Connect with us

फिचर स्टोरी

थपिँदै डेढ दर्जन पाँचतारे होटल

रुपन्देहीको कोटिहवामा हालै पाँचतारे लक्जरी रिसोर्ट टाइगर प्यालेस सञ्चालनमा आयो । पहिलो चरणमा १०० कोठा तयार भएका छन् । दोस्रो चरणमा ३०० कोठा पु¥याउने लक्ष्य राखिएको छ । अष्ट्रेलियाको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले लक्जरी रिसोर्ट सञ्चालन गरेको हो ।

काठमाडौंको नक्सालमा पाँचतारे म्यारियट होटल सञ्चालनको अन्तिम तयारीमा छ । होटलको भौतिक संरचना तयार भइसकेको छ । धमाधम डेकोरेसनको काम भइरहेको होटल डिसेम्बरसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ ।

सोल्टी समूहले नेपालगञ्जमा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । होटलको सफ्ट ओपनिङ पूर्वराजा ज्ञानेन्द्र शाहले गरे । छिट्टै पूर्ण क्षमतमा होटल सञ्चालन गर्ने बताइएको छ । भैरहवामा पाँचतारे ‘पवन प्यालेस’ सञ्चालनको अन्तिम तयारीमा छ । विराटनगरमा पनि पाँचतारे होटल ‘दि सेञ्चुरियन’ तयार भइसकेको छ ।

देशमा करीव डेढ दर्जन पाँचतारे होटल निर्माण भइरहेका छन् । भैरहवा क्षेत्रमा मात्रै चारवटा पाँचतारे होटल खुल्दैछन् । कतिपय आंशिक रुपमा सञ्चालनमा आइसकेका छन । केही धमाधम निर्माण हुँदैछन् । कतिपय होटल निर्माणको तयारीमा छन् ।

होटल लगानी कोठा स्थान
टाइगर प्यालेस १ ५ अर्ब ३०० रुपन्देही, कोटिहवा
टाइगर प्यालेस २ ५ अर्ब झापा
चन्द्रागिरी रिसोर्ट १.५ अर्ब १०० चन्द्रागिरी
पवन प्यालेस ११८ करोड १३० भैरहवा
काठमाडौँ शेराटन ८ अर्ब २१८ काठमाडौँ
काठमाडौँ अलफ्ट ३ अर्ब २२० ठमेल
हायात प्यालेस काठमाडौँ २ अर्ब असी करोड १५६ सोल्टीमोड
सुमार्गी ग्रुप ५ अर्ब २२० काठमाडौँ
मेरियट होटेल ४ अर्ब २३५ नक्साल
१० क्यान २ अर्ब २०० एयरपोर्ट
११ सोल्टी होटल १ अर्ब ८१ नेपालगंज
१२ सोल्टी होटल  – पोखरा
१३ द सेन्चुरियन होटल १२० करोड १२० विराटनगर
१४ सुर्य नेपाल २ अर्ब काठमाडौँ
१५ होटल हिल्टन ३ अर्ब काठमाडौँ
१६ अरुण चौधरी २५५ करोड १७० ललितपुर पुल्चोक
१७ होटल अन्नपूर्ण भ्यू २ अर्ब ११० सराङकोट
१८ सिप्राभ्य होटल ५ अर्ब ४२ करोड १६० काठमाडौँ, रविभवन
१९ होटल नान्स १ अर्ब ५० करोड १२७ भैरहवा
२० होटल रेडिसन भैरहवा

नेपालमा ९ वटा पाँचतारे होटल सञ्चालनमा छन् । पाँचतारे एभरेष्ट होटल भूकम्पपछि बन्द अवस्थामा छ । आगामी १० वर्षभित्र पाँचतारे होटलको संख्या ३० पुगिसक्ने देखिन्छ ।

सरकारले २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो संख्या २०२७ सम्ममा ५० लाख पुर्याउने घोषणा गरिसकेको छ । यो अवधिमा हस्पिटालिटी बिजनेशमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी थपिने छ ।

अन्तर्राष्ट्रिय ख्यातीप्राप्त चेन होटल ब्रान्डले पनि नेपालमा आँखा लगाइरहेका छन् । आधा दर्जनभन्दा बढी बहुराष्ट्रिय ब्रान्ड नेपाल प्रवेश गर्दैछन् ।

सोल्टी, नेपालगञ्ज

सोल्टी समूहले नेपालगञ्जमा पाँचतारे होटल सञ्चालनमा आइसक्यो । यही सिजनदेखि होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने लगानीकर्ता रवीभक्त श्रेष्ठ बताउँछन् । सोल्टीमा करीव एक अर्ब लगानी भइसकेको छ ।

सुरुमा चारतारे होटल निर्माण गर्ने भनिएको थियो । तर, सरकारले उपत्यकाबाहिर सञ्चालन हुने पाँचतारे होटलमा ८० कोठाको मापदन्ड बनाएपछि सोल्टीले पाँचतारे लिन प्रकृया सुरु गरेको हो ।

होटलमा ८१ कोठा, रेष्टुरेन्ट, स्वीमिङपुल, क्यासिनो, साउनालगायत सुविधा छन् । यो नेपालगञ्ज क्षेत्रकै पहिलो पाँचतारे होटल बनेको छ ।

सोल्टी समूहले पोखरामा पनि पाँचतारे होटल सञ्चालन गर्दैछ । पोखरामा होटल सञ्चालन गर्न फेवाताल किनारमा २८ रोपनी जग्गा किनिसकेको छ । काठमाडौंमा सञ्चालित सोल्टी क्राउन प्लाजा देशकै अग्रणी पाँचतारे होटल हो ।

भैरहवामा चारवटा पाँचतारे
टाइगर प्यालेस


अष्ट्रेलियाको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले रुपन्देहीको कोटिहवामा पाँचतार होटल टाइगर प्यालेस रिसोर्टको पहिलो फेज सञ्चालनमा ल्याइसकेको छ । १५ विघा क्षेत्रफलमा फैलिएको टाइगर प्यालेसमा पहिलो चरणमा १०० कोठा सञ्चालनमा आएका छन् । दोस्रो चरणमा रिसोर्टमा कोठा ३०० पुराउने लक्ष्य छ ।
टाइगर प्यालेस नेपालकै युनिक होटल बनेको छ । पाँचतारे प्रमाणपत्र पाइसकेको रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा आइसक्दा लगानी ५ अर्ब पुग्नेछ । रिसोर्टमा दुईवटा भिल्ला पनि छन्, जहाँ तीनवटा कोठा, भान्छा, साउना, ज्याकुटी लगायत सुविधा उपलब्ध छ । रिसोर्टका २० वटा कोठाबाट सिधै पौडी पोखरीमा डाइभ हान्न सकिन्छ ।


रिसोर्टमा क्यासिनो, गल्फकोर्स लगायत सुविधा पनि रहनेछन् । सिल्भर हेरिटेजले झापामा पनि पाँचतारे होटल सञ्चालन गर्दैछ । झापामा टाइगर प्यालेस टु सञ्चालनका लागि २२ विघा जमिन पनि खरिद गरिसकेको छ । झापामा पनि छिट्टै होटल निर्माण कार्य सुरु गर्ने कम्पनीले जनाएको छ । सिल्भर हेरिटेजले लाओस, फिलिपिन्स, भियतनाम, कम्बोडिया, आइसल्यान्ड लगायत देशमा चेन होटल सञ्चालन गरिरहेको छ ।

पवन प्यालेस


भैरहवामा पवन प्यालेस सञ्चालनको अन्तिम तयारीमा छ । भैरहवाबाट लुम्बिनी जाने बाटोमा पवन प्यालेस निर्माण भइरहेको छ । होटलमा डेढ अर्ब लगानी भइसकेको सञ्चालक पवनकुमार हलुवाई बताउँछन् । अढाई विघा क्षेत्रफलमा फैलिएको होटलमा एक सय ३० कोठा रहनेछन् ।
यो होटलमा पवनकुमार हलुवाई र रितु हलुवाईको संयुक्त लगानी हुनेछ । सात तलाको पवन प्यालेस छिट्टै सञ्चालनमा आउँदैछ । होटलमा पाँच सय र दुई सय जना अटाउने दुईवटा सभाहल पनि हुनेछन् । यो होटल लुम्बिनी आउने बुद्धिष्ट पर्यटकलाई लक्षित गरी सञ्चालन गर्न लागेको पवन हलुवाई बताउँछन् ।

होटल नान्स


भैरहवाको बेलहियामा पाँचतारे होटल निर्माण भइरहेको छ । तीनतारे होटल नान्स सञ्चालन गरिरहेका सिपी श्रेष्ठले भारतीय सीमानजिक पाँचतारे होटल निर्माण गरिरहेका थिए । तर, सीमा क्षेत्रबाट ५ किलोमिटरसम्म क्यासिनो चलाउन नदिने नीति बनेपछि उनी हच्किएका छन् । ‘मैले निर्माणाधिन पाँचतारे होटल बेचिसकेको छु’ उनले भने । भैरहवामा क्यासिनो खेल्न भारतीय आउने गर्छन् ।
होटलको दुईतला भौतिक संरचना तयार भइसकेको छ । नयाँ लगानीकर्ताले १२७ कोठा पु¥याउन कस्सिएपछि बिल्डिङ बढाउनुपर्ने भएको छ । अहिले ६० कोठा तयार भइसकेका छन् । होटलमा २ हजार जना अटाउने ब्यांक्वेट र चारवटा रेष्टुरेन्ट हुनेछन् । १० विघा क्षेत्रफलमा फैलिने होटल सञ्चालनम आइसक्दा दुई अर्ब लगानी हुने श्रेष्ठ बताउँछन् । पाँचतारे होटलमा श्रेष्ठको पनि धेरथोर लगानी रहने सम्भवना छ ।

बोधी रेडसन

भैरहवाकै बालापुरमा सञ्चालित बोधी रेडसन होटललाई स्तरोन्नती गरी पाँचतारे बनाउन लागिएको छ । धमाधम स्तरोन्नती भइरहेको होटलमा वातानुकुलित कोठा, स्वीमिङ पुल, क्लब, साउन, क्यासिनो लगायत सुविधा रहनेछन् ।
राजधानीको चर्चित होटल तिब्बत काठमाडौंले लुम्बिनीको पर्सा चोक नजिकै पाँचतारे होटल निर्माणका लागि जग्गा खरिद गरिसकेको छ । लक्जरी होटल सञ्चालनका लागि पाँच विघा जग्गा खरिद गरेको हो । सोल्टी समूहले नेपालगञ्ज र पोखरापछि होटल विस्तारका लागि लुम्बिनी छनोट गरिसकेको छ ।

राजधानीमा पाँचतारेको बाढी
काठमाडौं सेराटन


काठमाडौंको कन्तिपथमा धमाधम पाँचतारे होटल निर्माण भइरहेको छ । होटल भौतिक संरचना ठड्याउने काम भइरहेको छ । होटल सन् २०२० सम्ममा सञ्चालन गरिसक्ने लक्ष्य राखिएको छ । गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले पाँचतारे होटल सञ्चालन गर्न लागेका हुन् ।
होटलको व्यवस्थापन चर्चित बहुराष्ट्रिय कम्पनी सेराटनले गर्नेछ । होटल १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । १७ तलाको भवनमा २१८ कोठा हुनेछन् । जहाँ हेल्थ क्लव, रिटेल पसल, स्वीमिङ पुल, क्यासिनो, साउना, पार्किङ सुविधा हुनेछ । होटलमा ८ अर्ब लगानी हुनेछ ।

काठमाडौं मेरियट


चर्चित व्यवसायिक घराना एमएस समूहले काठमाडौंको नक्सालमा पाँचतारे होटल सञ्चालनमा ल्याउँदैछ । होटलको भौतिक संरचना तयार भइसकेको छ । डेकुरेसनको काम धमाधम हुँदैछ । यही सिजनदेखि होटल सञ्चालनमा आउने एमएस समूहका प्रबन्ध निर्देशक शशीकान्त अग्रवाल बताउँछन् । यो होटलको व्यवस्थापन चर्चित अन्तर्राष्ट्रिय होटल ब्रान्ड म्यारियटले गर्दैछ ।
१२ तलाको मेरियट होटलमा २३५ कोठा रहनेछन् । होटलमा तीन अर्ब लगानी रहने एभरेष्ट हस्पिटालिटीले जनाएको छ । होटलमा दुई तला अन्डर ग्राउन्ड पार्किङ, चारवटा रेष्टुरेन्ट, बार, ब्यांक्वेट, सभाहल, हेल्थ क्लब, साउन, ज्याकुजी, रिक्रियसन सेन्टर, स्वीमिङ पुल लगायत सुविधाहरु रहने बताइएको छ ।

हायात प्यालेस काठमाडौं


व्यवसायिक घराना गोल्यान ग्रुपले कालिमाटीको सोल्टी होटल छेवैमा भव्य पाँचतारे होटल निर्माण गरिरहेको छ । यो होटल सन् २०१९ भित्रमा सञ्चालन भइसक्ने छ । होटल १३ तलाको भवनमा हुनेछ, जहाँ १५६ कोठाहरु हुनेछन् । होटल सञ्चालनमा आइसक्दा दुई अर्ब ८० करोड रुपैयाँ लगानी भइसक्ने ग्रुपकी निर्देशक लतिका गोल्यानले बताइन ।
यो होटलमा अमेरिकन हायात होटल कर्पोरेसनले व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने छ । विदेशका लक्जरी पाँचतारे होटलमा उपलब्ध गराइने सम्पूर्ण सेवा सुविधा हायात प्यालेस काठमाडौंमा पनि उपलब्ध हुनेछन् । यो होटल सञ्चालन भएलगत्तै त्रिभुवन विमानस्थल नजिकै अर्को होटल बनाउने योजना रहेको लतिका बताउँछिन् ।

काठमाडौं अलफ्ट ठमेल


राजधानीको पर्यटकीय केन्द्र ठमेलमा पाँचतारे होटल ‘काठमाडौं अलफ्ट ठमेल’ सञ्चालन हुँदैछ । छायाँदेवी कम्लेक्समा सञ्चालन हुने होटलमा २२० कोठा रहनेछन् । १५ तले कम्पलेक्सको भौतिक संरचना तयार भइसकेको छ । कम्लेक्स र होटलमा गरी ५ अर्ब लगानी हुने छायाँ सेन्टरका सञ्चालक सुमन पाण्डे बताउँछन् ।
‘ठमेल भित्रको ठमेल’ बन्ने विश्वास गरिएको छायाँ सेन्टर १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । छायाँ सेन्टरको माथिल्लो भागमा होटल रहनेछ । छायाँ सेन्टरमा बैंकर पृथ्वी बहादुर पान्डेको नेतृत्वमा आधा दर्जन व्यवसायीको लगानी छ । होटल छिट्टै सञ्चालनमा आउने पान्डेले जानकारी दिए । छायाँ सेन्टरमा होटल, मल्टिप्लेक्स, सपिङ सेन्टर, बैंक, ट्राभल्स, रेष्टुरेन्ट, गेमिङ जोन, अन्डरग्राउन्ड पार्किङ, क्यासिनो, डिस्कोथेक लगायत सुविधा रहनेछन् ।

डबल ट्रि बाई हिल्टन


चर्चित व्यवसायिक घराना शंकर समूहले नक्सालमा पाँचतारे होटल निर्माणलाई तिब्रता दिएको छ । होटलको भौतिक संरचना अन्डर ग्राउन्डसहित जमिनमाथि तीन÷चार तला ठडिसकेको छ । यो होटल छिट्टै सञ्चालनमा ल्याउने तयारीमा शंकर समूह छ । विदेशी बहुराष्ट्रिय होटल हिन्टनले होटल व्यवस्थापन गर्नेछ । डबल ट्रि बाई हिल्टन तीन अर्ब लगानी हुने अनुमान छ । होटलको भवन दुई तला बेसमेन्टसहित १५ तलाको हुनेछ । होटलमा १२८ कोठा हुनेछन् ।

सिप्राभ्य होटल
सोल्टी होटलका मालिक प्रभाकर समसेर राणाले रविभवनमा सिप्राभ्य होटल सञ्चालनमा ल्याउँदै छन् । पाँचतारे लक्जरी होटलमा कुल पुँजी ५ अर्ब ४१ करोड हुनेछ । होटलमा १६० कोठा र १२५ सिट क्षमताको रेष्टुरेन्ट रहनेछ । यो होटल दुई लाख ५३ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिने छ । भिवोर बैंकको ४५ रोपनी जग्गा एक अर्ब ३७ करोड ५० लाखमा प्रभाकरले किनेका हुन् ।

अन्नपूर्ण भ्यू होटल


जापानी मुलका नेपाली नागरिक ताकाशी मियाहाराले पोखराको सराङकोटमा पाँचतारे भ्यू अन्नपूर्ण होटल सञ्चालनमा ल्याउँदैछन् । होटल आंशिक रुपमा सञ्चालनमा आइसकेको छ । पहिलो चरणमा डेढ अर्ब लगानी हुने र ४६ कोठाहरु सञ्चालनमा आउनेछन् । होटलमा दोस्रो चरणको काम सम्पन्न भइसक्दा तीन अर्ब लगानी हुनेछ भने कोठा संख्या ११० पुग्नेछन् । दोस्रो चरणको निर्माण सकिँदा केवलकार पनि सञ्चालन भइसक्नेछ ।
यो केवलकारसहितको पाँचतारे होटल हो । फेवाताल किनारबाट केवलकार चढेर सराङकोट होटलमा पुग्न सकिन्छ । केवलकार निर्माणमा झन्डै एक अर्ब रुपैयाँ खर्च हुने बताइएको छ । केवलकार आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

चन्द्रागिरी होटल


काठमाडौंको चन्द्रागिरी डाँडामा पाँचतारे होटल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा सञ्चालनमा आएको केवलकार सहितको विशाल परियोजनाअन्तर्गत पाँचतारे होटल पनि सञ्चालन गर्न लागिएको हो ।
चन्द्रागिरी एकीकृत पर्यटकीय गन्तव्य बनेको छ । काठमाडौं नजिकको उत्कृष्ट गन्तव्य चन्द्रागिरीमा केवलकार, मन्दिर, होटल, रेष्टुरेन्ट, भ्यू पार्क, गेमिङ जोनले सबैलाई तानेको ढकाल बताउँछन् ।
मलेसियाको ग्यान्तिङ हाईल्यान्डको फेलेवर दिन खोजिएको चन्द्रागिरीमा सम्पूर्ण पूर्वाधार निर्माण भइसक्दा लगानी ५ अर्ब पुग्ने ढकालको अनुमान छ । उनका अनुसार होटल अक्टोबरदेखि सञ्चालनमा आउनेछ । होटलमा १०० कोठा हुनेछन् ।
चन्द्रागिरीमा सार्क, बिमिस्टेकका राष्ट्रअध्यक्षहरु मिटिङ गर्न, खान र बस्न मिल्ने गरी होटल बन्दैछ । होटलमा ८ वटा स्वीट रुम, दुईवटा हेलिप्याड, क्यासिनो, स्वीमिङ पुल लगायत सुविधा रहने ढकालले जानकारी दिए ।

दी सेञ्चुरियन होटल
उद्योगपति मोतीलाल दुगडले विराटनगरमा सपिङ कम्पलेक्ससहितको पाँचतारे होटल सञ्चालनमा ल्याउँदैछन् । कम्पलेक्स र होटलको भौतिक संरचना तयार भइसकेको छ । छिट्टै सञ्चालनमा आउन लागेको होटलको डेकोरेसनको काम भइरहेको छ ।

यो विराटनगरकै पहिलो पाँचतारे होटल हुनेछ । करीव एक विघा क्षेत्रफलमा फैलिने होटलमा १२० कोठा हुनेछन् । पाँचतारे होटलमा हुने सम्पूर्ण सूविधा दि सेञ्चुरियन होटलमा उपलब्ध हुने दुगड बताउँछन् ।

अरुण चौधरी
अरुण चौधरीले ललितपुरको पुल्चोक र पोखराको सराङकोटमा पाँचतारे होटल सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । पुल्चोकको होटलमा १७० कोठा रहनेछन । यहाँ दुई अर्ब ५५ करोड लगानी रहने बताइएको छ । यस्तै, सराङकोटमा ८० कोठाको पाँचतारे होटल बनाउने योजना बनाएका छन् ।

अजय सुमार्गी
व्यवसायी अजय सुमार्गीले पनि काठमाडौंमा पाँचतारे होटल सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । उनको होटलमा दुई कोठा रहनेछन् । सुमार्गीका अनुसार होटलमा ५ अर्ब लगानी रहने छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पाँचतारे होटल सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ । बुट मोडलमा सञ्चालन गरिने होटलमा दुई अर्ब लगानी हुनेछ । यो होटलमा दुई सय कोठा रहने उल्लेख छ ।
सूर्य नेपाल पनि काठमाडौंमा पाँचतारे होटल सञ्चालनको तयारीमा छ । पाँचतारे होटलमा दुई अर्बभन्दा बढी लगानी गर्ने बताइएको छ । सूर्य नेपालको प्यारेन्ट कम्पनी आईसिटीले भारतका विभिन्न स्थानमा मौर्यसहितका लक्जरी होटल सञ्चालन गरिरहेको छ । नेपालमा सञ्चालन गरिने होटल पनि पाँचतारे लक्जरी हुने दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय चेन आकर्षित
निर्माणाधिन धेरैजसो होटलमा विश्वभर कहलिएका बहुराष्ट्रिय होटल ब्रान्ड भित्रिने तयारीमा छन् । विदेशी बहुराष्ट्रिय ब्रान्डहरु होटलको व्यवस्थापन गर्ने गरी आउन लागेका हुन् । अघिल्लो वर्ष चीतवनमा सञ्चालनमा आएको सफारी रिसोर्ट मेघौली सेराई भारतको चर्चित ब्रान्ड ताज सफारीले व्यवस्थापन गरिरहेको छ ।

शेष घलेको कन्तिपथस्थित होटल अमेरिकी बहुराष्ट्रिय कम्पनी स्टारउड समूहको शेराटन ब्रन्डले व्यवस्थापन गर्दैछ । एमएस समूहले ठमेल र नक्सालमा मेरियट ब्रान्डलाई भित्र्याएको छ । ठमेलको बिजनेश होटल सञ्चालनमा आइसकेको छ । नक्सालको पाँचतारे होटल सञ्चालनको तयारीमा छ ।

शंकर समूहले विश्वकै दोस्रो ठूलो होटल सञ्जाल भएको बहुराष्ट्रिय कम्पनी हिल्टनलाई भित्र्याउँदै छ । हिल्टन समूहअन्तर्गतको डबल ट्रि बाई हिल्टन ब्रान्डले नक्सालको पाँचतारे होटल व्यवस्थापन गर्ने छ । ठमेलको छायाँ सेन्टरमा सञ्चालन हुने पाँचतारे होटलको व्यवस्थापन स्टारउडकै अलफ्ट ब्रान्डले सम्हाल्ने छ ।

अरुण चौधरीले पुल्चोकमा बनाउन लागेको पाँचतारे होटलमा अमेरिकी ब्रान्ड होली डे ईन आउने निश्चित भइसकेको छ । सबै बहुराष्ट्रिय होटल ब्रान्ड नेपाल भित्रिने निश्चित भइसकेको छ । नेपाली लगानीकर्तासँग बहुराष्ट्रिय ब्रान्डले सम्झौता भइसकेको छ । होटलको भौतिक संरचनामा लगानी नेपाली हुनेछ, व्यवस्थापनको जिम्मेवारी बहुराष्ट्रिय सम्हाल्ने छन् ।

विश्वभर सञ्जाल फैलाएका बाहुराष्ट्रिय कम्पनीलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिँदा होटल सञ्चालनको झन्झटबाट पनि मुक्ति हुन्छ । र, उनीहरुले विश्वभर फैलिएको सञ्जाल मार्फत होटलमा पर्यटक भित्र्याउँछन् । यसले नेपालमा गुणस्तरीय पर्यटक भित्रिने विश्वास गरिएको छ । साथै, नेपालको सकरात्मक सन्देश विश्वभर फिँजिने छ ।

काठमाडौंमा सञ्चालनमा रहेका केही पाँचतारे होटलको विदेशी ब्रान्डले नै व्यवस्थापन हेरिरहेका छन् । सोल्टी होटलमा क्राउन प्लाजाले व्यवस्थापन लिएको छ । बौद्धको तरागाउँ होटलमा हायात होटल भित्रिएको छ । रेडिसन होटल पनि विदेशी ब्रान्ड हो ।

रुपन्देहीको टाइगर प्यालेसमा बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज लगानी र व्यवस्थापनसहित नेपाल भित्रिएको छ । गोल्यानले निर्माण गरिरहेको होटलमा बहुराष्ट्रिय कम्पनी हायातले व्यवस्थापनको जिम्मेवारी लिने भएको छ ।

याे पनि पढ्नुहाेस् : वार्षिक ५० लाख पर्यटक असम्भव हाेइन

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!