमा टाउको हल्लाउने र अन्त्यमा एउटा रेडिमेड निर्देशन दिएर बैठक अन्त्य गरिरहेका छैनन् । उनी परियोजनाको टेक्निकल पक्षमा समेत उत्तिकै अध्ययन गरेर आएका देखिन्छन् । प्रधानमन्त्रीले सोधेका प्रश्नहरुको जवाफ दिन सम्वन्धित परियोजनका इन्जिनियरहरुलाई समेत गाह्रो परिरहेको अवस्था देखिन्छ । टेक्निकल पक्षमा समेत प्रधानमन्त्रीलाई चिट गर्न गाह्रो छ भन्ने सन्देश उनले दिइरहेका छन् ।

एउटा कुशल सिईओले कम्पनी चलाएजस्तै भान हुने गरि प्रधानमन्त्री ओलीले देश चलाउन थालेका छन् ।

पार्टीभित्र समेत उनी डेग नचल्ने, गफ मात्रै दिने र पार्टी काममा कतै हलचल नगर्ने नेताको उपमा दिइएका नेता हुन् ।

तर अहिले बिरामी अवस्थामा समेत उनी काठमाडौं र काठमाडौं बाहिर पनि पार्टी काममा समेत प्रभावी देखिदै थिए । तर, बिरामीले च्याप्दै जादा उनी बाध्यात्मक रुपमा खुम्चिएका छन् ।

एउटा अत्यन्तै अव्यवस्थित पृष्ठभूमीबाट आएका प्रधानमन्त्रीमा निकै छोटो समयमा देखिएको यो परिवर्तन कसरी सम्भव भयो ?

के उनका सल्लाहकार र सचिवालयले उनलाई परिवर्तन गराउन सम्भव भयो ?

उनको सल्लाहकार समूह र सचिवालयलाई नजिकबाट चिन्नेहरु भन्छन् ति सबै ‘जस्ता गुरू त्यसै चेला’ मात्रै हुन् । प्रधानमन्त्रीमा आएको परिवर्तनलाई हाँक्न सक्ने कोही पनि यो समूहमा छैनन् ।

त्यसो भए प्रधानमन्त्री ओलीको पहिचान नै बदलिदिने गरि कसले उनलाइ साथ दिईरहेको छ त ?

यो बालुवाटारले नै बताउने बिषय हो ।

तर बाहिर भने निश्चिन्त जस्तै विश्लेषण गरिन्छ–

यस्तो सुधारका लागि काम गर्न सक्ने क्षमता चिनियाँ विशेषज्ञको मात्रै छ । भारतीयहरूले पनि यस्तो चुस्तताको क्षमता प्रदर्शन गर्न सक्दैनन् ।

यि सबै प्रधानमन्त्रीको कार्यशैलीलाई नजिकबाट हेर्नेहरूको अनुमान मात्रै हो । यथार्थ जानकारी दिने जिम्मेवारी फेरी पनि प्रधानमन्त्रीकै सचिवालयको हो ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!