Connect with us

कभर स्टोरी

उद्योग वाणिज्य महासंघमा चण्डी ढकाललाई ‘अन्तिम भोज’

चण्डीले चितवन पुगेर घोषणा गरिसकेका छन्, अध्यक्ष भएको ६ महिनामा शेखर गोल्छालाई पदच्युत गरिदिन्छु !

नेपाल उद्योग बाणिज्य महासंघको एउटा ठूलो लडाईमा चण्डीराज ढकालले हारेका छन् । दुई दशकसम्म महासंघमा अविछिन्न शासन गरेपछि चण्डीको यो हारको विशेष अर्थ छ ।

यो लडाई आवरणमा महासंघको अबको अध्यक्ष को बन्ने भन्नेमा थियो । तर, यसको भित्री मर्मचाँही चण्डीको दाता, चण्डीको निमित्त र भविष्यमा चण्डीलाई ‘त्वमेव माता च पिता त्वमेव’ भन्ने व्यक्ति महासंघको भावी अध्यक्ष बन्छ वा यी कुनै पनि कुरा मान्दिन भनेर घोषणा गर्न सक्ने व्यक्ति त्यो कुर्सीमा पुग्छ भन्नेमा थियो ।

शेखर गोल्छाले ‘चण्डीको रवर स्टयाम्प बनेर मलाई महासंघको अध्यक्ष बन्नुछैन’ भनेर घोषणा गरिदिए । तिनै शेखरलाई महासंघको अध्यक्ष बन्नबाट रोक्न चण्डीले आफ्नो सम्पूर्ण तागत लगाए ।

तर यो लडाईमा शेखरले शानदार विजय हासिल गरेका छन् । र, चण्डीले ठूलो गोल अन्तरमा लडाई हारेका छन् ।

हार्ने र जित्नेको कित्ताकाट भएको छ । महासंघको भावी अध्यक्ष को हुने भन्नेमा कुनै द्विविधा अब बाँकी छैन ।

२०७७ सालको पहिलो विहानीमा महासंघको अध्यक्षका रूपमा शेखरले टेकु दरबारमा कार्यभार सम्हाल्नेछन् ।

यो हारको चोटमा चण्डीले नयाँ बर्षको पहिलो विहानीमै पदाधिकारी र कार्यसमितिमा चुनाव जितेका आफ्नो समुहका सदस्यहरूको टाउको गन्दै शेखरलाई असफल बनाउने रणनीतिका बुँँदाहरुका साथ शुभकामना सन्देश दिनेछन् ।

निकै पेचिलो इगोले भरिएको लडाईमा चण्डी ढकाल नराम्रोसँग धुलोमा पछारिएका छन् । एउटा हार सुनिश्चित भएपनि चण्डी फेरी पनि कोटमा लागेको धुलो टकटकाउदै मैदानबाट उठ्न खोजिरहेका छन् । यदि उनले कोटको धुलो टकटकाउँदै उठ्न सके भने उनको लक्ष्य फेरी पनि शेखरलाई कार्यकाल बाँकी छँदै महासंघको अध्यक्षको कुर्सीबाट तल झार्नु नै हुनेछ ।

तर, उनका लागि संकेत त्यति मिठा छैनन् जति उनले सोँचिरहेका छन् ।

सायद, अब महासंघबाट चण्डीराजको अन्त्य भएको सन्देश यो चुनावले दिनसक्छ कि ।
०००
नेपालमा सबैभन्दा ठूलो नेटवर्क निर्विकल्प रूपमा सरकारको छ । दोस्रो ठूलो नेटवर्क भएको संस्था नेपाल उद्योग बाणिज्य महासंघ हो ।

हाम्रो शौभाग्य, राष्ट्र प्रमुख र दोस्रो ठूलो नेटवर्क भएको संस्थाको प्रमुख पनि महिला नै छन् । भवानी राणालाई मनोनित वरिष्ठ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएको व्यक्तिलाई स्वतः महासंघको अध्यक्ष बनाउने गरि विधान संसोधन गर्न चण्डीले खेलेको भूमिका इतिहासमा लेखिइसकेको छ ।

जसरी एउटी महिलालाई महासंघको अध्यक्ष बनाउन चण्डीले सकारात्मक जिम्मेवारी निर्वाह गरे, त्यसैगरि कार्यकारी अधिकार प्रयोग गर्नमा पनि सघाएको भए वाह कति राम्रो हुन्थ्यो होला । तर, उनीमाथि आरोप छ– भवानीलाई रवर स्टयाम्प बनाए । कार्यकारी अधिकार आफैले प्रयोग गरे । यतिसम्म कि अध्यक्षलाई अलि किनारामै राखेर बैठकको अध्यक्षता पनि आफैले सम्हले ।

बैठकमा को बोल्ने वा को चुप लाग्नुपर्ने सबै रूलिङ आफैले गरे । महासंघका पदाधिकारीहरूको अनुभवमा पहिले पहिले नावालाक राजाहरूको नायवी महारानीहरूले कसरी चलाउथे होला भन्ने कल्पनाको साकार रूप यो कार्यकालभर प्रत्यक्ष भोग्न पाईएको छ ।

महासंघको बैठकमा चण्डीले यतिसम्म आक्रमक माहौल बनाउँथे कि अरु पदाधिकारी तथा सदस्यहरु चण्डीको विरुद्ध बोल्ने हिम्मत नै गर्दैनथे ।

हो, चण्डी महासंघबाट रिटायर्ड हुन चाहदैनन् । हुनत, यो उनको बाध्यता पनि हो । किनभने उनको ब्यापार धन्धा चौपट छ । उद्यमीको पहिचान उनको अनुहारमा मात्रै बाँकी छ, अब । २०५० को दशकमा चम्किएको उनको गार्मेन्ट उद्योग थला परेकै डेढ दशक पुगिसक्यो । उनलाई नजिकबाट नियाल्नेहरू भन्छन्– अहिले उनको ब्यापार धन्धा भनेकै महासंघको राजनीति हो जहाँ इक्विटी इन्भेन्ट नगरिकनै मुनाफा सुनिश्चित हुन्छ । लगानीको जोखिम उठाउने, बैंकबाट लोन लिने र मुनाफाका लागि संघर्ष गर्ने अर्थशास्त्रको नियम उनका लागि धेरैअघि नै असान्दर्भिक भईसकेको छ ।

यसपाली यो धन्धामा मन्दी आएको छ । शेखरलाई महासंघको अध्यक्ष बन्नबाट रोकेर नयाँनयाँ उम्मेदरवारहरूलाई भिडाउन पाएको भए उनको ब्यापार धेरै नै चम्किने थियो । तर, शेखरको अडानले सफल हुन सकेनन् ।

कथाहरू फरक फरक र आकर्षक ढंगले प्रस्तुत गरिएका होलान् । तर, महासंघको राजनीतिको वास्तविक कथानक चलचित्र भने यहि नै हो । यो

व्यापारीहरूको संस्था हो । र, मुनाफारहित ब्यापार उनीहरूको धर्म विपरितको काम हो । चण्डी यो राजनीतिका गुरू हुन् !

वर्तमान अध्यक्ष भवानीमा जे गुण थिए अबको अध्यक्षमा पनि ठयाक्कै त्यहि गुण होस् भन्ने चाहान्थे चण्डी ।

तर, यसका लागि शेखर बाधक बनिहाले । विधि, विधान, प्रकृया र सहमति सबैका आधारमा महासंघको आगामी कार्यकालको अध्यक्षका लागि योग्यता पूरा भएका उम्मेदवार शेखर मात्रै हुन् ।

यो पनि पढ्नुहोस् ः उद्योग वाणिज्य महासंघमा चण्डी ढकालको शासन

आगामी अध्यक्ष आफ्नो रवर स्टयाम्प नबन्ने पक्का भएपछि चण्डीले कानूनका छिद्रहरू एक एक उधिनी रहे । शेखरलाई अध्यक्ष बन्नबाट रोक्नका लागि उनले कानूनको सहारा लिने कोशिस गरे । अध्यक्षका नयाँनयाँ उम्मेदवारहरू खडा भएको हौवा पिटेर उनीहरूसँग खिचेका फोटोहरू फेसबुकमा सार्वजनिक गरे ।

यी सबै गर्नुको एकमात्र मक्सद थियो– शेखरसँग बार्गेनिङ गर्ने र सकेजति रकम झार्ने ।

महासंघको चुनाव नजिकिदै गर्दा चण्डीका दुईवटा प्रष्ट शर्त थिए ।

पहिलो, महासंघको राजनीतिमा आफुलाई गुरू मान्नु पर्ने । आफुले भने अनुसार महासंघ चलाउनु पर्ने । त्यसका लागि औपचारिक रूपमै आफुलाई महासंघको विशिष्ठ सदस्यको हैसियत दिनुपर्ने । र, विशिष्ठ सदस्यको पदीय हैसियतमा विधान संसोधन कमिटिको संयोजक आफु हुनुपर्ने ता कि आगामी निर्वाचनका उम्मेदवारहरूको घाटीमा पनि निरन्तर बार्गेनिङको तरवार झुण्डयाई रहन पाईयोस ।

दोस्रो, पैसा ।

महासंघको आकांक्षी उम्मेदवारले आफुले चाहे जतिको रकम बुझाउन तयार रहनुपर्ने ।

चण्डीको स्ष्ट कुरा छ– महासंघमा आउन चाहनेले आफुलाई पद र पैसाको ग्यारेण्टी गर्नुपर्छ !

शेखरले यसलाई जुन दिन इन्कार गरिदिए, त्यही दिनदेखि चण्डी शेखरलाई महासंघको अध्यक्ष बन्नबाट रोक्ने कानूनी, व्यवहारिक र अन्य छिद्रहरूको खोजीमा लागेका हुन् ।

चण्डीलाई मनाइरहन कति गाह्रो छ भन्ने कुरा शेखरलाई राम्रोसँग थाहा छ ।

किनभने, वरिष्ठ उपाध्यक्षमा निर्वाचित भई आगामी अध्यक्षको स्वभाविक लाईनमा बस्नका लागि शेखरले चण्डीलाई पनि दाहिने नै राखेर व्यवस्थापन गर्नुपरेको थियो ।

त्यसैले त चण्डी बारम्बार शेखरलाई बरिष्ठ उपाध्यक्ष आफैले बनाएको भन्दै जस दोहोर्याइ रहन्छन् ।

शेखरलाई महासंघको स्वतः अध्यक्ष हुन नदिन वा आफ्नो रबर स्ट्याम्प अध्यक्ष भएर बस्न बाध्य तुल्याउन चण्डीले सबैभन्दा बलियो हतियार उठाउने निर्णय लिए– विधान संसोधन । जसको संयोजक आफै थिए ।

विधान संसोधन गरेर बरिष्ठ उपाध्यक्ष स्वतः आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था परिवर्तन गर्ने । र, अध्यक्षका लागि प्रत्यक्ष निर्वाचनमा जानुपर्ने व्यवस्था गर्ने ।

शेखरलाई रोक्ने यो नै उनको सबैभन्दा बलियो हतियार थियो ।

चण्डीले होशियारीपूर्वक हतियार चलाउन शुरू गरेका थिए । त्यसको दुईवटा सन्देश थियो ।

पहिलो, महासंघको अध्यक्ष हुनका लागि मसँग नेगोसियसनको तयारीमा बस ।

दोस्रो, यदि नेगोसियसनमा आउदैनौ भने र्मैले अर्कै व्यक्तिसँग नेगोसियसन गर्न सक्छु । र, तिम्रो अध्यक्ष हुने सपना चकनाचुर हुनेछ ।

चण्डीसँगको नोगोसियसनको अर्थ पद र पैसामा उनलाई चित्त बुझाउनु हो ।

निर्वाचनको ६ महिनामै चण्डीले विधान संसोधनको हल्ला फैलाए । निर्वाचनपछिको पहिलो साधारणसभा (०७४ चैत)मा चन्डीले विधान संसोधन गर्न कमिटी नै गठन गरिहाले । अध्यक्ष भवानी राणा चन्डी बोलेपछि नाई नास्ती गर्ने कुरै भएन ।

विधान संसोधन कमिटी बन्यो ।

चन्डीले एक वर्ष विधान संसोधन समितिकौ बैठक नै बोलाएनन् । एक वर्ष उनी शेखर लगायतसँग बार्गेनिङमै विताए । शेखरसँग विभिन्न चरणमा वार्ताहरु गरे । म यतातिर मिल्दैछु, तिमीहरु छिटो मिल्न आउ भन्ने सन्देश फिँजाइरहे ।

यो नेगोसियसनमा शेखरलाई बाध्य बनाउन चण्डीले महासंघको २०७५ सालको बार्षिक साधारण सभामा एउटा निर्णय गराए– २०७६ सालको कार्तिकभित्र विशेष साधारणसभा बोलाउने । त्यो विशेष साधारणसभाको अर्थ विधान संसोधन गर्ने भन्ने हुन्थ्यो । निवर्तमान अध्यक्ष पशुपती मुरारकाले व्यक्ति विशेषलाई अप्ठ्यारो पार्नकै लागि विधान संसोधन गर्न नपाइने कुरा जोडतोड उठाए । तैपनि माइन्यूटमा २0७६ कार्तिकभित्र विशेष साधरणसभा गर्ने भनेर लेखियो । र, फेरी पनि चण्डी चलखेल र बार्गेनिङतिर लागे ।

यो निर्णयपछि पनि २०७५ चैत अन्तिमदेखि २०७६ को साउनसम्म शेखरले चण्डीसँग नेगोसियन गर्न चासो नदेखाएपछि चण्डीले २०७६ साउन १५ गते महासंघ कार्यसमितिको बैठक बोलाउन लगाए । र, विशेष साधारण सभाको मिति तोक्ने प्रस्ताव ल्याए ।

यो प्रस्तावको विपक्षमा पशुपति मुरारका कानूनलाई साथमा लिएर उभिए ।

महासंघ विधानको धारा ६६ (१) मा विधान संसोधनको मस्यौदा विशेष साधारणसभा बस्नुभन्दा तीन महिना अघि नै कार्यसमितिले पारित गरेर मात्रै विशेष साधारणसभामा लैजानुपर्ने प्रावधान छ । कार्यसमितिले पारित गरेको संसोधन महासंघका सम्पूर्ण सदस्यहरूलाई पठाउनु पर्ने व्यवस्था छ ता की उनीहरूले त्यो संसोधन गर्न आवस्यक छ वा छैन भन्ने पक्ष विपक्षमा तीन महिना छलफल गर्न पाउन् र साधारणसभामा आफ्नो निर्णय दिन सकुन् ।

कार्यसमितिको बैठकमा पशुपतिले विधानको व्यवस्था सम्झाउदै चण्डी र उनका समर्थकहरूलाई प्रश्न गरे– विशेष साधारणसभामा प्रस्तुत गर्ने विधान संसोधन डाफ्ट बनाएर कार्यसमिति बैठकबाट पारित गर्नुभयो ? पारित गरेको डाफ्ट सबै सदस्यहरूलाई पठाईसक्नुभयो ? यदि गर्नु भएको छैन भने तपाईले विधानको कुन दफाअनुसार विशेष साधारणसभाको मिति तय गर्दै हुनुहुन्छ ? के कार्यसमितिले विधान पालना गर्नु पर्दैन ?

पशुपतिको प्रश्नको जवाफ दिन सक्ने हैसियतमा कोही थिएन । यसले सबैभन्दा विवादित अध्यक्ष भवानी राणालाई नै गराउथ्यो । भवानीले बैठक स्थगित गरिदिइन् ।

तर चण्डीको दवावमा २०७६ साउन ३१ गते फेरी कार्यसमितिको बैठक बोलाईयो । चण्डीले एउटा मस्यौदाको कपी बोकेर बैठकमा आए । र भने, यो मस्यौदामाथि छलफल गरौं । तपाइँहरु पढ्नुस र केही सुझावहरु भए सल्लाह दिनुस् । उनकै दबाबमा विशेष साधारणसभाको मिति कार्तिक २९ गतेलाई तोकियो ।

पशुपतिले फेरी पनि कानूनका धाराहरू पढ्दै भने– यो गैर कानूनी निर्णयमा मेरो सहमति छैन । उनले दुई पेजको ‘नोट अफ डिसेन्ट’ दर्ज गरिदिए । विधानको मस्यौदाको ३ महिना छलफलका लागि प्रस्तुत गरिनुपर्ने र सदस्यहरुको सुझाव समेटेर बैठकबाट पारित गरिनु पथ्र्यो । पशुपतिले यो कुरा जोडतोडले उठाए । उनले बैठकमै भने, तीन महिनाको समय किन दिइएको हो ? सदस्यहरुले संसोधन हुन लागेको विधान राम्रोसँग पढेर सुझाव दिउन भनेर हो । पशुपतीले चण्डीतर्फ प्रश्न तेर्साउँदै भने, विधानको फाइनल ड्रफ्ट पनि ल्याउन नसक्ने ? अनि मिती मात्र तोक्ने ? अँह यो हुनै सक्दैन ।

कानूनी वा गैर कानूनी रूपमा जे भए पनि विशेष साधारणसभाको मिति कार्यसमितिले तोक्यो । त्यो निर्णय कार्यान्वयन गर्न महासंघ सचिवालयले १५ दिन अघि सार्वजनिक रूपमा सूचना जारी गर्नुपथ्र्यो । तर, सूचना जारी भएन । सायद सचिवालयको कमजोरीका कारण यसो भएको थियो ।

यो बीचमा चण्डीले बार्गेनिङलाई तिब्र बनाइरहे । शेखरलाई आफुसँग मिल्न आउन सन्देश पनि पठाइरहे । र, दवाव दिन भाष्करराज राजकर्णिकारलाई महासंघको अध्यक्ष बनाउन चाहेको म्यासेज समेत सबैलाई दिए । केही समय भाष्कर पनि चण्डीको पछाडि दौडिए ।

शेखरले पनि यो समयलाई उपयोग गर्दै आफ्नो पक्षमा स्पष्ट मार्गचित्र तयार गरे ।

पहिलो, विधान संसोधन गैरकानूनी तवरबाट अगाडि बढ्दै थियो । चण्डीले जर्वजस्ती गरेर विधान संसोधन प्रकृया अगाडि बढाएको भए शेखरसँग अदालतको ढोका ढकढकाउन सक्ने पर्याप्त आधार थिए ।

दोस्रो, विधानमा निर्वाचित वरिष्ठ उपाध्यक्ष महासंघको आगामी कार्यकालको स्वतः अध्यक्ष हुने व्यवस्था थियो । शेखर पहिलो निर्वाचित वरिष्ठ उपाध्यक्ष थिए । भवानी राणा मनोनित उपाध्यक्ष थिइन् । त्यसैले विधान संसोधन प्रकृया अगाडि बढ्दा वा संसोधन भएको अवस्थामा समेत शेखर अध्यक्ष हुने निकै बलियो कानूनी आधार थियो ।

तेस्रो, विधान संसोधन प्रकृया अगाडि बढेको भए पनि चण्डीले ६० प्रतिशत मतदातालाई आफ्नो पक्षमा पार्नुपथ्र्यो । शेखरले विधान संसोधनको विपक्षमा ४० प्रतिशत मतदातालाई आफ्नो पक्षमा पारे पुग्थ्यो । यो गेम पनि चण्डीलाई भन्दा शेखरलाई नै सजिलो थियो– पैसा खर्च गर्नु परेको अवस्थामा पनि ।

चौथो, यसका वावजुद विधान संसोधन भएको अवस्थामा पनि त्यो संसोधनलाई निर्वाचन हुनुभन्दा अघि नै मन्त्रिपषिदको बैठकले अनुमोदन गर्नुपर्थ्यो । कांग्रेसको सरकार भएको भए चण्डीले राजनीतिक तहबाट आफ्नो पक्षमा निर्णय गराउन सक्ने जति सजिलो अवस्था थियो, नेकपाको सरकार भएकाले त्यति सजिलो थिएन । उदीयमान उद्यमीका रूपमा शेखर, पशुपति र उनका समुहको प्रभाव सरकारमा पनि उत्तिकै थियो ।

पाँचौं, मानौं यि सबै ठाउँमा चण्डीलाई शेखरले रोक्न सकेनन् भने पनि उनी प्रत्यक्ष रूपमा अध्यक्ष पदको उम्मेदवार हुनबाट रोक्न कसैले पनि सक्दैनथ्यो । यो अवस्थामा चण्डीको उम्मेदवारभन्दा उनी कुनै पनि मानेमा पनि कमजोर उम्मेदवार हुने अवस्था थिएन । र, निर्वाचनका लागि लगानी गर्नुपरेको अवस्थामा समेत सम्पूर्ण मारवाडी समूह उनको साथमा उभिएकै छ ।

शेखरका लागि पाँचवटा विकल्प बाँकी रहँदा चण्डीका लागि भने एउटै मात्र विकल्प थियो– विधान संसोधन गर्नैपर्ने । जुन कानूनी परिभाषाको जन्जालमा फसिसकेको थियो । र, अदालतबाट धेरै पटक आफ्नो पक्षमा निर्णय आउनुपथ्र्यो ।

यो वास्तविकतामा शेखर प्रष्ट भएपछि उनले चण्डीलाई खुलेयाम चुनौती दिन सक्ने वातावरण मात्रै बनेन उनका सहयोगी बनिरहेका व्यवसायीलाई समेत आफ्नो पक्षमा पार्न सम्भव भयो ।

यो सबै प्रकृयामा चण्डीका एकजना भरपर्दा सहयोगी थिए– किशोर प्रधान । अध्यक्षको प्रत्यक्ष निर्वाचन गराउन सकेमा किशोरलाई अध्यक्ष बनाउने आश्वासन चण्डीले दिएका थिए । नभए पनि उनी आगामी कार्यकालमा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन चाहान्थे । चण्डीले उनलाई आश्वस्त पारेका थिए ।

र, अर्का भरपर्दा सहयोगी थिए– चन्द्र ढकाल । उद्यम व्यवसायमा उदीयमान व्यवसायीको हैसियत बनाएका चन्द्रको एकमात्र मिसन आगामी कार्यकालमा वरिष्ठ उपाध्यक्षमा विजय हुने र अर्को कार्यकालको अध्यक्ष बन्ने छ ।

किशोरलाई आश्वासन मात्रै दिने तर चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष बनाउने चण्डी रणनीति यहि बीचमा छताछुल्ल भएपछि किशोर चण्डी रणनीतिको शिकार हुनबाट जोगिदै पछाडि हटे ।

बाँकी रहे चन्द्र ढकाल । चण्डीलाई खेपीरहन कति गाह्रो छ भन्ने कुरा अहिले चन्द्रलाई भन्दा बढी कसलाई थाहा होला र ? भनिन्छ, अहिले चण्डीको सबै चुरीफुरी चन्द्र ढकालको पैसामा चलिरहेको छ । चण्डीको समूहबाट चन्द्र बाहिरिने हो भने चण्डीका हातखुट्टा लगभग बाँधिने अवस्था आउँछ ।

विधान संसोधन गरेर अध्यक्ष पदमा प्रत्यक्ष निर्वाचनमा जाँदा सबैभन्दा झमेला चन्द्र ढकालले व्यहोर्नुपर्ने अवस्था छर्लङ्ग भयो । किनभने उनले पहिलो निर्वाचन वरिष्ठ उपाध्यक्ष हुनका लागि झेल्नुपर्ने त छदैछ, अध्यक्ष हुनका लागि समेत फेरी दोस्रो निर्वाचन झेल्नुपर्ने भयो ।

विधान संसोधन नभएको अवस्थामा अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष हुनका लागि फेरी चुनाव लड्नु परेन । महासंघमा अहिले वरिष्ठ उपाध्यक्ष र पछि अध्यक्ष पदका लागि निर्वाचन लड्नु भनेको करोडौं रूपैयाँको खोलो बगाउनु पनि हो ।

त्यसैले चन्द्र ढकालले अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन गर्ने चण्डी ढकालको विधान संसोधनको प्रस्ताव आफु अनुकुल नरहेको र यसलाई यहि स्थगित गर्न भूमिका खेलेपछि चण्डी पछाडि हट्न बाध्य भए । चण्डीलाई बोकेर हिँडेका किशोर पनि आफुलाई सहयोग नहुने ठहर्दै चण्डीको विधान संसोधन गर्ने अभियानबाट अलग्गिए । चन्द्र र शेखर नै विधान संसोधनको पक्षमा नदेखिएपछि चण्डी आफ्नो विधान संसोधन गर्ने अडानबाट ब्याक हुन बाध्य भए ।

र, शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने चण्डीको योजना दिवास्वप्ना सावित भयो ।

चण्डीको विधान संसोधनमा शक्ति हरण भएकै हो । तर अहिले नै महासंघको राजनीतिमा शत्प्रतिशत शक्ति हरण भएको भन्न सकिदैन् ।

अब उनी नयाँ गेम खेल्नेछन् ।

तर पनि भुइँमा लडेका चण्डीले आफुले कोटको धुलो टकटकाईरहेको सन्देश शेखरलाई दिन छाडेका छैनन् । चितवन पुगेर घोषणा गरिसकेका छन्– अध्यक्ष भएको छ महिनामा शेखरलाई पदच्युत गरिदिन्छु ! अध्यक्ष भएपनि यसले कसरी महासंघमा काम गर्दो रहेछ हेरौंला ।’

यो बिचमा चण्डी चीन गएका थिए । अहिले फर्किएर पुनः चुनावी दौडधुपमा लागेका छन् । जिल्ला जाँदा ग्याङ नै हुन्छ । उनको यो स्टायल हो । भिड देखाउन पर्छ । शक्ति पर्दशन गर्न पर्छ । भिड देखाउँदा शेखरलाई तर्साउन पनि सजिलो भयो । उनी अझै पनि शेखरसँग बार्गेनिङ गर्नेछन् । यो अप्सनको ढोका बन्द गरिसकेका छैनन् । यदि शेखर आफ्नो अडानमा रहिरहे, धम्काएर कामै गर्न नदिने चण्डी रणनीति हुनेछ ।

चण्डीले यसअघि पूर्वअध्यक्ष सुरज वैद्यलाई पनि उनको कार्यकाल असफल बनाउन निकै प्रयास गरेका थिए । उनले पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई भाँड्ने काममात्र गरेनन्, पूर्वअध्यक्षहरुलाई उक्साएर सुरजको विरुद्धमा उतारेका थिए । तर अहिले माहौल अलिक फरक छ । पूर्वअध्यक्षहरु अध्यक्षमा प्रत्यक्ष चुनाव हुनुपर्ने पक्षमै रहेपनि यो कार्यकाल शेखरलाई नै अध्यक्ष बनाउने पक्षमा देखिएका छन् ।

अहिले महासंघको राजनीतिमा पर्दाभित्रका सबैभन्दा शक्तिशाली व्यक्ति पशुपती मुरराका हुन्, जससँगको यो अप्रत्यक्ष लडाइँ चण्डीलाई महंगो सावित भएको हो ।

चितवन पुगेर शेखरलाई धम्कि दिनुअघि चण्डीले पक्कै पनि नारायणी नदीको वहावलाई नियालेको हुनुपर्छ ।

६ महिनापछि शेखरलाई अध्यक्षबाट पदच्युत गर्ने उनको सपना कार्यान्वयनमा आउनुअघि नारायणीमा धेरै पानी बगेर विहारका खेतहरू सिञ्चित भइसकेको हुनेछन् ।

महासंघमा एकलौटी शासन गरेको धङधङीबाट मुक्त हुन उनलाई पक्कै पनि समय लाग्नेछ ।

सायद, आगामी निर्वाचनले चण्डीलाई महासंघको राजनीतिबाट ‘अन्तिम भोज’ पनि खुवाउनेछ !

यो पनि पढ्नुहोस् ।
उद्योग वाणिज्य महासंघमा चण्डी ढकालको शासन

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!