Connect with us

यात्रा

घुमन्ते नेपाली

विहानको सिरेठोको कुनै प्रवाह थिएन । न त थकान नै महशुस भइरहेको थियो । पुनहिल पुग्ने वित्तिकै थकान पनि मेटियो, चिसोको पनि अनुभव भएन । आँखै अगाडि देखिने चित्ताकर्षक हिमाल क्यामेरामा कैद गर्न सबैलाई भ्याई नभ्याई देखिन्थ्यो ।

धौलागिरी, अन्नपूर्ण, निलगिरी लगायतका हिमश्रृङ्खला र सूर्योदय अवलोकन गर्न म्याग्दीको पुनहिलमा दशैंभरी आन्तरिक पर्यटकको घुइँचो लाग्यो । नजिकैबाट हिमाल हेर्नका लागि पुनहिल गज्जब ठाउँ हो ।

म्याग्दीको घोरेपानी, पुनहिल विश्वकै चर्चित राउन्ड अन्नपूर्ण पदमार्गमा पर्ने मुख्य गन्तव्य हो । घोरेपानी क्षेत्रमा सञ्चालित दुई दर्जनभन्दा बढी होटल भरिभराउ भएपछि पर्यटक शिख र घान्द्रुकतिर लाग्नुपर्यो। त्यहाँका होटलमा एक रातमा पाँच सय जना बास बस्न सक्छन् ।

दोलखाको कुरी बजार पनि दशैंमा आन्तरिक पर्यटकले खचाखच भयो । विहान कालिञ्चोक भगवती मन्दिरतर्फ उक्लिने भक्तालुको लस्करले मेला–महोत्सवको झल्को दिलाउँथ्यो । दशैंमा कुरीका होटलले एउटै कोठामा ८/१० जनासम्म पाहुना सुताउनु परेको थियो ।

दशैंभरी सामाजिक सञ्जालमा मुस्ताङका फोटोहरु छ्याप्छ्याप्ती देखियो । दशैंको लामो विदामा धेरै नेपाली मुस्ताङ पुगे । र, मुक्तिनाथ दर्शन गरे । हजारौं बाइक र सयौं निजी गाडी मुस्ताङ हुँदै लोमान्थाङसम्म पुगे । जोमसोम र मुक्तिनाथ क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ भएको स्थानिय व्यवसायी बताउँछन् । दशैंमा मुक्तिनाथ पुगेका पाहुनालाई सेवा दिन होटललाई धौधौ पर्यो ।

शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने नेपालीको संख्या लाखौंमा थियो । पर्यटकीय नगरी पोखरा दशैंभरी आन्तरिक पर्यटकले खचाखच भयो । फेवातालमा डुंगा सयरदेखि सराङकोट, विश्व शान्ति स्तुपा, गुफा, प्याराग्लाइडिङ, होटल जहीँतहीँ नेपालीको भिड लाग्यो ।

स्वर्गकी अप्सराको उपनाम पाएको मुगुको रारा तालमा पनि नेपाली ओइरो लागेका छन् । दशैंको विदामा दैनिक सरदर १५ सय पर्यटक रारा पुगे । रारामा दैनिक ३०० बाइक, १५० निजी गाडी र १० वटा बस रारा पुगेको निकुञ्जले जानकारी दियो । होटलमा कोठा नपुगेपछि कोही पाल टाँगेर, कोही आगो बालेर बसेका थिए ।

दशैंको विदामा पर्यटकीय गन्तव्यहरु आन्तरिक पर्यटकले भरिए । दशैं, तिहारमा लामो विदा पाइने हुनाले नेपालीहरु घुम्न निस्किएका हुन् । नेपालीमा पनि घुमफिर गर्ने संस्कृति ह्वात्तै बढेको छ । बडादशैं, तिहार, अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्षमा आन्तरिक मुभमेन्ट ह्वात्तै बढ्न थालेको छ ।

युवामाझ घु्मफिर गर्ने संस्कृति बढ्दो छ । छोरा छोरीलाई विदामा घुमफिर गराउनु पर्ने हेक्का बाबु आमालाई पनि हुन थालेको छ । काम र करियरसँगै मनोरञ्जन पनि नेपालीको उत्तिकै प्राथमिकतामा पर्न थालेको छ । घुमियो भने देश देखिन्छ, बुझिन्छ ।

कुनै समय अन्नपूर्ण, खुम्बु, रारालगायत क्षेत्रमा गोरो अनुहारमात्र देखिन्थ्यो । तर, अहिले नेपाली पनि उत्तिकै देखिन थालेका छन् । दशैंअघि मुटुरोग विशेषज्ञ डा. रामेश्वर कोइरालाको टिम सगरमाथा बेसक्याम्प पुगेर फर्कियो । लिभरका डाक्टर सुधांसु केसी फोक्सुन्डो तालसम्म पुगे ।

गोरो छालामात्र पर्यटक मान्ने प्रवृत्ति विस्तारै हट्दैछ । एक समय काठमाडौं उपत्यकाका मानिस बाहिर निस्कदैनथे । धेरैले काठमाडौंबासीले उपत्यका बाहिरको नेपाल देखेकै हुँदैनथे । तराईका मानिस पहाड उक्लिदैनथे ।

तर, समय परिवर्तन भइसकेको छ । सबैभन्दा बढी घुमफिरमा शहरीया निस्किन थालेका छन् । शहरीया युवा युवती पनि गाउँमा गएर खाने, बस्ने रमाउन गर्न थालेका छन् ।

तराईका मानिस शितल खोज्दै पहाड उक्लिन थालेका छन् । कुनै समय टेन्ट टाँगेर बस्नेमा विदेशीमात्र देखिन्थे । अचेल खोलका किनार होउन वा डाँडातिर क्याम्प राखेर बस्नेमा नेपाली धेरै देखिन्छन् ।

नेपालीहरु घुम्न जाने योजना तत्काल बनाउँछन् । चिया गफमै घुम्न जाने योजना बन्छन्, अनि कुदिहाल्यो । मिहेनत गरेर काम गर्ने, टन्न पैसा कमाउने र घुम्न निस्कने प्रवृति बढ्दैछ ।

नेपालीमा घुमफिर गर्ने संस्कृति बढेपछि पर्यटन व्यवसाय पनि आन्तरिक पर्यटकमा अडिन थालेको छ । पर्यटन व्यवसायीलाई विदेशीभन्दा नेपाली भरपर्दो पर्यटक बन्न थालेका छन् ।

खर्च पनि विदेशी भन्दा नेपालीले नै बढी गर्छन् । एउटा विदेशीले चिया खाँदै बुक पढेर दिन बिताइदिन्छ । तर, नेपाली घुम्न निस्किँदा खानपिनमा मनग्ये पैसा खर्च गर्छन् ।

नवलपरासीको दुम्कौलीमा रहेको सीजी शाश्वत धाममा विदाको दिन दैनिक १०/१२ हजारसम्म पर्यटक पुग्छन् । दशैंको समयमा शाश्वत धाममा बाक्लो भिड लाग्यो । पछिल्लो समय शाश्वतधाम प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनेको छ ।

धनकुटाको भेडेटार, इलाम, अर्घाखाँचीको सुपादेउराली, धुलिखेल, नगरकोट, जिरी, खुर्कोट, जनकपुर, दामन, सौराहा, अन्नपूर्ण, खुम्बु, मनाङ, बर्दिया, शुक्लाफाँटा, चाँदनी दोधारा पुल, खप्तड, पाल्पा, रानीमहल, रामारोसन, फोक्सुन्डो, घलेगाउँ, घान्द्रुक, पाथिभरा, बन्दिपुर लगायत गन्तव्यमा पनि विदाको समय आन्तरिक पर्यटकको भिड लाग्छ ।

नेपालका हरेक ठाउँ घुम्न लायक छन् । लुकेर रहेका पर्यटकीय गन्तव्य पनि आन्तरिक पर्यटकले एक्स्पोलोर गर्न थालेका छन् । नयाँ गन्तव्यमा पहिला आन्तरिक पर्यटक, अनिमात्र विदेशी ।

घुमफिर गर्ने गन्तव्य विदाले तय गरिदिन्छ । यदि धेरै दिन बिदा भएमा रारा, फोक्सुन्डो, खप्तड, बडिमालिका, अन्नपूर्ण बेसक्याम्प, सगरमाथा बेसक्याम्प, इलाम, पाथीभरा रोजाइमा पर्छन् । सप्ताहन्त वा एक÷दुई दिनको बिदामा नजिकैका गन्तव्य रोजिन्छ । त्यसो त विदा लिएरै भएपनि घुम्न निस्किने जमात पनि उत्तिकै छ ।

धेरै पैसा कमाउनेहरु युरोप, बैंकक, मलेसिया, सिंगापुर, इन्डोनेसिया, दुबई, हङकङन, जापान घुम्न गइरहेका हुन्छन् । ट्राभल कम्पनीले विदेश घुमाउने आकर्षक प्याकेज बनाएको देखिन्छ । राष्ट्र बैंकको एक अध्ययनले नेपालमा विदेशीले खर्च गर्ने रकमभन्दा नेपालीले विदेश गएर खर्च गर्ने रकम बढी देखाएको थियो ।

घुमफिर संस्कृतिको सुरुवात

नेपालीको घुमफिर संस्कृति नौलो होइन । एक ठाउँबाट अर्को ठाउँमा जाने प्रचलन पुरानै हो । ‘अतिथी देवो भवः’ नेपालीको पुरानो संस्कृति हो । पहिल्यैदेखि घरमा आएको पाहुनालाई स्वागत सत्कार गर्ने परिपाटी थियो ।

नेपालीहरु पहिल्यैदेखि धार्मिक भ्रमणमा निस्कन्थे । पशुपति, मुक्तिनाथ, पाथिभरा, लुम्बिनी, जनकपुर, रिडी लगायतका मन्दिरमा तिर्थ जाने चलन थियो । चारधाम भन्दै भारतका विभिन्न मन्दिरसम्म नेपालीहरु पुग्थे, पुग्छन् ।

मुलुकमा माओवादी द्धन्द्ध सुरु भएपछि घुमफिर संस्कृति संकटमा पर्यो । मानिस बाहिर निस्किन डराउन थाले । नयाँ ठाउँमा बास पाउन पनि गाह्रो भयो । तर, द्धन्द्धको समाम्ती भएपछि आन्तरिक भ्रमणले पुनः गति लियो । यसलाई बढवा दियो, ठाउँ ठाउँमा खुलेका होमस्टे व्यवसायले । शहरका मानिसहरु पनि गाउँमा गएर होमस्टेमा बस्ने, रमाउने गर्न थालेका छन् ।

पछिल्लो १० वर्षयता नेपालीमा घुमफिर गर्ने संस्कृति अलि धेरै बढेको छ । अझ तीन/चार वर्षयता आन्तरिक पर्यटकको मुभमेन्ट ह्वात्तै बढेको देखिन्छ । पहिला नेपालीहरु धार्मिक आस्था बोकेर बढी घुम्ने गर्थे, अचेल धर्मकर्मसँगै मनोरञ्जनका लागि बढी घुम्न निस्कन्छन् ।

नेपालीहरु खर्च पनि दिल खोलेर गर्छन् । नेपालीको घुम्ने संस्कृति बढेपछि होटल र ट्राभल कम्पनीले पनि नेपाली लक्षित आकर्षक प्याकेज बनाउन थालेका छन् । धेरैजसो पर्यटकीय गन्तव्यहरु आन्तरिक पर्यटकले धानिन थालेका छन् ।

केही वर्षअघिसम्म दामनको एभरेष्ट पानोरमा रिसोर्टमा विदेशी ९० प्रतिशत र स्वदेशी १० प्रतिशत पाहुना हुन्थे । रिसोर्टका प्रबन्ध निर्देशक सुदेश गौतम क्षेत्रीका अनुसार अहिले ९० प्रतिशत नेपाली र १० प्रतिशतमात्र विदेशी पाहुना हुने गर्छन् ।

पोखरा, लुम्बिनी, सौराहामा सञ्चालन गरिएका पर्यटकीय बसमा झण्डै ९० प्रतिशत नेपाली हुने गर्छन् । विदेशी पर्यटकको मुख्य गन्तव्य पोखरामा नेपाली खचाखच हुन्छन् । अन्नपूर्ण, खुम्बु, रारा लगायत क्षेत्रमा ट्रेकिङ गर्ने नेपाली टन्नै भेटिन्छन् ।

जलयात्रा, प्याराग्लाइडिङ, बञ्जी, हाइकिङ, ट्रेकिङ, साइट सिन, क्यानोनिङ, सफारीलगायत सबै क्षेत्रमा नेपाली धेरै हुन्छन् । होटल रिर्सोटमा पनि नेपाली धेरै देखिन्छन् । रेष्टुराँ पनि नेपालीले नै भरिएका हुन्छन् ।

पर्यटकीय गन्तव्यमा विदेशी कम, नेपाली ज्यादा देखिन थालेको व्यवसायी बताउँछन् । प्रयाप्त विदेशी पर्यटक नआएको बेलामा आन्तरिक पर्यटकको मुभमेन्टले पर्यटन व्यवसायमा आशाको किरण छरिदिएको छ । नेपालीका लागि कुने सिजन चाहिँदैन, विदा हुने वित्तिकै घुम्न निस्किन्छन् ।

पर्यटन व्यवसायी भन्छन्, आन्तरिक पर्यटक मुभमेन्टमा होमस्टेको महत्वपूर्ण योगदान छ । यसको अलवा स्कुल, कलेजले गराउने शैक्षिक भ्रमण, सहकारी तथा संघ–संस्थाले गराउने भ्रमणले पनि आन्तरिक मुभमेन्ट बढाएको छ ।

पछिल्लो समय कर्पोरेट हाउसले पनि कर्मचारीलाई घुमफिरमा लैजान थालेका छन् । पारिवारिक भ्रमणले पनि तिब्रता पाएको छ । बुवा आमालाई पनि छोरा छोरीलाई घुमाउन थालेका छन् । यसमा केही हदसम्म विदेशी संस्कृतिको पनि प्रभाव देखिन्छ ।

सामाजिक सञ्जालको कमाल

राज्यको नीतिले आन्तरिक मुभमेन्ट बढेको चाहीँ होइन । नेपालीहरु स्वतस्फुर्त घुमफिरमा निस्किन थालेका हुन् । आन्तरिक मुभमेन्ट बढाउन व्यवसायीको आकर्षक प्याकेजको पनि केही भूमिका रहेको छ । सामाजिक सञ्जाल र साथीभाइको सिफारिसकै आधारमा नेपालीको मुभमेन्ट बढेको पनि देखिन्छ ।

नेपालीमा घुमफिरको माहौल ह्वात्तै बढाउन समाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्स्टाग्राम)को ठूलो भूमिका छ । विभिन्न ठाउँमा घुम्न जाने र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्टिने होडबाजीले नयाँ–नयाँ ठाउँको प्रमोट भइरहेको छ ।

कतिपय नेपाली फोटो खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि पनि घुमफिर गर्न निस्कने गरेको पनि पाइन्छ । एउटाले सामाजिक सञ्जालमा कुनै ठाउँको सुन्दर फोटो राखिदिन्छ, अरुले त्यसलाई पच्छाउँदै घुम्न जान्छन् ।

नेपालीको मुभमेन्ट बढाउन सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण रहेको पर्यटन बोर्डका सिइओ दीपकराज जोशी बताउँछन् । सामाजिक सञ्जालमा कसैले मस्ती गरेको फोटो देख्नासाथ घुम्न जान कुत्कुताउने गरेको छ ।

सामाजिक सञ्जालमा धेरै फ्लोअर्स भएका ट्रोल नेपाल, मेमेजस्ता ह्यान्डलले पनि आन्तरिक मुभमेन्ट बढाउन ठूलो सहयोग पुर्याएका छन् ।

‘लुम्बिनी नगएको नेपाली नै होइनन्, रारा, पोखरा, मुक्तिनाथ नपुगेको त नेपाली नै होइन’ भन्दै सामाजिक सञ्जालमा पोस्ट भएको देखिन्छ । अनि आफु साँच्चिकै पछाडि परेको महशुस गर्दै मान्छे घुम्न निस्कन्छन् । फेसबुकमा राखिएको फोटोको आधारमै घुम्न निस्कने धेरै देखिएका छन् ।

बाइक क्लव

बाइक कुदाएर घुम्न निस्किने धेरै हुन्छन् । अझ बाइक क्लवले त प्याकेज बनाएरै टुर लैजान्छन् । नेपालको पहाडी तथा हिमाली भेगमा बाइक टुरमा निस्किएको टन्नै देखिन्छ । बाइक राइडर्सका लागि मुस्ताङ, रारा, जुम्ला, मनाङ लामो दुरीका गन्तव्य हुन् ।

दामन, खुर्कोट, पोखरा, सौराहा, धुलिखेल, नगरकोट, चित्लाङ, कुलेखानी, त्रिशुली र भोटेकोशी किनार, बल्थली, कालिञ्चोक, जिरी लगायत काठमाडौं नजिकका बाइक टुर गर्ने गन्तव्य हुन् । नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा रोयल इन्फिल्ड (बुलेट) बाइकको महत्वपूर्ण योगदान देखिन्छ ।

अर्थतन्त्र भाइब्रेन्ट

आन्तरिक पर्यटकको बढ्दो मुभमेन्टले नेपाली अर्थतन्त्रमा भाइब्रेन्ट ल्याएको छ । आन्तरिक पर्यटकले उद्यमशीलता र रोजगारी दुबै बढाउन मद्दत पुगेको छ । खोलाका किनारदेखि डाँडाकाँडा, सडकका छेउछाउ जतासुकै होटल खुलिरहेका छन् ।

त्रिशुली किनार, भोटेकोशी किनार, खुर्कोट, अन्यत्र डाडाँकाँडा आन्तरिक पर्यटकले भाइब्रेन्ट बनेका हुन् । विदेशी पर्यटक नपुग्ने ठाउँमा नेपाली पुगेका छन् । यसले ग्रामिण पर्यटन प्रवद्र्धनमा योगदान पुरार्याएको छ । आन्तरिक पर्यटकको मुभमेन्टले अर्थतन्त्र चलायमान गरिदिएको छ । धमाधम होटल तथा रिसोर्टमा लगानी बढिरहेको छ । लगानी बढेपछि रोजगारी बढ्छ, आर्थिक गतिविधि पनि बढ्छन् ।

फुर्सदमा घुम्न निस्कने नेपालीको संख्या बढ्यो । अब समयमै व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ ।

मा प्रकाशित
Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

error: Content is protected !!