Connect with us

अन्तर्वार्ता

दर्शक स्मार्ट भइसके, निर्माताको सोँच पुरानै

कतिपय नेपाली फिल्म हिन्दी र अंग्रेजीभन्दा बढी चलेका छन् । नेपाली फिल्म राम्रो बनेमा दर्शकले पक्कै माया गर्छन ।

नकिम उद्धिन नेपाली सिनेमा उद्योगलाई नयाँ बाटोमा डोर्याउने मार्गदर्शक हुन् । क्यूएफएक्समार्फत् उनले नेपाली हलको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्टाण्डर्डमा पुयाएका छन् । सिनेमा निर्माताले नेपाली दर्शकको भावना बुझ्न सकेका छन् ? नेपाली दर्शक अहिले पनि किन हिन्दी सिनेमा रूचाउछन् ? हामीले नेपाली सिनेमा उद्योगको इतिहास र यस उद्योगमा आएका परिवर्तनका बारेमा नकिमसँग विस्तृत छलफल गरेका छौँ ।

नेपाली दर्शकको हिन्दी फिल्मप्रति किन बढी मोह देखिन्छ ?

नेपालको सिनेमा उद्योग हिन्दी फिल्मबाटै सुरु भएको हो । हिन्दी फिल्म देखाउनसिनेमा हल बनाइयो । विस्तारै नेपाली फिल्म पनि बन्न थाले । हामी प्रर्दशन व्यापारमा छिरेपछि अंग्रेजी फिल्म देखाउन थाल्यौं । नेपालमा पहिल्यैदेखि धेरै भाषाका फिल्म चल्दै आइरहेका छन् ।

नेपालको सिनेमा इन्डष्ट्री हिन्दी फिल्मबाट सुरु भयो । हिन्दी फिल्ममा लगानी ठूलो छ, राम्रा फिल्म बन्छन् । नेपाली दर्शकले पनि हिन्दी फिल्म हेर्दै आइरहेका छन् । यसको मतलव नेपालीले स्वदेशी फिल्म हेर्दैनन् भन्ने होइन । नेपालीको स्वदेशी फिल्ममा पनि मोह देखिन्छ ।

अहिले नेपाली फिल्म राम्रै चल्न थालेका छन् । कतिपय नेपाली फिल्म हिन्दी फिल्मभन्दा पनि बढी चलेका छन् । छक्कापञ्जा ३ ले बक्स अफिसमा २३ करोडभन्दा बढीको कारोबार गरिसकेको छ । यो फिल्मलाई बलिउडका स्टारहरु शाहरुख, सलमान र अमिर खानका फिल्मसँग जुधाएर प्रर्दशन गरिएको भएपनि जित्थ्यो होला । जय भोले, छक्कापञ्जा, शत्रुगते, लुट लगायत फिल्मले राम्रो गरेका छन् ।

नेपाली फिल्म राम्रो बनेमा दर्शकले पक्कै माया गर्छन् । राम्रो फिल्म बनाए बजार पनि ठूलो देखियो । एउटै मल्टिप्लेक्समा धेरै भाषाका फिल्महरु चलिरहेका हुन्छन । यो भिडमा नेपाली फिल्मले जति प्रगती गरेको छ, धेरै राम्रो भन्नुपर्छ । नेपाली दर्शकले स्वदेशी फिल्मलाई माया गरिरहेका छन्, अब कथावस्तु लेखन र प्रर्दशनमा मिहेनत गर्नुपर्ने देखिन्छ । वार्षिक झन्डै १०० फिल्म बन्न थालिसके । यो संख्या धेरै हो । अझ यस पटक छक्कापञ्जा ३ र जय भोले राम्रो चलेका छन् । आउने वर्ष डेढ सय फिल्म बन्देलान भन्ने टेन्सन छ ।

नेपालमा धेरै हलहरु छैनन् । अहिले भइरहेका हलमा वार्षिक ३५/४० वटाभन्दा बढी फिल्म चल्न सक्दैनन् । वर्षको ५० वटासम्म फिल्म बनेमा हप्तामा एउटा देखाउन सकिएला । तर, अहिले हप्तामा २/३ वटा फिल्म रिलिज गर्नुपर्ने अवस्था छ । यसो हुँदा राम्रो फिल्मले पनि ठाउँ पाउन गाह्रो भइरहेको छ । अहिले वार्षिक १०० फिल्म बन्छन् । करीव १२/१५ वटा फिल्म राम्रो चल्छन् ।बरु हामी थोरै फिल्म बनाउने, तर गुणस्तर सुधार गर्नेतर्फ लाग्नुपर्छ । नेपाली फिल्म उद्योगको भविष्य राम्रो छ ।

मतलब, नेपाली फिल्मले पनि दर्शक पाउन थाले ?

पक्कै पनि । नेपाली दर्शकले नहेरेको भए छक्कापञ्जा ३ ले २३ करोडको व्यापार कसरी गथ्र्यो होला र ?जय भोलेले पनि राम्रो व्यापार गरिरहेको छ । यसअघि पनि केही फिल्मले राम्रो व्यापार गरे । चलेका हिन्दी फिल्मको भन्दा राम्रा नेपाली फिल्मको व्यापार धेरै भइरहेको छ ।

अघिल्ला वर्षभन्दा यो वर्ष नेपाली फिल्ममा धेरै सुधार आएको छ । अझै सुधार गर्नुपर्ने धेरै ठाउँ छन् । हामीले सय÷डेढ सय फिल्म बनाउँदैमा फिल्म इन्डष्ट्रीको विकास हुने होइन । बरु एउटा निर्माताले एउटा फिल्म बनाउनुभन्दा दुई÷तीन जना मिलेर एउटा राम्रो फिल्म बनाउन सकेमा झन राम्रो हुने थियो । नेपालमा वार्षिक ३०÷३५ भन्दा बढी फिल्म आवश्यक छैन । फिल्मको गुणस्तर र कथावस्तुमा ध्यान दिनै पर्छ ।

नेपाली फिल्म राम्रो बनेको भएपनि निर्माता निर्देशकले त्यति प्रचार गरेको पाइँदैन । कस्तो फिल्म प्रर्दशनमा आउँदैछ, दर्शकले पत्तो पाउँदैनन् । फिल्म बनाएरसिनेमा हलमा छोड्दैमा फिल्म चल्दैन । दर्शकलाई जानकारी गराउनु पर्छ । हलसम्म तान्न प्रयास गर्नुपर्छ ।

धेरै भाषाका फिल्म चल्दा स्वदेशी फिल्मलाई कस्तो प्रभाव पार्छ ?

पक्कै पनि सकरात्मक प्रभाव पर्छ । नेपालमा सबै भाषाका फिल्म स्वतन्त्र रुपमा चलिरहेका छन् । यही कारण नेपाली फिल्म उद्योगको पनि प्रगती भएको हो भन्नेमा दुईमत छैन । सार्क राष्ट्रकै कुरा गर्दा पाकिस्तानमा दुई/तीन वर्षअघिसम्म टिभी इन्डष्ट्री एकदमै सफल थियो । तर, सिनेमा इन्डष्ट्री धरापमा थियो । पछि हिन्दी फिल्म रिलिज हुन थाल्यो, फिल्म देखाउन हल पुगेनन् । अहिले पाकिस्तानमा फिल्म प्रर्दशन गर्न थुप्रै मल्टिप्लेक्स बनिसकेका छन् । विश्वविख्यातआइम्याक्स पनि आयो ।

हिन्दी फिल्मले पाकिस्तानको बजारलाई यसरी तताइदियो कि अहिले पाकिस्तानी फिल्म पनि राम्रा बन्न थालिसकेका छन् । हिन्दी फिल्मकै कारण पाकिस्तानी र अंग्रेजी फिल्मले पनि बजार पाएका छन् ।

बहुभाषाका फिल्महरु प्रर्दशन गरिने देशमा त्यहाँको फिल्म उद्योगले पनि गति लिएको देखिन्छ । अहिले बंगलादेशमा हिन्दी फिल्म ब्यान्ड छ, उसको बांगला फिल्म उद्योग पनि खत्तम छ । बंगलादेशको राजधानी ढाकामा २÷३ वटाजति मल्टिप्लेक्स छन् । ती मल्टिप्लेक्स पुरै अंग्रेजी फिल्मले बाँचिरहेका छन् । बांगला फिल्म वर्षमा १/२ वटा राम्रो बन्ने हुन् । बाँकी फिल्म हेर्न लायक बन्दैनन् ।

सार्क मुलुकमा इन्डियापछि फिल्मी उद्योगमा राम्रो प्रगती गर्ने मुलुकमा नेपाल पर्छ । इन्डियाको फिल्म उद्योग ठूलो छ । त्यहाँ सबै भाषाका फिल्म चल्छन् । दोस्रो नम्बरमा नेपाल आउँछ ।

नेपाली फिल्म हेर्न हलमा धाइरहेका सिरियस दर्शक हुन् ?

ठूलो संख्यामा दर्शकको कमेडी फिल्ममै आकर्षण देखियो ।सिरियस फिल्ममा आकर्षण छ । पशुपतिप्रसाद राम्रो चलेको थियो । सब्जेक्टिभ फिल्मको पनि बजार छ । पैसाकमाउने चक्कर, दौडधुप, व्यस्त जीवनशैलीले मान्छे यत्तिकै सिरियस भइरहेको हुन्छ । यस्तो बेलामा दिमाग लगाएर हेर्ने भन्दा पनि हँसाउने फिल्ममा बढी आकर्षण हुँदो रहेछ ।

पशुपति प्रसादपछि सब्जेक्टिभ फिल्म कत्तिको चलिरहेका छन् ?

ठ्याक्कै अंकमा भन्न त सक्दिन । यति भन्न सक्छु, राम्रो चलिरहेका छन् । कमेडी फिल्मको तुलनामा सब्जेक्टिभ फिल्मले बक्स अफिसमा धेरै कमाउन सकेनन् हेला । तर, राम्रो विषयवस्तु उठान गरिएका फिल्महरुले राम्रै दर्शक पाइरहेका छन् ।

नेपाली निर्माता विषयवस्तु छनोटमा कमजोर देखिएको दर्शकको गुनासो छ नी ?

धेरै कमजोरी देखिन्छ । सुधार गर्नुपर्ने पाटो धेरै छ । विषयवस्तु छनोटदेखि प्रर्दशनसम्म सुधार गनुपर्ने देखिन्छ । अहिले पनि कतिपय फिल्म हेर्नै नसक्ने खालका हुन्छन् । फिल्म बनाउने नाममा जस्तो पनि बनाउने गरिएको छ । दर्शकको चाहाना यकातिर हुन्छ, फिल्म अर्कोतिर फर्केर बनाइन्छ । दर्शकको चाहानको मूल्यांकन भएजस्तो लाग्दैन । धन्न दर्शकले फिल्म हेरिदिएर माया गरिरहेका छन् । यो कुरा निर्माताले बुझ्नुपर्छ ।

निर्माताहरु मिलेर थोरै फिल्म बनाउँदा गुणस्तर बढ्ला ?

पक्कै पनि बढ्छ । तीनवटा फिल्म बनाउन तीन करोड खर्च गर्नुभन्दा एउटा फिल्ममै तीन करोड खर्च गर्दा धेरै राम्रो हुन्छ । एउटा फिल्ममा तीनवटानिर्माताको विवेक प्रयोग हुन्छ । बजेट धेरै भएपछि राम्रो ठाउँमा सुटिङ गर्न सकिन्छ । उच्च गुणस्तरको प्रविधि प्रयोग हुन्छ । यसले राम्रो रिजल्ट दिन्छ ।

तर, अहिले सबैले आ–आफ्नो पेटी इन्ट्रेष्टमा फिल्म बनाइरहेका छन् । तिनलाई मिलाउन गाह्रो छ । बिचमा चलचित्र विकास बोर्डले केही प्रयास पनि गरेको थियो । फिल्म बनाउन आउने नयाँ निर्मातालाई फिल्मको बजार थाहा छ कि छैन ? कतै झुटो आश्वासनमा फसेर फिल्म बनाउन त कस्सिएको होइन ? कतै ठगिन लागेको त होइन ? उसलाई बजारको ट्रेन्ड कत्तिको थाहा छ ? नयाँ फिल्म निर्मातालाई चलचित्र विकास बोर्डले उल्लेखित विषयमा एजुकेटेड गर्ने प्रयास थालेको थियो । अहिले निरन्तरता छ कि छैन, थाहा भएन ।

यहाँ निर्माता, निर्देशक वा हिरो, हिरोइन बन्नकै लागि पैसा खर्च गर्नेहरु पनि छन् । कतिले झुटो आश्वासनमा पैसा खन्याउँछन् । जग्गा बेचेर फिल्म बनाउने पनि हुन्छन् । अकुत सम्पत्ती फिल्म बनाउन खर्च गर्नेहरु पनि हुन्छन् । यसले फिल्म क्षेत्रको पक्कै भलो गर्दैन ।

नेपालमा जुन धारको फिल्म चल्यो, त्यही धारको पछाडि दौडिने प्रवृत्ति हाबी छ । अहिले सबै निर्माताले कमेडी फिल्म बनाइरहेका छन् ।यो ट्रेन्डले फिल्म उद्योगलाई कतातिर लैजाला ?

यो ग्लोबल ट्रेन्ड नै हो । भारतमा पनि एउटै धारमा दर्जनौं फिल्म बनाएको देखिन्छ । चल्तीका हिरो हिरोइन पनि फिल्ममा बढी लिने गर्छन् ।

चल्तीका हिरो हिरोइन नै म्युजिक भिडियोमा पनि नाच्छन् । फिल्म पनि खेलिरहेका हुन्छन् । यो प्रवृत्ति कत्तिको फलदायी हुन्छ ?

त्यसैले त पछिल्लो समय चल्तीका कलाकारको पनि फिल्म चल्न छोडिसकेका छन् । उनीहरु जस्तो पायो त्यस्तै फिल्म खेल्न थाले । कतिपय हिरो हिरोइन म्युजिक भिडियोबाट फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्छन् ।उनीहरु फिल्म क्षेत्रमा जमिसक्दा पनि म्युजिक भिडियोमा खेलिरहेको देखिन्छ । एउटै व्यक्ति धेरै ठाउँमा देखिदा दर्शकले रुचाउँदैनन् । फिल्म करियरमा पुरुषको आयु अलि लामो हुन्छ, महिलाको छोटो हुन्छ । छोटो समयमा जस्तो पनि फिल्म र म्युजिक भिडियो खेल्नुपर्ने वाध्यता हुन्छ । सेलेक्टेड फिल्म खेल्दा धेरै फिल्म खेल्न सकिदैन ।

अनमोल केसीलाई हेर्नुहोस्, सम्भवतः उनी सबैभन्दा बढी पारिश्रमिक लिने चल्तीका हिरो हुन् । उनी वर्षमा १÷२ फिल्म खेल्छन् । जुन पायो त्यही फिल्म खेल्दैनन् । आफ्नो क्वालीटी मेन्टेन गरिरहेका छन् । उनी सुपरस्टार बनेका छन् । तर, कतिपय कलाकार धेरै फिल्म खेलेर सुपरस्टार बन्न खोजिरहेको भेटिन्छ । त्यो गलत हो ।

नेपाली फिल्मको बजार बढ्दै छ ?

अहिले थोरै पैसामा जसरी फिल्म बनिरहेका छन् । र, व्यापार गरिराखेका छन् । त्यो अत्यन्तै सह्रानिय छ । मलाई लाग्छ, नेपालमा फिल्मको व्यापार दिनानुदिन बढ्दै जानेछ । अहिले हलहरुकम छन् । जति हलहरु बढ्दै जान्छन्, व्यापार पनि त्यति बढ्दै जाने हो । अहिले छक्कापञ्जाले २३ करोडको व्यापार गर्छ भने हलहरु धेरै भएमा ४० करोडको व्यापार गर्न सक्छ । फिल्मको व्यापार हलले गर्दिने हो । अझै पनि हलको सिमितता छ । हामी हलको संख्या थप्नेमै लागिरहेका छौं ।

अझै कति हल आवश्यक होला ?

काठमाडौंमा धेरै आवश्यक नपर्ला । अब एक÷दुई हल आउलान् । तर, काठमाडौं बाहिर मल्टिप्लेक्सको माग बढ्दैछ ।

भारतमा तारे जमिनपर, थ्रि इडिएट्स, सुल्तानजस्ता कालजयी फिल्महरु बनिरहेका छन । नेपालमा कालजयी फिल्म बन्दैनन ?

बक्स अफिस जति ठूलो हुँदै जान्छ, त्यति नै फिल्ममा सुधार आउने हो । अहिले २३ करोडको बक्स अफिस छ । भोली ४० करोडको बक्स अफिस भएमा कम्तीमा नेपाली फिल्म ५÷६ करोड लगानीमा बन्न थाल्छन् । जति जति फिल्मको बजेट बढ्दै जान्छ, फिल्मको गुणस्तर पनि त्यसरी नै सुधारिँदै जान्छ । उत्कृष्ट विषय वस्तु छनोट हुन थाल्छ । अहिले त सानो बजेट छ, ठूलो अपेक्षा गर्न सकिदैन ।

बजेट सिमित हुँदा कतिपय फिल्म एउटै लोकेसनमा सुटिङ गरेर सिध्याइएको हुन्छ । सुन्दर देशमाजहाँ पनि फिल्म खिच्न सकिन्छ । तर, बजेट नहुँदा सुन्दर ठाउँहरु क्याप्चर हुन सकिरहेका छैनन् । बजेटको आकार ठूलो हुने वित्तिकै सबै कुरा मिल्छ ।

नेपाली फिल्म सुधारको ट्रनिङ प्वाइन्ट कुन थियो ?

थाहा छैन, अरुले कसरी हेर्छन्? जुन समयमा हामी चलचित्र व्यवसायमा प्रवेश ग¥यौं । जय नेपाल हल खोल्यौं । कुमारी हल खोल्यौं । धेरै निर्माताहरु मेरो फिल्म जयनेपाल र कुमारीमा देखाउनु प¥यो भन्दै आउनुहुन्थ्यो ।कुनै फिल्मले बाहिर ५१ दिन मनाउँदा पनि हाम्रो हलमा एक शो चल्न सक्दैनथे ।

आजभन्दा १७ वर्षअघि नेपाली फिल्म झुर बन्थे । सन् १९८० को दशकका हिन्दी फिल्मको कपी गरेर डाइलगमात्र परिवर्तन गरी हुबहु फिल्म बनाइन्थ्यो । त्यतिबेला हामीलाई लाग्यो, यदि नेपालमा कसैले सब्जेक्टिभ फिल्म बनाएर मार्गनिर्देश गर्दियो भने फिल्म निर्माताहरु त्यतैतिर मोडिन्थे कि । हामीले दुईवटा फिल्म बनायौं, कागबेनी र सानो संसार ।

हामीले २००७/०८ तिर कागवेनी रिलिज ग¥यौं ।यो फिल्म दुई हिसावले फरक बन्यो । एउटा सब्जेक्टिभ फिल्म बन्यो । दोस्रो डिजिटल प्लेटफर्ममा बनेको पहिलो नेपाली फिल्म थियो । त्यो समय फिल्मको ३०÷४० लाखको बजेट हुन्थ्यो । त्यती रकम विदेशतिर विज्ञापन बनाउँदा निर्देशकले पारिश्रमिक नै लिन्थ्यो । हामीले धेरै कुरालाई ध्यानमा राखेर नेपाली फिल्म बनायौं ।

फिल्म सब्जेक्टिभ बनोस् । र, आफ्नै पहिचान दिलाउने होस् । बलिउडलाई कपी गरेर हामी कहीँ पुग्नेवाला थिएनौं । अहिले इरानी, फ्रेञ्च, कोरियन फिल्मको आफ्नै पहिचान छ । बलिउड, हलिउडको आफ्नै पहिचान छ ।नेपाली फिल्मको पनि आफ्नै पहिचान हुनुपर्छ भन्ने थियो । पछि सानो संसार फिल्म बनायौं । मलाई लाग्छ, नेपाली फिल्मको ट्रनिङ प्वाइन्ट सानो संसार नै हो ।

मल्टिप्लेक्सको भूमिका कस्तो रह्यो ?

हामीले कागवेनी १४ हलमा रिलिज गरेका थियौं । सानो संसार २५ हलमा रिलिज ग¥यौं । त्यसको ६ महिनापछि छवी ओझाले डिजिटल प्लेटफर्ममा नेपाली फिल्म बनाउँछु भन्नुभयो । त्यसताका छबी ओझा चल्तीका निर्माता हुनुहुन्थ्यो, उहाँले डिजिटल प्लेटफर्ममा फिल्म बनाउन थालेपछि नेपाली फिल्म उद्योग यु टर्न भइदियो ।

अहिले नेपाली फिल्म फोर के प्रविधिमा बन्न थालेका छन् । हलमा पनि फोर के प्रविधिका पर्दा राखिन थालेको छ । सेलुलोइड प्रविधि बन्द भयो, देशभरका हल कम्तीमा डिजिटल भइसकेका छन् । अहिले एउटा फिल्म पुरा नेपालभर चलाउन सकिन्छ । हामीले फिल्म बनाउँदा यो अवस्था थिएन । तर, हामीले त्यतिबेलै अनुमान गरेका थियौं, सबै हलहरु डिजिटल भए र कसैले राम्रो फिल्म बनायो भने राम्रै कमाउने मौका पाउने छ ।

हाम्रो परिकल्पना लुट फिल्मबाट पुरा हुन पायो ।लुट चलेपछि नेपाली फिल्म उद्योग भाइब्रेन्ड बन्यो । छक्कापञ्जा एकले राम्रो ग¥यो ।दुईले त्यति राम्रो गर्न सकेन, तीनले पुनः राम्रो ग¥यो । जय भोले, शत्रु गतेले राम्रो कमाइ गरे । अझै राम्रो हुने अपेक्षा छ । अहिले जसरी नेपालभर हल बनिरहेका छन्, त्यसले नेपाली फिल्म उद्योग पक्कै पनि ठूलो हुनेछ । बरु निर्माताले कस्तो फिल्म बनाइरहेको छु भन्नेमा ध्यान दिन आवस्यक छ ।

हामी सिनेमा प्रर्दशनमा प्रवेश गर्दाताका सेलोलाइड ३५ एमएमबाट सुरु भएको इन्डष्ट्रिमा १६ एमएममा फिल्म खिचेर ३५ एमएममा ब्लो गर्ने चलन यिो । त्यसले नेपाली फिल्म सखापै भयो । हलभित्र छिरेर आकृति ठम्याउन धेरै बेर लाग्थ्यो । त्यस्तो बेलामा डिजिटलमार्फत नेपाली फिल्म उद्योगलाई उकास्न सकिन्न भन्ने सोँच पलायो ।

डिजिटलको नाममा पनि टु के प्रविधिभन्दा कममा फिल्म खिच्ने हो भने भोली ह्यान्डी क्यमबाटै फिल्म खिचेर ल्याउन बेर छैन । नेपालमादीर्घकालिन सोँच राखेर फिल्म बनाउन आउने धेरै छैनन् । धेरैजसो बगिरहेको खेलामा हाम फाल्नमात्र आएका हुन्छन् । उनीहरुलाई फिल्म उद्योग सपार्ने चिन्ता हुदैन । हामीले फोर के प्रविधिमा फिल्म खिच्न लगायौं । नत्र, हाम्रो हलमा प्रर्दशन गर्न दिएनौं ।
हामीप्रर्दशन व्यवसायलाई अलिहेको विन्दूबाट अन्तर्राष्ट्रिय स्टान्डर्डमा पु¥याउँछौ भनेर आएका थियौं । त्यो लेवलमापु¥यायौं पनि । अहिले हामीले बनाएका सिनेमा हल विश्वका कुनै पनि देशका हलसँग तुलान गर्न सकिन्छ । हामी जे सोँचेका थियौं, त्यही अनुसारका फिल्म बनिरहेका छैनन् । तर, निराश हुनुपर्ने अवस्था छैन । बजेट बढ्दै जाँदा सुधार पनि हुँदै जाला ।

हाम्रा साथीहरु सुरुवाततिर डिजिटल पर्दामा विदेशी फिल्ममात्र चल्ने भयो भन्थे । हामीले त्यही बेला भनेका थियौं, डिजिटल प्रविधिबाट सबैभन्दा बढी फाइदा नेपाली फिल्मलाई नै हुनेछ । आजसत्य सावित भयो । नेपाली फिल्मलाई यो अवस्थामा ल्याउन डिजिटलले नै भूमिका खेल्यो ।

सिनेमा हलमा ठूलो लगानी भइरहेको छ । तर, फिल्ममा ठूलो लगानी आउन सकिरहेको छैन । किन ?

यो विषयमा सल्लाह भइरहन्छ । हामी फिल्म निर्माता होइन, प्रर्दशन व्यवसायी हो । अन्तर्राष्ट्रिय स्टान्डर्डका हल बनाइरहेका छौं । ठूलो लगानी गरिरहेका छौं । तर, फिल्म क्षेत्रमा ठूलो लगानी गर्ने देखिएनन । हामीले नेपाली सिनेमाको मौलिक पहिचान होस्, डिजिटल प्रविधि प्रयोग होस भनेर दुईवटा फिल्म बनाएका हौं । अहिले सबैले पच्छाइरहेका छन् । हाम्रो ध्यान हल थप्नेमै छ ।

कति हल बनाउने तार्गेट हो ?

यति नै भन्ने छैन । माग अनुसार हल विस्तार गर्दै जान्छौं । अहिले हाम्रो ९ वटा प्रोपर्टी छ, त्यसमा २० वटा पर्दा छन् । अब हामी विराटनगर, बुटवल र भक्तपुरमा हल थप्दै छौं । त्यहाँ सञ्चालित भाटभटेनी सुपरमार्केटमा हल सञ्चालनमा ल्याउँछौं । काम पनि सुरु भइसकेको छ ।

नेपाली दर्शक कत्तिको स्मार्ट छन् ?

एकदमै स्मार्ट छन । नेपाली दर्शकले खाली नेपालीमात्र होइन, विदेशी फिल्म पनि जे पायो त्यही हेर्दैनन् । ट्रेलर हेरेर मात्र फिल्म हेर्ने माइन्ड मेकअप गर्छन् । यत्तिकै हलमा आउँदैनन् । यति हुँदा पनि नेपाली निर्माताले दर्शकको चाहना बुझ्न नसक्नु दुर्भाग्य हो । हामीलाई कहिलेकाहीँ यो फिल्म पक्का राम्रो चल्छ भन्ने लागेको हुन्छ, दर्शक नै आइदिन्नन् । हामी छक्क पर्छौं, दर्शक त निकै स्मार्ट भएछन् ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!