Connect with us

कभर स्टोरी

दरबार हाई स्कुल : भवन जस्तै भव्य होस् पढाई

दरबार हाई स्कुलको आलिसान भवनभित्र ज्ञान पनि भर्ने कि विना ज्ञानको भव्य संरचना मात्र प्रर्दशन गर्ने ?

रत्नपार्क क्रस गरेर जब तपाईं जमलतर्फ लाग्नुहुन्छ, रानीपोखरीको पश्चिम गोटतिर पुगेपछि तपाईंका पाईला टक्क अडिनेछन्– वाह ! कति राम्रो दरबार ।

यो कुनै राजा–महाराजाले शासन चलाएको दरबार होइन । यो त दरबार हाई स्कूलको आलिसान भव्य भवन हो । जसले राणा शासनको अन्त्यका लागि गौरवशाली इतिहास बोकेको छ । भवन नजिकै पुुग्दा दरबारमै पुुगेको अनुुभव हुन्छ ।

प्रजातन्त्रको स्थापनाका लागि चेतनाको दियो बालेको यो स्कूल त जनताको दरबार हो ।

आज पनि जनताकै छोराछोरीले नौमदी, चण्डी, भागवतका श्लोक घोक्ने घर हो ।

०७२ बैशाखको विनाशकारी भूकम्पले ढलेको भिक्टोरियन शैलीको १२८ वर्ष पुरानो भवन अहिले पुनः ठडिएको छ । नयाँ रूप र साजसज्जाले यो भवन अहिले चमचम चम्किएको छ । काठमाडौं शहरको पुरातत्विक महत्वलाई बोकेर उभिएको छ ।

भवनको बाहिरी भाग जस्ताको तस्तै बनाइएको छ । र, भित्री भागलाई समयअनुसार आधुनिकता दिने कोशिस गरिएको छ । पहिले तीन तला रहेकोमा अहिले एक तला थपेर चार तलाको बनाइएको छ ।

भूकम्पअघि यो भवन कलात्मक भए पनि जीर्ण अवस्थामा थियो । फोहोर थियो । र, स्याहार नपाएका बृद्धहरूको हालतमा बाँचेको थियो । रानीपोखरीको बाटो हिँड्नेको नजरमा पर्दैनथ्यो ।

भूकम्पले ध्वस्त भएपछि पुनर्जिवन पाएको दरबार हाई स्कुलको अहिले शहरभरी चर्चा छ । यहि भवनको अगाडि सेल्फी खिचेर सोसल मिडियामा पोष्ट गर्ने होड चलेजस्तो देखिन्छ ।

दरबार हाई स्कूलको पुननिर्माणमा कुनै सम्झौता गरिएको छैन । काठमाडौं शहरमा पाँचतारे होटल बनाउदा लाग्ने खर्चभन्दा पनि धेरै रकम यो भवन ठड्याउन लागि खर्च गरिएको छ । ५२ कोठाको भवन बनाउन ८५ करोड रुपैयाँ खर्च भएको छ । अर्थात् एउटा कोठा बनाउन औषतमा १ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । जबकी पाँचतारे लक्जरी होटलकै एउटा कोठा करीव १ करोड रुपैयाँमा तयार हुन्छ ।

चीनको सांघाई कन्स्ट्रक्स्न कम्पनीले यो स्कूलको पुननिर्माण गरेको हो । भवन हस्तान्तरणको संघारमा छ ।

यति महँगो स्कूलमा पढ्ने विद्यार्थीहरू पक्कै पनि शाह, राणा खान्दान, शहरका धनिमानी वा नवधनाढयका छोराछोरी होलान् ? अहँ तपाईंको अनुमान मिलेन । यो स्कूलमा पढ्ने विद्यार्थी त ‘सर्वहारा’का छोराछोरी हुन् ।

नवनिर्मित दरबार हाई स्कुलको भवन

भूकम्पअघि दरबार हाई स्कुलको पुरानो भवन ।

तपाईं झुक्किनुहोला नि, हिजोका कम्युनिष्ट सर्वहारा जो अहिले नवधनाढय बनेका छन् उनीहरूका छोराछोरी भनेर । अहँ होइन, शहरका खाट्टी गरिवका छोराछोरी पढ्ने स्कूल हो यो ।

यो देशको पहिलो स्कूल हो जहाँ देशका मुर्धन्य व्यक्तित्वहरू जन्मिए ।

समय क्रममा यो भताभुङ्ग हुँदै गयो । स्थापना कालको भव्य दरबार भूकम्पअघि नै खण्डहरमा परिणत भयो ।

सरकारी स्कुुल । संस्कृत स्कुुल । ठूलाबडाका लागि रूचिको बिषय रहेन ।

यो स्कूलको संरचना मात्र होइन, यसको आत्मा (पठन पाठन) पनि खण्डहरमा परिणत भयो ।

अहिले सवाल निकै नै गम्भिर छ– खण्डहर बनेको दरबार स्कूलको भव्य पाँचतारे दरबार त तयार भयो । तर, यसको आत्मा नि ? यसको मुटु नि ?

यो भव्य भवनभित्र उहि पुरानो आत्मा अर्थात् धराशायी बनेको शैक्षिक गुणस्तरलाई निरन्तरता दिने हो भने माफ गर्नुहोला यो स्कूल बन्द गरिदिए हुन्छ । यो स्कूल बन्द हुँदैमा यसको इतिहास मर्दैन । बरू यहाँ लक्जरी बुटिक होटल चलाए हुन्छ ।

 

सून्दर शरिरमा त्यतिकै बलियो मुटु भएन भने त्यो शरिर जति सुन्दर भए पनि जीवित रहन सक्दैन । त्यस्तै दरबार स्कूलको संरचना जति नै भव्य भए पनि यदि त्यहाँ उच्च गुणस्तरको शिक्षा दिन सकिएन भने यो स्कूलको पनि अस्तित्व रहने छैन ।

 

तर, स्कूल चल्नुपर्छ । भवन जति भव्य छ, शिक्षाको गुणस्तर पनि त्यतिकै भव्य बनाउनुपर्छ । शरिर जति सून्दर छ आत्मा पनि त्यत्तिकै सून्दर बनाउनुपर्छ । भवन जति बलियो छ यसको मुटु पनि त्यत्तिकै बलियो बनाउनुपर्छ । अर्थात् यो स्कूललाई देशकै उच्च गुणस्तरको शिक्षा दिने सरकारी स्कूलमा परिणत गर्नुपर्छ । देशकै नमूना स्कूलमा परिणत गर्नुपर्छ ।

भव्य शरिरमा त्यतिकै बलियो मुटु भएन भने त्यो शरिर जति भव्य भए पनि जीवीत रहन सक्दैन । दरबार स्कूलको संरचना जति नै भव्य भए पनि यदि त्यहाँ उच्च गुणस्तरको शिक्षा दिन सकिएन भने यो स्कूलको अस्तित्व पनि रहनेछैन ।

नयाँ शैक्षिक सत्रबाट नयाँ भवनमै पढाई हुँदैछ ।

नयाँ भवनभित्र पस्नुअघि यो स्कूललाई नमूना स्कूल बनाउने योजना तयार गरौं । योजना कार्यान्वयन प्रणाली तयार गरौं । आगामी शैक्षिक सत्रलाई पहिलो बर्ष मानेर शैक्षिक गुणस्तरमा फड्को मार्ने रणनीति कार्यान्वयनमा ल्याऔं ।

भवन भत्किनुअघिको उहि सोँच, उहि शिक्षक र उहि विद्यार्थी मात्रै लिएर नयाँ भवनमा प्रवेश ग¥यौं भने यो देशकै शैक्षिक गतिका लागि समवेदना दिए सरह हुनेछ !

भूकम्पले भवन भत्किएपछि दरबार स्कुलका विद्यार्थी बाल्मिकी कलेजको खाली ठाउँमा बनाइएका अस्थाई टहरामा सारिएका छन् ।

चिनियाँ कम्पनीले छिट्टै भवन विद्यालयलाई हस्तान्तरण गर्दैछ । बैशाखपछि नयाँ भवनमै पठन पाठन हुने दरबार हाई स्कुलका निमित्त प्रधानाध्यापक अखिलेश प्रसाद आजाद बताउँछन् ।

नयाँ भवनमा व्यवस्थित पुुस्तकालय, सभाहल, स्टाफ हल, लेखा तथा प्रशासन कक्ष, ल्याब, कम्प्यूटर कक्ष, क्यान्टिन, खानेपानी, शौचालय लगायत सुविधाहरु हुनेछन् ।

बरिष्ठ पत्रकार प्रतिक प्रधानले ट्वीटरमा नयाँ भवनको फोटो सेयर गरेर लेखेका छन्, ‘यो शिक्षाको मन्दिरमा पढ्नेले राम्रो र नतिजामुखी काम गर्न उत्प्रेरण प्राप्त गरुन ।’

अरु थुप्रै शुुभचिन्तकले सामाजिक सञ्जालमा लेखेको देखिन्छ, सरकारले शिक्षामा सुधार गर्ने भनेको छ, सुरुवात दरबार हाई स्कुलबाट गरे हुन्थ्यो । दरबार हाई स्कुलमा ‘भवन जस्तो शिक्षा पनि त्यस्तै’ होस् । शिक्षाविद्हरुले पनि दरबार हाई स्कुल सुधारका लागि कुनै कसर बाँकी राख्न नहुने बताइरहेका छन् । दरबार हाई स्कुललाई नमुुना स्कुल बनाउन सकेमा अरु सरकारी स्कुल सुधार गर्नका लागि आधार तयार हुने उनीहरुको तर्क छ ।

योजनाविद् डा. स्वर्णिम वाग्ले अब बुढानिलकण्ठ वा पोखराको गण्डकी बोर्डिन स्कुलजस्तो मोडलमा पनि जान सकिने बताउँछन् ।

दरबार हाई स्कुलको एउटै भवनमा दुईवटा स्कुल सञ्चालन हुँदै आइरहेका छन्, भानु मावि र संस्कृत मावि । भूकम्पअघि माथिल्लो तलामा नेपाली पढाई हुन्थ्यो, तल्लो तलामा संस्कृत विषय । नेपाली माध्यममा नर्सरीदेखि १० कक्षासम्म पढाई हुन्छ । संस्कृततर्फ ५ देखि १२ कक्षासम्म पढाई हुँदै आइरहेको छ ।

नयाँ भवनमा पनि दुबै स्कुल हुनेछन् । निमित्त प्रधानाध्यापक आजादका अनुसार माथिल्ला साढे दुुई तलामा नेपाली पढाई हुनेछ भने तत्ला साढे एक तलामा संस्कृत विषय पढाई हुुने छ ।

अहिले दरबार हाई स्कुलको पढाई औपचारिकता मात्रको छ । काठमाडौं भ्यालीका अरु सरकारी स्कुलको दाँजोमा पनि दरबार हाई स्कुलको पढाई धेरै कमजोर छ । पुरानो विरासत बोकेको दरबार हाई स्कुल सबैले भुलिसकेका थिए । नयाँ भवन बनेपछि बल्ल फेरी चर्चा चुलिएको हो ।

कुनै समय सम्भ्रान्त राणाजीका सन्तानले मात्र पढ्ने स्कुलमा अहिले ‘सर्वहारा वर्ग’का छोराछोरीले मात्र पढ्छन् । दरबार हाई स्कुलबाट २००६ सालमा एसएलसी दिएका शंकरनाथ मैनाली सम्झन्छन्, ‘हामीले पढ्ने बेला दरबार हाई स्कुल सबैको रोजाईमा पथ्र्यो । अंग्रेजी माध्यममा पढाई हुने स्कुलमा कलेजका प्रोफेसरजस्ता शिक्षक थिए । सिट संख्या कम हुनाले दरबार स्कुल पढ्ने सबैको रहर पुरा हुँदैनथ्यो ।’

नेपालमा शिक्षाको जग बसाल्ने दरबार हाई स्कुल अहिले कसैको पनि रोजाईमा पर्दैन । विद्यार्थी संख्या पनि घटिरहेको छ । अहिले संस्कृत र नेपालीमा गरेर करीव तीन सय विद्यार्थी अध्ययनरत छन् । जबकी पुरानो भवनमै एक हजारभन्दा बढी विद्यार्थी अटाउँथे । नयाँ भवनमा करीव १६ सय विद्यार्थी अटाउने अनुमान छ । एउटा कोठामा ४० जना विद्यार्थी बसेर पढ्न मिल्छ ।

कुनै समय सर्वसाधारण नागरिकको पहुँचभन्दा बाहिर रहेको मुलुककै शिक्षा क्षेत्रको पायोनियर दरबार हाई स्कुलमा किन वर्षेनी विद्यार्थीको संख्या घट्दै गइरहेको छ ? कुनै समय सम्भ्रान्त वर्गका सन्तानले मात्र पढ्ने दरबार हाई स्कुल अहिले किन सर्वहारा वर्गका विद्यार्थीले मात्र पढ्ने स्कुल बन्यो ?

भिडियो हेर्नुहोस्

निमित्त प्रधानाध्यापक अखिलेस भन्छन्, ‘यहाँ यस्ता विद्यार्थीहरु पढ्न आइरहेका छन् जसका अविभावक छोराछोरीको पढाइप्रति कुनै मतलव राख्दैनन्, उनीहरु दैनिक रोजीरोटीका लागि संघर्ष गरिरहेका हुन्छन् ।’ यसैले पढ्दा पढ्दै बिचमा छाड्ने विद्यार्थी पनि उत्तिकै हुन्छन् ।

भानुु मावि र संस्कृत माविमा गरेर ३५ शिक्षक छन् ।

सुरुवाती समयमा अंग्रेजी माध्यमबाट पढाई हुने स्कुलमा अहिले नेपाली माध्यममा पढाई हुन्छ । अहिले नर्सरीदेखि ४ कक्षासम्म मात्र अंग्रेजी माध्यममा पढाई हुन्छ । कुनै समय यो स्कुलमा मास्टर्स गरेका ब्रिलियन्ट शिक्षक पढाउँथे । स्कुलमा पढाउनकै लागि भनेर विदेशबाट शिक्षक झिकाइन्थ्यो । तर अहिले दरबार हाई स्कुलमा काजमा सरुवा भएर आएका शिक्षकको बाहुल्यता छ । जसले गरीव विद्यार्थीको पढाई त्यति मतलब पनि राख्दैनन् ।

नयाँ चमचम चम्किने भवनमा सर्ने वित्तिकै विद्यार्थीको संख्या बढ्ला त भन्ने प्रश्नमा अखिलेस आजाद भन्छन्, सरकारी स्कुललाई हेर्ने नजर परिवर्तन नहुँदासम्म विद्यार्थीको संख्या बढ्नेमा विश्वस्त हुन सकिन्न । भवनले मात्र विद्यार्थी तान्न कठिन हुन्छ ।

विदेशतिर सरकारी स्कुल तथा कलेजमा विद्यार्थी खचखच हुन्छन् । निजी भन्दा सरकारी स्कुलको लोकप्रियता बढी हुन्छ । सरकारीमा पढ्न नाम निकाल्नु पर्छ । तर नेपालमा सरकारी स्कुल भन्ने वित्तिकै नाक खुम्चाइन्छ । सरकारी स्कुलमा पढाई राम्रो हुँदैन भन्ने मानसिकता छ । अविभावकले सकिनसकी छोराछोरीलाई निजी स्कुलमा चर्को शुल्क तिरेर पढाउने चलन छ ।

नेपालमा जसरी निजी स्कुलमा पढाउने सपना देखिन्छ, त्यसरी नै विदेशमा सरकारी स्कुलमा पढाउने सपना देख्ने गर्छन् ।

नेपालका सरकारी स्कुललाई पनि सबैको आकर्षण बनाउन सकिदैन त ? लिटिल एञ्जल स्कुलका प्रिन्सिपल उमेश श्रेष्ठ यस स्कूललाई देशकै उत्कृष्ट सरकारी स्कूलमा परिणत गर्न सकिनेमा विश्वस्त छन् । सफल स्कूल व्यवस्थापनमा नाम कमाएका श्रेष्ठले आफुलाई ‘फुल अथोरिटी’ दिईए दरबार स्कूललाई नमूना स्कूलमा परिणत गरेर देखाउन तयार रहेको बताए ।

‘गौवरपूर्ण इतिहास र भव्य भौतिक संरचना छ । यहाँ परफमेन्सलाई केन्द्रमा राख्ने जनशक्तिलाई भित्रयाउनु आवस्यक छ जसले यो स्कूलको सुधारलाई आफ्नो करियरसँग जोडेर अगाडि बढोस्’, श्रेष्ठ भन्छन्– ‘एकजना दक्ष प्रिन्सिपलले मात्रै पनि सुधारमा ठूलो योगदान गर्न सक्छन् । मेरो स्पष्ट सोंच छ– केही बर्षमै यो स्कूललाई नमूना बनाउन सम्भव छ । तर, शर्त एउटा मात्रै छ– मेरो काममा हस्तक्षेप हुनु भएन । राजनीति गरिनु भएन ।’

दरबार हाई स्कुल सुरु हुँदादेखि अहिलेसम्मका हेडमास्टर ।

अहिले पनि सरकारले चलाइरहेका बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठ स्कुलकै भगिनी स्कुल पोखराको गण्डकी बोर्डिङ स्कुल, बुटवलको कालिका स्कुल, पोखराको अमरसिंह स्कुल लगायतमा राम्रो पढाई हुन्छ । र, रिजल्ट पनि निकै राम्रो छ । बुढानिलकण्ठ स्कुलमा पढ्नका लागि देशभरका विद्यार्थीबीच चर्को प्रतिस्पर्धा नै हुन्छ । सम्भ्रान्त वर्गले दुबै स्कुलमा छोराछोरी पढाउन सोर्सफोर्स नै लगाउँछन् ।

नेपालको ऐतिहासिक दरबार हाई स्कुललाई पनि बुढानिलकण्ठ मोडलमा सञ्चालन गरेर सबैको आकर्षक शिक्षालय बनाउन सकिन्छ । विवेकशील नेपाली दलका अध्यक्ष एवं लेखक मिलन पाण्डे भन्छन्, ‘अब दरबार हाई स्कुलमा यस्तो वातावरण बनाउनु पर्यो कि विद्यार्थीले आफ्नो क्रियटिभिटी उजागार गर्न सकुन् ।’ दरबार हाई स्कुलमा विद्यार्थी कम भएको बेलामा हेडमास्टर र व्यवस्थापन समितिले चाहेमा शिक्षामा तत्काल सुधार गर्न सक्ने उनको तर्क छ ।

बुटवलको कालिका माविका प्रधानाध्यापक घनश्याम पाठक भन्छन्, सबैभन्दा पहिला निःशुल्क शिक्षाको संवैधानिक प्रावधान खारेज गरेर शिक्षालाई रोजगारमुखी बनाउनुु पर्ने आवश्यक छ । दरबार हाई स्कुलमा पनि राम्रो व्यवस्थापन, दक्ष टिचरहरु राखेर पढाई गुुणस्तरीय बनाउन सकिन्छ । गुुणस्तरीय शिक्षाका लागि विद्यार्थीले पनि निश्चित रकम तिर्नुुपर्छ । पैसा तिर्नु परेपछि अविभावक पनि जिम्मेवार बन्छन् ।

अहिले माध्यमिक तहसम्मको शिक्षा स्थानिय सरकार मातहतमा आएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले एउटै पनि राम्रो काम गर्न नसकिरहेको गुनासो आइरहेको छ । के उनले दरबार हाई स्कुललाई नमुुना स्कुल बनाएर आफ्नो बिग्रिएको छबी सुधार गर्न सक्दैनन् ?

महानगरले चाहेमा दरबार हाई स्कुलको जति भव्य भवन बनेको छ, त्यति नै गुणस्तरीय शिक्षालय बनाउन सकिने उमेश श्रेष्ठ बताउँछन् । तर अहिलेकै शैलीमा दरबार स्कुललाई उत्कृष्त शिक्षालय बनाउन नसकिने उनी ठोकुवा गर्दै भन्छन्– पठन पाठन गुुणस्तरीय बनाउन ग्राउन्ड लेवलदेखि नै सुधारको जरूरी छ ।

श्रेष्ठले थोरै विद्यार्थीबाट सुरु गरेको लिटिल एन्जल्स स्कुल अहिले देशकै ठूलो स्कुल बनेको छ । उनको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी स्कुल कलेजहरु सञ्चालनमा छन् । त्यो नेटवर्कभित्र २०÷२५ हजार विद्यार्थी अध्ययनरत छन् । ग्राउन्ड लेवलबाट प्रवेश गरेर शिक्षा क्षेत्रकै अग्रणी बनेका श्रेष्ठले नेपालका सरकारी स्कुलहरुको सुधारमा निजी क्षेत्रले बिना कुनै लाभ योगदान गर्नुपर्ने बताउँछन् ।

श्रेष्ठका अनुसार, कुनै समय ७० जना हाराहारी विद्यार्थी रहेको ल्याब स्कुल (सार्वजनिक गुठीको स्कुल)मा अहिले २३ सय विद्यार्थी पढ्छन् । व्यवस्थापन समितिमा फुल अथोरिटी भएको अध्यक्ष, योग्य हेडमास्टर र शिक्षक भएमा सरकारी स्कुल सुधार गर्न नसकिने होइन । ल्याब स्कुल सुधार गर्न उनकै योगदान छ ।

स्कुलमा सक्षम हेडमास्टर राख्नुपर्छ । स्थाई भन्दा राम्रो तलब दिएर करारमा हेडमास्टर ल्याउँदा बढी प्रभावकारी हुने श्रेष्ठ बताउँछन् । करारमा राखेको हेडमास्टरले राम्रो काम गर्न नसकेमा हटाउन पनि सकिन्छ ।

श्रेष्ठ भन्छन्, ‘स्कुलले चाहेको खण्डमा हामी निजी क्षेत्रले नै योग्य र अनुभवी हेडमास्टर दिन तयार छौं ।’ दरबार हाई स्कुललाई नर्सरीदेखि नै सुधार गर्नुपर्छ । एउटै भवनमा दुईवटा स्कुल चलाउन हुँदैन, दुई स्कुल मर्ज गरेर एउटै बनाउन पर्छ । विद्यार्थीलाई अंग्रेजी र संस्कृत माध्यम छानेर पढ्ने अवसर दिँदा हुन्छ । संस्कृत पढ्न खोज्नेले संस्कृत पढ्छन्, अंग्रेजी पढ्न खोज्नेले अंग्रेजी । टिचर पनि अंग्रेजी र नेपाली दुबै माध्यममा पढाउन सक्ने योग्य राख्नुपर्छ । पढाउन नसक्ने पुराना शिक्षकलाई विदा गरिदिनु पर्छ ।

शिक्षाविद् प्रा. डा. बिनय कुसियत शिक्षालाई रोजगारउन्मुख र व्यवहारिक बनाउनुपर्नेमा जोड दिन्छन् । सरकारी स्कुल क्षेत्रकै नमुना बनाउका लागि दरबार हाई स्कुलबाटै रिजल्ट ओरिन्टेड शिक्षामा जोड दिनुपर्ने देखिन्छ ।

विदेशी मुलुकमा १०० वर्ष पुरानो स्कुल भन्ने वित्तिकै त्यसको ठूलो इज्यत, सम्मान र प्रतिष्ठा हुन्छ । दरबार हाई स्कुलको इतिहास १६६ वर्ष पुरानो छ । यो स्कुलाई सुधार गरेर मुलुककै शिक्षा क्षेत्रको इज्यत र प्रतिस्ठा बनाउनु पर्छ ।

दर्बिलो इतिहास

तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्किएपछि १९१० असोज २७ गते थापाथली दरबारमा स्कुल खोले । दाखचोकको भुइँ तलामा खोलिएको विद्यालयमा रााणाका सन्तानमात्र पढ्न पाउँथे । दरबारभित्र खोलिएकाले ‘दरबार स्कुल’ भन्न थालिएको हो ।

प्रकृति अधिकारीले आफ्नो पुस्तक एसएलसीको इतिहासमा लेखेका छन्, स्कुलमा इस्ट इन्डिया कम्पनीले दुई शिक्षकको व्यवस्था गरिदियो । विद्यालय सञ्चालन तथा सुपरिवेक्षणको जिम्मा मिस्टर रोसले पाए । मिस्टर केन्निङ हेडमास्टर बने । उनी नै दरबार हाई स्कुलको पहिलो हेडमास्टर हुन् ।

विदेशी शिक्षक हुनाले सुरुदेखि नै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । अंग्रेजी शिक्षकबाट पढ्ने अवसर पाएको हुनाले बबरजङ, पद्यमजङ लगायत राणाहरू अंग्रेजी भाषा बोल्न सक्ने भएका थिए ।

त्यतिबेला दरबार स्कुलमा मिस्टर जेम्स स्केनर, वंशीधर गोसाई, हराधुम घोष, रामचन्द्र घोष, मौलवी मुसाफिर ख्वाजा अहमद लगायतले पढाउँथे । त्यसताका फारषी भाषा पनि पढाई हुन्थ्यो ।

दरवार स्कुलको स्थापनापछि काठमाडौं उपत्यकामा अंग्रेजी शिक्षाप्रतिको आकर्षण बढेको पाइन्छ । सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक त्यसबखतको नेपालमा लेखेका छन्, ‘१९८० सालसम्म पनि काठमाडौंमा अंग्रेजीको पढाई राणाजी, गुरु पुरोहित, भाई भारदार, हुने खानेका परिवार र केही साहु महाजनमा मात्र सिमित थियो । धनीहरुले आफ्नो छोरा नातीको सुरु कक्षाको पढाई प्रायः घरमै मास्टर राखेर प्रारम्भ गराउँथे ।’

रणोद्दिप प्रधानमन्त्री बनेपछि दरबार स्कुललाई थापाथली दरबारबाट बाहिर ल्याए । र, राणा परिवार बाहेकका छोराछोरीलाई पनि पढ्ने अवसर दिए ।

वेवमा आधारित स्वतन्त्र विश्वकोषका अनुसार, वीर शमशेरले १९४८ सालमा रानीपोखरीको पश्चिमतर्फ भव्य दरबार निर्माण गरि माथिल्लो तलामा दरबार हाई स्कुल र तल्लो तलामा संस्कृत पाठशालालाई सारे । दरबारियाका पुरेतहरुलाई पढाउन संस्कृत स्कुल खोलिएको थियो ।

दरबारबाट बाहिर ल्याएर सारिएपछि मात्र विद्यालयमा सबैको पहुँच पुग्यो । तिनताका सर्वसाधारणसँग बसेर पढ्नु परेकोले राणाका छोराछोरी स्कुल आउन छोडे । घरमै शिक्षक राखेर पढ्न थाले । सुरुका समयमा दरबार हाई स्कुलमा पढेका विद्यार्थीले इन्ट्रान्स (१० कक्षा) परिक्षा उर्तिणको प्रमाणपत्र पाउँदैनथे । औपचारिक प्रमाणपत्र लिन कोलकाता विश्वविद्यालय जानुपथ्र्यो ।

१९३६ सालमा दरबार हाई स्कुल र कोलकाता विश्वविद्यालयबीच सम्बन्ध गाँसिएको थियो । त्यहाँ पढ्ने विद्यार्थीले सुरुमा १० कक्षाको परीक्षा कोलकाता गएर दिन्थे । पछि पटना विश्वविद्यालयमा सारियो । १९८० सालतिर तत्कालिन प्रिन्सिपल रुद्रराज पाण्डेले काठमाडौंमै पटना विश्वविद्यालयको परिक्षा केन्द्र राख्न सफल पहल गरे ।

एसएलसीको इतिहास पुस्तकमा लेखिएको छ, धीरशमशेरका छैटौं छोरा चन्द्र शमशेरले राणा परिवारमा सबैभन्दा पहिला कक्षा १० को परीक्षा उर्तिण गरेको र उनी नै कोलकाता विश्वविद्यालयबाट प्रवेशिका उर्तिण हुने पहिलो नोपली भनेर १९८३ सालमा गोरखापत्रले लेखेको छ । उनी १९३९÷४० सालमा प्रवेशिका पास गरेका थिए । उनी दरबार हाई स्कुलमा अध्ययन गरेर कोलकाता गएर प्रवेशिका परीक्षा दिएका हुन् ।

नेपाली विद्यार्थीले कोलकाता विश्वविद्यालयमा अंग्रेजी भाषामा नै परीक्षा दिनुपथ्र्यो । दरबार स्कुलमा पनि अंग्रेजी माध्यमबाटै पढाई हुन्थ्यो । घरमा शिक्षा राखेर पढाउने राणाले पनि अंग्रेजी भाषामै पढाउँथे ।

१९५८ सालबाट गोरखापत्र प्रकाशित हुन थाल्यो । गोरखापत्रले १९६६ सालमा प्रकाशित गरेको समचारमा दरबार स्कुलबाट प्रवेशिका परिक्षामा ७ जना विद्यार्थी सहभागी भएकोमा ६ जना पास भएको उल्लेख छ ।

१९९० सालदेखि नेपालको शिक्षा विभागले एसएलसी दिने व्यवस्था गर्यो । १९९१ सालसम्म कोलकाता, पटना र काठमाडौंबाट एसएलसी परीक्षा दिने दरबार हाई स्कुलका विद्यार्थी मात्र हुन्थे ।

१९९२ सालदेखि पाटन हाई स्कुलका विद्यार्थी पनि एसएलसीमा सहभागी हुन थाले । त्यो वर्ष प्राइभेट (स्कुलमा नपढी घरमै टिचर राखेर पढ्नेहरु)ले पनि एसएलसी दिएको देखिन्छ । त्यसअघि नै सर्वसाधारणमा दरबार हाई स्कुललाई ओपन गरेपछि राणा तथा भारद्धारका छोराछोरीले घरमै टिचर राखेर पढ्न थालिसकेका थिए । तर, एसएलसी दिनका लागि दरबार हाई स्कुलबाटै सिफारिस हुनुपथ्र्यो ।

विस्तारै जुद्ध पब्लिक स्कुल ठमेल, जुद्ध हाई स्कुल विराटनगर, पद्य हाई स्कुल भक्तपुर, पद्योदय स्कुल लगायत खुल्दै गए । तर पनि २०१५ सालसम्म एसएलसी परीक्षामा सहभागी हुनेमा दरबार हाई स्कुलको विद्यार्थी धेरै हुन्थे ।

२०१६ सालपछि मुलुकभर विस्तारै स्कुल खुल्न थाले । देशैभर स्कुल खुल्न थालेपछि शिक्षामा पनि सर्वसाधारणको पुहँच बढ्दै गयो ।

नयाँ शिक्षा लागू नुहुँदासम्म दरबार हाई स्कुलको पठनपाठन राम्रो थियो । जब नयाँ शिक्षा प्रणाली लागू भयो, अंग्रेजी माध्यम हटाएर नेपाली माध्यमबाट पढाउन थालिएको निमित्त प्रध्यानाध्यापक आजाद बताउँछन् ।

०४६ को परिवर्तनपछि आर्थिक उदारीकरणको नीति अंगालियो । मुलुकमा निजी बर्डिङ स्कुलहरु खुल्न थाले । बोर्डिङ स्कुलले अंग्रेजी माध्यमबाट पढाउन थाले । बोर्डिङ स्कुल चम्किदै जाँदा इतिहास बोकेको दरबार हाई स्कुलको चार्मिङ घट्न थाल्यो । सुरुवाती दिनदेखि अंग्रेजी माध्यमबाट पढाई हुने दरबार हाई स्कुलमा अहिले ४ कक्षासम्म मात्र अंग्रेजी माध्यमबाट पढाई हुन्छ । पछिल्लो दुई दशकमा दरबार हाई स्कुल राजनीतिक हस्तक्षेपको सिकार पनि बन्यो ।

शिक्षाविद् प्रा. डा. जयराज अवस्थी शैक्षिक संस्थाहरुलाई राजनीतिमुक्त बनाउनुपर्ने तर्क राख्छन् । राजनीतिको चपेटामा शिक्षा क्षेत्रले फड्को मार्न नसक्ने उनी बताएँछन् । पछिल्लो समय दरबार हाई स्कुलको शिक्षक नियुक्ती, सरुवा बढुवा, व्यवस्थापन समितिमा राजनीति हाबी भइरहेको छ ।

सुरुवातमा दरबार हाई स्कुल सम्भ्रान्त वर्गलाई भनेर खोलिएको थियो । विस्तारै रााणा शाशकका भारद्धार र पुरोहितका छोराछोरीले पनि पढ्न थाले । धेरै पछिमात्र सर्वसाधारणका छोराछोरीले पढ्न पाएका हुन् ।

महाकवी लक्ष्मीप्रसाद देवकोटा, कांग्रेस नेता गणेशमान सिंह, संस्कृतिविद् सत्यमोहन जोशी, बालकृष्ण सम लगायत धेरैले दरबार हाई स्कुल पढेका हुन् ।

दरबार हाई स्कुलका विद्यार्थी शंकरनाथ रिमालका भन्छन्, ‘हामीले पढ्दा दरबार हाई स्कुल सबैभन्दा राम्रो मानिन्थ्यो । अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । अंग्रेजी पढाउन बंगाली टिचरहरु थिए । नेपालमा पहिलो लटमा मास्टर्स गर्ने बोधबिक्रम अधिकारी पनि दरबार स्कुल पढाउँथे ।’ शंकरनाथले पढ्दा बोधबिक्रम दरबार हाई स्कुलको प्रधानाध्यापक थिए ।

शंकरनाथ, गौरी र दुुर्गा तीनै भाईले एउटै सालमा दरबार हाई स्कुलबाट एसएलसी पास गरेका हुन् । आफ्नो ब्याचका ४० प्रतिशत डाक्टर, ५० प्रतिशत इन्जिनियर र १० प्रतिशत कृषि तथा सोसल साइन्स पढेको उनी बताउँछन् ।

‘हाम्रो ब्याचले आइएससी पास गर्ने बेलामा कोलोम्बो प्लान आयो, सबैले स्कोलोर्सीप पायौं’ शंकरनाथ भन्छन्, ‘डाक्टर, इन्जिनियर, कृषि, वन विज्ञान पढ्न नेपाली विद्याद्र्यीले इन्डियाभरि छरिइहाले । हामी तीन भाई नै इन्डिया पढ्न गयौं ।’

एउटा त्यस्तो समय पनि थियो, दरबार स्कुलमा प्रवेश पाउनै गाह्रो थियो । सिट संख्या कम, पढ्न खोज्ने विद्यार्थी धेरै । शहरका मान्छे सबैले आफ्ना छोराछोरी दरबार स्कुलमै पढाउन खोज्थे । शंकरनाथका अनुसार २००६/००७ सालतिर जुुद्ध पब्लिक स्कुल, पद्योदय स्कुल, पाटन स्कुल खाुलिसकेका थिए, तैपनि सबैको रोजाईमा दरबार स्कुलको अंग्रेजी शिक्षा नै पथ्र्यो ।

दरबार हाई स्कुलको पढाई पछिसम्म राम्रो मानिन्थ्यो । शंकरनाथ भन्छन्, ‘नयाँ शिक्षा प्रणालीले नै दरबार हाई स्कुलको पढाई खत्तम गर्यो कि ।’

‘हामीले पढ्दा दरबार हाई स्कुल सर्वसाधारणको प्रमुख रोजाईमा पर्दा सम्भ्रान्त वर्ग, राणा, शाह र भारद्धारका छोराछोरी दर्जिलिन, नैनीताल, आसाम, सिक्किम पढ्न पुुग्थे, प्रायः सम्भ्रान्त वर्गले घरमै टिचर राखेर पढ्थे’ उनी भन्छन्, ‘त्यो बेला काठमाडौं बाहिरका मानिसहरु पनि लखनाउ, गोरखपुुर, बनारस, पटना, कोलाकाता, बागडोग्रा लगायत ठाउँमा गएर पढ्न थालिसकेका थिए ।’

दरबार हाई स्कुललाई नमुना सरकारी स्कुल बनाउनै पर्छ । अहिले जसरी सडकमा हिँड्ने बटुवाले फर्की फर्की दबार हाई स्कुलको चमकदार भव्य भवन हेर्छन् । अब पढाईमा पनि व्यापक सुधार गरेर आफ्ना बालबच्चालाई यही स्कुलमा पढाउन पाए हुन्थ्यो भन्ने बनाउनु पर्छ । गरीवका छोराछोरीले मात्र पढ्ने हुँदा स्कुलको रिजल्ट पनि औषत छ ।

शिक्षाविद प्रा.डा. मनप्रसाद वाग्ले माध्यमिक शिक्षासम्मको सबै काम स्थानिय सरकारले नै गर्ने वातावरण बनाई उसलाई जिम्मेवार बनाउनुपर्ने तर्क राख्छन् । र, विद्यालय शिक्षाको सुधारको लागि शिक्षकको व्यवस्थापन, सरुवा एवं पुुरस्कार र दन्डको जिम्मेवारी पनि स्थानिय सरकारलाई दिनुपर्छ । दरबार हाई स्कुलको सुधारका हकमा पनि स्थानिय सरकारलाई जिम्मेवार बनाउनु पर्ने उनी बताउँछन् ।

यो स्कुलमा विद्यार्थीको संख्या पनि घट्दै गइरहेको छ । विद्यार्थी घट्दै जानुको मुख्य कारण पनि पढाई नै हो । सरकारी स्कुल हुनाले हार्ड एन्ड फास्ट र हायर एन्ड फायरको अवस्था नै भएन, आजाद भन्छन्, यो स्कुल इतिहास हो, यहाँको पढाई अब्बल हुनुपर्छ, यसका लागि स्कुलका शिक्षकलाई तालिम दिएर दक्ष बनाउन सकिन्छ, सुधार गर्न नसकिने शिक्षकलाई गोल्डेन ह्यान्डसेक दिएर बिदा गर्न सकिन्छ । जसरी हुन्छ क्वालिफाइड टिचर राखेर राम्रो शिक्षा दिनुपर्छ ।

आजाद थप्छन्, एउटा भवनमा दुुईवटा स्कुल चलाउँदा कन्फ्लिक्ट आउँछ । त्यसैले दरबार स्कुलको पढाई सुधार्न सबैभन्दा पहिला स्कुल छुुट्टाछुट्टै राख्नुपर्छ । उमेश श्रेष्ठले भानु मावि र संस्कृत माविलाई मर्ज गरेर एउटै स्कुल बनाउनुु पर्नेमा जोड दिन्छन् । दुुई स्कुल मर्ज गरेर ठूूलो बनाई व्यवस्थित नमुुना सरकारी स्कुल बनाउनेतर्फ सोँच राख्नुुपर्ने बतउँदै उनी भन्छन्, त्यसको सुरुवात दरबार स्कुलबाट गर्न सकिन्छ ।

योजनाविद् डा. वाग्ले पनि सरकारको नीति तथा कार्यक्रममै समेटेर मर्जरमा जाने स्कुलहरुलाई विशेष अनुदान घोषणा गर्नुपर्ने तर्क राख्छन् । दरबार हाई स्कुलमा सञ्चालित दुुई स्कुल (भानु र संस्कृत)लाई विशेष अनुदान दिएरै भएपनि मर्जमा जान प्रोत्साहित गर्नुपर्छ । सामुुदायिक विद्यालयहरुलाई मर्जरमा लैजान विशेष प्याकेज नै ल्याउनुुपर्नेमा उनको जोड छ ।

विवेकशीलका अध्यक्ष पाण्डे दरबार हाई स्कुललाई स्टुुडेन्ट सेन्टर बनाउनुपर्ने बताउँछन् । स्कुलको भवन भव्य सुविधा सम्पन्न बनेको छ, अब त्यहाँ पढाउने विधी पनि एडभान्स हुनुपर्छ, उनी बताउँछन्, दरबार स्कुललाई एक्काइसौं शताब्दीको आधनिक शिक्षाको इतिहास बोक्ने सुनौलो अवसर पनि दिनुपर्छ ।

अब कितावको पाठ घोकेर वा घोकाएर मात्र केही हुनेवाला छैन । दरबार हाई स्कुलले यस्तो वातावरण बनाउन पर्यो कि विद्यार्थीले आफ्नो क्रियटिभिटीलाई उजागर गर्न सकुन् । शिक्षकले पढाउने शैलीमा व्यापक सुधार हुनुपर्यो । शिक्षकसँग विद्यार्थीको रुची पहिल्याउन सक्ने क्षमता हुनुपर्छ ।

अहिले दरबार हाई स्कुलमा विद्यार्थी कम छन्, शिक्षक प्रयाप्त छन् । दरबार हाई स्कुलमा विद्यार्थी कम भएको बेलामा हेडमास्टर र व्यवस्थापनले चाह्यो भने शिक्षामा व्यापक सुधार गर्न सक्ने पाण्डे बताउँछन् । अहिले विद्यालय व्यवस्थापन समिति छैन । यही मौका छोपेर भिजन भएको मान्छेलाई व्यवस्थापनमा ल्याउन सकिन्छ । अहिले स्कुल निमित्त प्रधानाध्यापकले चलाइरहेका छन् । अब नियुुक्त गरिने प्रधानध्यापक क्रियटिभ र भिजिनरी हुनुपर्ने उनी बताउँछन् । उनी राम्रो तलब दिएर ब्रिलियन्ट प्रध्यानाध्यापक ल्याउन सुुझाव दिन्छन् ।

अन्तर्राष्ट्रिय स्तरका निजी स्कुल चलाइरहेका निजी क्षेत्रका उद्यमीलाई दरबार हाई स्कुलको जिम्मा दिएमा नमुना बनाईदिने श्रेष्ठ बताउँछन् । नेशनल मोडल स्कुलको कन्सेप्टबाट दरबार हाई स्कुलमा ३ सिफ्ट चलाउन सकिन्छ । विहान कलेज, दिउँसो स्कुल र साँझमा स्किल ट्रेनिङ दिन सकिन्छ । लोकेशनका हिसावले पनि यो शहरको बीचमा छ, धेरैलाई पायक पर्नेगरि ।

दरबार हाई स्कूलका लागि ठूलो चुनौती छ– भव्य संरचनाभित्र ज्ञान पनि भर्ने कि विना ज्ञानको भव्य संरचना प्रदर्शन गर्ने ? आत्माविनाको शरिर र ज्ञान विनाको स्कूल आफैमा निश्प्राण हुन् ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!