Connect with us

कभर स्टोरी

कोरोनालाई हामी जित्नेछौं, आउनोस् अर्थतन्त्रको चिन्ता गरौं

नेपालमा औपचारिक रूपमा नभित्रिदै नेपाली अर्थतन्त्रमा भने कोरोना छिरेर हाम्रो अर्थतन्त्रको छेउ–कुना काट्न शुरू गरिसकेको छ ।

जब विश्वका मानिसहरूकै जीवनको ठेगान छैन भने यो बेला अर्थतन्त्रको चिन्ता गर्नु के जरूरी छ ? निश्चिन्त हुनुस्– कोरोनाले तपाइलाई भित्रैदेखि हल्लाएको मात्रै हो, उखेलेर फ्याक्न सक्ने हिम्मत यो भाईरसँग छैन ।

जब कोरोना मानिसदेखि हारेर दुलाभित्र पस्नेछ, त्यो दिन पनि हाम्रा लागि यस्तै सुन्दर संसार चाहिनेछ । यत्तिकै सुविधा सम्पन्न संसार चाहिनेछ । कोरोना हारेको दिन यत्तिकै सुन्दर संसारमा रमाउन अहिले कोरोनाले सताईरहेका बेला पनि हामीले अर्थतन्त्रको बारेमा चिन्ता गरिरहनुपर्छ ।

महानुभाव निश्चिन्त हुनुस्– हारेर भाग्ने कोरोनाले नै हो । मान्छेले होइन । हुनसक्छ, कोरोनालाई हराउनुअघि हाम्रा केही प्रियजनहरूलाई ‘भगवानको आश्रम’मा पठाउनुपर्ने हुनसक्छ !

यो स्टोरी लेखिरहदा हामीले विश्वभरबाट १३ हजारभन्दा बढी प्रियजनलाई विदाई गरिसकेका छौं । तर, ७ अर्बको विश्व जनसंख्यासँग यो तथ्यांक भिडाउनु भयो भने हामीले विदाई गरेका प्रियजनको संख्या निकै नै कम हो । कोरोनाको मृत्यूदर पनि ४ प्रतिशत हाराहारी छ । अर्थात् कोरोना लागेका प्रत्येक १०० जनामा ४ जनाको मात्र मृत्यू भएको छ । बाँकी बिरामी निको भएर घर फर्किरहेका छन् । त्यसैले नआत्तिनुस् है, कोरोना लाग्ने वित्तिकै मरिहाल्ने होइन ।

त्यसैले आउनुस्– अर्थतन्त्रको बारेमा चिन्ता गरौं । समस्या त हाम्रा वरिपरि छरपस्ट पोखिएका छन्, सकिनेजति सम्हालौ । अहिले नै उठाउन नसकिने जतिलाई भविष्यमा सम्हाल्ने योजना बनाऔं । केही दुःख व्यहोर्न तयार बनौं । अँध्यारो रातपछिको विहानी त हाम्रो भागमा लेखेकै छ ।

‘दुःखमा नआत्तिनु । र, सुखमा नमात्तिनु ।’– हामीले सिकेर आएको यहि होइन र ?

हो, अहिले हामी दुःखमा फसेजस्तो महशुस गरिरहेका छौं । तर, दुःखमा फसि नै सकेका भने होइनौं । विश्वास गरौं– हाम्रो सचेतताले हामी यो विश्वव्यापी महामारीबाट जोगिनेछौं ।  विश्वबाट आइरहेका समाचारहरूले हामीलाई तर्साइरहेका छन् । तर, हामी बलियो बनेर सोच्ने बेला पनि यहि हो ।

नेपालमा औपचारिक रूपमा नभित्रिदै नेपाली अर्थतन्त्रमा भने कोरोना पसिसकेको छ । यो भाइरसले हाम्रो पर्यटन उद्योगलाई खल्र्लप्पै निलेको छ । समग्र अर्थतन्त्रको छेउ/कुना काट्न शुरू गरिसकेको छ । हाम्रो अर्थतन्त्रलाई यसले नराम्रोसँग हल्लाइदिने लक्षणहरू  प्रष्टै देखिइसकेका छन् ।

हामी आर्थिक संकटको डिलमा पुग्दैछौं । तर, यसको मतलब यो होइन कि हाम्रो अर्थतन्त्रमा नयाँ मुनाहरू पलाउने छैनन् । त्यो वसन्त आउनुअघि हामीले कठाङ्ग्रिने जाडो व्यहोर्न भने तयार रहनु परेको छ ।

कोरोनाको कहरले हाम्रा अन्तर्राष्ट्रिय पर्यटन बजारलाई संकटमा पुर्याइदिएका छन् । अन्नपूर्ण पदयात्रामा स्वर्गिय आनन्द लिने तयारीमा रहेका हाम्रा पाहुनाहरू घरभित्रै थुनिएका छन् ।

कोरोनाको डरले पसल बन्द गरेपछि सुनसान बनेको मल ।

होटल हायात्, सोल्टी, मेरियट, याक एण्ड यति वा द्वारिकाजका कौसीहरूबाट नेपाल नियाल्ने योजना बनाएका पाहुनाहरू उतै उतै थुनिएका छन् । परिणाम त हामी यि होटलहरू निश्चित समयका लागि बन्द गर्नुपर्ने हालतमा पुगेका छौं । भिजिट नेपाल २०२० को उत्साहमा जोखिम मोलेर होटल तथाा रिसोर्टमा गरिएको लगानी साँच्चिकै संकटमा परेको छ । लगानीकर्ताहरूको ओठ/तालु नै सुकेको छ ।

पर्यटन बजारको यहि चक्रमा चल्ने एयरलाईन्स, हेलिकोप्टर व्यवसाय त्यसैगरि मुर्झाएका छन् । २० लाख पर्यटकलाई यो बर्ष खुवाउन तयार पारिएको भान्सा पूराका पूर खेर गएको छ । त्यो तयारीका लागि नेपालको आतिथ्य सत्कार उद्योगलाई बैंकिङ सिस्टमले एक खर्बको ऋण सहयोग गरेको तथ्यांक छ ।

यसले सिधा देखाएको छ– पर्यटन उद्योग संकटमा धकेलिदा यसले नेपालको वित्तीय क्षेत्रलाई तानेर आफुसँगै लगेको छ । पर्यटन उद्योगमा भएको बैंकिङ लगानीलाई होसियारीपूर्वक व्यवस्थापन गर्न जानिएन भने निश्चित छ– यसले हाम्रा पर्यटकीय धरोहर होटल/रिसोर्ट, एयरलाईन्स, होलिकोप्टर कम्पनीहरूलाई मात्रै डुबाउने छैन हाम्रा बैंकहरू पनि ‘सति’ गएजस्तै हालतमा पुग्नेछन् ।

यसले अत्यासको एउटा खराब तस्विर अगाडि राखिदिए जस्तो भान परेको हुनुपर्छ । हो, हामी समस्यामा छौं । तर, हामीले मिलेर समस्यासँग जुध्ने कसम खायौं भने यसबाट पार पनि पाउने छौं ।

नआत्तिऔं । तर, चिन्तन मनन भने शुरू गरौं । निश्चित छ– बैंकले आफ्नो मुनाफा गत आर्थिक बर्षमा जस्तै सुरक्षित गरि बाँकी क्षेत्र जतासुकै जाओस् भनेर सोच्यो भने उ फेरी पनि ‘नइच्छाइएको सति’ जान बाध्य हुनेछ ।

२०७२ सालको भूकम्पले हल्लाएको हाम्रो अर्थतन्त्रमा मल्हम पट्टी लगाइदिने हाम्रा विदेशी मित्रहरू यसपटक हामीले नपाउन सक्छौं । किनभने हामीभन्दा अगाडि नै उनीहरूको अर्थतन्त्रको जग नराम्रोसँग हल्लिएको छ । उनीहरू आफै तंग्रिने कोशिसमा रहनेछन्, लामो समय । त्यसैले २०७२ सालको भूकम्पको समयमाभन्दा अहिले कोरोनाले निम्त्याएको संकट हाम्रा लागि धेरै गुणा भारी छ ।

पर्यटन क्षेत्र हुर्कदै गर्दा त्यसबाट मनग्गे फाईदा कमाएको वित्तीय क्षेत्रले अहिले संकटको समयमा पनि यस उद्योगलाई साथ दिन तयार भयो भने उसको जीत दीर्घकालका लागि सुनिश्चित छ ।

त्यसैले संकटलाई शान्तसँग व्यवस्थापन गर्ने तयारीमा जुटौं ।

एक हदसम्म नेपाली अर्थतन्त्र संकटमा पर्ने त निश्चित नै छ । अमेरिकी अर्थतन्त्रमा थप संकट नथपिए सन् २०२२ पछि मात्रै अहिलेको अवस्थामा फर्किन सम्भव हुनेछ भन्ने प्रक्षेपण भईसकेका छन् । युरोपको अर्थतन्त्रको अवस्था पनि यहि हो । र, हाम्रा हितैषी मित्र राष्ट्रहरूको अवस्था पनि यहि हो । अहिले उनीहरू हामीभन्दा धेरै गुणा दुखी छन् ।

२०७२ सालको भूकम्पले हल्लाएको हाम्रो अर्थतन्त्रमा मल्हम पट्टी लगाइदिने हाम्रा विदेशी मित्रहरू यसपटक हामीले नपाउन सक्छौं । किनभने हामीभन्दा अगाडि नै उनीहरूको अर्थतन्त्रको जग नराम्रोसँग हल्लिएको छ । उनीहरू आफै तंग्रिने कोशिसमा रहनेछन्, लामो समय । त्यसैले २०७२ सालको भूकम्पको समयमाभन्दा अहिले कोरोनाले निम्त्याएको संकट हाम्रा लागि धेरै गुणा भारी छ । त्यतिबेला हाम्रा दाताहरू हात हातमा सहयोगका थैली बोकेर आएका थिए । अहिले उनीहरू त्यो हालतमा छैनन् । हामीले वैदेशिक सहयोग अपेक्षा गरेजति नपाउन सक्छौं ।

हामी पैसासँग जोडिएर आउने सामाजिक समस्यासँग जुध्न पनि तयार भएर बसे हुन्छ । किनभने हाम्रा श्रम बजार खुम्चिएका छन् । मध्यपूर्व, मलेसिया लगायतका श्रम बजारलाई कोरोनाले सताएको छ । ती श्रम बजारलाई आफ्नै लयमा फर्किन कम्तिमा दुई बर्ष लाग्न सक्छ । प्रतिमहिना वैदेशिक रोजगारीका लागि बाहिरिने १५ सय हाराहारी नेपाली युवाको लर्को अब देशभित्रै थुनिनेछ । अर्कोतर्फ कोरोनाको प्रभावका कारण हाम्रो पर्यटन र औद्योगिक क्षेत्रबाट बाहिरिएको जनशक्तिको पुनःस्थापनामा पनि केही समय लाग्नेछ । एकैपटक हामी देशभित्र र देश बाहिरका रोजगारी गुमाउनु परेको हालतमा पुगेका छौं ।

कोरोनाको कहर सकिदा पनि हामी आन्तरिक रूपमा ह्वात्तै रोजगारी श्रृजना गर्नसक्ने हालतमा छैनौं । यसले एकातर्फ गरिवी बढाउन निकै ठूलो सहयोग पुर्याउनेछ भने अर्कोतर्फ सामाजिक द्वन्द्व बढाउन पनि उर्जाको काम गर्नेछ । सरकारप्रति युवाहरूले कठोर आलोचना बढाउनेछन् । वैधानिक वा अवैधानिक राजनीतिक गतिविधि बढाउन यसले ठूलो भूमिका निर्वाह गर्नेछ । समाज द्वन्द्वको मानसिकतामा पुगेको हुनेछ ।

यसको सिधा अर्को पाटो भनेको रेमिटयान्समा आधारित हाम्रो अर्थतन्त्रको संरचनामा पनि फेरबदल आउनेछ । हाम्रो अर्थतन्त्रको निकै दुःखदायी चक्र के हो भने रेमिटयान्सले आयात बृद्धि गर्छ । आयातले ब्यापार घाटा बृद्धि गर्छ । र, आयातमा आधारित ब्यापार घाटा चुलिदै गर्दा पनि त्यसले राजश्व वृद्धि गर्छ । राजश्व वृद्धि भएपछि सरकार सफल हुन्छ ! अन्ततः विदेशबाट आएको पैसा विदेशमै पुगेपछि मात्रै यो अर्थतन्त्रको चक्र पूरा हुन्छ ।

कर मन्त्रीका रूपमा ख्याती कमाएका हाम्रा अर्थमन्त्री डा. युवराज खतिवडाको निद्रा यसले पक्कै पनि हराम गरेको हुनुपर्छ । किनभने अर्थतन्त्रको अरू चक्र जताबाट घुमोस् उनलाई त्यति चासो छैन तर राजश्व वृद्धिको चक्र भने उकालो लागेकै हुनुपर्छ । आखिर सत्य के हो भने समग्र अर्थतन्त्रका धेरै पाटामध्ये राजश्व मात्रै यस्तो सत्य हो जो अर्थमन्त्रीको खातामा आएर जम्मा हुन्छ र उनले खल्तीबाट झिके सरह खर्च गर्न पाउछन् । अरू सबै तथ्यांक उनले पनि हेर्ने कागजमै मात्र हो !

कोरोनाका कारण पर्यटक नभएपछि बन्द भएको काठमाडौंको पाँचतारे होटल हायात ।

कोरोनाले शेयर बजारमा पहिरो गइरहेको छ । लगातार ओरालो लागिरहेको शेयर बजार अर्थमन्त्री खतिवडाकै टाउको दुखाईको विषय बनेको छ ।

तर कुनै समस्या त्यस्तो छैन जसलाई समाधान गर्न नसकियोस् । त्यसका लागि अर्थमन्त्रीले यो देशमा अर्थतन्त्र बुझ्ने र चलाउन जान्ने आफु मात्रै एक्लो व्यक्ति हुँ भन्ने अहमलाई यो अवधीको लागि मात्र भए पनि झिकेर कतै थन्काई दिनुहोला ।त्यसपछि अर्थतन्त्र सुधारका लागि खुला रूपमा गरिने समुद्र मन्थनले पक्कै पनि अमृत निकाल्न सम्भव हुनेछ ।

संकटमा परेको अर्थतन्त्रमा हरियाली ल्याउने एकमात्र विकल्प जतिसक्यो लगानी अभिवृद्धि गर्नु हो । रोजगारी सृजनाको विकल्प पनि यहि नै हो ।

फेरी दोहोर्याएर भनौं– मरूभूमिमा परिणत भएको अर्थतन्त्रमा हरियाली ल्याउने निजी लगानीले मात्रै हो । कोही भ्रममा नपर्नुहोला– सरकारको मात्रै लगानीले एक थोपा पानी पार्न सम्भव हुने छैन ।

त्यसैले अर्थतन्त्र सुधारको एजेण्डामा प्रवेश गरिरहदा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई उदारतापूर्वक स्वागत गर्न तयार भएका दिमागहरूको सख्त खाँचो पर्नेछ । निजी क्षेत्रप्रति संकुचित सोंच लिएका खोटी दिमागहरूले देशमा लगानी भित्रयाउन सक्दैनन भनेर फेरी परिक्षण गर्नु समयको वर्वादी मात्रै हो ।

कोरोनाबाट आक्रान्त भईरहदा पनि अहिलेको विश्वले लगानीकर्तालाई अनुनय गरिरहेको छ– कृपया मेरो देशमा लगानीका लागि आईदिनुस् । म तपाइलाई रेड कार्पेटमा स्वागत गर्न आतुर छु ।

पहिलो विश्वले लगानीकर्ताहरूलाई अफर गरिसक्यो– शूूूून्य ब्याजदरमा तपाइहरूले पुँजी पाउनुहुनेछ । लगानीका पूर्वाधारमा उनिहरू यसै पनि अब्बल छन् । श्रम अनुशासन कानूनले तोकेभन्दा अलिकति पनि फरक पर्दैन ।

त्यसो भए नेपालले के अफर गर्ने त ?

म ढुक्क छु वर्तमान अर्थमन्त्रीले शून्य ब्याजदरमा लगानीकर्तालाई पुँजी उपलब्ध गराउने बिषय कल्पना गर्न सक्दैनन् । लगानीकर्तालाई अत्यावश्यक भूमि उपलब्ध गराउने मामिलामा उनी उत्तिकै संकुचित छन् । श्रम अराजकता व्यवस्थापन गर्ने कुनै प्रतिवद्धता छैन । बरू यहि श्रम अराजकताले सरकार चलाउने हैसियत राख्छ । सरकारले नेपाली बजार व्यवस्थापनको हैसियत त राख्दैन भने उसले कसरी छिमेकी भारत र चिनका विशाल बजारहरू देखाएर लगानीकर्तालाई लोभ्याउने हैसियत राख्छ ?

तर हामी सुध्रिनुपर्छ । अर्थतन्त्रमा ठूलो स्केलको सुधार लागू गर्नुपर्छ । अन्यथा हामीले नेपाललाई गरिवहरूको वस्तीमा परिणत गर्नेछौं । अहिले करिब २० प्रतिशत गरिवीको रेखामुनीको संख्यालाई बृद्धि गरि ५० प्रतिशत पुर्याउने छौं ।

त्यसैले त भनेको, सरकार आफैले सोच्न सक्दैन भने सोच्न सक्नेहरूबीचमा गहन परामर्स गर । र, अर्थतन्त्र सुधारको ‘बोल्ड’ निर्णय लेउ । अन्यथा हामी निकै पछि पर्नेछौं ।

पहिलो विश्वले लगानीकर्तालाई शून्य प्रतिशत व्याजदरमा पुँजीको अफर गरिरहेका छन् । के हामी उनीहरूलाई लगानी विस्तारका लागि पुँजीगत समर्थन गर्ने अफर गर्न सक्दैनौं ? के हामी उनीहरूलाई टयाक्स रिमिसनको सुविधा दिन सक्दैनौं ? के हामीले अनुशासित श्रमको ग्यारेन्टी गर्न सक्दैनौं ? के हामी अलि फराकिलो भएर नेपालमा उत्पादन गरि भारत र चिनियाँ बजारमा निर्यात गर्ने लगानीकर्तालाई विशेष सुविधाका प्याकेज दिन सक्दैनौं ?

यदि नेपाली अर्थतन्त्रमा भाईब्रेसन ल्याउने हो भने हामी यि सबै कुरा गर्न तयार रहनुपर्छ ।

यदि यि कुराहरू हामीले अफर गर्न सक्दैनौं भने लगानीकर्ता किन नेपाल आउछन् ? के उनीहरू हाम्रा कोही आफन्त पर्छन् र ? विदेशी लगानीकर्ताको त कुरै छाडौं स्वदेशी लगानीकर्ता र गैर आवासीय नेपालीले समेत यो तहको वातावरण नपाउने हो भने अब नेपालमा लगानी गर्ने छैनन् ।

किनभने पुँजी त्यहाँ पुगेर रोकिन्छ जहाँ यसलाई रोक्ने सक्ने सामर्थ्य हुन्छ । जहाँ यसले सम्मान पाउछ ।
बाँकी सबै भावनात्मक कुरा मात्रै हुन् ।

पक्कै पनि अब हामी यो तहमा पुगेर सोच्न सक्ने छौं । र, कोरोनाले तह लगाएको हाम्रो अर्थतन्त्रलाई कैयौं गुणा माथि पुर्याएर नयाँ इतिहास रच्ने छौं ।

 

मा प्रकाशित

Trending

error: Content is protected !!