Connect with us

कभर स्टोरी

विश्वभर उद्यमी बनिरहेका नेपालीको कथा

विदेशमा नेपाली भन्ने वित्तिकै व्यवसायी भनेर चिनिदै छन्, जसरी हामी मारवाडी समुदायलाई चिन्छौं ।

दीपक भट्ट/न्यूयोर्क

तपाईं न्यूयोर्क ओर्लिनु भएको छ भने ज्याक्सन हाईटको निम्ता पाइहाल्नु हुनेछ । न्यूयोर्क पुग्ने एउटा नेपालीले ज्याक्सन हाईटको ढिंडो नचाखी कसो फर्र्किएला !

‘आजको डिनर सुन्धाराको थकाली रेष्टुरेष्टमा’ न्यूयोर्क निवासी पत्रकार मनोज घिमिरेले निम्ता दिइहाले, ‘यम बरालको गीत सुन्दै थकान मेट्नुपर्छ, नेपालबाट राजेश हमाल पनि आइपुग्नु भएको छ, रमाइलो हुन्छ ।’

न्यूयोर्कवासी नेपालीले ज्याक्सन हाईटको नाम नै सुन्धारा राखिदिएका छन् । सुन्धारा अर्थात् नेपाली रेष्टुरेष्टहरुले भरिएको ठाउँ । जहाँ नेपालीहरूले रेष्टुरेन्टमा राम्रै लगानी गरेका छन् ।
विश्वकै ‘आर्थिक राजधानी’ हो न्यूयोर्क जहाँ विश्वभरका मानिसहरूको जमघट हुन्छ ।

उनीहरूको खानाको स्वाद बेग्ला बेग्लै छ । नेपाली रेष्टुरेन्ट मालिकका ग्राहक यिनै हजारौं बर्णका मानिसहरु हुन् । उनीहरु ढिंडोे, गुन्द्रुकको अचार, झानेको कालो दाल र खसीको झोलसँग भातजस्ता नेपाली मौलिक परिकार पस्किएका छन् । नेपालीले ज्याक्सन हाईटमा व्यापार त गरेका छन् नै नेपाली खाना र सँस्कृतीलाई पनि विश्वभर फैलाई रहेका छन् ।

‘अमेरिकामा रहेका नेपालीहरू सानोतिनो नै किन नहोस् आफै लगानी गरेर व्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई पछ्याईरहेका छन्’ एनआरएन अभियन्ता एवं व्यवसायी सोनाम लामा भन्छन्, ‘ज्याक्सन हाईटमा विस्तार भइरहेका नेपाली रेष्टुरेन्टहरू यसैका प्रमाण हुन् ।’

ज्याक्सन हाईटमा सोनाम ‘याक’ नामक रेष्टुरेन्ट चलाउँछन् । यहाँ कम्तिमा एक दर्जन नेपाली रेष्टुरेन्ट छन् । न्युयोर्क बाहिरका राज्यहरूमा रहेका नेपालीहरू पनि न्यूयोर्क अवतरण गरेपछि ‘भान्सा गर्न’ ज्याक्सन हाईट नै पुग्छन् । सेल रोटी, आलुको अचारदेखि मःम र छोयलासम्म यी रेष्टुरेन्टका मेनुमा सजिएका छन् ।

नेपालीहरूको जमघट हुने थलो बनेको छ ज्याक्सन हाईट याने सुन्धारा ।

न्यूयोर्क पुग्ने नेपालीको जमघट हुने अर्को थलो हो– बाजेको सेकुवा । नेपालमा लोकप्रिय बनेको यो ब्राण्ड अमेरिकाबासीहरूका लागि पनि स्वादिलो बनेको छ । सञ्चालक राम श्रेष्ठ भन्छन्, ‘अमेरिकामा रहेका नेपालीहरूले बाजेको सेकुवालाई आफ्नै घरको भान्सा सम्झिन्छन्, समय मिल्यो कि उनीहरू खसीको सेकुवा खान यहाँ आईहाल्छन् ।’

नेपाली ब्राण्डको विश्वब्यापीकरण र अमेरिकामा रहेका नेपालीलाई लगानीको अवसर दुबै जुराइदिएको छ, बाजेको सेकुवाले ।

अमेरिकामा रहेका नेपालीहरूको मुख्य लगानी ग्याँस स्टेशन (पेट्रोल पम्प)मा छ । डयालस निवासी पासाङ लामाले ‘व्किक ट्रयाक’ नामक ब्राण्डमा कम्तिमा एक दर्जन ग्याँस स्टेशनमा लगानी गरेका छन् । दुई दशकअघि अमेरिका आएका पासाङले शुरूवाती दिनमा १६ घण्टासम्म काम गरे । जम्मा भएको केही रकम व्यवसायमा लगाउँदै अगाडि बढेका उनी अहिले डयालसका राम्रै आर्थिक हैसियत भएका नेपालीमा पर्छन् ।

पासाङले रियल स्टेटमा पनि लगानी गरेका छन् । त्यो लगानी अहिले नेपालसम्म पनि फैलिएको छ । ‘मैले घण्टाको दरमा तलब पाक्ने सामान्य कामबाट आफुलाई अमेरिकामा स्थापित गरेको हुँ’ पासाङ भन्छन्, ‘अमेरिकामा नेपालीले पनि व्यवसाय गर्न सक्छन भन्ने मेरो आत्मविश्वासका कारण सफल भएको हुँ ।’

एक अनौपचारिक अध्ययनका अनुसार टेक्सास राज्यमा सबैभन्दा धेरै नेपालीले लगानी गरेका छन् । अमेरिकाभरी करिब एक हजार ग्याँस स्टेशनमा नेपालीहरुको लगानी भएको अनुमान छ । यसमध्ये टेक्सासमा करीव पाँच सय ग्याँस स्टेशनमा नेपालीको लगानी छ ।

एउटा ग्याँस स्टेशनको लगानी करिब १० लाख डलर पर्छ ।

नेपालीले ग्याँस स्टेशनमा लगानी गर्नुको पनि आफ्नै कथा छ ।

अमेरिकामा ग्याँस स्टेशनको जागिरलाई सबैभन्दा जोखिमको मानिन्छ । लुटेराहरूको ध्यान ग्याँस स्टेशनमा हुने क्यासमा रहँदै आएको छ । ग्याँस स्टेशनमा लुटेराहरूले लुटपाट मच्चाउँदै आएका छन् । त्यसैले अरू काम पाउने सम्भावना भएकाहरुले ग्याँस स्टेशनमा काम गर्दैनन् । तर, नेपालबाट भर्खर भर्खर अमेरिका छिरेका, भाषाको सिमितता भएका र अन्य काम कुर्न गाह्रो पर्ने अवस्थामा रहेका नेपालीका लागि ग्याँस स्टेशनमा काम पाउनु पनि भाग्य हो । त्यसैले धेरै नेपालीको अमेरिकी जागिर ग्याँस स्टेशनबाट शुरू हुन्छ । र, केही धेरै नेपालीले स्टेशनमा लुटिने मात्रै होइन, गोली समेत खानुपरेको छ ।

तर, यो जोखिमले नेपालीलाई व्यवसायीमा परिणत गराएको छ ।

क्यालिफोर्नियाको ठूलो शहर लज एन्जलसमा नेपालीहरूले ब्युटी सैलुन, आई ब्रो थ्रेडिङ र रेष्टुरेन्टमा राम्रो लगानी गरेका छन् । यहाँ करिब ३ सय ब्युटी सैलुन र आई ब्रो थ्रेडिङ नेपालीले चलाएका छन् । सिसा पाईपको ब्यापारमा पनि नेपालीहरु जमेका छन् । उनीहरु यहाँ सिसा पाईपको होलसेल ब्यापार गर्छन् । यसको आयात नेपालबाट हुन्छ । अमेरिकामा नेपालीले ५० लाख डलरसम्मको लगानीमा रेष्टुरेन्ट चलाएका छन् ।

लोकगायक प्रेमराजा महतले बाल्टिमोरमा ‘नेपाल हाउस’ नामक रेष्टुरेन्ट चलाएका छन् ।

शेर्पा बियर अमेरिकामा पनि प्रसिद्ध छ । शेर्पा वियरको अवधारणा नै अमेरिकामा बनेको थियो । अध्ययनका लागि अमेरिका आएका सोलुखुम्बुका लाक्पा शेर्पाले सुरुमा धेरै दुःख गरे । अनि काम सिकेर आफै व्यवसाय अगाडि बढाए । सन् २००६ मा शेर्पा ल्यान्डस्केपिङ सुरु गरे । सन् २००९ मा शेर्पा हाउस रेष्टुरेन्ट खोले । त्यसपछि नेपालमा शेर्पा बियर उत्पादन सुरु गरे । शेर्पा वियरको अवधारणा अमेरिकामा बनेको थियो । र, अमेरिकीमाझ लोकप्रिय पनि भइसकेको छ ।

गौरी जोशीले टेक्सासमा आईटी र शिक्षामा लगानी गरेका छन् । खगेन्द्र जिसीले न्यूयोर्कमा ल फर्म चलाउँछन् । आप्रवासीहरुको समस्या समधान गर्ने व्यवसायी हुन् खगेन्द्र । उनी अमेरिकाका प्रतिष्ठित कानुन व्यवसायीमा दहरिन्छन् ।

नेपालीहरुको व्यवसाय न्युयोर्कदेखि कोलोराडोसम्म, सिकागोदेखि डिसीसम्म धेरै शहरहरुमा फैलिएको छ । सानो जनसंख्या रहेको स्टेटपार्क शहरमा समेत नेपालीले पर्यटक लक्षित व्यवसाय फैलाएका छन् ।

अमेरिकामा करिब पाँच लाख नेपाली रहेको अनुमान छ । यी मध्ये कति नेपाली प्रत्यक्ष व्यवसायमा संलग्न छन् भन्ने तथ्यांक एनआरएन लगायत कुनै पनि संस्थासँग छैन । तर, यहाँको ट्रेण्ड कस्तो देखिन्छ भने नेपालीहरु जागिरे जीवनबाट एक स्टेप माथि उठ्दै व्यवसायीमा परिणत भइरहेका छन् ।

अमेरिकामा नेपाली समुदायको पहिचान साना व्यवसायीका रुपमा हुन थालेको छ ।

नेपाली समुदाय ‘मिडिल क्लास’ मा परिणत हुँदैछ । धेरै नेपालीसँग सानो सानो पुँजी छरिएको छ जसका कारण उनीहरु ठूला परियोजनामा लगानी गर्न सक्दैनन् ।

तर ठूलो लगानीमा स्थापित नेपाली कम्पनीले लिड गर्ने हो भने उनीहरु करोडौं डलरको पुँजी जुटाउन तयार छन् ।

उनीहरुको छरिएको पुँजीलाई एकिकृत रुपमा लगानी गर्ने हो भने अमेरिकाकै कुनै मेगा प्रोजेक्ट सञ्चालन गर्न सम्भव छ । उनीहरूलाई आवस्यक छ त केवल उक्त पुँजी परिचालन गर्न सक्ने ‘ट्रयाक रेकर्ड’ बनाएको व्यवस्थापनको ।

जागिरेबाट उद्यमी

अध्ययनका लागि विदेशिने नेपालीको एउटै सपना हुन्छ, राम्रो शिक्षा हासिल गर्ने र विदेशमै गतिलो जागिर खाने । वा, विदेशी युनिभर्सिटीको सर्टिफिकेट बोकेर नेपाल फर्किंदा राम्रो तलब पाउने आशा ।

रोजगारीका लागि विदेशिनेले जीवन धान्नेभन्दा बढी सोँचेकै हुँदैनन् । बढीमा, शहरमा घर घडेरी जोड्ने सपना । र, सन्तानलाई अंग्रेजी भाषामा बढाउने बोर्डिङ स्कुलको शिक्षा ।

एउटा नेपालीले विदेशमा व्यवसाय गरौंला भन्ने सोँचेकै हुँदैन । विदेशमा व्यवसायिक साम्राज्य खडा गर्ने सपना त टाढाको कुरा । तर, पछिल्लो समय विद्यार्थी र कामदार बनेर विदेशिएका नेपालीहरुले सफल व्यवसायीको परिचय बनाउँदैछन् । कतिपय नेपालीको विभिन्न मुलुकमा व्यवसायिक साम्राज्य खडा भइसकेको छ ।

नेपालीहरु विदेश जान थालेको झण्डै तीन दशक हुन थाल्यो । यो अवधिमा नेपालीले विदेशमा व्यवसायिक साम्राज्य फैलाइसकेका छन् । धेरैमा व्यवसायप्रति आकर्षण बढेको छ । विदेश गएर जागिर खाने र सामान्य जीवन विताउने सोँचमा परिवर्तन हुन थालेको देखिन्छ ।

विदेशमा रेष्टुरेन्ट, होटल, कन्स्ट्रक्सन, ट्राभल्स, ग्रोसरी, पेट्रोल पम्प, दोहोरी साँझ, शिक्षा, लेखा, कानुन, बुटिक, क्लब, बार, ब्युटिपार्लर, एजेन्सी आदि व्यवसायमा नेपालीको लगानी छ ।

एशिया, युरोप, अमेरिका, अफ्रिकादेखि अष्ट्रेलियासम्म गैरआवासिय नेपालीहरूको लगानी फैलिएको छ ।

सानो लगानीबाट प्रारम्भ भएका व्यवसाय झाँगिएका छन् । विदेशमा ज्वेयन्ट भेइञ्चरमा लगानीको लहर पनि चलेको छ ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो भन्छन्, ‘विदेशमा नेपालीहरु हस्पिटालिटी बिजनेशमा सबैभन्दा बढी सफल छन् । हिजो जुन रेष्टुरेन्टमा नेपालीले काम गरे, आज त्यही रेष्टुरेन्टको मालिक बनेका छन् । हिजो एउटा होटल तथा रेष्टुरेन्ट हुनेहरुको आज चेन फैलिएको छ ।’

दुई दशकअघि युरोप छिर्दा कुमार पन्तले उतै व्यवसाय गरेर बसौंला भन्ने सोँचेकै थिएनन् । विदेशमा राम्रो शिक्षा हासिल गर्ने र गतिलो जागिर खाने मात्रै सोँच थियो । जर्मनीको

फ्र्यांकफर्टमा बसोबास गर्ने कुमार अहिले दुई दर्जन होटलका मालिक बनेका छन् । उनका बिजनेश पार्टनर हुन्– एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने ।

कुमार र जीवाका जर्मनी, बेल्जियम र स्वीट्जरल्यान्डमा समेत होटल फैलिएका छन् । जर्मनीमा मात्र ९ वटा शहरमा होटल छन् । बेल्जियम र स्वीट्जरल्यान्डमा एक÷एक होटल छन् । दुई वर्षभित्र अमेरिकामा पनि होटल खोल्ने तयारी छ । कुमार भन्छन्, हाम्रो विजनेश यात्रा शुरू भएको छ र यसले धेरै ठूलो दूरी पार गर्ने विश्वास हाम्रो छ ।

विदेशमा ग्याँस स्टेशनमा काम गर्ने नेपालीहरु ग्याँस स्टेसनकै मालिक बनेका छन् । ग्रोसरी सपमा काम गर्नेहरु ग्रोसरीकै मालिक । वकिलले आफ्नै ल फर्म खोलेका छन् । रियल स्टेट र कन्स्ट्रक्सनमा लागेर अर्बपति बनेका नेपालीहरु धेरै छन् । शिक्षामा पनि नेपालीले राम्रो गरिरहेका छन् । शैक्षिक क्षेत्रमा युरोप, अमेरिका र अष्ट्रेलियातिर कहलिएका नेपाली छन् । नेपालीले कलेज, युनिभर्सिटी सञ्चालन गरिरहेका छन् ।

‘विदेशमा नेपालीले केही न केही व्यवसाय गरेको पाइन्छ । पहिला राम्रो युनिभर्सिटीबाट डिग्री लिएर गतिलो जागिर पाउँदा नेपाली जति खुशी हुन्थे, त्यो भन्दा बढी खुशी आफ्नो व्यवसायबाट हुन थालेका छन्’ उपेन्द्र महतो भन्छन् ।

यहि अनुपातले व्यवसायमा नेपालीको संलग्नता बढ्दै जाने हो भने विदेशमा नेपाली डायस्पोरा नै उद्यमशील भनेर चम्किने छ, जसरी हामीले छिमेकी मुलुक भारतका मारवाडी समुदायलाई चिन्ने गरेका छौं ।

विश्वभर उद्यमी जन्मिँदै

नेपाली मुलका जोन राना हङकङको रेष्टुरेन्ट क्षेत्रमा चम्किएका व्यवसायी हुन् । उनका हङकङमा झण्डै दर्जनजति रेष्टुरेन्ट र बारहरु सञ्चालनमा छन् । क्लबमा पनि उनको लगानी छ । हङकङको हस्पिटालिटी क्षेत्रमा उनी अग्रस्थानमै पर्छन् ।

दोलखाका दीपक खड्का ३६ वर्षअघि हङकङ जाँदा ठूला पूर्वाधार निर्माण कामले तिब्रता लिइरहेको थियो । उनी कन्स्ट्रक्सन क्षेत्रमा लागे । हङकङको कन्स्ट्रक्सन क्षेत्रमा उनी ठूला व्यवसायीका रुपमा चर्चित थिए । उनले नाम पनि कमाए, दाम पनि । झण्डै दुई दशक हङकङ बसाईपछि अष्ट्रेलिया पुगे । अष्ट्रेलियामा क्राउन इन्स्टिच्यूट खोले । जहाँ विदेशी विद्यार्थी पनि पढ्छन् । पुनः रियलस्टेट व्यवसायमा हात हाले । उनी विदेशमा सफल नेपाली व्यवसायी भनेर चिनिन्छन् ।

अष्ट्रेलियामा व्यवसाय गरेरै नेपाली दम्पती शेष र जमुना घले डलर अर्बपति बनेका छन् । अष्ट्रेलियन पत्रिका फाइनान्सियल रिभ्यूले केही दिनअघि सार्वजनिक गरेको अष्ट्रेलियाली धनाढ्यको सूचिमा घले दम्पत्ती ७८ औं नम्बरमा परेका छन् । दुई दशकअघि लमजुङबाट विद्यार्थीका रुपमा अष्ट्रेलिया छिरेका उनीहरुसँग १.१८ बिलियन डलर सम्पत्ती छ ।

घले दम्पतीले सन् २००२ देखि घरजग्गाको व्यवसायमा हात हालेका हुन् । अष्ट्रेलियाको मेलबर्नमा रहेर व्यवसायमा संलग्न उनीहरुको घरजग्गा, होटल, शिक्षा लगायत क्षेत्रमा लगानी छ । काठमाडौंमा ८ अर्ब खर्चिएर पाँचतारे होटल खोल्दैछन् । मेलबर्नमा २९० कोठाको पाँचतारे होटल बनाइरहेका छन् । मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेज चलाउँछन् ।

उपेन्द्र महतो अध्ययन गर्न रसिया छिर्दा सोभियत युनियन थियो । त्यहाँ सबै पब्लिक पोपर्टीमात्र थियो । विदेशी विद्यार्थीलाई पढाई सकेपछि बस्न दिँदैनथे । ‘म त्यहाँ जाँदा व्यवसाय गर्छु भन्ने त परै जाओस्, विदेशमा बस्छु भन्ने पनि सोँचेको थिएन, इञ्जिनियर बनेर स्वदेश फर्किने सोँच थियो’ उनी सुनाउँछन् ।

जब रसियाले (सोभियत संघ)ले आर्थिक उदारिकणको नीति अंगिकार गर्यो । बिजनेश आइडिया भएका विदेशीहरु धेरैले राम्रो मौका पाए । रसियनको बाहिर त्यति राम्रो एक्स्पोजर थिएन । न बिजनेश आइडिया नै थियो । महतोले सन् १९८९ मा पेट्रोलियम प्रडक्टको व्यवसाय सुरु गरे । अनि इलेक्ट्रोनिक्स, रियल स्टेट, टेलिकममा लगानी फैलाए ।

अहिले उनको रुससहित १५ भन्दा बढी मुलुकमा व्यवसाय फैलिएको छ । अफ्रिकन मुलुकहरुमा टेलिकममा लगानी गरेका छन् । साइप्रसमा रियल स्टेटमा लगानी छ । नेपालमा पनि हस्पिटल, जलविद्युत, आयुर्वेदीक उद्योग, वित्तीय क्षेत्रलगायत सञ्चालनमा छन् । सम्भवतः उनी सबैभन्दा धनाढ्य नेपाली हुन् ।

जीवा लामिछानेको पनि रसियाबाटै व्यवसायिक यात्रा सुरु भएको हो । अध्ययनका लागि रसिया पुगेका उनले इलेक्ट्रोनिक्स समानको व्यापार सुरु गरे । अहिले उनले जर्मनी, स्वीट्जरल्यान्ड, बेल्जियम, दुबई र नेपालसम्म लगानी फैलाइसकेका छन् । बद्री केसी र सपिला राजभण्डारी पनि रसियामा व्यवसायमै जमिरहेका छन् ।

एनआरएन अध्यक्ष भवन भट्टले जापानमा रेष्टुरेन्टको साम्राज्य नै खडा गरिसकेका छन् । उनले जापानमा साढे दुई सयभन्दा बढी रेष्टुरेन्ट खोलिसकेको बताइन्छ । एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले पनि जापानमै लगानी गरिरहेका छन् ।

जापानमा नेपालीहरुको रेष्टुरेन्टमा ठूलो लगानी छ । त्यहाँ नेपाली लगानीका झण्डै ५ हजार रेष्टुरेन्ट पुगिसकेका छन् । चिरञ्जिवी थापाले पनि जापानमा रेष्टुरेन्ट चलाउँछन् । महेशकुमार श्रेष्ठले पनि रेष्टुरेन्ट चलाउँछन् । ओम गुरुङ डिपी कँडेल, दीपक रेग्मी, किरण थापा लगायत सयौं नेपालीले रेष्टुरेन्टमा लगानी गरेका छन् । जापानमा चेन रेष्टुरेन्ट चलाउने नेपाली धेरै पुगिसकेका छन् ।

हङकङमा लामो समय जागिरमा रमाएका सुरेन्द्र ढकाल पछिल्लो १० वर्षदेखि कन्स्ट्रक्सन क्षेत्रमा जमिरहेका छन् । उनले जागिरको अनुभव व्यवसायमा लगाएका हुन् । कतार, मध्यपूर्वी मुलुकतिर देवकाजी डंगोल लगायतले कन्स्ट्रक्सन व्यवसायमा राम्रो गरिरहेका छन् । कतारको निर्माण क्षेत्रमा कामदार मात्र होइन, निर्माण व्यवसायमा जमेका नेपालीहरु पनि धेरै तिलु शर्मा पौडेल बताउँछन् ।

‘कतारमा ८ सयको हाराहारी नेपाली व्यवसायी छन् । रेष्टुरेन्ट, व्यापार, निर्माण, ब्रोकरको व्यवसाय गर्छन्, तिलु भन्छन्, ‘रोजगारदाता मुलुक कतारमा पनि उद्यमी बन्ने ट्रेन्ड बढ्दो छ । अधिकांश व्यवसायी कामदारबाटै व्यवसायी भएका हुन् ।’

बिदेशमा नेपाली बिजनेश डायस्पोरा बढ्दैछ । जुन मुलुकमा धेरै नेपाली छन्, ती देशहरुमा उद्यमी पनि धेरै छन् ।

व्यवसायी उपेन्द्र महतोको अनुमानमा नेपालीहरु व्यवसायी बन्ने क्रम रसियाबाट भयो । सबैभन्दा बढी व्यवसायी युरोप र अमेरिकामा छन् । कारोबारका हिसावले अष्ट्रेलिया अगाडि छ ।

युरोपमा धेरै नेपालीहरु होटल र रेष्टुरेन्ट व्यवसायमा छन् । पोर्चुगलजस्तो सानो मुलुकमा पनि ३०/३५ हजार नेपाली छन् । त्यहाँ नेपाली व्यवसायीको संख्या ५ सय हाराहारी छ । त्यो पनि छोटो अवधिमै । जर्मनीमा होटल, रेष्टुरेन्टसँगै ग्रोसरी सपमा धेरै नेपाली छन् । जर्मनीमा करीव डेढ सय नेपालीका ‘ग्रोसरी सप’ होलान् । बेल्जियम र हल्यान्डमा पनि नेपाली व्यवसायी छन् ।

युकेमा ब्यांक्वेट हल, ग्रोसरी, ब्युटी पार्लर, बुटिक, टेलर्स, ट्रल्स, सुनचाँदी पसल, ककटेल बार, रेष्टुरेन्ट, दोहोरी साँझ, कानुन, क्लिनिङ, पव, शैक्षिक संस्था, परामर्श केन्द्र लगायत व्यवसायमा नेपाली संलग्न छन् । युकेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको संगठन नेपलिज क्याटरिङ एशोसियसनका अनुसार युकेमा पाँच सयभन्दा बढी नेपाली रेष्टुरेन्ट छन् ।

युकेमा मुनाल तन्दुरी, मोन्टिज इलिंग, गोरखा प्यालेस फोल्क्सटोन, गोराखा प्यालेस फार्नब्रो चर्चित हुन् । दुई दशकदेखि बेलायत बस्दै आएका सुनिल बाबु खड्काले रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् । युकेमा नेपाली व्यवसायीले सञ्चालन गरेको ‘बेलाको ब्रान्ड’ उत्तिकै चर्चित छ । कतारमा पाएको सफलतासँगै नेपाली व्यवसायी वासिद दाजुभाइले बेलायतमा पनि ‘बेलाको ब्रान्ड’ लाई प्रख्यात बनाएका हुन् ।

नेदरल्यान्डमा नेपाली व्यवसायी संघ गठन भएको छ । संघका अनुसार नेदरल्यान्डमा नेपाली व्यवसायीको संख्या करिब एक सय रहेको छ ।

बेलायतको अल्डरसट पुग्ने जो कोहीलाई नेपालकै झल्को मिल्छ । त्यहाँ स्थाई रुपमा बसोबास गर्ने र व्यवसाय गर्ने नेपालीको संख्या ठूलो छ । भूपू गोर्खा र तिनका परिवार बसोबास गर्ने बेलायतको अल्डरसटमा नेपालीको व्यवसाय फैलिदैछ । अल्डरसटमै ट्रुथ नामक ककटेल बार छ । तीन जना नेपालीको लगानीमा सञ्चालित बारमा नेपालीभन्दा विदेशीको भिड लाग्छ ।

अल्डरसटमा गोर्खा राजदूत रेष्टुरेन्टसहित झण्डै ५ दर्जन रेष्टुरेन्ट सञ्चालनमा छन् । नेपाली लगानीकै एम्पायर हल र दि प्यालेसलमा नेपाली कार्यक्रम भइरहन्छन् ।

विकेन्डमा अल्डरसट मिनी नेपालझैं लाग्छ ।

युकेमा पुगेर महन्त श्रेष्ठले रेष्टुरेन्टमा काम गरे । काम सिकेपछि आफै रेष्टुरेन्ट चलाउन थाले । अहिले रियल स्टेटमा पनि संलग्न छन् । नेपाली ब्रान्डमा बियर पनि उत्पादन गर्छन ।

युकेमा ग्रोसरीमा पनि नेपालीको ठूलो लगानी छ । विनोद चिपालु ग्रोसरी चलाउँछन् । हरि केसीले गोर्खा ब्रान्डमा बियर उत्पादन गर्छन् । यादव भण्डारीको रेष्टुरेन्ट र ट्राभल्स एजेन्सीमा लगानी छ । पूर्ण गुरुङले पनि युकेमा ठूल्ठूला रेष्टुरेन्ट चलाउँछन् ।

बेलायतमा नेपालीले विजनेश ग्रुप नै बनाएर लगानी गरिरहेका छन् ।

अफ्रिकामा पनि नेपालीहरुको लगानी फैलिएको छ । रुवान्डा, युगान्डा, कंगो, सिरालियोन, घाना, केन्या, नाइजेरिया लगायत मुलुकमा नेपालीले विस्तारै व्यवसाय सुरु गर्दैछन् । अफ्रिकामा उपेन्द्र महतोको टेलिकममा लगानी छ । त्यहाँ पनि नेपाली रेष्टुरेन्ट खुलेका छन् । अफ्रिकामा एनजिओ, आइएनजीओ, दातृनिकायमा कार्यरत रहदै गर्दा नेपालीले व्यवसायमा हात हालेका हुन् ।

हङकङमा सफल नेपाली

हङकङमा ३० हजार हाराहारी नेपाली छन् । हङकङको रात्री व्यवसायमा नेपालीको उपस्थिती ठूलो छ । त्यहाँको ठूल्ठूला डिस्को, बार र रेष्टुरेन्टका मालिक नेपाली हुन् । जुनसुकै पसल, बार वा रेष्टुरेन्टमा पस्दा पनि मालिक नेपाली नै हुन्छन् । डेढ÷दुई लाख डलरसम्म भाडा तिरेर बिजनेश गर्ने नेपाली धेरै छन् ।

हङकङमा गुर्खाहरु बस्न थालेको शताब्दी पुग्न थाल्यो होला । ब्रिटिसहरुले गुर्खाका परिवारलाई स्थाई रुपमा बस्न दिन थाले । उनीहरु पनि बिजनेश गर्न थाले । सन् १९९० को दशकपछि हङकङमा पस्नेहरु पनि बिजनेशमै संलग्न रहेको कन्स्ट्रक्सन व्यवसायी सुरेन्द्र ढकाल बताउँछन् । अहिले हङकङमा १००० भन्दा बढी ग्रोसरी छन् । कन्स्ट्रक्सन, फुड एण्ड वेभरेज, ग्रोसरी पसल र ट्राभल एजेन्सीमा नेपाली लगानी छ ।

‘सुरुमा हामी हङकङमा आउँदा रेष्टुरेन्ट व्यवसायमा इन्डियनहरु धेरै थिए’ ढकाल सम्झन्छन्, ‘अहले इन्डियनले चलाएका ९० प्रतिशतभन्दा बढी रेष्टुरेन्ट नेपालीले चलाउन थालेका छन् ।’ रेष्टुरेन्टको नाम इन्डियन छ, साहुजी नेपाली । गोराले नेपाली खानाको भेउ पाएका छैनन, इन्डियन खाना खोज्दै आउँछन् ।

हङकङमा नेपालीले चलाएका ठूल्ठूला क्लब र बार टन्नै देखिन्छन् । ‘पहिला आफै काम गरेर सिके, पछि आफै चलाउन थालेका छन्’ ढकाल थप्छन्, ‘एउटै व्यक्तिका ८/१० वटा बारसम्म छन्, करौडौं रुपैयाँ ट्याक्स बुझाउने नेपाली छन् ।’ जोन राना रेष्टुरेन्ट, बार र क्लब चलाउँछन । राई थरका नेपालीले पन ८/१० वटा रेष्टुरेन्ट बार चलाउँछन् । ढकालका अनुसार १/२ रेष्टुरेन्ट र बार हुनेहरु धेरै छन् ।

कन्स्ट्रक्सन क्षेत्रमा दीपक खड्का, तेज राई ठूला व्यवसायी थिए । पछि दीपक खड्का अष्टेलिया गए । अहिले त्रिलोक गुरुङ, सुरेन्द्र ढकाल, प्रकाश पुन लगायत कन्स्ट्रक्सनमा छन् । जगन्नाथ ज्ञवाली र कृष्ण पाण्डेले ट्राभल कम्पनी चलाउँछन् । सबैले सानो भोल्यूमबाट काम सुरु गरेर ठूलो बनाउँदै लगेका हुन् ।

कोरियामा पनि रेष्टुरेन्टमा व्यवायी बढ्दैछन् । कामदारको रुपमा कोरिया छिरेका नेपाली व्यवसायी बन्ने क्रम बढ्दो छ । ठाउँ ठाउँमा नेपाली रेष्टुरेन्ट खुलेका छन् ।

अष्ट्रेलियामा शेष घले, दीपक खड्का सफल उद्यमी हुन् । त्यहाँ घरजग्गा, होटल, रेष्टुरेन्ट, कन्स्ट्रक्सन, शिक्षा, ल फर्म लगायतमा नेपाली लगानी छ ।

१२ वर्षअघि नुवाकोटबाट विद्यार्थी भिषामा अष्ट्रेलिया पुगेका किरण थापा कहलिएका ब्रोकर बनेका छन् । उनी नेपालीमाझ मात्र होइन, स्थानीयमाझ पनि चर्चित छन् । उनको रियल स्टेटमा लगानी छ । उनले स्थापना गरेको ब्रोकर कम्प्नी ‘क्यापकोन इन्भेष्टमेन्ट’ले घर किन्न चाहनेका लागि बैंकसँग मध्यस्थता गरिदिन्छ । उनको व्यवसायिक र आवासिय दुबै प्रोपर्टीमा लगानी छ ।

सन् १९९९ मा विद्यार्थी बनेर अष्ट्रेलिया छिरेका नवलपरासीका मेघराज श्रेष्ठले ‘माइग्रेसन एन्ड एजुकेशन’ बिजनेश सुरु गरे । उनको सिड्नीमा माइग्रेसन, एजुकेशन र रियल स्टेटमा लगानी छ । यो लगानी अन्य शहरमा फैलाइरहेका छन् । उनको मुख्य व्यवसाय नै रियल स्टेट हो ।

सन् १९९६ मा अष्ट्रेलिया छिरेका नुवाकोट तारुकाका धर्मराज अधिकारी चर्चित अन्तर्राष्ट्रिय चेन ‘डोमिनाज पिज्जा’का एक दर्जनभन्दा बढी आउटलेटका मालिक हुन् ।

झापा विर्तामोडका दीपक खनालले अष्ट्रेलियाको सिड्नीको बोन्डाइमा २०१३ देखि हाम्रो कलेज सञ्चालन गरिरहेका छन् । उनको कलेजमा २ दर्जनभन्दा बढी मुलुकका विद्यार्थी अध्ययनरत छन् ।

अष्ट्रेलियाको मेलवर्नमा भीम न्यौपानेले बुद्ध ट्राभल्स र रेष्टुरेन्ट चलाइरहेका छन् । कपिल नेपालले घरजग्गा व्यवसायमा संलग्न छन् । सिड्नीको दक्षिणी भाग राण्डविकमा राज खनालले सुसी बार रेष्टुरेन्ट चलाउँछन् । यस्तै, कुमार गिरी, योगी पुडासैनीले पनि रेष्टुरेन्ट चलाउँछन् ।

अष्ट्रेलियामा करीव दुई दशकदेखि नेपाली व्यवसायीहरु सक्रिय व्यवसायमा लागेका छन् ।

अष्ट्रेलियामा व्यवसाय गरेर जम्ने नेपाली डायस्पोरा बढ्दै छ ।

अष्ट्रेलियाकै मेलवर्नमा चन्द्र योञ्जनले गुर्खाज रेष्टुरेन्टको चेन बिजनेश र रोयल गुर्खाज इन्स्टिच्यूट अफ टेक्नोलोजी स्कुल चलाइरहेकी छिन् । प्रदीप ढकाल र सुमन भेटवालले पनि कलेज सञ्चालन गरिरहेका छन् । ढकालको प्यासिफिक कलेज अफ टेक्नोलोजी र भेटवालको अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज हो । रुद्र पौडेलका सिड्नीमा रेष्टुरेन्ट र एक दर्जन स्टोर छन् ।

छोटो समयको उपलब्धी

विदेशी मुलुकको बिजनेश क्षेत्रमा गर्व गर्न लायक नेपाली डायस्पोरा बन्दैछ ।

पञ्चायत सरकारले पासपोर्टमा कडाई गरेको थियो । ०४६ को परिवर्तनसँगै सर्वसाधारणका लागि पासपोर्ट खुला गरियो । अनिमात्र नेपाली विदेसिन थालेका हुन् । पछिल्लो डेढ दशकमा पढाई र रोजगारीका लागि विदेशिने क्रम बढेको हो ।

उपेन्द्र महतो भन्छन्, ‘म विदेश जाँदा माहोल अर्कै थियो । त्यो समय विदेशमा नेपालीलाई खुब पत्याउँथे । धेरै आदार गर्थे । नेपालीको इमान्दारिता र मिहिनेतको कदर हुन्थ्यो । सायद त्यो बेला पासपोर्ट खुला भइदिएको भए आज विकसित मुलुकमा ठूल्ठूला बिजनेश बनाइसक्थ्यौं होला । नेपाली धेरै ठूलो पोजिसनमा पुगिसकेका हुन्थ्यौं होला ।’

उ बेला युरोप र अमेरिकातिर धेरै अवसर थिए । प्रतिस्पर्धा पनि कम थियो । बिजनेशमा जम्न सहज हुन्थ्यो । अहिले प्रतिस्पर्धा बढेको छ । तर ढिलो भएपनि नयाँ अवसरहरु त सिर्जना भइरहेका छन् । तैपनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

छिमेकी मुलुक भारतले नेपालले भन्दा पछाडि आर्थिक उदारिकणको नीति अंगिकार गरेको हो । नेपाल आर्थिक उदारिकरणमा गएपनि विदेशमा लगानी गर्न नपाउने कानुन बनाइयो । जुन अहिलेसम्म कायम छ ।

भारतले आफ्ना नागरिकलाई विदेशमा लगानी गर्न खुला गर्यो । विदेशी लगानीकर्तालाई पनि आफ्नो मुलुकमा दि खोलेर स्वागत गर्यो । त्यसैको परिणम भन्नुपर्छ, आज विश्वभर भारतीय लगानीकर्ता पुगेको छन् । ठूल्ठूला मल्टिनेशनल कम्पनी जन्मिएका छन् ।

यदि नेपालीले पनि विदेशमा लगानी गर्न पाउने कानुन भइदिएको भए अहिले बिजनेशमा इन्डियन डायस्पोरा जस्तै नेपाली डायस्पोरा पनि बन्ने थियो ।

‘तैपनि नेपाली डायस्पोरा इन्डियाभन्दा पछाडि हो, अरु मुलुकभन्दा धेरै पछाडि छैन’, महतो भन्छन्, ‘नेपालबाट पुँजी लैजान पाइँदैन, कमाउदै लगानी गर्नुपर्छ ।’

नेपालबाट हुन्डिमार्फत अबैध ढंगले लगानी बाहिर गइरहेको सरकारी निकाय नै स्वीकार्छ । अवैध ढंगले पैसा बाहिर लगेर लगानी गर्ने नेपाली पनि बढ्दैछन् । नेपालमा घरजग्गा बेचेर बाहिर पैसा लगि रेष्टुरेन्ट व्यवसायमा लगानी गर्ने पनि छन् ।

सन् २००३ मा गैरआवासिय नेपाली अभियान सुरु गर्दा एकदमै कम नेपाली बिजनेशमा थिए । सूचना आदान प्रदान हुँदैनथ्यो । जब एनआरएन अभियान बढ्दै गयो । सामाजिक सञ्जालको प्रयोग बढ्दै गयो । विदेशमा एकको सफलता अर्कोले थाहा पाउन थाले । अनुभव साटफेर हुन थाल्यो । महतो भन्छन्, अनिमात्र बिजनेशमा लाग्ने बढ्न थालेका हुन् ।

अहिले बाहिर जाने नेपाली दोस्रो पुस्ता हो । तर व्यवसायमा अझै पनि पहिलो पुस्ता नै हो ।

नेपालीहरु बाहिर इमान्दार र मेहेनती भनेर चिनिन्छन् । तर व्यवसाय गर्न पुँजीको अभाव छ । हुन त व्यवसायमा पैसा भएर मात्रै हुँदैन, जोखिम बहन गर्ने क्षमता पनि चाहिन्छ । हिम्मत चाहिन्छ । सानो कमाई हुने नेपालीले बैंकबाट ऋण लिन सक्दैनन् । बैंकले पनि पत्याउँदैनन् । धेरै व्यवसायीले ग्रुप बनाएर लगानी गरिरहेका छन् । नेटवर्किङले धेरैलाई व्यवसायी बनाएको छ ।

विदेशमा व्यवसायमा जमिरहेका नेपाली भन्छन्, खासमा अरुको सक्सेस स्टोरी देखेरै नेपालीमा उद्यमी बन्ने उत्साह आएको हो ।

विदेशमा बिजनेश गर्दा धेरै सफल भएको देखिन्छ । एनआरएन व्यवसायी भन्छन्, विदेशतिर बजनेशमा सक्सेस रेट ८० प्रतिशतभन्दा माथि छ । अझ रेष्टुरेन्टमा धेरैले राम्रो गरेको देखन्छ । नेपाली पुगेको कुनै यस्तो मुलुक नहोला, जहाँ नेपाली रेष्टुरेन्ट नखुलेको होस् ।

केही वर्षभित्रै नेपाली विश्वभर ठूला व्यवसायीका रुपमा चिनिने पक्का छ । अहिले आफ्नै बलबुँतामा बिजनेश गरिरहेका छन् । जब बैंकिङ एक्सेस हुनेछ, तब व्यवसायको भोल्यूम पनि बढ्ने छ ।

र, विदेशमा नेपाली भन्ने वित्तिकै बिजनेश गर्ने समुदाय भनेर चिन्नेछन् ।

मा प्रकाशित

Trending

error: Content is protected !!