Connect with us

कभर स्टोरी

जस्ता गुरु, त्यस्तै चेला

स्वस्थ्यमन्त्री ज्यू, ‘दानापानी’ घोडाले खान्छ कि नेपाली जनताले ?

‘जस्तो गुरू उस्तै चेला’ के यो नेपाली उखान हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि बनेको थियो ? पक्कै पनि होइन । तर, कालान्तरमा नेपाली समाजले केपी ओली र उनको मन्त्रिपरिषदका सदस्यहरूकै लागि यो उखान तयार गरेका थिए भनेर अनुमान गरियो भने पनि अन्यथा हुने छैन ।

आफ्ना अन्धभक्त सेवक बाहेकका सारा प्राणी ओलीका लागि श्रेणी विहीन लाग्छन् । विपक्षी राजनीतिक दल, मिडिया वा सर्वसाधारण नेपाली जनताका त कुरै छाडौं उनलाई प्रधानमन्त्री बनाउने आफ्नै पार्टीका नेता, सांसद र कार्यकर्तासमेतलाई ओलीले यसरी हेप्छन् कि मानौँ उनीहरू ओलीका ‘दाश मात्रै’ हुन् ।

गुरूलाई रिट्ट्ठो नविराई फलो गरेका छन् उनका चेलाहरूले । अलि नजिकबाट बुझ्नेहरूलाई त थाहै थियोे– गोकुल बाँस्कोटा, भानुभक्त ढकाल लगायतको दिनचर्या पार्टी कार्यालयको चौरमा भेला हुने र ओली शैलिमा अन्य गुटका नेताहरूको उछित्तो काढ्नु हुन्थ्यो ।

विशेषगरि जाडो यामको बल्खु दरबारको खुला चौर ओलीकै कार्यकर्ताहरूको कब्जामा रहन्थ्यो, त्यतिबेला । समयक्रममा आफ्ना गुरू देशको प्रधानमन्त्री बने र गुरूको कृपाका कारण चेलाहरू मन्त्री बने । तर, ‘नानीदेखि लागेको बानी’ भने उनीहरूले त्याग्न सकेनन् ।

मन्त्रीकै कुर्सिमा बसेर पनि उनीहरूले बल्खु दरबारको खुला चौरमा प्रयोग गर्ने भाषाले नेपाली जनतालाई ललकारी रहेका छन् ।

नयाँ पत्रिकामा प्रकाशित रबि मिश्रको कार्टुन ।

ओली र ओलीका मन्त्रीहरूको भाषा/शैलीले नेपाली सभ्यता र सँस्कारलाई नै वदनाम बनाउन लागेको छ– के नेपालको राष्ट्रिय संस्कार यहि हो ? किनभने देशको प्रधानमन्त्री र मन्त्रीहरूको भाषा शैलीले त्यो देशको सँस्कार, सँस्कृतीलाई प्रतिविम्वित गर्छन् । र, गर्नुपर्छ । तर, यसो भनियो भने हाम्रो समृद्ध संस्कार र संस्कृतीको अपहेलना हुनेछ ।

नेपाली जनताले चित्त बुझाउनुपर्छ– हजारौँ हजार बर्ष पुरानो समृद्ध सभ्यताको अगाडि ओली सरकारको कार्यकाल पाँच बर्षको हो । र, मन्त्रीहरूको आवत–जावत त निरन्तर चलिरहेको छ । त्यसैले यो सानो कालखण्डले हाम्रो संभ्यताको प्रतिनिधित्व गर्न सक्दैन ।

तर पनि विडम्बना ! प्रतिविम्वित हुनुपथ्र्यो । जसरी कम्युनिष्ट पार्टीको सरकार आउदैमा हाम्रो राष्ट्रिय झण्डा हसिया हथौडा हुन सक्दैन त्यसैगरि सरकार परिवर्तन हुदैमा हाम्रो भाषा, शैली, संस्कार, संस्कृतीमा परिवर्तन आउन सक्दैन । चन्द्र र सुर्य अंकित झण्डामुनि बसेर शासन चलाउनेहरूले चन्द्र र सुर्यसँगै जोडिएर आएको हाम्रो सभ्यता र संस्कृतीलाई सम्मान गर्न र पालना गर्न सक्नुपर्छ ।

तर, दुर्भाग्य नै भनौं– यो कालखण्डमा हामीले यति धेरै अपेक्षा गर्न सक्दैनौं ।

केही दिन मात्रै भएको छ– प्रधानमन्त्री ओलीका प्रिय पात्र गोकुल बाँस्कोटाले सूचना प्रविधी तथा सञ्चार मन्त्रीको हैसियतमा सरकारी कर्मचारीलाई यति निच शब्दहरू प्रयोग गरेर ‘हेपेका’ छन् त्यो सुन्दा उनका लागि हामीले लाज मानिदिनुपर्ने हुन्छ । हामीले शिर झुकाउनु पर्ने हुन्छ ।

मन्त्रीज्यू ‘दानापानी’ कसले खान्छ थाहा छ ? तपाईँलाई त लाग्दो रहेछ, नेपाली जनताले ‘दानापानी’ खान्छन् । हाम्रा हजुरबाले त घरमा पालेको पाटे घोडालाई खुवाउनुहुन्थ्यो ‘दानापानी’ । मैले यो शब्द हजुरबाले घोडालाई स्याहार सम्भार गरिरहदा सुनेको थिएँ । हजुरआमालाई भन्नुहुन्थ्योे– बुढी आज त घोडालाई धेरै भोक लाग्यो, दानापानी खुवाउन पनि ढिला भयो ।’

बाँस्कोटाकै जति निच शब्दहरू त प्रयोग भएका छैनन् तर उनका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जुन हाउभाउका साथ नेपाली जनतालाई सम्बोधन गरेका छन्– उनका लागि पनि हामीले नै फेरी एकपटक लाजले शिर निहुराईदिनुपर्ने हुन्छ । यसो भनिरहदा सायद उनले आफुलाई देशको स्वास्थ्य मन्त्री होइन, बल्खुको चौरमा बदाम खाएर कहिले वामदेव गौतम त कहिले माधव नेपाल गुटका मानिसहरूलाई जिस्काई रहेजस्तो महशुस गरेका थिए होलान् !

विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसका कारण विश्वभर महामारी फैलिएको घोषणा गरेको छ । विश्वका सरकारहरू आफ्ना देशका नागरिकलाई महामारीबाट बचाउन ज्यान छोडेर लागेका छन् । उनीहरूले रातारात अस्पताल बनाएका छन् । कोरोना प्रभावितहरूलाई औषधोपचारको पहुँचमा ल्याएका छन् । र, निरोगी नागरिकलाई सकेसम्म बचाउन ‘क्वारेन्टाईन’हरूको व्यवस्था आ–आफ्नो शैली र सामथ्र्यका आधारमा तयार गरेका छन् ।

तर, योभन्दा ठूलो कुरा उनीहरूले आफ्ना नागरिकलाई विश्वस्त तुल्याएका छन्– प्रियजनहरू नआत्तिउ, तिम्रो सरकार तिम्रो साथमा छ । तिमी समस्यामा परेको बेला तिम्रो सरकारले तिम्रो सेवामा एक रत्ति कमि हुन दिनेछैन ।

कोरोना प्रभावित देशका नागरिकको बाँच्ने सहारा आज औषधी मात्रै होइन, सरकारको त्यहि साथ हो । सरकारको माया हो । आफ्ना बाबु आमाले जस्तै सरकारले सुमसुमाएको त्यहि भरोशा हो ।

तर, हाम्रा स्वास्थ्यमन्त्रीले सिधा सिधा जनतालाई भनेका छन्– कोरोना लाग्यो भने सरकारले केही गरिदिने छैन । तिमीहरूले सरकारको आशा गरेर नबस्नु । सक्छौँ आफै बाँच्ने उपाय गर्नु । सरकार सरकार भनेर गुहार नमाग्नु । उनको भाषा, शैली र बडि ल्यांग्वेजको व्याख्या गर्ने विशेषज्ञले उनको त्यो भिडियोको मनोवैज्ञानिक विश्लेषण गर्ने हो भने सायद हाम्रा मन्त्रीले भन्न खोजेको कुरा योभन्दा पनि धेरै होला ।

विश्वभर कोरोनाको माहामारी फैलिएर आफ्नो सरकारको माया पाउने आशामा देशतर्फ नजर लगाईरहेका करौडौं नेपालीलाई उनले मुटुमै तिर विझ्ने गरि भनेका छन्– तिमीहरूलाई लाग्ला कि सरकारले हिजो चिनबाट उद्धार गरेजस्तो तिमीहरूलाई पनि उद्धार गरिदेला । यस्तो सोच्दा पनि नसोच्नु । तिमीहरू कसैलाई सरकारले उद्धार गरेर नेपाल ल्याउने कोशिस गर्नेछैन ।

संकटको नजिक पुगिरहेका नेपालीहरूले सरकारबाट एउटा सानो सहानुभूतिको आशा गरिरहेका बेला यस्तो सन्देश पाउँदा उनीहरूको मुटु कति भक्कानियो होला ? के अब पनि उनीहरूले म नेपाली नागरिक हुँ भनेर विश्वमा छाती फुलाउनेछन् ? वा म त्यहि देशको नागरिक हुँ जुन देशका लागि मैले रेमिटयान्स पठाउदासम्म त नागरिकता जिवितै थियो तर म कोरोनाको मुखमा पुग्दा त्यो नागरिकता पनि खोसिएजस्तै महशुस भयो भनेर हुँक्कहुँक्क गर्नेछन् ?

मन्त्रीज्यू, आउनुहोस्– एउटा कल्पना गरौं न । मानौं तपाईं अहिले कोरोनाले घेरेको देशमा जीवनयापन गर्दै हुनुहुन्थ्यो र आफ्नो देशको स्वास्थ्य मन्त्रीले यहि भाषा शैलीमा सन्देश दिन्थें भने तपाईंलाई कस्तो लाग्थ्यो होला ?

मन्त्रीज्यूले भनिदिनुभयो– अब सरकारले क्वारेन्टाईनको व्यवस्था गर्दैन । क्वारेन्टाईनमा राखेर सरकारी खर्चमा ‘दानापानी’ खुवाउदैन । मन्त्रीज्यू ‘दानापानी’ कसले खान्छ थाहा छ ? तपाईँलाई त लाग्दो रहेछ, नेपाली जनताले ‘दानापानी’ खान्छन् । हाम्रा हजुरबाले त घरमा पालेको पाटे घोडालाई खुवाउनुहुन्थ्यो ‘दानापानी’ । मैले यो शब्द हजुरबाले घोडालाई स्याहार सम्भार गरिरहदा सुनेको थिएँ । हजुरआमालाई भन्नुहुन्थ्योे– बुढी आज त घोडालाई धेरै भोक लाग्यो, दानापानी खुवाउन पनि ढिला भयो ।’ हुनसक्छ मैले हजुरबाबाट सिकेको शब्द नै गलत पो थियो कि ? आखिर रैतिले खाने त ‘दानापानी’ नै होला ।

मन्त्रीज्यू, यहासँग अहिले जे सुविधा, जे हैसियत छ र जे सम्पत्ती छ त्यो सबै नेपाली जनताले दिएका हुन् । अहिले ‘दानापानी’ खाने भनेर ललाकारी रहदा पनि महिनैपिच्छे सरकारी ढुकुटीमा जम्मा हुने पैसा कोरोनाको उपचार गर्ने खर्च पनि बाँकी नराखेरै यिनै जनताले बुझाएका हुन् ।

एउटा सानो प्रश्न सोध्ने अनुमति मागुँ– लौ हिसाब गरेर भन्नुस् त मन्त्रीज्यू, तपाईंले जीवनमा राज्यलाई कति पैसा कर तिर्नुभयो ? तपाईंले राजनीति गरिरहदा उठाएको चन्दा र मन्त्री बन्दा राज्यको ढुकुटीबाट लिएको सुविधा दुवै यिनै ‘दानापानी’ खानेहरूकै रगत पसिनाको अंश हो भनेर तपाईँले कहिले बुझ्नुहुन्छ होला ? निश्चिन्तताका साथ भन्न सक्छु– तपाईँले यति बुझेको दिन नेपालको राजनीतिको स्तर गर्व गर्न लायक अवस्थामा पुगेको हुनेछ ।

त्यसैले कुनै मन्त्रीको खल्ती रित्याएर नेपाली जनताले सेवाको आशा गरेका छैनन् । बरू आफैले जीवनभर तिरेको कर संकट आईलागेको अवस्थामा कहिलेकाँही आफ्ना लागि पनि काम लागोस् भनेर आशा गरेका मात्रै हुन् । यसो गर्दा सरकारलाई वित्तिय व्यवस्थापनमा गाह्रो प¥यो भने आफ्नो नाक कानमा लगाएका गहना झिकेर ढुकुटीमा जम्मा गर्न नेपाली जनता तयार हुनेछन् । विदेशमा कमाएको एक एक डलर मातृभुमिमा पठाएर सहयोग गर्न विश्वभर रहेका नेपाली तयार हुनेछन् । जनतालाई एकपटक सेवा गर्छु भनेर भरोशा त दिलाउ सरकार ।

हो, सरकार सिमाविहिन छ भनेर कसैले पनि बुझेको छैन । सरकारको सबैभन्दा ठूलो सिमा त सरकारमा बस्नेहरूको चेतनाको सिमा हो । उनीहरू जम्माजम्मीमा राज्य कसरी फङ्सन हुन्छ भन्ने ज्ञान लिन पनि नभ्याएजस्ता देखिन्छन् । अर्को यथार्थता, सरकारमा बस्नेहरू अर्कै दुनियाँबाट आएका र सरकार बाहिर हुनेहरू जत्ति नेपालमा जन्मिएका होइनन् । त्यसैले मानौं यस्ता राष्ट्रिय संकटहरू आईलागे भने सरकारका मन्त्रीहरू उर्दि छाट्ने अरू सबै उर्दि सुन्ने मनुवाहरू होइनन् ।

सरकार र जनता मिलेर नै यस्ता संकटको सामना गर्ने हो । संकट सामना गर्न रणनीति तयार गर्ने हो । सरकारले त व्यवस्थापन गर्ने हो । समन्वय गर्ने हो । र त्यसको स्वामित्व लिईदिने हो । सहयोग गर्न तीन करोड नेपाली तयार छन् । जो समस्यामा पर्छन्– उनीहरूलाई सहयोग चाहिन्छ । जो समस्यामा पर्दैनन्– उनीहरूले सहयोग गर्नेछन् ।

फेरी पनि भनौं– सरकार ! तिमी यसको जस लिन त तयार भइदेउ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!