कभर स्टोरी
राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक रोडम्याप
एमालेको पार्टी अध्यक्ष, बाम गठबन्धनको नेता र देशको प्रधानमन्त्री बनेर नयाँ इतिहास रच्ने चाहना

तर पनि उनले किन नागरिकता विधेयक प्रमाणिकरण नगरेर यो वातावरण निम्त्याईन् ? राष्ट्रपतिको दोस्रो कार्यकाल सकिनै लाग्दा संविधानले दिएको कत्र्यव्य पुरा नगरेर किन राष्ट्रको ध्यान आफुमाथि केन्द्रित गराईन् ? नेपाली राजनीतिमा माईक्रो म्यानेजमेन्ट तहमै ओर्लिएर काम गर्ने छिमेकी मुलुक भारतलाई निको नलाग्ने बिषयमा किन जोखिम मोलिन् ?
अर्थात्, शान्तिपूर्ण रूपमा राष्ट्र प्रमुखको पदबाट अवकास लिएर बाँकी जीवन सम्मानित रुपमा विताउने अवसर उनले किन गुमाईन् ?
यी सबै प्रश्नको समुच्चा जवाफ आउछ– शासन गर्ने भोक ।
विद्यादेवी भण्डारीलाई राजनीतिको केन्द्रमा रहेर शासन गर्ने भोक मरेको छैन । राष्ट्रपति बनेर उनले दुई पटकसम्म संवैधानिक राष्ट्र प्रमुखको भुमिका त निभाईन् । तर, यसले उनको राजनीतिक तृष्णा मेट्न सकेन । बरू यसले उनको राजनीतिक भोक अरू जगाईदिएको छ । उनी देशको कार्यकारी प्रमुखको भूमिकामा रहेर देशमा फेरी शासन गर्न चाहान्छिन् भन्ने देखिन्छ उनको पछिल्लो कदमबाट ।
उनले सत्ताधारी गठबन्धनसँगको इगो वा भनिएजस्तै नेपाललाई ‘विहारीकरण’ हुनबाट जोगाउनका लागि नागरिकता विधेयक प्रमाणिकरण नगरेकि होइनन् । यो त उनको राजनीतिमा थप प्रभावकारी रूपमा प्रवेश गर्ने रणनीति अन्तर्गत खोलिएको द्वार हो जहाँबाट छिरेर उनी सिंहदरबारमा प्रवेश गर्न चाहान्छिन् । र, प्रधानमन्त्रीको कुर्सीमा बस्न चाहान्छिन् ।
नेपालमा एकजना महिला दोहोरिएर राष्ट्रपति बनेको इतिहास उनले बनाईसकिन् । नेपालमा राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सिमा बस्ने एउटै महिलाको इतिहास रच्ने लक्ष्य पनि उनले लिएको देखिन्छ ।
कार्यकाल सकिनै लाग्दा शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले नागरिकता विधेयकमा ‘हठ’ देखाएर उनलाई यो अवसरको ढोका खोलिदिदैछ ।
के त्यसो भए उनले चाहदैमा विद्यादेवी भण्डारी देशको प्रधानमन्त्री बन्नेछिन् ? उनको लक्ष्य पूरा हुनेछ ?
राजनीति अनेक सम्भावनाहरूको खेल हो । तर, त्यो सम्भावनाको ढोका ढकढकाउने काम पनि सपना देख्नेले नै गर्ने हो । विद्याले त्यो सपना देखेकी छन् । र, सिंहदरबार प्रवेश गर्ने ढोका घच्घचाईसकेकी छन् । सिंहदरबारको विशाल ढोका उनी एक्लैले पक्कै पनि खोल्न सक्ने छैनन् । त्यसका लागि उनले नेकपा एमालेका ‘बहादूर’हरूको साथ लिनुपर्नेछ । परिस्थिती र बाध्यतावस ति ‘बहादूर’हरू आफ्नो साथमा उभिनुपर्ने अवस्था आउनेछ भन्ने उनको विश्वास देखिन्छ ।
विद्याले दुई चरणमा नेपालको वाम राजनीतिको केन्द्रमा आफुलाई राख्न चाहेको प्रतित हुन्छ ।
पहिलो, नेकपा एमालेको राजनीतिमा आफुलाई निर्विकल्प नेताका रुपमा स्थापित गर्ने ।
दोस्रो, वाम गठबन्धनको वातावरण तयार गरि सबै वामको नेता बन्ने ।
राष्ट्रपतिलाई यति महत्वाकांक्षी सपना देखाउने काम भने भद्रगोल ढंगले हिडिरहेको नेपालको वाम राजनीतिले गरेको हो । वाम राजनीतिका अयोग्य खेलाडीहरूले गरेका हुन् । के पी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनालहरूले गरेका हुन् ।
वाम राजनीतिमा अहिले एकसेएक खेलाडी छन् । तर, ति खेलाडीहरूलाई संयोजन गर्न सक्ने क्याप्टेनको अभाव छ । विद्यादेवी भण्डारीले देखेको स्पष्ट ग्याप त्यहिनिँर हो । राष्ट्रप्रमुखका रुपमा दुई कार्यकाल विताईरहदा उनले वाम राजनीतिका खेलाडीहरूको नाडी राम्रोसँग छामेकी छन् । र, उनीहरूको कमजोरी कहाँनेर छ भन्नेमा उनलाई राम्रो हेक्का छ ।
वाम राजनीतिको गतिलो टिम बनाउन आफुबाहेक अरुले सक्दैन । र, आफुभन्दा योग्य क्याप्टेन अरु हुन सक्दैन भन्नेमा उनी निर्धक्क छिन् । वाम राजनीतिका खेलाडीहरू एकले अर्कोलाई देखि सहदैनन् बरू तेस्रो व्यक्तिलाई विकल्पका रुपमा नेता मान्न तयार हुनेछन् भन्ने उनले बुझेकी छन् ।
उनले के पी ओलीलाई नजिकबाट चिनेकी छिन् । प्रचण्डलाई नजिकबाट चिनेकी छिन् । राष्ट्र प्रमुखका हैसियतमा बार बार शितल निवास बोलाएर उनीहरूको मुटुको चाल गनेकी छिन् । उनीहरू एकले अर्कोलाई साथमा लिएर अबको वाम राजनीति सँगै हिड्नेछैन भन्ने उनलाई पक्का भएको छ ।
राजनीतिमा लगभग इरेलिभेन्ट जस्ता प्रतित हुने माधव कुमार नेपाल र झलनाथ खनालको जम्माजम्मी इन्टरेस्टलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने पनि उनले थाहा पाएकी छिन् ।
वाम राजनीतिका ‘हुति नभएका’ दोस्रो दर्जाका नेताहरूको उदेश्य जम्माजम्मी ‘राम्रो मन्त्रालय’ को एउटा मन्त्री पदमा पुगेर सकिन्छ भन्ने पनि उनले ठम्याएकी छिन् ।
यस बिषयमा विद्यालाई उत्तरी छिमेकी चिनियाँ कम्युनिष्ट पार्टी÷सरकारबाट पनि राम्रो सरसल्लाह मिलि नै रहेको बताईन्छ ।
राष्ट्रपति पदबाट अवकास लिनुअघि नै उनी नेकपा एमालेको आगामी नेतृत्व आफुबाहेक अरूले सम्हाल्न सक्दैनन् भन्ने स्थापित गर्न चाहान्छिन् । त्यसैले उनले नेपालको वाम राजनीतिमा सबैभन्दा विक्रि हुने वस्तु ‘राष्ट्रवाद’लाई आफ्नो अनुहारमा पोत्न तयार भएकी हुन् जुन २०७४ सालको आम निर्वाचन अगाडि के पी ओलीले पनि पोतेका थिए ।
सायद उनले यो दिक्षा भारतीय राजनीतिका सबैभन्दा चतुर खेलाडी प्रधानमन्त्री नरेन्द्र मोदीबाट लिएको हुनसक्छ किनभने उनले पनि आफ्नो राजनीतिकालागि ‘राष्ट्रबाद’ लाई साहारा बनाएका छन् ।
भारतमा जब आम निर्वाचनको तिथी नजिकिदै जान्छ, मोदीले आफ्ना राष्ट्रबादका नङ्ग्रा फैलाउछन् र सारा भारतीयहरूलाई उत्तेजित पार्नेगरि छिमेकी मुलुक पाकिस्तानमाथि हमला गर्छन् । भारतमा मोदी नहुने हो भने विशाल भारतलाई अरु नेताले जोगाउन सक्दैनन् भन्ने भ्रम जनताको नशनशमा भरेपछि भारतीय जनता मतदानका लागि लाईन लाग्छन् र मोदीको पक्षमा भोट खन्याईदिन्छन् । यता हाम्री राष्ट्रपतिले पनि उनले नजोगाउने हो भने सारा भारतीयले नेपाली नागरिकता लिनेछन् र नेपालको राष्ट्रियता नै समाप्त पार्नेछन् भन्ने सन्देश दिदै यहि कोटीको ‘राष्ट्रबाद’को साहारा लिएकी छन् ।
विद्यालाई एमालेको राजनीतिमा फेरी सक्रिय बनाउने वातावरण भने उनै ओलीले तयार पारिरहेका छन् भलै यो चाहनाचाँही उनको इच्छाअनुसार वा इच्छाविपरित जे पनि हुन सक्छ । अहिले भने यो रहस्यकै गर्भमा छ भन्नुपर्ने हुन्छ । कसमेकम आगामी मंसिरको आम निर्वाचनमा एमालेलाई यस मुद्धाले ठूलो भरथेग गर्नेछ भनेर विद्याले ओलीलाई कन्भिन्स गरेको देखिन्छ । त्यसैले ओलीको नेतृत्वमा एमाले पंक्ति राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु ठिक हो भनेर बचाउमा ओर्लिएको छ यद्यपी यो विधेयकको जननी उनै ओली हुन् र यिनै राष्ट्रपतिले यो विधेयकलाई अध्यादेशरुपमा जारी गरेकी थिईन् । उनी यसकारण बढि विवादमा मुछिएकी छन् कि हिजो ओली सरकारले ल्याएको यहि विधेयकलाई अध्यादेशका रुपमा जारी गर्न तयार हुनेले अहिले सार्वभौम संसदले दुई पटक पारित गरेर पठाउदा किन जारी गरिनन् ? त्यसैले देशप्रतिको चिन्ता उनको देखाउने दाँत मात्रै हो, उनको चाहना त ‘राष्ट्रबाद’लाई भजाएर आफ्नो राजनीतिक रोडम्यापको दुनो सोझयाउनु हो ।
एमालेको राजनीतिमा ओलीले आफुलाई ‘स्टालिन’को शैलीमा उभ्याएका छन् । एमालेका सम्पूर्ण कार्यकर्ताहरूले मदन भण्डारीद्वारा प्रतिपादित लोकतान्त्रिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ लाई आत्मसाथ गरिरहदा एमालेको नेतृत्वमा सोभियतकालिन अधिनायक शैलीका नेता के पी ओली छन् जसका अगाडि एमालेको दोस्रो, तेस्रो बरियताका नेताहरूले समेत ‘सास फेर्ने’ आट गर्दैनन् । उनीहरूको काम के पी ओलीबाट निर्देशन सुन्ने र दायाँवायाँ केही नगरी उनका आदेश तामेल गराउने मात्रै हो ।
सिद्धान्तमा लोकतान्त्रिक चरित्र बोकेका एमालेका नेता कार्यकर्ताका लागि ओलीको अधिनायकवाद जुनसुकैबेला विष्फोट हुन सक्छ । र, त्योबेला मदन भण्डारीको सबैभन्दा नजिकको लिगेसी बोकेको नेताले मात्रै एमालेको पंक्तिलाई सम्हाल्न सक्छ भन्ने निश्कर्षमा पनि विद्या पुगेको हुनसक्छ । शितल निवासका शान्तपूर्ण एकान्तहरूमा विद्याको चिन्तनको नतिजा यस्तो निस्किएको विश्वास राख्नेहरूको एमालेमा राम्रै जमात छ ।
यस बिषयमा प्रवेश गर्दैगर्दा एमालेको आन्तरिक राजनीतिको हालत कस्तो छ भन्नेमा पनि हामीले चर्चा गर्नुपर्छ ।
पक्कै पनि अहिले के पी ओली एमालेका निर्विकल्प नेता हुन् । उनीसँग आँखा जुधाएर हेर्न सक्ने अवस्थामा एमालेभित्र कोही छैनन् । बरू उनको ‘चाकरी’ कति धेरै गर्न सकिन्छ भन्नेमा एमालेको उच्च तहका नेताहरूवीच तिब्र प्रतिस्पर्धा छ ।
के पी ओलीले जे फर्मान गर्छन् एमालेको नीति त्यही हो । एमालेका शिर्ष तहका बैठकहरू ओलीका आदेश माईन्युट गर्नका लागि मात्रै बोलाइन्छन् । ओलीले इच्छा लागेसम्म वक्तव्य दिन्छन् र उनको वक्तव्य सकिएसँगै बैठक अन्त्य हुन्छ ।
ओली अध्यक्ष रहेकै समयमा उनकै नेतृत्वमा रहेको दुई तिहाईको सरकार ढल्यो । २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको कांग्रेसको नेतृत्वमा सरकार बन्यो । के पी ओलीले यसलाई आफ्नो असफलता कहिल्यै मानेनन् बरू विजयका रुपमा ब्याख्या गरे । एमालेमा एउटै यस्तो सत्य बोल्ने नेता निस्किएन जसले यो हाम्रो नेतृत्वको असफलता हो भनेर भन्न सकोस् ।
ओली अध्यक्ष रहेकै समयमा सातमध्येका पाँच प्रदेश सरकार उनकै पार्टीका थिए । उनकै कार्यकालमा ति सरकारहरू ढले । ओलीले यसलाई पनि आफ्नो दिग्विजय भनेर घोषणा गरे । एमालेजनले ताली बजाएर ओलीलाई आफ्नो ‘बा’ पदमा मुकरर ग¥यो ।
ओली अध्यक्ष रहेकै समयमा उनको पार्टी तीन टुक्रामा विभाजन भयो । ओलीले यसलाई ‘कुहिएका आँप झरे’ भनेर व्याख्या गरे । एमालेजनले ओलीको जयजयकार ग¥यो ।
२०७८ को स्थानीय चुनावमा एमालेले राम्रै हार व्यहो¥यो । एमालेले आफुले कति संँख्यामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष जित्यौँ भनेर हेरेन । कति भोट आयो भनेर कामरेड महासचिव शंकर पोखरेलको प्रतिवेदन आयो मानौँ कि पद नजिते पनि एमालेले पाएको भोट नै सत्ता हातमा हुनु सरह हो । के पी ओलीले यसलाई पनि आफ्नो विजयकै रूपमा ब्याख्या गरे । एमालेजनले हो हो भन्दै बा कै जित भयो भनिदियो ।
२०७९ मंसिर ४ गते आम निर्वाचन हुदैछ । एमालेले यो चुनावमा पनि हार व्यहोर्ने पक्का देखिन्छ । तर, के पी ओलीले त्यो परिणामलाई पनि आफ्नो विजयकै रूपमा व्याख्या गर्नेछन् । चुनाव हारेको निराशामा पनि एमालेजनहरूले टाउको निहुराएरै बा ले भनेपछि सहि हो भन्नेछन् ।
राष्ट्रपति भण्डारी एमालेभित्रको परिस्थिती सधै यहि रहनेछैन भन्नेमा विश्वस्त देखिन्छिन् । कम्युनिष्टहरूको चरित्र कस्तो हुन्छ भने उनीहरू सबै फोहोर कार्पेटमुनि लुकाएर पनि सतह सफा देखाईरहन्छन् । तर, जब उनीहरूको विमती शुरू हुन्छ, फोहोर घरभरी छर्छन् । फोहोरले नै नुहाउन थाल्छन् । २०५४ सालमा एमालेबाट माले विभाजन हुदा होस् वा २०७७ सालदेखि ओली प्रचण्डको विवाद होस्, उनीहरू सबै सिमा नाघेर एकअर्कालाई सिध्याउन लागेको इतिहास छ ।
हुनसक्छ, केपी ओलीकालागि आगामी आम निर्वाचन पार्टीभित्र अधिनायकवाद चलाउने अन्तिम घटना पनि बन्न सक्छ । विगतका सबै उपलब्धीहरू गुम्ने र आगामी पाँच बर्ष सत्ता पनि गुमाउनुको क्रोध जुनसुकै बेला छताछुल्ल पोखिन सक्छ । यो सम्भावना धेरै किन छ भने एमाले नेताहरूले एकपछि अर्को गरि सत्ता, शक्ति र सुविधा गुमाउदै गएका छन् र त्यसको कारण के पी ओली हुन् । जब कामरेडहरू यो सारमा पुग्नेछन्, आजका के पी बा उनीहरुका लागि घाँडो बन्न सक्छन् । राष्ट्रपतिले पार्टीभित्र आउन सक्ने यो स्थितीको आँकलन गरेर राजनीतिमा फर्किने मूड बनाएको हुन सक्ने देखिन्छ ।
त्यो बेला एमालेकालागि अध्यक्ष बन्न सक्ने नेताको खाँचो पर्नेछ । अहिले के पी ओलीको सदासयतामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव बनेका नेताहरूमध्ये कोही पनि अध्यक्ष पदकालागि साझा नेता बन्न सक्ने अवस्थामा छैनन् । उनीहरू एकले अर्कोलाई नेता मान्न सक्ने अवस्थामा पनि छैनन् । त्यतिखेर एमालेमा झनै ठूलो भाँडभैलोको अवस्था आउनसक्ने अवस्था छ ।
फेरी यी नेताहरुको कद कुनै न कुनै हिसाबले खुम्चिएको छ । वरिष्ठ उपाध्यक्ष रहेका इश्वर पोखरेलको सामाजिक छवि खराब छ भने पार्टीभित्र उनी अलोकप्रिय छन् । सुभास नेम्बाङ पार्टीको एउटा क्षेत्रमा जिम्मेवारी दिन लायक भए पनि समग्र पार्टीको नेता बन्न सक्ने हैसियत राख्दैनन् । विष्णु पौडेलको सामाजिक छवि उत्तिकै खराव छ । र, पार्टीको अध्यक्ष बन्न सक्ने गरि उनको व्यक्तित्व विकास भएको देखिदैन । उनी गुटको राजनीतिमा सबैभन्दा चाख राख्छन् । आवरणमा शालिन र अध्ययनशिल देखिने प्रदीप ज्ञवालीको छवि पनि पार्टी संगठन भित्र धेरै हदसम्म एक्सपोज भईसकेको छ । खासगरि मन्त्री हुदा आफ्ना वरिपरि एजेण्टहरु राख्ने र उनीहरूमार्फत् पैसा उठाउने तर सार्वजनिक रुपमा सदाचारी नेता बन्न खोज्ने उनको परम्परागत कार्यशैलीलाई कार्यकर्ताले समेत थाहा पाईसकेका छन् ।
पार्टी महासचिवका रुपमा जिम्मेवारी पाएका शंकर पोखरेलको बौद्धिक क्षमता कति कमजोर छ भन्ने उनी महासचिव नियुक्त भएपछि नै छताछुल्ल भएको छ । पार्टीभित्र बहुदलिय जनवादका व्याख्याताका रुपमा बनाइएको उनको छवि सामाजिक सञ्जालमा उनले लेख्ने स्टाटसहरूका कारण धेरै हदसम्म खुईलिएको देखिन्छ । तत्कालिन नेकपा र एमालेमा रहदा ओलीको भक्त बनेकै कारण महासचिव पद बक्सिस भएको भनेर उनलाई ओली निकटकै नेताहरुले उडाउदै आएका छन् ।
यो पृष्ठभुमिमा राष्ट्रपति विद्यादेवी भण्डारीले निकट भविष्यमा एमालेको अध्यक्ष बन्न आफ्नालागि अनुकुल रहेको विश्लेषण गरेको देखिन्छ । राष्ट्रप्रमुख भईसकेको व्यक्तिलाई पार्टी अध्यक्ष बनाउने मामिलामा पार्टीभित्रको समिकरणमा आफुलाई नै सहज हुने उनको निचोड निकालेको विश्वास राख्छन् एमालेका नेताहरु पनि ।
एमालेको अध्यक्ष हुदै वाम गठबन्धनको नेता बन्ने र देशको प्रधानमन्त्री बनेर नयाँ इतिहास रच्ने विद्याको आगामी राजनीतिको रोडम्याप हो । यो रोडम्यापको पहिलो पाईला भने नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेर रोकिदिनु हो । नेपालजस्ता गरिव देशमा सबैभन्दा धेरै विक्ने ‘राष्ट्रवाद’ उनको प्रमुख राजनीतिक हतियार हो ।
You may like

राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक रोडम्याप

अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा नेपाली जनताले किन विश्वास गर्दैनन् ?

के गर्दैछ दरबारको शक्तिशाली ‘भूमिगत गिरोह’ ?

कुत खाने प्रवृत्तिको मारमा घरजग्गा

निजी क्षेत्रको टाउकोमा झुण्डिएको तरवार

डाक्टरले मस्तिष्कको शल्यक्रिया गर्दा बिरामी आफैले बजाए मादल

अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने प्रधानमन्त्रीको ठोकुवा (भिडियो हेर्नुस्)

नेपालमै दैनिक ७० हजार मास्क उत्पादन (हेर्नुस् भिडियो)

वाह ! हब लुम्बिनी
