Connect with us

अन्तर्वार्ता

‘रामनाम’ जपेर समृद्धि आउँदैन ! (अन्तर्वार्ता)

मुखले बोलेर मात्र समृद्धि आउँदैन । यहाँ काम गर्न त जनताले पनि छोडिसकेका छन् !

उद्यमी गुणचन्द्र विस्ट पोल्ट्रीका ‘ट्रेन्ड सेटर’ । ०४६ सालमा दुई हजार कुखुराबाट ह्याचरी सुरु गरेका विस्टको पोल्ट्रीमा मात्रै ७/८ करोड लगानी पुगिसकेको छ । उनले ह्याचरी सुरु गर्दा ७५ प्रतिशत चल्ला भारतबाट भित्रिन्थ्यो । कुखुराको मासु पनि उतैबाट आउँथ्यो । उनले ह्याचरीमा आधुनिक प्रविधि भित्राए । र, नयाँ प्रविधि प्रयोग गर्न अरुलाई पनि हौसाए । देशैभर पोल्ट्रीको लहर चल्यो । ठूला ह्याचरी र पोल्ट्री फर्महरु खुल्दै गए । मुलुक कुखुराका चल्ला, मासु र अन्डामा आत्मनिर्भर भयो । वार्षिक १० अर्बका दरले पोल्ट्रीमा लगानी थपिइरहेको छ ।

कृषिप्रधान मुलुक कुखुरामा त आत्मनिर्भर बन्यो । तर, अरु कृषि उत्पादनमा परनिर्भरता बढ्दो छ । चामल, दाल, तरकारी, तेल, फलफुल, मकै, कोदो, गहुँ नभित्रिए भोकै बस्नुपर्ने अवस्था छ । मुलुकलाई पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन भूमिका खेलेका विस्टसँग स्वेतपत्रले गरेको कुराकानी :

नेपालको समृद्धि कृषिबाट गर्न सकिने विज्ञहरु तर्क गर्छन । राजनीतिक दलहरुको एजेन्डा पनि कृषिबाट क्रान्ती गर्ने रहेको छ । तपाईको अनुभव के भन्छ, नेपालको समृद्धि कृषिबाट सम्भव छ ?

नेपालको बहुसंख्यक मान्छे कृषिमा आधारित छन् । केही हदसम्म मुलुकको समृद्धिको प्रस्थान बिन्दू कृषिलाई बनाउन सकिएला । तर, कृषिबाटै मुलुक समृद्ध बनाउने सपना नदेखे पनि हुन्छ । अझ नेपालजस्तो मुलुकमा । नेपालमा कृषिको विकास गर्ने नीति नै छैन ।

कृषिको महत्व धेरै छ । मान्छेले अन्यत्र जतिसुकै कमाई गरेपनि जिउनका लागि कृषि वस्तु नै आवश्यक पर्छ । मान्छे बाँच्नका लागि पहिला स्वास फेर्नुपर्छ, दोस्रोमा पानी चाहियो, तेस्रोमा खाद्यन्न चाहियो । त्यो कृषिबाट मात्रै सम्भव छ । बरु कृषिको महत्व त्यतातिर मात्र छ ।

यदि कृषिबाट मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने विज्ञहरु छन् भने उनीहरुलाई नै प्रश्न गर्दा हुन्छ, कृषिबाट कसरी समृद्धि हासिल हुन्छ ? कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न सकिएला । कृषि वस्तु निर्यात गरेर मुलुक समृद्ध बनाउने कुरा धेरै गाह्रो हो ।

गुणचन्द्र विस्ट अध्यक्ष, अविनाश ग्रुप

म देख्दिन, कुनै मुलुक कृषिबाटै धनी बनेको । कुनै व्यक्ति कृषिबाट अर्बपति भएको पनि सुनिदैन । एकाध देश र व्यक्ति होलान । कृषिलाई ‘भेलू एड’ गर्ने धनाढ्य हुन सक्छन् । विश्वमै अर्बपति सूचिमा कृषि पेशाका छैनन् । नेपालमा पनि अर्बपति कृषिमा आवद्ध व्यक्ति होइनन । विश्वमै कृषिबाट ठूलो फड्को मारेको देखिदैन भने नेपालले के नाप्न सक्छ र ।
यहाँका विज्ञहरु के बुझेर बोल्छन् । अगाडि डाक्टर झुन्डाएर मात्र विज्ञ भइँदैन ।

जहाँसम्म राजनीतिक पार्टीको कुरा छ, उनीहरु पिँध नभएका लोटाजस्तै हुन । के बोल्छन ?, के गर्छन ? थाहै हुँदैन । उनीहरु जवाफदेही पनि छैनन । उनीहरु आज एकथोक बोल्छन, भोली ठिक उल्टो बोल्छन् । जवाफदेही नभएका व्यक्तिले बोलेका कुराहरुलाई लिएर बहस वा टिप्पणी गर्नु समय बर्बाद गर्नुमात्र हो ।

इजरायल र अरबी मलुकले मरुभूमिमा खेती गरेर विश्वभर कृषि उत्पादन पुर्याउँछ । इजरायलको उत्पादन प्याकिङ भएर नेपालका डिपार्टमेन्ट स्टोरमा आइपुग्छन् । नेपाली कृषि उत्पादन विश्वभर पुराउन सकिदैन ?

सकिन्छ, तर मिहेनत त गर्नुपर्यो नी । गफले हुँदैन । माला जपेर हुँदैन । सरकारले उपयुक्त नीति बनाउनुपर्यो । सबैभन्दा पहिला सरकार र जनतासँग केही गरौं भन्ने उत्साह हुनुपर्यो । सरकारसँग केही गर्छु भन्ने कमिटमेन्ट हुनुपर्यो । विश्वका पछिल्ला विकसित टेक्नोलोजी भित्र्याउन पर्यो । कृषिलाई व्यवसायिकरण गर्नुपर्यो । विज्ञहरु विदेशबाट पनि ल्याउन सकिन्छ ।

पहिला नेपालमा पोल्ट्री नै थिएन । पोल्ट्री काठमाडौंमा निहित थियो । व्यवायिक भएको थिएन । मान्छेले घरमा जिविका चलाउन एकाध कुरा पाल्थे । पोल्ट्री संवेदनशील हो । माछापालन, पशुपालन, तरकारी, फलफुल उत्पादनभन्दा पोल्ट्री धेरै संवेदनशील छ । हामी कुखुरामा आत्मनिर्भर हुने, तर अरुमा किन नहुने ?

मैले व्यवसाय गर्दा ७५ प्रतिशत चल्ला आयात हुन्थ्यो । आज चल्ला, अन्डा, कुखुराको मासुमा आत्मनिर्भर छौं । निजी क्षेत्रकै पहलमा पोल्ट्रीमा आत्मनिर्भर भएका हौं । राज्यको सुको योगदान छैन । बरु अप्ठ्यारा सिर्जना गरिरहन्छ । आखिरि निजी क्षेत्रले गर्न सक्ने रहेछ नि ।

मैले पोल्ट्र सुरु गर्दा बाहिरबाटै विज्ञ झिकाएको हो । आज नेपालमै विज्ञ तयार भइसकेका छन् । नेपालमै तालिम दिइरहेका छौं । नेपालकै भेटेनरी डाक्टरलाई सक्षम बनाउन कोशिश गरिरहेका छौ । हुन्छ गर्यो भने ।

मुलुकमा ठूलो जनसंख्या कृषिमा निर्भर छ । तर पनि विदेशबाट खाद्यन्न नभित्रिए भोकै बस्नुपर्ने बाध्यता छ । जिउनका लागि पनि उत्पादन गर्न नसकिने अवस्थामा पुगेका हौं ?

कुनै समय नेपालमा कृषि उत्पादन निर्यात हुन्थ्यो । चामल, दाल, तेल, मकै धेरै पछिसम्म पनि निर्यात हुन्थ्यो । मैले मकैको पनि बिजनेश गरेको थिएँ । यदि मकै इन्डिया गएन भने नेपालमा कुनै पनि भाउमा बिक्री हुँदैनथ्यो । नेपालबाट प्रशस्तै मकै भारत जान्थ्यो ।

अहिले झन्डै ७० प्रतिशत मकै भारतबाट भित्रिन्छ । अहिले नेपालमा पोल्ट्रीका कारण मकैको खपत बढेको छ । धान र चाम भारत निर्यात हुन्थ्यो । चामल कोरियामा पनि निर्यात भयो । तर, आज चामल आयात नगरे भोकै बस्नुपर्ने अवस्था छ । नेपाली उत्पादनले स्वदेशमा पुगेर निर्यात हुन्थ्यो ।

नेपालमा जनसंख्या बढ्यो, उपभोग पनि बढ्यो । उपभोग बढेपछि आयात बढेको पाँडे तर्क विज्ञहरु गर्छन् । सरकारी निकायका जिम्मेवार कर्मचारी बताउँछन् । जनसंख्या बढेपछि किन उत्पादन बढाउन नसकेको त ? हिजो निर्यात हुन्थ्यो, आज उत्पादकत्व नै घटेको छ ।

हिजोको दिनमा नेपाली स्वास्थ्य र शिक्षामा त्यति संवेदनशील थिएनन । रमाइलो त परैको कुरा थियो । आज मान्छे सचेत छ । त्यसैले सुविधा खोज्दै पहाडबाट मान्छे तराई झरिरहेका छन् । बसाई सराई राज्यले व्यवस्थापन गर्नुपथ्र्यो । हाम्रो पहाडी भेगमा कृषिभूमि बाँझो छ । जबकी त्यहाँ विश्वकै महंगा वस्तु उत्पादन गर्न सकिन्छ ।

हाम्रो भौगोलिक बनावट पनि फरक छ । यहाँ अफसिजन महंगा जडिबुटी र खाद्यन्न उत्पादन गर्न सकिन्छ । तर, राज्यले नीति नै बनाउन सकेन । कृषिमा सम्भवना देखाउन सकेन । कृषितर्फ आकर्षित गर्न सकेन । परम्परागत तरिकाले खेतीपाती गर्दा खान पनि पुगेन ।

नेपालमा काम गर्न धेरै बाधा अड्चन छन् । बरु विदेशी कमसल बस्तुहरु बिनारोकतोक भित्रिरहेका छन् । गुणस्तर नियन्त्रणको कुरै आउँदैन । विदेशबाट विषादीयुक्त खाने कुरा भित्रिरहेको छ । यसतर्फ नत नीति बोल्छ नत मिडिया बोल्छन् । नेपालमा काम गर्न खोजेमा दर्जनौ अवरोध सिर्जना गरिन्छ । नेपाली उद्यमीलाई साधारण गल्ती गरेकै भरमा कठघरामा उभ्याइन्छ । अपराधी घोषणा गरिन्छ ।

नेपालमा उद्योग चलाउन, कृषि उत्पादन गर्नभन्दा विदेशी वस्तु ल्याएर बिक्री गर्न सहज र नाफादायी हुनाले व्यवसायी व्यापारमा केन्द्रीत छन् । नेपालमा कोही पनि उद्योग चलाउन तयार छैनन् । विदेशी लगानी आउने कुरा त परै जाओस् । सबै ठूला घराना आयातित वस्तुको व्यापारमा केन्द्रीत छन् ।

कुखुरामा जस्तै मुलुक कुन–कुन कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्छ ?

धेरैजसो वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ । उल्टै निर्यात गर्न सकिने सम्भवना पनि छ । वातावरण नबिगारी उत्पादन गर्न सकिने वस्तुहरुमा राज्यले जोड दिनुपर्छ । नेपालको सम्भवना के हो त्यसमा केन्द्रीत भएर लाग्नुपर्छ । यसका लागि नीति बनाउनु पर्छ । कृषिमा आधुनिक प्रविधि भित्र्याउँ । निर्वाहमुखी होइन, व्यवसायिक खेतिपतीमा लाग्नुपर्यो ।

उसो भए मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ ?

नेपालमा समृद्धि कसलाई चाहिएको छ र ? राजनीतिक पार्टीलाई चाहिएको छैन, नेतालाई चाहिएको छैन, ब्यूरोक्र्याटलाई चाहिएको छैन, पत्रकारलाई चाहिएको छैन, बाँकी जनतालाई चाहिएको छैन ।

मुखले बोलेर मात्र समृद्धि आउँदैन । काम गर्नुपर्छ । यहाँ त समृद्धिको भ्रममात्र बाँडिएको छ । यहाँ जनतालाई पनि समृद्धि चाहिएको छैन । समृद्धि ल्याउन त काम गर्नुपर्छ । नेपालीले मिहेनत गर्न छोडिसकेका छन् ।

माला जपेर समृद्धि त आउँदैन । काम गर्न त जनता पनि तयार छैनन । रामनाम जपेर स्वर्ग गइन्छ भन्ने भ्रम फिँजाइएजस्तै हो । समृद्धि पनि माला जपेझैं जपिएको छ । २००७ सालपछि मलुकमा पहिलो चोटी दुई तिहाई बहुमतको सरकार बन्यो ।

समग्र निजी क्षेत्र नयाँ संविधान, लगानीमैत्री ऐन/कानुन र स्थिर सरकारको पर्खाइमा थियो । दुई तिहाई बहुमतको सरकार बनेको पनि ९ महिना वितिसक्यो । तर, समृद्धिका लागि कुनै रुपरेखा नै देखिएको छैन । बरु उल्टै अर्थतन्त्र चौपट बन्दैछ । निजी क्षेत्र त्रसित बनिरहेको छ ।

यो सरकारले केही गर्छ भन्ने ठूलो आशा थियो । आज पनि आशा छ । नेपालजस्तो भौगोलितक दृष्टिकोणले, वातावरणीय दृष्टिकोणले धनी मुलुक बहुदै कम छन । काठमाडौंजस्तो शहरसँग तुलना गर्ने कुनै देशका शहर छैनन् । म उत्तरी गोलार्धका धेरै मुलुक घुमिसकेको छु ।

काठमाडौं गज्जबको शहर हो । नेताहरु काठमाडौंमा बसेका छन, मस्ती गरिरहेका छन् । जनता पनि शहर केन्द्रीत छन् । घरको खेतबारी बाँझै राखेका छन् । अनि ठूल्ठूला कुरा गरिरहेका छन् । नेपालमा समृद्धि ‘स्लोगन’ मात्रै बनेको छ ।

पार्टीका घोषणापत्र बनाउँदा विज्ञ नै खटिएका हुन्छन् । तपाइँहरुजस्ता व्यवसायीसँग पनि छलफल हुन्छ होला नी ?

हाम्रोमा छलफल गर्ने, सुझाव सल्लाह लिने चलन कहाँ छ र । त्यसो गरे त उपलब्धी पनि हुन्थ्यो नी । नहुने कुरा केही छैन । घोषणापत्रमा लेखेर मात्र त हुँदैनन नी । घोषणापत्रप्रति पनि पार्टी जवाफदेही नै छैनन । हुन त कतिले घोषणापत्र हेरेर भोट हाले होलान र । २/४ प्रतिशत । घोषणापत्र हेरेर जनताले भोट हालेको भ्रममा नेताहरु नपरुन ।

किन जवाफदेहिता हराउँदै गयो होला ?

जवाफदेहीता हराउनुको पछाडि हाम्रो स्कुलिङ, हाम्रो लाइन अर्डर, हाम्रो सामाजिक परिवेश, हाम्रो सिस्टम सबैले भूमिका खेल्छन् । हामीसँग पछिल्ला कानुन नै छैनन । पुराना कानुन सक्रिय छन् । आजको समय सुहाउँदो कानुन बनाउनु पर्दैन । तीन पटक संविधान परिवर्तन भयो, तर कानुन परिवर्तन भएन । संविधान परिवर्तन गर्नेमात्र होइन । कानुन समय अनुसार परिमार्जन गर्दै जाने हो ।

लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए । नयाँ संविधान र स्थिर सरकारको पर्खाइमा थिए । दुई तिहाई बहुमतको सरकारको ९ महिनाको काम हेर्दा निरासा भइहाल्ने अवस्था आएको हो?

निरासा भन्ने डेड्ली आइडिया हो । बाँचुञ्जेल आशावादी हुनुपर्छ । पहिला लगानीको वातावरण हुनुपर्यो । खै वातावरण लगानी आउनका लागि । अहिले सरकारले मजदुरको तलब ४० प्रतिशत तलब र सामाजिक सुरक्षा मार्फत अर्को ४० प्रतिशत गरी ८० प्रतिशत भार थपिदिएको छ व्यवसायीलाई । जागिर पाएकाले त पाए, उनीहरु सेकुअर भए । भएकालाई तातो पन्यूले पिट्ने नयाँ लगानी कसरी आउँछ ।

मुलुकले अर्थतन्त्र बुझेको विद्धान अर्थमन्त्री पाएको छ । र पनि उहाँले काम गर्न नसकेको हो ?

पक्कै पनि । विद्धान अर्थमन्त्री आएपछि त अर्थतन्त्र पनि चलायमान हुनुपथ्र्यो । तर, अर्थतन्त्र झन थला पर्यो । यसले प्रुभ गर्यो कि उहाँ विद्धान अर्थमन्त्री होइन । सर्टिफिकेट पाउँदैमा विद्धान हुने भैदिए यहाँ धेरै विद्धान थिए । जो कोही त्यतिबेला एक्स्पर्ट ठहरिन्छ, जतिबेला उसको कार्यविधिले काम गर्छ ।

मुलुकमा लगानीको वातावरण बन्न सकेको छैन । लगानी गर्न बैंकसँग पैसा छैन । ब्याज बढेको बढ्यै छ । र पनि सजिलै ऋण पाउन सकिएको छैन । हामीले कुखुराको दाना बनाउन भटमासको पिना ९९ प्रतिशत, मकै ७० प्रतिशत आयात गर्नुपर्छ । त्यो आयातमा पनि कर बढाएर ५ प्रतिशत पुराइएको छ । हामीले कसरी भारतीय दानासँग प्रतिस्पर्धा गर्न सकिन्छ ? यसले नेपाली उपभोक्तालाई महंगीको मार पर्छ ।

कर उठाएर राज्य संचालन गर्छु भन्ने तरिका नै कति वैज्ञानिक र यथार्थपरक हो । यो ठूलो प्रश्न हो । अर्थमन्त्री र मन्त्रीहरुको व्यवहारले निजी क्षेत्र नै त्रसित बन्नुपरेको छ । निजी क्षेत्रले लगानी नगरी कसरी रोजगारी सिर्जना हुन्छ । सरकारले निजी क्षेत्रलाई हतोत्साहित गरिरहेको छ । कुशल अर्थमन्त्रीले त समस्याको ‘वेल सेटलमेन्ट’ गर्न सक्नुपर्थ्यो ।

राज्यले कर उठाएको पैसा सिरानी राखेर सुतिरहेको छ । पैसा चलायनमान हुनुपर्छ । ढुकुटीमा थन्काएर राख्ने होइन । पैसा थन्काएर राख्नु राष्ट्रिय अपराध हो । यहाँ त राज्यले नै पैसा थन्काएर राखेको छ । यो उजुरी कहाँ गर्नु ? यो गलत कार्य हो ।

सरकारले एकातिर नीजि क्षेत्रलाई व्यापक परिचालन गरेर समृद्धि हासिल गर्ने भन्छ । अर्कोतिर निजी क्षेत्रलाई खुम्च्याउने प्रयत्न गरिरहेको देखिन्छ । सरकारले द्वैध चरित्र देखाएको हो ?

सरकारले एकातिर फर्किएर एकथरी बोल्छ । अर्कोतिर फर्किएर अर्कैथोक बोल्छ । यस्तो द्वैध चरित्रलाई कसरी स्थायित्व भन्ने । वास्तवमा सरकारले त राम्रो नीति बनाउने हो । निजी क्षेत्रलाई सहजीकरण गरिदिने हो । काम निजी क्षेत्रले गर्ने हो ।
कुनचाहीँ समृद्ध देश राज्यले काम गरेर बनाएको हो । सडक, रेल, उद्योग, व्यवसाय चलाउने निजी क्षेत्रले हो । सरकारी संयन्त्रले कुनै पनि देशमा निजी क्षेत्रले गर्ने काम गर्दैन । विकसित मुलुकमा पनि निजी क्षेत्र सक्रिय हुन्छ ।

२०४६ सालमा सुरु भएको अविनाश ह्याचरीले पोल्ट्रीमा क्रान्ती नै गर्यो । एउटा व्यक्तिले प्रयास गर्दा त यति धेरै गर्न सकिने रहेछ । सरकारले चाहेको भए धेरै गर्न सक्थ्यो । तर, जनताले महशुस गर्ने गरी काम गर्न सकेन । यो अवधिमा सरकार कहाँ कहाँ चुक्यो ?

शक्तिमा जहिले पनि झुन्डिराख्नु पर्छ भनेर चुक्यो । प्रधानमन्त्री हुँदै सिधै आर्यघाटमा पुग्ने अपेक्षा राखेर चुक्यो । फाइदा र बेफाइदाको हिसाब नै नगरी थोरै कमिसनको भरमा राज्यलाई डुबाउने काम गरियो । जस्तै, धमिजा कान्ड, लाउडा कान्ड । निजीकरणको नाममा सरकारी सम्पत्ती चौपट गरियो ।

म नीजिकरणको विरोधी होइन । नीजिकरण गर्नुपर्छ । कुनै जमनामा कर्पोरेशन हाउस सरकारले चलाउँदा हुन्थ्यो । यो विश्वव्यापी थियो । बदलिँदो विश्व परिस्थितिमा राज्यले सबै उद्योग व्यवसाय चलाउँछु भनेर हुँदैन । सरकारले कुनै शर्त नराखी कमिसनको भरमा राज्यको सम्पत्ती निजी क्षेत्रलाई सुम्पियो । यो हचुवा काम थियो ।

निजीकरण गरिएका संस्था पनि चल्न सकेनन । न त राज्यसँग भएका व्यवसायिक संस्था नै चल्न सके । कुनै समय जनकपुर चुरोट कारखानाले सबैभन्दा बढी कर तिथ्र्यो । अहिले बन्द छ । नेताकै कारण सरकारी उद्योगहरु थला परे । राज्यले आज पनि दायित्व बोकिरहेको छ । म भन्छु, कि त निजीकरण गर, कि त बन्द गर । तर, निजीकरण गर्दा प्रकृया पुर्याउनु पर्छ । अहिले सरकारले सेतो हात्ती पालिरहेको छ ।

सत्तामा गएपछि सबैले सर्वज्ञाता सम्झिनु महाभुल हो । उ कसरी सर्वज्ञाता हुन सक्छ ? सत्तामा पुग्ने वित्तिकै के जान्दछ ? उसले विभिन्न कारणले पद पाएको हुन्छ । वास्तवमा त्यो पदको उपयुक्त व्यक्ति पनि हुँदैन । उपयुक्त व्यक्ति भएको भए विज्ञसँग सरसल्लाह गर्ने, सुझाव लिने गथ्र्यो ।

नेपालको इतिहास हेर्ने हो भने राजा महेन्द्रले बुद्धिजीवीका घरमै पुगेर सुझाव सल्लाह लिन्थे । दरबारमै सम्बन्धीत क्षेत्रका विज्ञलाई बोलाएर छलफल गर्थे । मुलुक कसरी समृद्ध बनाउने, कसरी सुख शान्ती ल्याउने भन्नेमा चिन्तित देखिन्थे । राजा बीरेन्द्रमा पनि बुवाको छाप परेको थियो । तर, अहिलेका मन्त्रीहरुलाई कसैले भेट्न गयो भने भेट पनि पाउँदैनन । किचन क्याबिनेटबाट घेरिएर बसेका छन् । विज्ञको सुझाव लिने फुर्सद नै छैन । जतिबेला पनि चाकरीबाजको घेरामा बसेका हुन्छन् ।

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । काम गर्न के–कस्ता अवरोध सामना गर्नुपर्ने रहेछ ?

सबैभन्दा ठूलो हडल्स भनेकै कसैले गरेर खाएको डाहा गर्ने प्रवृत्ति । प्रगति देखी सहन नसक्ने । उसले राज्यलाई कति दियो । समाजलाई कति दियो । व्यवसायी भनेको चोर हुन, फटाहा हुन् । यिनलाई लखेट्नै पर्छ भन्ने सोँच छ । ज्यानमारा, बलत्कारीलाई पुलिसले सार्वजनिक गर्दा नकाव लगाइदिन्छ । एउटा उद्यमी भागेर कहाँ जान्छ । बरु लगानी बढाउँछ । कुनै गल्ति हुने वित्तिकै जेलमा लगेर कोचिदिने ? डाँका, चोर, फटाहाको तक्मा भिराइदिने ? यसरी उद्योगमा कसरी लगानी आउँछ । कुनै समय जीडीपीमा उद्योगको योगदान १५ प्रतिशत थियो । यो घट्दै गएर ५ प्रतिशतमा झरेको छ ।

तपाईंले विदेशी साझेदारसँग पनि काम गरिराख्नु भएको छ । विदेशी लगानी भित्र्याउन कत्तिको समस्या रहेछ ?

नीतिगत समस्या नै हो । कर्मचारी समस्या छ, पछिल्लो समय केही मत्थर भएको हो । अर्को कुरा राज्यको संरक्षण गलत हो । संरक्षणले उसको कार्यक्षमता वृद्धि गर्दैन । खुल्ला प्रतिस्पर्धामै क्षमता अभिवृद्धि हुने हो । नेपालमा ‘लेवर प्रोटेक्सन’ धेरै बढेको छ ।

कृषिमा अनुदान कत्तिको प्रभावकारी बनेको छ ?

कृषिमा अनुदान दिनुपर्छ । कृषिमा विश्वभरी अनुदान दिइन्छ । छिमेकी मुलुक भारतले ठूलो अनुदान दिँदै आइरहेका छ । नेपालमा नगन्तय अनुदान दिइएको छ । त्यही पनि दुरुपयोग भइरहेको छ । लक्षित वर्गसम्म पुग्नै सकेको छैन । बरु कृषिमा ब्याज अनुदान दिँदा राम्रो हुने थियो ।

नेपालमा पाँच करोडसम्म ऋणलाई अनुदान दिइएको छ । आजको दिनमा ५ करोडले कति नै काम गर्न सकिन्छ । ठूलो फार्मिङमा कसरी जान सकिन्छ । राज्यले बेलेको बोलीभन्दा व्यवहार ठिक उल्टो देखिएको छ । यो ऋणले सानोतिनो काम गरेर खाउ, कृषिमा व्यवसायीकरण नगर भनेजस्तो भयो ।

नेपाल पोल्ट्रीमा कसरी आत्मनिर्भर बनेको हो ?

ठूलो कारण छैन । पोल्ट्रीमा केही व्यक्ति लागिपरेर लागे । विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याए । ठूलो लगानी गरे । अरुलाई पनि आधुनिक प्रविधि अपनाउन उत्साहित गरे । देशभर पोल्ट्रीको लहर चल्यो । नेपालभर गाडी चल्ने ठाउँमा कुखुराको फार्म देखिन्छ । १५/२० घर भएको ठाउँमा कुखुरा पालन भइरहेको छ । नेपाल १५ वर्षअघि नै पोल्ट्रीमा आत्मनिर्भर बनेको हो ।

पोल्ट्रीमा झैं अन्यत्र पनि आधुनिक प्रविधि भित्र्याउन सकिएन ?

राज्यको नीति नै गलत भयो । निजी क्षेत्रलाई उत्साहित गर्न सकेन । निजी क्षेत्रले पनि कृषिबाट धनाढ्य बन्ने सम्भवना देखेनन । कृषिमा आधुनिक प्रविधि भित्र्याउन ठूलो लगानी गर्नुपर्छ । जग्गा जमिन धेरै चाहिन्छ । जमिन प्लटिङ गरेर सकिसक्यो ।

नेपालमा कृषि वा उद्योग गर्ने वातावरण नै छैन । यहाँ उत्पादन गर्न भन्दा आयात गरेर बिक्री गर्न सजिलो छ । व्यवसायीले उद्योग बन्द गरेर विदेशी वस्तु ल्याएर बिक्री गर्न प्रतिस्पर्धा गरिरहेका छन् । व्यापार घाटा चुलिमा पुगिसकेको छ । बैंकमा पैसा छैन । ऋण लिन चर्को ब्याज तिर्नुपर्छ । अर्थतन्त्रका परिसूचकहरु कमजोर बन्दै गइरहेका छन् । अबस्था जटिल बन्दै गएको छ । यदि अर्थमन्त्री नैतिकबान भइदिएको भए राजिनामा दिइसक्नु पथ्र्यो । झन व्यवसायीलाई ठोक्नुपर्छ, बैंकरलाई ठोक्नुपर्छ भनेर मच्चिरहेका छन् । पुँजी बजार ओरालो लागिरहेको छ । पुँजीबजार अनुत्पादक भनेर शेयर बजार सुकाइदिए ।

जसरी व्यवसायी होटल, सिमेन्ट उद्योग, व्यापारमा जोडतोडले लागिरहेका छन् । त्यसैगरी कृषिमा पनि हानाथाप हुनुपथ्र्यो । त्यो हुन सकेन । नेपालमा कृषि फार्म र उद्योग चल्न सक्ने अवस्था नै रहेन । बरु सजिलै समान आयात गरेर बिक्री गर्यो । किन जोखिम मोल्नु र ?

विदेशमा गएर फर्किएका कतिपय युवाले गाई पालन, कुखुरा पालन, माछापालन, तरकारी खेतीमा लागेको समचार सुनिन्छ । यसलाई ‘ह्वीम’को रुपमा अगाडि बढाउन सकिदैन ?

ह्वीमले व्यवसाय हुँदैन । ह्वीमले हल्ला हुन्छ । आन्दोलन हुन्छ । जिन्दावाद, मुर्दावाद हुन्छ । ह्वीमले कुनै पनि क्रियसन हुँदैन । काम नै गर्नुपर्छ । चेतना नै वृद्धि गर्नुपर्छ । अहिले विदेशबाट फर्किएर आउनेलाई १० लाखसम्म अनुदानमा ऋण उपलब्ध गराउने भनिएको छ । १० लाखमा कस्तो व्यवसाय हुन्छ र ?

तपाईंको पोल्ट्रीमा कति लगानी पुग्यो ?

ठूलो लगानी भइसक्यो । ७/८ सय करोड पुगिसक्यो होला । हाम्रो ह्याचरीबाट प्रतिवर्ष ५ करोड ७० लाख अन्डा उत्पादन हुन्छ । त्यसको ८० प्रतिशतजति चल्ला उत्पादन गर्छौं । हामी दैनिक सय टनजति दाना पनि उत्पादन गरिरहेका छौं ।

उत्पादित दानामध्ये करीव ५० प्रतिशत हाम्रो फार्ममै खपत हुन्छ । हाम्रो सबै फार्ममा हप्ताको २/३ करोडको दाना खपत हुन्छ । हाम्रो फार्ममा पछिल्लो विकसित प्रविधि प्रयोग भइरहेको छ । मेरो नेपाल ग्याँस, नारायण ग्याँस लगायत चारवटा ग्याँस उद्योगमा लगानी छ । अन्यत्र लगानी विस्तार गर्ने योजना छैन ।

पोल्ट्रीमा तपाईंको उद्देश्य के हो ?

पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भरता कायम रहिरहोस । भोलीका दिनमा पनि आयात गर्न नपरोस । लगानी थपिँदै गइरहोस ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!