Connect with us

कभर स्टोरी

‘महाराज’को गणतन्त्र मास्ने सपना

हिन्दू धर्मप्रति यति आशक्त जस्तो देखिने ज्ञानेन्द्र शाहले आजसम्म एउटा मन्दिर बनाएको थाहा पाउनु भएको छ ?

पूर्व राजा ज्ञानेन्द्र शाहको अहिले झापा ‘सवारी’ भएको छ ।

झापाको ‘टि स्टेट’ लाई ‘राजदरबार’ बनाएर उनले पूर्वी क्षेत्रमा राजतन्त्रको पक्षमा माहौल बनाउने उदेश्य लिएका छन् ।

देशका कुना काप्चामा रहेका मठमन्दिरहरूको समेत दर्शन गरि भगवानसँग ‘वरदान’ माग्ने र त्यहि शक्तिको भरमा नेपालमा राजतन्त्र पुनःस्थापित गर्ने उनको एकमात्र मिसन छ ।

उनका छोरा पारश शाह बजारकी चर्चित युवती सोनिका रोकायसँग खिचेका फोटोहरु सोसल मिडियामा राखेर चर्चा कमाईरहेका छन् । उनी नेपालका पूर्व युवराज पनि हुन् ।

बुहारी हिमानी शाह ससुरा ज्ञानेन्द्रले बोकाईदिएको ‘हिमानी ट्रष्ट’को गह्रँुगो भारी जेनतेन बोक्ने कोशिस गरिरहेकी छिन् । ज्ञानेन्द्र शाहलाई के आशा छ भने राजतन्त्र फर्काउन आफुपछिको भूमिका खेल्न सक्ने यहि ट्रष्ट हो ।

श्रीमान पारसबाट पीडित भएकी बुहारी हिमानी शाहलाई यसको नेतृत्व दिएर उनले नेपाली जनताको सहानुभूति बटुल्ने रणनीति अपनाएका छन् ।

उनी आफ्नी श्रीमती, बुहारी, नाती नातिनाहरू लिएर बेला बेलामा थाईलैण्ड जान्छन् । कहिले भारत जान्छन् ।

पछिल्लो समय परिवारका सदस्यहरू सहित ठमेलको एलओडी डिस्को पुगेर संचार माध्यमहरूमा छाए । डिस्कोमा राष्ट्रिय भावले ओतप्रोत ‘रातो र चन्द्र सुर्य, जंगी निशान हाम्रो…’ गीत घन्काउन लगाए । अनि डिक्सोमा झुमिरहेका युवाहरूसँग सेल्फी खिचे । हात हल्लाएर हेर तिमीहरूसँगै म पनि डिस्कोमा नाचिरहेको छु भन्ने सन्देश दिए ।

यो पनि पढ्नुहोस् : के गर्दैछन् दरबारका शक्तिशाली सचिवहरु

ज्ञानेन्द्रले नेपालका राष्ट्रिय चाड पर्वहरूमा शुभकामना सन्देश दिन्छन् । मानौँ, उनी यो देशका वहालवाला राजा हुन् । तर, नेपाली जनताले यसलाई स्वभाविक रूपमा लिन्छन् किनभने चाडपर्वमा एउटा नेपालीले अर्को नेपालीलाई शुभकामना दिने हाम्रो परम्परा हो ।

नेपालमा सम्पन्न साग खेलकुदमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । ज्ञानेन्द्र शाहले खेलाडीहरूलाई बधाई दिए मानौँ उनी देशका वहालवाला राजा हुन् ।

बेलाबेलामा उनी आफै गाडी हाँकेर सडकमा निस्किन्छन् । सडकको दायाँ बायाँ उनलाई स्वागत गर्न राखिएका घडाहरू हुन्छन् । सर्वसाधारण मानिसहरू उनको स्वागतमा सडकमा स्वस्फुर्त रूपमा निस्केजस्ता देखिन्छन् मानौँ उनीहरू स्वर्गिय राजा विरेन्द्र बिर विक्रम शाहदेवलाई प्रत्यक्ष भेट्न पाएका छन् ।

लोकतान्त्रिक गणतन्त्र र राजतन्त्रात्मक व्यवस्थाबीचको सैद्धान्तिक बिषयलाई थाती राखेर अन्य पक्षलाई हेर्दा पनि ज्ञानेन्द्रले जनताको मन मुटु अलिकति पनि ठाउँ बनाएका छन् जस्तो देखिदैन ।

यस्ता स्वागतहरू स्वस्फुर्त जस्ता देखिन्छन् तर त्यति स्वागतको व्यवस्था मिलाउन ज्ञानेन्द्रका भक्तहरूले धेरै मेहनत र खर्च व्यहोरेका हुन्छन् । भनिन्छ, खर्च केही थपथाप भएरै आउने आशामा उनीहरूले लगानी गरेका हुन्छन् तर उनीहरूको लगानी सबै डुब्दै आएको छ ।

बेलाबेलामा उनले राजनीतिप्रति कटाक्ष गरिरहन्छन् । उनको कटाक्षले राजनीतिक नेताहरूमा सानोतिनो भूकम्प जान्छ । उनीहरू अत्तालिन्छन् र ज्ञानेन्द्रलाई तथानाम गाली गरेर त्यसको क्षतिपूर्ति प्राप्त भएको विश्वास गर्छन् । हाम्रा नेताहरू ज्ञानेन्द्रसँग निकै तर्सिन्छन् किनभने उनीहरूले राजतन्त्र किन फालिएको थियो भनेर जनतालाई बुझाउने क्षमता राख्दैनन् ।

ज्ञानेन्द्रको गणतन्त्र मास्ने जम्माजम्मी हतियार भनेका यिनै हुन्– देवीदेवताको मन्दिर दर्शन र हिमानी शाहको समाजसेवा ।
राष्ट्रियताको मियो राजतन्त्र हुनसक्छ भन्ने विश्वास राख्नेहरू र नेताहरूले विकृत बनाउदै लगेको राजनीतिको विकल्प फेरी पनि राजसंस्था हुनसक्छ भनेर विश्वास गर्ने एउटा सानो तर गम्भिर तप्का ज्ञानेन्द्रले थाहै नपाई पनि उनीप्रति सहानुभुति राख्छ ।

के यतिको भरमा ज्ञानेन्द्रको राजतन्त्र पुनःस्थापित गर्ने लक्ष्य हासिल होला त ?

ज्ञानेन्द्रलाई नै यो प्रश्न सोधिएको भए उनले पक्कै पनि ‘इतिहास निर्माणका अजेय शक्ति नेपाली जनता भएकाले यो प्रश्नको उत्तर दिने जिम्मा पनि म नेपाली जनतालाई नै छाडिदिन्छु’ भन्ने जवाफ दिने थिए । र, उनको उत्तर विल्कुल सहि हुने थियो । किनभने राजतन्त्र पुनःस्थापना गर्ने उनको चाहनालाई इतिहासका अजेय शक्ति जनताले पत्यार गर्दैनन् ।

यसका केही विशेष कारणहरू छन् ।

अहिलेका लागि हाम्रा नेताहरू खराब भए पनि लोकतान्त्रिक गणतन्त्र र राजतन्त्रात्मक व्यवस्थाबीचको सैद्धान्तिक बिषयलाई थाती राखेर अन्य पक्षलाई हेर्दा पनि ज्ञानेन्द्रले जनताको मन मुटु अलिकति पनि ठाउँ बनाएका छन् जस्तो देखिदैन ।

हाम्रो कल्पनाका राजा दया, माया भएका, जनताको सुख सुविधामा ध्यान पु¥याउने यतिसम्म कि कुनै कुनै राजाले त जनताको घरबाट धँुवा नउडेसम्म खाना समेत खादैनथे भनेर इतिहास लेखाएका छन् । भलै यो इतिहास झूठो होस तर राजाको चरित्र कस्तो हुनुपर्छ भन्ने धारणाचाँही यसमा पाईन्छ ।

अहिले ज्ञानेन्द्र शाह झापाको ‘हिमालयन टि स्टेट गार्डेन’मा राज होइबक्सेको छ । ठिक यहि समयमा तराईमा शितलहर छाएको छ । मानिसहरू ओड्ने ओछयाउनेको अभावमा मृत्युवरण गरिरहेका छन् । उनी बसेको झापाबाट नजिकै कोशी वारी अर्थात् प्रदेश नम्बर २ गरिवीको दुश्चक्रमा छ । शित लहरको सबैभन्दा नराम्रो असर यहिका जनताले भोगिरहेका छन् । ज्ञानेन्द्र शाह हातमा न्यानो कम्बल लिएर गरिवको वस्तीमा पुगेको एउटा तस्बिर हामीले कतै देखेका छौँ ? उनले एउटा न्यानो कम्बल बाँडेको खबर तपाईँ हामीले कहिँ कतै पढ्न पाएका छौँ ?

ज्ञानेन्द्र शाहको ७० बर्षे इतिहासमा जनताप्रति माया दर्शाउने एउटै व्यवहार पनि भएको हामीलाइ थाहा छैन । उनी जनताप्रति सानो माया ममता होइन, जनताबाट के उपहार ग्रहण गर्न पाईएला भन्ने आशक्तिमै जीवन विताएका व्यक्ति हुन् ।

राजतन्त्र स्थापनामा सघाउने बिषय त अलि परै राखौँ, ज्ञानेन्द्र एकजना दयालु, मायालु मानिस हुन् भन्ने भावनासम्म जगाउन पनि सोह्रै आना असफल छन् । र, उनको यो बानीमा अब सुधार आएर जनताको मन जित्नेछन् भनेर कल्पना गर्न सकिने कुनै संकेत छैन ।

ज्ञानेन्द्र ज्यादै नै लोभी छन् भन्ने केही घटनाहरूले पुष्टि गर्छन् ।

एउटा घटना यहाँ उल्लेख गरौँ–

ज्ञानेन्द्र शाह अधिराजकुमार थिए । बिरेन्द्रको वंशनाशपछि नेपालका राजा भए ।

त्यतिबेलाका राजा, जो सँग के थिएन ? के को अभाव थियो र ? राष्ट्रको सम्पत्ती भन्नु नै उनीहरूको सम्पत्ती थियो । यस्तो अवस्थामा समेत उनले प्रभु शमसेर जवराको अपुताली स्विकार गरेका थिए । यो लोभीपनको पराकाष्टा थियो ।

उनलाई राजाको रूपमा स्थापना गराउनका लागि जनताले व्यक्तिगत तबरमा समेत कुनै सहानुभूति राख्न आवस्यक ठान्छन जस्तो लाग्दैनन् ।

ज्ञानेन्द्र देशदेशावर तिर्थ व्रतमा निस्किरहन्छन् । देशभरका मठमन्दिरमा धाईरहेका छन् । पुजाआजा गरिरहेका छन् ।

हिन्दू धर्मको आडमा राजतन्त्र फर्काउन सम्भव छ भन्ने उनको सबैभन्दा प्राथमिकताको रणनीति हो । देशभरका देवीदेवताको मन्दिरमा भईरहेको पुजाआजा त्यही रणनीति कार्यान्वयनको महत्वपूर्ण कार्य हो ।

ज्ञानेन्द्र शाहले हिन्दू धर्म अझ भनौँ सनातन धर्मको रक्षा गर्न, प्रवर्धन गर्न वा यो धर्मको महत्व अन्तर्राष्ट्रियस्तरमा पुर्याउन कुनै योगदान गरेको थाहा पाउनु भएको छ ?

हिन्दू धर्मप्रति यति आशक्त जस्तो देखिने ज्ञानेन्द्र शाहले आजसम्म एउटा मन्दिर बनाएको थाहा पाउनु भएको छ ? एउटा मठ बनाएको देख्नु भएको छ ? एउटा पाटी बनाएको देख्नु भएको छ ? अहँ, देख्नु भएको छैन । र, देख्न पाईने पनि छैन ।

एउटा निकै मार्मिक घटनाको बारेमा यो पंक्तिकारले जानकारी पाएको थिएँ ।

उद्योगपति विनोद चौधरीले नवलपुरमा निकै भव्य शाश्वतधाम बनाएका छन् । उक्त शाश्वतधामको उद्घाटन समारोहमा ज्ञानेन्द्र पनि सहभागी भएका थिए ।

ज्ञानेन्द्र कुनै पनि ठाउँ जाने भएपछि त्यो ठाउँमा उनीभन्दा अगाडि नै ज्ञानेन्द्रका सचिवहरू र सुरक्षाकर्मिहरू पुगेर निगरानी राख्ने गर्छन् ।
उद्घाटनको अघिल्लो दिन शाश्वतधाम पुगेका उनका सचिवहरूले त्यो भव्य संरचना देखेपछि आपसमा कुरा गरेछन्– ओहो यस्तो काम त हाम्रा महाराजाधिराजबाट पो गरिनुपर्ने हो । यस्तो काम गरिए पो राजसंस्थाप्रति जनताको सम्मान फर्किन्थ्यो ।

उनीहरूको संवाद सुन्ने व्यक्तिले यो कुरा पंक्तिकारलाई पनि सेयर गरेका थिए ।

ज्ञानेन्द्र आफैमा क्रूर शासक हुने चाहना भएका व्यक्ति हुन् । तर, शासन हासिल गर्न पनि क्रूरताबाहेक अन्य विधिहरू हुन्छन् भन्ने उनलाई ज्ञान भएजस्तो लाग्दैन । त्यसैले जनताको मन जितेर राजसस्था फर्काउने उनको सपना दिउसै झलमल्ल घाम लागेको बेला देखेको सपना मात्रै हो ।

नेपाली जनता अहिले पनि राजा बिरेन्द्रको हत्या भएको विश्वास गर्छन् । र, आफ्ना दाजुको षडयन्त्रपूर्ण एवं क्रूरतापूर्वक हत्यापछि मात्रै ज्ञानेन्द्र राजा हुन सम्भव भएको थियो भन्ने मान्यतामा अडिग छन् । हत्याको आरोपलाई त कसैले पुष्टि गर्न सकेको छैन । तर, उनको राजा हुने सपना भने एउटा अत्यन्तै क्रूरतापछि नै पुरा भएको भने सत्य हो ।

अब नेपाली सेनाले फेरी पनि ज्ञानेन्द्र शाहलाई साथ दिएर राजसंस्था फर्काइदेला भन्ने विश्वास अब धेरै टाढा पुगिसकेको छ । राजसंस्था विनाको नेपाल कल्पना गर्न नसक्ने रूक्मांगद कटवाल सेनापति भएकै समयमा २४० बर्षे राजतन्त्र ढलेको थियो ।

बाँकी रह्यो हिमानी ट्रष्ट । ज्ञानेन्द्र शाहका मित्रहरूले मन लागेको बेला दिने फण्डबाट चलेको यो एउटा एनजिओ हो जसले पारश शाहलाई कुलतबाट मुक्त गराउन एउटा सुधार गृह त स्थापना गर्न सकेको छैन भने राजतन्त्र पुनःस्थापनाका लागि वातावरण बनाउने आशा राख्नेहरू आफै ठूलो भ्रममा छन् ।

 

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!