फिचर स्टोरी
एलओडी : जब ‘रक बार’ एक्कासी ‘डिस्को’मा परिणत हुन्छ !
जतिजति रात छिप्पिँदै जान्छ, उति नै ठमेलको एलओडी क्लबमा भिड बढ्दै जान्छ । एलओडीमा मध्यरातसम्म एलिट वर्ग झुमिरहेको हुन्छ ।

साँझ ७ बजे क्लबको ढोका खुल्छ ।
८ बजेदेखि रक ब्यान्ड सुरु हुन्छ ।
‘रक बार’मा चर्चित ब्यान्डको लाइभ प्रस्तुति हेर्न नेपाली तथा विदेशी ग्राहकको भिड लाग्छ ।
रक बारमा हार्डकोर रक म्युजिक बज्दैनन् । ब्यान्डले चल्तीका अंग्रेजी तथा नेपाली गीत गाउँछन् । रंगीबिरंगी प्रकाशले रक बारको माहोल तताइदिन्छ । लाइटले ब्यान्डलाई फोकस्ड गर्छ ।
राती साढे ११ बजेसम्म ब्यान्डको लाइभ प्रस्तुति हेर्न र सुन्न रुचाउने दर्शकको घुुइँचो लाग्छ ।
जब रातको साढे ११ बज्छ, अनि सुरु हुन्छ डिजे । अब डिस्कोमा उफ्रिन रुचाउने ग्राहक क्लब छिर्न थाल्छन् ।
डिजे सुरु भएपछि सम्पूर्ण लाइट सिस्टम नै जुर्मुरान थाल्छन् । भित्तोको चारैतिर डिजिटल स्क्रिनहरू खुल्छन् । मुख्य लाइटहरू बल्न थाल्छन् । लाइटले जादु देखाउन थाल्छन्, आगन्तुक पनि झुम्न थाल्छन् । एकाएक पूरै क्लबको माहोल नै परिवर्तन हुन्छ ।
‘रक बार’ एकैचोटी ‘क्लब’मा परिवर्तन हुन्छ ।
अब लाइटहरू स्टेजतिर होइन, म्युजिकको तालमा उफ्रिरहेका दर्शकतिर सोझिन्छन् ।
जतिजति रात छिप्पिँदै जान्छ, उति नै ठमेलको ‘लर्ड अफ दि ड्रिंक्स (एलओडी)’ क्लबमा भिड बढ्दै जान्छ । बुधबार, शुक्रबार, शनिबार र अरु बिदाका दिनमा मध्यराततिर एलओडी छिर्न ठेलमठेल भिड बढेपछि बाउन्सरलाई नै भिड व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । १८ सय ग्राहक अटाउने क्लब भरिभराउ भएपछि बाउन्सरले ढोका नै बन्द गर्नुपर्छ ।
एलओडी विहान ४ बजेसम्म खुल्छ । शुक्रबार र विदाको दिन उज्यालो हुँदासम्म युवा युवती म्युजिकको तालमा नाचिरहेका हुन्छन् । मध्यमदेखि सम्भ्रान्त वर्गका युवायुवती एलओडीमा म्युजिक र लाइटमा झुमिरहेका हुन्छन् ।
सेलिब्रिटी, कर्पोरेट, बैंकर, डाक्टर, इन्जिनियर र विदेशी पाहुनाले क्लब भरिभराउ हुन्छ । अधिकांश व्यापारिक घरानाका नयाँ पुस्ता एलओडीमा पुगेका हुन्छन् । शुक्रबार एलओडी छिर्ने हो भने काठमाडौंको एलिट सर्कल भेटिन्छ । अन्तर्राष्ट्रिय स्टान्डर्डको एलओडीले काठमाडौंका सम्भ्रान्त वर्गको ध्यान आफूतिर खिचेको छ ।
कुनै समय ठमेलमा एलिट वर्ग जान खोज्दैनथ्यो । उनीहरूको ठमेललाई हेर्ने नजर नै फरक थियो । तर, अहिले त्यही एलिट वर्ग ठमेलको एलओडी पुगेर रातभर नाचिरहेको हुन्छ ।
क्लब सञ्चालक रबिनका अनुसार क्लबतिर जान रुचाउने एलिट वर्गमध्ये अधिकांश एलओडी छिरिसकेका छन् । केही महिनाअघि पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक परिवारसँग एलओडी छिरेर चकित पारेका थिए । ज्ञानेन्द्र शाह क्लबमा आउने कुरा आफुहरुले केही मिनेट अगाडि मात्र थाहा पाएको उनी बताउँछन् ।
चौधरी ग्रुपका निर्वाणा चौधरी, करण चौधरी, आईएमएसका दिकेश मलहोत्रा, शौरभ ज्योति, अभिक ज्योति, शाहिल अग्रवाल लगायत व्यवसायी युवाहरु एलओडीमा नियमित गइरहन्छन् ।
शुक्रबार चर्चित व्यवसायी डान्स फ्लोरमा नाचिरहेको देख्न पाइन्छ,’ रबिनसुनाउँछन्, ‘एलओडी नेपालको अहिलेसम्मकै अत्याधुनिक क्लब हो । हामीले विश्वका उत्कृष्ट क्लबकै स्टान्डर्डमा एलओडी सञ्चालन गरेका छौँ ।’
गत वर्ष सञ्चालनमा आएको एलओडीको चर्चा चुलिएको छ । एलओडीमा भिभिआइपीको सुरक्षाका लागि राम्रो प्रबन्ध गरिन्छ ।
एलओडीमा चारजना युवाहरु रबिन श्रेष्ठ, रुदीप श्रेष्ठ, राजु सिंह र भूपेन कुँवर साझेदार छन् । होटल, क्लब, बैंकिङलगायत क्षेत्रका युवाहरू मिलेर एलओडी खोलेका हुन् ।
चारैै जना युवाहरु पहिलेदेखि नै विदेश भ्रमण गर्ने, त्यहाँका क्लब छिर्थे । ‘विदेशका क्लबहरू चहार्दै हिँड्ने प्यासनलाई हामीले बिजनेसमा परिणत ग¥यौँ,’ रबिन सुनाउँछन् ।
रबिन सिंगापुरमा फिल्म मेकिङ पढ्दा फुर्सदमा विभिन्न क्लब र रेस्टुरेन्ट चाहार्थे । त्यतिखेरै उनलाई नेपालमा केही नयाँ काम गरौँ भन्ने लाग्यो । साथी रुदीपसँग कुरा भइरहन्थ्यो । उनीहरू १५÷१६ वर्षदेखि मिल्ने साथी थिए । रुदीपले पनि रबिनलाई नेपाल फर्किऊ, यहीँ रेस्टुरेन्ट खोलौँला भन्थे । रबिन सिंगापुरबाट फर्किएपछि रेस्टुरेन्ट खोल्ने पक्कापक्की भयो । यो बीचमा रबिनले ‘मोक्ष’ फिल्म बनाए । ब्रिटिस एम्बेसीमा केही समय काम गरे ।
रुदीप र रबिन मिलेर ठमेलमा सन् २०१३ मा रिफ रेस्टुरेन्ट एन्ड लाउन्ज बार खोले । उनीहरूले रेस्टुरेन्टभन्दा पहिला गजु नामको होटल खोलेका थिए । २१ कोठाबाट सुरु भएको होटलमा अहिले ४२ कोठा छन् । सोही होटलको कौसी खाली देखेपछि रिफ खोलेको रबिन बताउँछन् । रिफ रेष्टुरेन्ट पुुग्दा समुन्द्रभित्र छिरेको अनुुभव हुन्छ ।
‘हस्पिटालिटी बिजनेस एडिक्सन नै रहेछ, होटल र रेस्टुरेन्टपछि क्लब खोल्ने मन लाग्यो,’ उनी सुनाउँछन्, ‘हामीले त्रिपुरेश्वरमा २०१६ मा कर्मा नामको क्लब खोल्यौँ ।’ सुरुमा कर्मा खोल्दा रबिन, रुदीप र कर्मा साझेदार थिए ।
‘रिफ’ खोलेपछि रबिनले साथीहरूसँग मिलेर ‘मुखौटा’ फिल्म बनाए । फिल्म राम्रो चलेन । हुन सक्छ, फिल्ममा लगानी गर्ने उत्तम समय थिएन होला । उनी फिल्मबाट टाढिए । पढाइ फिल्मसँग सम्बन्धित भए पनि प्यासन रेस्टुरेन्ट व्यवसायमा थियो । उनी रेस्टुरेन्ट र क्लबमै रमाउन थाले । हस्पिटालिटी बिजनेशमै केही गर्ने सोँच राखे ।
रबिनको मनमा विदेशी स्टान्डर्डको क्लब खोल्ने हुटहुटी थियो, ताकी लाखौँ रुपैयाँ बोकेर थाइल्यान्डलगायत मुलुकका क्लब धाउने नेपाली युवा नेपालमै रोकिऊन् ।
अहिले एलओडी भएको ठाउँमा पहिला पार्किङ थियो । रिफमा आउने ग्राहकले पनि त्यही ठाउँमा पार्किङ गर्थे । चिटिक्क परेको ठाउँ थियो । रबिनको टिमले उक्त ठाउँ भाडामा लिए । त्यही ठाउँमा विकसित मुलुकको भन्दा राम्रो क्लब खोल्ने योजना बन्यो ।
ठाउँ निश्चित गरेपछि उनीहरू विदेश धाउन थाले । त्यहाँका क्लबहरू कस्ता छन् भन्ने ज्ञान लिन थाले, ताकी नेपालमा उत्कृष्ट क्लब खोल्ने सपना पूरा होस् ।
‘हामी नेपालमा यस्तो क्लब खोल्न चाहन्थ्यौँ जहाँ अन्तर्राष्ट्रिय ब्यान्ड, डिजे, आर्टिस्टका लाइभ कार्यक्रमहरू आयोजना गर्न सकियोस र लाइभ हेर्दा पनि विदेशमै गएर हेरेको अनुभूति दिलाउन सकियोस्,’ रबिनले सुरुवाती योजना सुनाए, ‘म आफैँ म्युजिक लभर हुँ । इन्डिया, थाइल्यान्डतिर ठूल्ठूला ब्यान्ड आउँदा पैसा तिरेर हेर्न जान्छु । प्लेन चढेर जाँदा आउँदा कम्तीमा एक/डेढ लाख खर्च हुन्छ, समय पनि बर्बाद ।’
एलओडीले विश्वका चर्चित ब्यान्ड, डिजे र गायकको लाइभ प्रस्तुति देखाउँछ, दर्शकले १०/१५ हजार खर्च गरेर इन्ज्वाए गर्न सक्छन्, समय पनि बच्छ । ‘हाम्रो लक्ष्य वर्षमा २/४ विदेशी चर्चित ब्यान्ड, डिजे वा गायक ल्याएर कार्यक्रम गर्ने छ,’ उनी सुनाउँछन् ।
एलओडीमा सिंगापुर, युके, चीन र थाइल्यान्डका चर्चित क्लबको ‘फ्युजन’ छ ।
थाइल्यान्ड क्लबका लागि विश्वकै अग्रणी मानिन्छ । चीनमा पनि धेरै राम्रा क्लब छन् । चारै जनाले विदेशका क्लब चहारेर आइडिया लिएपछि यसको डिजाइनतर्फ लागेका हुन् ।
चर्चित नायिका नम्रता श्रेष्ठकी दिदी प्रणिताले क्लबको डिजाइन गर्न थालिन् । धेरै स्केच कोरिन् । क्लबको डिजाइनमा महिनौँ खटिइन् । रबिन सम्झन्छन्, ‘कतिपय कुराहरू बनाउँदा बनाउँदै पनि फेरिएका छन्, बीचमा नयाँनयाँ आइडिया पनि जन्मिए । हामीले सुरुमा जुन कन्सेप्ट बनाएका थियौँ, काम गर्दै जाँदा क्लब त्यो भन्दा राम्रो बनेको छ ।’
क्लब एउटा रंगशालाजस्तो छ । कहीँ कतैबाट पनि छेकिँदैन । प्याराफिट पनि छ । कम्तीमा दर्शकलाई कसैको टाउकोले डिस्टर्ब नगरोस् । कसैको टाउको पन्छाएर लाईभ म्युजिक वा मान्छे नाचिरहेको हेर्न नपरोस् ।
विदेशी आर्टिस्ट नेपाल आउँदा म्युजिकदेखि क्लबको संरचना, क्लबका म्युजिकल इन्स्टुुमेन्ट र सुरक्षा व्यवस्थासम्म हेर्छन् । क्लबमा चार–पाँचवटा इमर्जेन्सी एक्जिस्ट छन् । साउन्डको क्वालिटी पनि राम्रो छ । जर्मनीको चर्चित ‘डी एन्ड बी अडियो टेक्निक’को साउन्ड सिस्टम यहाँ राखिएको छ । लाइटिङ सिस्टम चीनबाट ल्याइएको हो ।
चर्चित गायक योगेश्वर अमात्यले ठट्टा गर्दै भनेका थिए, ‘अहिले काठमाडौंको एलिट वर्ग ठमेलको एलओडी क्लबमा जमघट हुन्छन् रे !’ अर्बपति विनोद चौधरीले पनि ठमेलमा अन्तर्राष्ट्रिय स्तरको क्लब खुलेको भन्दै एलओडीको नाम लिएका थिए ।
लाइटहरू हाइड्रोलिक हुन् । तलमाथि गराउन मिल्छ, जसलाई ‘एलओडी म्याजिक लाइट’ पनि भन्छन् । लाइटले म्याजिक नै देखाउँछन् । नेपालका कुनै पनि क्लबले प्रयोग नगरेका उच्चस्तरको प्रविधि एलओडीमा जडित छन् ।
क्लबको चारैतिर भित्ताभरि एलइडी स्क्रिन जडान गरिएको छ । ‘चीनको ए वान क्वालिटीको लाइट र स्क्रिन ल्याएका हौँ,’ रबिन सुनाउँछन्, ‘चीनबाटै इन्जिनियर आएर लाइट र स्क्रिन जडान गरिदिएका हुन् ।’
क्लबमा झन्डै पाँच सय सिट छन् । उभिनका लागि प्रशस्त ठाउँ छ । क्लबमा एकैचोटी १८ सयदेखि दुई हजार आगन्तुक अटाउन सक्ने रबिन बताउँछन् ।
सिटको क्याटेगोराइज गरिएको छ, ग्राउन्ड लेबल, भिआइपी र भिभिआइपी । ग्राउन्डमा चिटिक्क परेको आइल्यान्ड बार छ । ग्राउन्डमा रहेको आइल्यान्ड बारमा ‘फस्ट कम फस्ट सर्भिस’ हो । त्यहाँ सिट नपाउने ग्राहक उभिन्छन् ।
माथिका भिआइपी र भिभिआइपी सिटमा विभिन्न प्याकेज छन् ।
भिआइपीमा टेबुल बुकिङ गर्न २५ देखि ३० हजार तिर्नुपर्छ । एउटा टेबुलमा ६–७ जना अटाउँछन् । रबिन भन्छन्, ‘भिभिआइपीतर्फ टेबुल बुक गर्न ५० देखि ८० हजारसम्म तिर्नुपर्छ ।
भिभिआइपीमा दुईवटा क्याटेगोरी छन्, जहाँ टेबलमा ८ देखि १० जना अटाउँछन् ।’ यो प्याकेज लिएपछि इन्ट्रान्स शुल्क तिर्न पर्दैन । सिटबाटै चारैतिर हेर्न सकिन्छ । सेवा पनि राम्रो हुन्छ । र, आफूले प्याकेज किन्दा तिरेको रकम बराबरको जे खान पनि पाइन्छ ।
नर्मल क्याटेगोरी ग्राउन्डमा पर्छ, इन्ट्री फी एक हजार तिर्नुपर्छ । रबिनका अनुसार यो क्राउड कन्ट्रोल गर्नका लागि हो । ग्राहकलाई सेवा दिन एक सयभन्दा बढी कर्मचारी खटिएका हुन्छन् ।
बुधबार, शुक्रबार र शनिबार अलि बढी क्राउड हुन्छ । क्लबको आकर्षण लाइट हो । शुक्रबार र इभेन्टहरूमा लाइट झारेर देखाइन्छ । ‘हामी ग्राहकलाई हरेक दिन फरकपन दिन खोज्छौँ, ताकि एउटै क्लबमा पटक– पटक छिर्दा बोरिङ हुनु नपरोस्,’ रबिन सुनाउँछन्, ‘हरेक दिन आउँदा फरक पाउनुहुन्छ ।’
काठमाडौंमा क्लब कल्चर बढ्दै गएको छ । स्तरीय रेस्टुरेन्ट र क्लबहरू बढ्दै छन् । विदेशी पर्यटक पनि बढ्दै छन् । नेपाली पनि क्लब धाउन थालेका छन् । लाखौँ रुपैयाँ बोकेर थाइल्यान्डलगायत मुलुकतिर नाइट क्लब खोज्दै धाउने नेपाली अहिले स्वदेशकै क्लबमा रमाउन थालेका छन् । रकम पनि यतै खर्च गर्छन् । क्लबको नेपाली अर्थतन्त्रमा पनि योगदान छ । विदेशी पर्यटकलाई पनि मनोरञ्जन दिइरहेका छन् ।
कुनै समय ठमेलमा एलिट वर्ग जान खोज्दैनथ्यो । उनीहरूको ठमेललाई हेर्ने नजर नै फरक थियो । तर, अहिले त्यही एलिट वर्ग ठमेलको एलओडी पुगेर रातभर नाचिरहेको हुन्छ । एलओडीले ठमेललाई हेर्ने नजर पनि परिवर्तन गरिदिएको रबिन बताउँछन् ।
चर्चित गायक योगेश्वर अमात्यले एक भेटमा ठट्टा गर्दै भनेका थिए, ‘अहिले काठमाडौंको एलिट वर्ग ठमेलको एलओडी क्लबमा जमघट हुन्छन् रे !’ अर्बपति उद्यमी विनोद चौधरीले पनि नेपालमा अन्तर्राष्ट्रियस्तरको क्लब खुलेको भन्दै एलओडीको नाम थिए ।
क्लबमा छिर्न १८ वर्ष पार गरेको हुनुपर्छ ।
एलओडीमा २५ देखि ४० वर्षका युवा बढी आउने गरेको रबिन बताउँछन् ।
थाइल्यान्डको क्लबमा रमाउन विश्वभरबाट मान्छे पुग्छन् । अरू मुलुकमा पनि नाइट लाइफ संस्कृति बढ्दो छ । नेपालमा पनि पार्टी गर्ने, क्लबमा रमाउने पर्यटक आउन थालेका छन् ।
नेपाल ट्रेकिङ गर्ने, हिमाल चढ्ने, जंगल घुम्ने, पोखरा र लुम्बिनी धाउने पर्यटकको मात्र गन्तव्य होइन । रबिन भन्छन्, ‘नेपाल गरिब पर्यटक मात्र आउने ठाउँ होइन । लाखौँ रुपैयाँ खर्च गर्ने पर्यटकका लागि स्तरीय क्लब पनि छन् भनेर देखाउन खोजेका छौँ ।’
रबिन रातभरि क्लबमै हुन्छन् । पाहुनाको स्वागत सत्कारमा खटिन्छन् । र, बिहान भएपछि घरमा सुत्न जान्छन् ।
मस्तसँग निदाउनुपर्ने समयमा काममा खटिँदा पनि रबिनलाई कुनै गुनासो छैन । बरु इन्जोय गरिरहेका हुन्छन् ।
क्लब, रेष्टुरेन्ट उनको सोखको व्यवसाय हो । मन परेको काममा चौसिबै घन्टा खटिँदा पनि इन्ज्वाय नै हुन्छ ।
उनी भन्छन्, ‘मेरो तन, मन, धन यहीँ छ ।’
