Connect with us

अन्तर्वार्ता

मेरो रगतमा कलाकारिता बगिरहेको छ- निकिता चन्दक

मारवाडी समुदायबाट पहिलो ‘मिस नेपाल’ हुँ । सायद, नेपाली सिनेमा उद्योगमा पनि पहिलो ‘अभिनेत्री’ नै हुँला ।

निकिता चन्दक सन् २०१७ मा ‘मिस नेपाल’ हुँदै गर्दा एउटा इतिहास रच्दै थिइन । उनी मारवाडी समुदायबाट पहिलो पटक मिस नेपाल भइन । अहिले उनी ‘साङ्लो’ मार्फत नेपाली सिनेमामा डेब्यू गरेकी छिन् । सम्भवतः मारवाडी समुदायबाट अभिनेत्री हुने पनि उनी नै पहिलो हुन् । जिनमै व्यवसाय भएको समुदायमा जन्मिएर पनि कलाकारिता क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेकी निकिता चन्दकसँग गरेको कुराकानी ः

मिस नेपाल भन्नेवित्तिकै ग्यलामरसँग जोडिन्छ । पछिल्लो समय जति पनि मिस नेपाल हुनुभयो सबैजना ग्यलामर क्षेत्रमै करियर बनाउन संघर्ष गरिरहनु भएको छ । तपाइँ बिजनेश कम्यूनिटीकी छोरी, तैपनि अन्तिममा फिल्मी क्षेत्रमै जोडिन आइपुग्नु भयो नि ?

मेरो अभिनेत्री बन्ने सपना पुरानो हो । बरु मिस नेपालबारे कहिल्यै पनि सोँचेकी थिइन । मैले पहिलो पटक सन् २०१७ मा काठमाडौं टेकेकी हुँ, त्यो पनि मोडलिन शोका लागि अडिसन दिन आउँदा ।

मलाई त्यतिबेला धेरैले भन्नुभयो, ‘मिस नेपालको अडिसन खुलेको छ । तिमी पनि सहभागी होउ न ।’ अनि मैले मिस नेपालको अडिसन दिएकी थिएँ । र, मिस नेपालको ताज जित्न पनि सफल भएँ । मेरो योजनामा कहिल्यै मिस नेपाल थिएन । किनकी, मलाई एक्टर बन्नु थियो, सुन्दरी होइन ।

अरु मिस नेपालको बारेमा मलाई थाहा छैन । मेरो कुरा गर्दा, मलाई पहिल्यैदेखि एक्टर बन्नु थियो । मिस नेपाल भएपछि एक्टर बन्ने सौँच पलाएको होइन । तर, एक्टर नबन्दै अघि नै मिस नेपाल भएँ ।

भनेपछि मिस नेपाल तपाइँको जीवनमा संयोगमात्र थियो ?

मिस नेपाल हुनु संयोग नै थियो । एक्टर बन्नका लागि मिस नेपाल पहिलो खुड्किलो बन्यो ।

तपाँइ जुन समुदायमा जन्मिनुभयो, त्यो समुदायबाट मिस नेपाल र एक्टर बन्ने कमै सोँचिन्छ । मारवाडी समुदाय बिजनेशमा रमाउन चाहन्छ । तर, तपाइँले स्कुल पढ्दादेखि नै एक्टर बन्ने सोँच बनाउनुभयो । यो सोँच कसरी आयो ?

स्कुलमा ९।१० कक्षा पढ्दै एक्टर बन्ने सोँच आइसकेको थियो । दिमागमै एक्टिङ बसिसकेको थियो । मैले घरमा डराई डराई कुरा गरेँ । उहाँहरुले एकदमै सपोर्ट गर्नुभयो । तिमीले जे गरे पनि राम्रो गर भन्नुभयो । यदि त्यहाँ सफल नभए वा तिमीलाई बिजनेश गर्न मन लागेको अवस्थामा हामीलाई भन्नु हामी तिम्रा लागि एउटा बिजनेश तयार गरिदिने छौं । परिवारको यो भन्दा ठूलो सपोर्ट के हुन सक्छ ।

मैले परिवारलाई कन्मिन्स गर्न सकेँ । उहाँहरुले मलाई विश्वास गर्नुहुन्छ । हामीले विश्वास कायम राख्न सकेमा अविभावकले सन्तानको इच्छा चाहना बुझिहाल्नु हुन्छ ।

मैले बैंग्लोरमा हुँदा मोडलिङ सुरु गर्दै थिएँ । मेरो बुवा ममीलाई धैरै कल आएछ, तिमी छोरीलाई के गराउँदै छौ । निकिता के गरिराखेकी छ । भोली उसको बिहे हुँदैन । आफन्त, शुभचिन्तकले जे भने पनि उहाँहरुले मलाई अगाडि बढ्न भन्नुभयो ।

तपाइँले मारवाडी समुदायबाट मिस नेपाल बन्नुभयो । फरक इतिहास पनि लेख्नुभयो । तपाइँको सिनेमा पनि आयो । अब अभिनेत्री पनि हुनुभयो । कस्तो अनुभूति गर्नुभएको छ ?

मैले मिस नेपालको क्राउन जित्दा पनि नर्मल रुपमै लिएकी थिएँ । तर, जब साङ्लो फिल्मको चरिले काफल टिप्यो… गीत युट्युबमा प्रिमियर गर्ने बेला २ दिन अघिदेखि नै सुत्न सकेकी थिइन । घरि लाग्छ, बोमेटिङ गरिदिन्छु । घरि हाँस्न मन लाग्छ, घरी रुन मन लाग्छ । मैले त्यस्तो अनुभव जीवनमा कहिल्यै गरेकी थिइन । जति त्यो चिज पाउने चाहना थियो त्यो चिज पाउँदै गर्दा इमोसन फिल भइरहेको थियो । एकदमै प्रेसर फिल गराइरहेको थियो । त्यति प्रेसर मिस नेपाल बनिरहँदा फिल भएको थिएन । अहिले अभिनेत्री बनेपछि उत्साहित छु । राम्रो फिडब्याक पनि आइरहेको छ ।

तपाईं मारवाडी समुदायबाट पहिलो मिस नेपाल बन्नुभयो । अभिनेत्री पनि पहिलो नै हो कि ?

सायद, नेपाली फिल्म उद्योगमा मारवाडी समुदायबाट पहिलो अभिनेत्री नै भएँ हुला । यसभन्दा अघि कोही भएजस्तो लाग्दैन ।

मिस नेपाल बनेपछि कस्तो प्रतिक्रिया आएको थियो ?

म मिस नेपाल बनेपछि मारवाडी समुदाय नै खुशी भएको थियो । नेपालमा खाली नेवार समुदायबाट मिस नेपाल बन्नुहुन्थ्यो । त्यहाँ मैले ब्रेक गरेकी थिएँ । सबैले मलाई बधाई दिनुभयो । कतिपयले मेरो शरिरको रुप रङलाई देखाएर आलोचना पनि गर्नुभयो । त्यो आलोचनाले पनि मलाई पाठ सिकायो । कतिपयले खुलेरै प्रशंशा पनि गर्नुभयो ।

मारवाडी परिवारको नयाँ पुस्ताको सोँचमा परिवर्तन हुँदै गएको हो ?

पक्कै पनि । म व्यक्तिगत ग्रोथका लागि मिस नेपालमा गएकी थिएँ । तैपनि म मिस नेपाल हुँदा कतै न कतै मेरो समुदायलाई पनि राम्रो भएको छ । साँच्चिकै भन्दा, मारवाडी समुदायका छोरीचेलीलाई मोटिभेसन भएको छ । मारवाडी समुदायका छोरी पनि मिस नेपाल र एक्टर हुन सक्छन है भन्ने सन्देश दिन सकेकी छु ।

म निकै खुशी छु । पछिल्लौ समय मारवाडी पविारले पनि छोरीलाई बाहिर पढाउन थाल्यो । छोरा र छोरीलाई बराबर ठान्न थाल्यो । अनि हामी छोरीमा पनि आत्मविश्वास बढेको हो । यदि म उर्लाबारीमा मात्रै सिमित भएको भए यस्तो सोँच र कन्फिडेन्स सायद आउँदैनथ्यो होला ।
मलाई घरबाट भारतको राजास्थन पढ्न पठाउनुभयो । त्यहाँ होस्टेलमा बसेर पढेँ । अनिमात्र मलाई थाहा भयो कि मलाई एक्टिङमा रुची छ । यसअघि मिस नेपालमा जाने मारवाडी युवती कसैले हिम्मत गरेकै थिएनन् ।

मारवाडी भन्ने वित्तिकै व्यवसाय गर्ने समुदाय बुझिन्छ । तपाइँलाई व्यवसायी बन्ने सोँच नै भएन ?

कहिल्यै भएन । मेरो दिदी जहिल्यै बिजनेश बिजनेश भन्नुहुन्छ । मलाई कलाकारितातिर रुची छ । आआफ्नो रुचीको कुरा हो । एउटा बिजनेश म्यानमा हुनुपर्ने स्किल मसँग छैन । म अलि क्रियटिभ कुरामा रमाउन चाहन्छु । हुन त अचेल बिजनेशमा पनि क्रियटिभनेस बढी प्रयोग हुन्छ । जो शिर्जनशील छ, उही बिजनेशमा सफल हुन्छ ।

बिजनेश म्यान भनेको आफैमा बोस हो । उसले कसैको अन्डरमा बसेर काम गर्दैन । मारवाडी समुदाय पनि कसैको अन्डरमा बस्न चाहँदैन । उसले धेरैलाई रौजगारी दिएको हुन्छ । देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको छ । तर, मलाई अरुको अन्डरमा रहेरै काम गर्न सजिलो लाग्छ ।

भनिन्छ, मारवाडीको जिनमै व्यवसाय हुन्छ । रगतमा बिजनेश बगिरहेको हुन्छ । उसलाई बिजनेश सिकिरहनु पर्दैन । जन्मिदै सिकेर आएको हुन्छ । तपाइको रगतमा बिजनेश होइन, कलाकारिता बगिरहेको हो ?

पक्कै हो ।धेरैले भन्छन्, जिनले नै मान्छेको जीवन डोर्याँछ । परिवारको जिनको कुरा गर्दा म व्यवसायी हुनुपर्ने हो । तर, मेरो आमा फिल्मको सौखिन, म पेटमा हुँदा आमा धेरै फिल्म हेर्न जानुहुन्थ्यो रे । एकथरी भन्छन्, बच्चाले आमाको कोखबाटै धेरै सिकेर आउँछन् । पेटमा हुँदा आमाले गरेका गतिविधिले पनि डोर्याउँछ । सायद, त्यही भएर पनि म कलाकारिता क्षेत्रमा आकर्षित भएँ हुला ।

मारवाडी समुदायका खाली व्यवसायी मात्र हुनुहुन्न् । डाक्टर, इन्जिनियर पनि हुनुहुन्छ । सकारी सेवामा पनि हुनुहुन्छ । तर एकदमै कम । मेरो रगत पनि अलि फरक नै परेछ । मेरो रगतमा कलाकारिता बगिरहेको छ ।

मिस नेपाल भइसकेपछि फिल्मी क्षेत्रमा डेब्यू गर्न गाह्रो भएन । ४ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक भएका विराज भट्टसँग फिल्म खेल्ने अवसर कसरी जुर्यो ?

त्यो पनि आकस्मिक हो । म एक्टिङ सिक्दै थिएँ । प्रिपेरेसन गर्दै थिएँ । सिकेर मात्र एक्टिङमा फर्किने सौँच थियो । दिमागमा योजना थियो । मिटिङहरु पनि भइरहेको थिए । त्यही बेला मलाई फोनबाट फिल्म खेल्ने अफर आयो । मेरो आफ्नै प्लान थियो । फोनमै किन नाई भन्नु, भेटेरै खेल्दिन भन्नुपर्ला भन्ने सोँचे । पोलाइट ढंगले भन्दा ठिक होला जस्तो लाग्यो । फोनमै नो भन्दा अलि सभ्य पनि देखिन्नथ्यो ।

बिराज भट्टलाई भेट्दा अर्कै भयो । मैले सिनियर कलाकारसँग कसरी भेट्ने होला, कसरी कुरा गर्ने होला भन्दै मनमा कुरा खेलाउँदै गइरहेकी थिएँ । उहाँ एकदमै फ्रेन्ड्ली हुनुहुँदो रहेछ । उहाँलाई देख्ने वित्तिकै पोजेटिभ भाइभ आयो । उहाँले आफै स्क्रिप्ट सुनेर सुनाउनुभयो । स्क्रिप्ट पनि मन पर्यो, उहाँको पोलाइटले पनि तान्यो ।

फेरी मैले विराज दाईका एउटा पनि फिल्म हेरेकी थिइन । उहाँको कुरा सुन्दै एकदम ट्यालेन्टेड हुनुन्छ भन्ने लाग्यो । उहाँ धेरै फेमिलियर पनि लाग्यो । उहाँको स्क्रिप्ट सुनेपछि अलिकति भावुक पनि भएँ । मेरो सानोदेखिको चाहना पुरा हुन लागिरहेको जस्तो अनुभव हुन थाल्यो । म भावुक भएर रोएँ पनि । र, एस भनिदिएँ ।

तपाइँले बिराज भट्टको फिल्म हेरेकी थिइन भन्नुभयो । के अरु नेपाली फिल्म हेर्नुभएको थियो ?

नाई हेरेकी थिइन । मैले राजास्थानमा पढ्दा बलिउड फिल्म हेर्थें । साथीहरु पनि त्यस्तै थिए । मैले त्यति नेपाली फिल्म हेरिन । खासमा मिस नेपाल भएपछि मात्र अलिअलि नेपाली फिल्म हेर्न थालेकी हुँ । बच्चा बेलामा मोरङको उर्लाबारीमा थिएँ । त्यो समय तितोसत्य, जिरे खुर्सानी जस्ता नेपाली सिरियल चाहीँ हेर्थें । केही रमाइला गितहरु पनि सुन्थेँ ।

तपाइँ हिन्दी र अंग्रेजी फिल्म हेरेरै हुर्किनुभयो । डेब्यू नेपाली सिनेमाबाट गर्नुभयो । सपना देख्नु र सपनालाई व्यवहारमा उतार्नु पक्कै पनि फरक होला । सुटिङमा कस्तो अनुभव बटुल्नुभयो ?

निकै रमाइलो भयो । सुटिङका क्रममा हामी डोटीतिर पनि गयौं । त्यहाँ मेरो मोबाइलमा नेटवर्क थिएन । हामी १०।१५ दिन त्यहीँ बसियो । मैले मोबाइल सुटकेशभित्र राखेर सुटिङमा जान्थेँ, जबकी काठमाडौंमा बस्दा मोबाइल नचलाई एकछिन बस्न सक्दिन । सामाजिक सञ्जाल हेरिरहन मन लाग्थ्यो । तर त्यहाँ नेटवर्क नटिप्दा पनि म धैरै हेप्पी थिएँ । मोबाइल चलाउन नपाएको भनेर कुनै फिल भएन ।

मेरो सुटिङ नहुँदाको दिन पनि सुटिङस्थलमा गएर हेरिरहेकी हुन्थेँ । सुरुमा लगतार मेरो सुटिङ भयो । एक्सन सुट आउँदा बिराज दाईको मात्रै हुन्थयो । २।४ दिनकै ग्याप हुन्थ्यो । सुरुमा २ दिन त सुतेँ । त्यसपछि सुत्न मन लागेन । २ दिन सुत्ने वित्तिकै मैले त केही पनि गरेकी छैन भन्ने नेगेटिभ सोँच आउन थाल्यो । अनि सेटमा गएर हेर्न थालैँ ।

काम नहुँदा सेटमा गएर हेर्दा पनि खुशी हुन थालैँ । कहिले बिहानै ३ बजे पनि उठियो, रातीसम्म सुटिङ हुन्थ्यो । कहिले ३।४ घण्टामात्र पनि सुतियो । प्यासनकै कारण मलाई कहिल्यै बोर फिल भएन ।

तपाइँको फिल्मी यात्रा सुरु भयो । लामो यात्रा गर्नु छ । यात्रा गर्दा धेरै उतार चढाव आउँछन् । सबै झेल्दै अगाडि बढ्नुपर्छ । तपाइँसँग कति धैर्यता छ ? तपाइँकौ प्यासन कहिलेसम्म कन्टिन्यू रहिरहला । एउटा चरणमा पुगेर थाक्ने पनि होला । आफुले सोँचजस्तो नहोला । तपाइँको कलाकारिता यात्राको तयारी कस्तो छ ?

मैले जीवनमा जे जति प्लान बनाएँ, त्यो अनुसार कहिल्यै भएन । जे भइरहेको छ, संयोगले भइरहेको छ । मेरो सपनाहरु जहिले पनि घुमाउरो बाटोबाट मात्र सफल भइरहेका छन् । पुग्न चाहीँ त्यो ठाउँमा पुगेकी छु । तर, कहिल्यै पनि सिधै पुगेको छैन । मलाई लाग्छ, मेरो त्यो थर्टले नै जर्नीमा कन्टिन्यू राख्छ होला ।

यो बिचमा मैले अभिनेत्री बन्ने आशा पनि मेटिसकेकी थिएँ । कतै म एक्टर हुन सक्दिन कि जस्तो पनि लगेको थियो । तर बिचमै अवसर पाएँ । एक्टर पनि भएँ । मिस नेपाल पनि त्यो बेलामा भएँ, जुन बेला एक्टर बन्न सक्दिन कि भनेर होपलेस भइसकेको थिएँ । एक्टर बन्न मिस नेपालले खुड्किलोको काम गरिदियो ।

म भगवानप्रति धेरै विश्वास गर्छु । तर, जीवनमा जे हुन्छ, राम्रैका लागि हुन्छ भन्ने पनि लाग्छ । म यो उद्योगमा सफल हुँला नहुँला तर, म हेप्पी चाहीँ हुनुपर्यो ।

मान्छेले जीवनमा चाहने हेप्पीनेश नै हो । सबैले खोज्ने हेप्पीनेश हो । म काममा पनि हेप्पीनेश खोज्छु । मलाई हेप्पीनेश पनि मिल्दै गइरहेको छ ।

बलिउड र नेपालमा पनि लगातार ३/४ वटा असफल सिनेमा दिएपछि लगातार हिट फिल्म दिने कलाकार धेरै छन् । डेब्यू गतिलो दिएर लगातार असफल भएका उदाहरण पनि टन्नै छन् । यस्तो अवस्थामा पनि तपाइँको जर्नी कसरी हुन्छ ?

बलिउडमा नवाज उद्दिन सिद्धिकी हुनुहुन्छ । उहाँलाई बलिउडमा स्थापित हुनका लागि १५ वर्ष लागेको थियो । उहाँले कति धैर्यता गर्नुभयो । कति संघर्ष गर्नुभयो होला । म अझै त्यो पोजिसनमा पुगेकी छैन । आफुलाई नै प्रुभ गर्नुपर्ने छ । आज मलाई जसले सेलिब्रेट गरिरहनु भएको छ, भोली त्यही मान्छेले पुल डाउन गर्न सक्छन् ।

मलाई अझै पनि नराम्रो कमेन्ट आउँदा चित्त दुख्छ । तर अब त्यस्तो सानो चित्त बनाएर हुँदैन । राम्रो नराम्रो दुबै कमेन्ट सुन्नुपर्छ र आफुलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ । मेरो स्टारडम कति छ, मान्छेले कसरी सोँच्छन्, मलाई कसरी लिन्छन भनेर हेर्नुभन्दा पनि आफुलाई इम्प्रुभ गर्दै अगाडि बढ्नुपर्छ ।

यदि निकिता चन्दकलाई फिल्मी क्षेत्रमा सफल हुनका लागि ५/६ वर्ष कुर्नुपर्ने भयो । निरन्तर संघर्ष गर्नुपर्ने भयो । त्यो धैर्यता निकिता चन्दकसँग छ ? त्यो बेलामा निकिता चन्दकलाई अभिनेत्रीकै रुपमा देख्न पाइन्छ कि बिजनेशमा वा अन्त कतै गइसकेकी हुनेछिन् ?

म सँग बिजनेशको स्किल नै छैन । अहिले मेरो मुभी ‘साङ्लो’ बजारमा आइसकेको छ । यसको सफलता अफसफलताका लागि अझै कुर्नुपर्छ । मलाई मुभी गर्दा एकदमै खुशी फिल भइरहेको छ । विश्वभरी चर्चित पपस्टार, कलाकारहरु आत्महत्या गरिरहेका हुन्छन् । किन ? उनीहरु त सक्सेस हुन नि । तर पनि किन खुशी छैनन ? उनीहरु बाहिरबाट देख्दा खुशी देखिए पनि भित्रबाट खुशी नभएर हो । म जे गरु, त्यसमा ‘हेप्पीनेश’ पाउँ । म खोजिरहेको हुन्छ कि के गर्दा खुशी हुनसक्छु भनेर । खुशी भनेको करियरले पनि निर्भर गर्ला ।

मलाई परिवार र साथीहरुको सहयोग छ । आफुले आफुलाई सम्झाउन पनि आवश्यक पनि छ । काम गर्दै जाँदा सफल असफल जे पनि हुन सकिन्छ । अहिलेको समयमा एकदमै दुखी र एकदमै खुशी भाइहाल्ने मान्छे हुँ । कसैले कस्ती नराम्री, अग्ली, काली पनि मिस नेपाल भएकी भन्दा निकै दुःख लाग्थ्यो । र, अझै पनि लाग्छ ।

उनीहरुले मलाई कस्तो आँखाले हेरे भन्ने पनि हुन्छ । सौन्दर्यतालाई हेर्ने नजर अ–आफ्नै हुन्छन् । एउटा कमेन्ट कस्तो आएको थियो भने, ‘कस्तो नराम्री पनि हिरोइन । तपाइँभन्दा पछि मिस नेपाल भएकाहरु कति राम्रा छन्, सुन्दर छन् र फिल्ममा पनि सफल भइसके । पहिला तपाइँ एक्टिङ सिक्नुस रे ।’ मेरो एक्टिङ नै नहेरी कमेन्ट गर्दिन मिल्छ र ?

एक्टिङ गर्नु र सुन्दर हुनु आफैमा फरक होला नी । उहाँले मलाई नराम्रो देखेकै कारण हेर्दै नहेरी एक्टिङ नराम्रो भन्न भएन नी । स्किल हुनु र सुन्दर हुनु नितान्त फरक कुरा हुन् । यस्तो कुराले पनि दुखित बनाइरहेको हुन्छ । अब अभिनेत्री नै भइसकिएको छ । यस्ता कमेन्ट धेरै आउँछन् । सधै चित्त दुखाएर हुँदैन । दर्शकका कमेन्टलाई ग्रहण गर्न सक्नुपर्छ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!