घुमफिर
झोमोलोङ्माको छोरो
अनि त्यो मान्छेलाई मैले सगरमाथाको शिखरमा पुर्याएर जिउँदै फर्काउन सकेँ !

कामिरिता शेर्पा, कृतिमानी आरोही
माउण्ट एभरेष्ट । सगरमाथा । अर्थात् मेरो झोमोलोङ्मा ।
यहि झोमोलोङ्माको काँखमा म जँन्मिए । यसैको शिर पग्लेर झरेको चिसो पानी पिएर हुर्किएँ ।
कसैले मलाई सोधोस् न तिमीलाई बाउआमा जत्तिकै प्यारो कुनै चिज छ ?
मैले एक सासमा जवाफ दिनेछु— मेरो झोमोलोङ्मा । उ त्यो वाफ उडिरहेको चुच्चो । हावाको झोक्काले डगाउन नसकेको शिखर ।
बाउ आमाले चित्त दुखाउदैनन् भने आज मैले सिधै भनिदिनेछु— म झोमोलोङ्माको छोरो हुँ ।
झोमोलोङ्माले मलाई जीवन दियो । आज मेरो सारा जीवन झोमोलोङ्मालाई दिदैछु ।
एकबारकोे यो जुनी अहँ अरुकसैले पाउदैन ।
000
अहा हिमाल चढ्ने सिजन शुरु भयो । मैले पुग्नु त त्यहि छ ।
गन्तव्य ८८४८ !
मेरा भगवान, मेरा पुर्खा र मेरा सन्ततीको घर ।
त्यहि चुच्चो, त्यहि शिखर ।
यो संसारमा आज कसैले स्वाभिमानको शिर ठडाएको छ भने यहि झोमोलोङ्माले मात्रै हो ।
डोनाल्ट ट्रम्प, भ्लादिमिर पुटिन, सि जिन पिङका शिरहरु त अभिमानले मात्रै ठाडा छन् ।
त्यसपछि कसैको शिर ठाडो छ भने त्यो मै हुँ ।
कामिरिता शेर्पा । झोमोलोङ्माको छोरो ।
लौ भनोस् त सगरमााथाको चुचुरोमा २४ पटक पुगेर त्यो संसारको शिरलाई कसैले ढोकेको छ ?
तर यसमा अभिमान एक रत्ती पनि छैन है । गल्ती भए माफी पाम ।
000
मे महिना । हिमाल चढ्ने सिजन । आरोही शेर्पाहरुलाई भ्याई नभ्याई छ ।
ट्रेकिङ कम्पनीले हिमाल आरोहीको बुकिङ क्लियर गरिसक्यो । हामी हिमपुत्रहरुको काम सुरक्षित रुपमा आरोहीलाई हिमालको चुचुरोमा पुर्याएर फर्काउने हो । त्योभन्दा बढि त आफै पटक पटक शिखरलाई नमन गर्ने हो ।
उँ माने पेमे हुँम् ।
हिमाल चढ्ने तयारी काठमाडौंदेखि नै सुरु हुन्छ । हिमाल चढ्ने जति ठूलो टिम हुन्छ, त्यही अनुसार खाने, बस्ने सुविधा मिलाउनु पर्छ । किचेनका भाँडा, खानेकुरा र टेन्ट काठमाडौंबाटै जोहो गर्नुपर्छ ।
काठमाडौंमै किनमेल गर्छौं ।
आरोहण सुरु हुनुअघि नै समान ट्रकमा राखेर सोलुखुम्बुको फाप्लु पुर्याउँछौं । गाइड, कुक, हेल्पर गाडीमा जान्छन् । फाप्लुबाट भरिया र खच्चडले समान बोकेर नाम्चे हुँदै सगरमाथा पुर्याउँछन् ।
हाम्रो कम्पनी सेभेन समिट ट्रेक्सको जिम्मेवारी मैले बाँडफाँड गरिदिन्छु । सबैले आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्छन् । उनीहरु यात्रा गर्दा आरोही पर्यटक बस्ने ठाउँमा टेन्ट टाँगेर खाने र बस्ने सुविधा मिलाउँछन् ।
मैले आरोहीको झुण्ड लिएर सगरमाथाको फेदीमा अवतरण गर्छु ।
000
म २२ पटक सगरमाथा चढिसकेको छु । यो सिजनमा २३औं पटक हुनेवाला छ । आफ्नै पुरानो रेकर्ड तोड्न जाँदै छु ।
घरपरिवारले सगरमाथा नचढ्न आग्रह गरिरहन्छन् । मेरो पेशै हिमाल चढ्ने, किन रोकन्थेँ र । फेरी रेकर्ड राख्न हिमाल चढ्ने पनि होइन, नेपालको हिमाल आरोहण जिवितै राखेर विदेशी पर्यटक भित्र्याउनु छ ।
२०१९ मे ४ तारेख ।
६ जनाको विदेशीको टिम छ । तीन जना हामी शेर्पा छौं ।
काठमाडौंबाट हाम्रो यात्रा सुरु भयो गाडीमा । र, यो यात्रा रामेछापको सुकेटार विमानस्थल पुगेर रोकिन्छ । सुकेटार विमानस्थलाट प्लेनमा चढेर सोही दिन दिउँसै लुक्ला विमानस्थल पुग्छौं ।
अरु बेला सुकेटार–लुक्ला उडान हुँदैन । तर, हिमाल चढ्ने सिजनमा भने उडान हुन्छ । किनकी, काठमाडौं विमानस्थल धेरै व्यस्त हुन्छ । लुक्लामा धेरै उडान गर्नुपर्छ यो बेला ।
लुक्ला विमानस्थल । समुन्द्र सतहबाट २८६० मिटरको उचाई । विश्वका डरलाग्दा एडभेञ्चर विमानस्थलभित्र पर्छ ।
लुक्ला ओर्लिंदा दिउँसै छ । चिसो मौसम छ । फिरफिर हावा चलिरहेको छ । एडभेञ्चर विमानस्थलमा ओर्लिने वित्तिकै विदेशी आरोहीहरु निकै उत्साहित देखिन्छन् । त्यसमाथि लुक्लाको सुन्दरता र वातावरण विदेशमा कहाँ पाउनु र !
लुक्लादेखि एभरेष्ट बेसक्याम्पसम्म ६२ किलोमिटरको दुरी । यो यात्रा पुरा गर्न सामन्यतया ७ दिन लाग्छ ।
हामीलाई लुक्ला बस्नु छैन । एभरेष्ट बेसक्याम्पको बाटो छोट्याउनु छ । लुक्लामा चिया/नास्ता खायौं । र, फाक्दिङको यात्रा तय गर्यौं ।
झण्डै तीन घण्टा हिँडेपछि फाक्दिङ पुग्न सकिन्छ ।
विहान काठमाडौंबाट हिँडेका हामी साँझपख फाक्दिङ पुग्यौँ । हाम्रो ट्रेकिङ क्याम्प फाक्दिङ राखिएको छ । त्यहाँ तारे होटलहरु छन् । टी सपहरु छन् । ट्रेकिङ र आरोहणमा जानेहरु पहिलो दिन बस्ने ठाउँ यहि हो ।
पहिलो रात फाक्दिङमा वित्यो । खाना खाएपछि सुत्यौं । भोेली विहानै नाम्चेको बाटो तताउनु छ ।
000
दोस्रो दिन ।
३,४४० मिटर उचाईमा रहेको नम्चे बजार । यो नै सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार हो । हिमालयको रमणिय दृश्य अवलोकन गर्न पाइन्छ ।
विहानै नाम्चेतिर लाग्यौं ।
करीव ११ किलोमिटर दरी ६/७ घण्टामा पुरा गरियो । यो दिन नाम्चे बजारमा बास बसियो ।
भोलीपल्ट (तेस्रो दिन) विदेशी आरोही नाम्चे नजिकैको ‘एभरेष्ट भ्यू’ होटलमा बास बस्न पुगे ।
एभरेष्ट भ्यू होटल नाम्चेबाट दुई घण्टाको दुरीमा पर्छ ।
अल्टिच्युडमा विस्तारै उकालो चढ्नुपर्छ । एकै पटक उचाईमा पुग्दा लेक लाग्न सक्छ । हामी ठाउँ ठाउँमा क्याम्प बसेर अगाडि बढिरहेका छौं ।
साथमा क्यामेराम्यान हुनुहुन्छ । मेरो डकुमेन्ट्री बन्दै थियो । पर्यटक लिएर अरु गाईड माउन्टेन भ्यू होटलतिर लागे । क्यामेराम्यान र म मेरो जन्मघर थामेतिर सोझियौँ ।
मलाई जन्म दिने बाउआमााको आर्शिवाद नथापी म कहिल्यै झोमोलोङ्माको दर्शनमा जादिन ।
विदेशी नाम्चेमा दुई रात बसे । आँखै अगाडि रमणिय दृश्य देख्न पाउँदा खुब रमाए पनि । ठाउँ निकै रमाइलो छ । त्यहाँ हाइकिङ पनि गयौं । किनकी, अल्टिच्यूड पचाउनु छ ।
000
चौथो दिन ।
तेङबोचे बास बस्न पुग्नु छ ।
नाम्चेबाट ११ किमी दुरी पार गरेपछि तेङबोचे पुगिन्छ । पैदल यात्रा ६ घण्टाको दुरी हो ।
३,८६० मिटर उचाईमा रहेको तेङबोचेको बाटो बिहानै सोझियो । तेङबोचे पुग्ने बेलामा बाटोमा कुनै कम्पनीकी एउटी नेपाली महिला सहयोगी विरामी भइरहेको देखेँ । उनलाई अल्टिच्यूड लागेको रहेछ । उनी अझै माथी जान्छु भन्दै थिईन । उनीसँग आधा घण्टाजति हिँडेको झनझन कमजोरी भएको पाएँ । उनको लिडर पनि केटी नै रहिछ । मैले गाली गरेँ, ‘यस्तो मान्छे किन लैजान लागेको ? उनलाई अल्टिच्यूडले छोइसकेको छ ।’
उनलाई बाटोबाटै फर्काइदिएँ, एकजना गाइडको साथ लगाएर । मैले भन्दिएँ, ‘तिम्रो खैरेलाई माथि पुर्याउन भन्दा यो नानीलाई सकुशल तल पुर्याउन जरुरी छ ।’
उनी सकुसल लुक्ला झरिछन् । पछि मलाई कम्पनीको मान्छेले खुशी हुँदै धन्यवाद दिएको थियो, ‘तपाइँले भनेकै कारण उनी बाँचिन् ।’ मलाई पनि खुशी लाग्यो ।
हामी तेङबोचेमा बास बस्यौं ।
तेङबोचेबाट सगरमाथा, अमादब्लम, ल्होत्से, नुप्त्से लगायत मनोरम हिमाल अवलोकन गर्न पाइन्छ । विदेशी पाहुना खुशी हुँदै फोटो खिचिरहे । फोटो खिच्न लोकेसन हेर्न पर्दैन । जता फर्किएर खिचे पनि राम्रो फोटो आउँछ । पृष्ठभूमी उही सून्दर हिमााल न हुन् ।
यहाँनिर मलाई सबै विदेशीका अगाडि चिच्याएर भन्न मन लाग्छ, तिम्रो दुँनियामा यत्तिको सून्दर ठाउँ देखायौ भने म तिम्रै दाश बनेर जीवनभर विताउँला ।
000
पाँचौ दिन
गन्तव्य ४,२५० मिटर उचाईमा रहेको डिङ्बोचे ।
तेङ्बोचेबाट १२ किमी दुरीमा रहेको डिङ्बोचे पुग्न पनि ६ घण्टा हाराहारिकै समय लाग्छ । साँझ डिङ्बुचे बास बस्न पुगियो ।
छैठौं दिन ।
४,९३० मिटर उचाईमा रहेको लोबुचे पुग्नु छ । दुरी १२ किलोमिटर छ । पैदल यात्रामा ६ घण्टा हिँडे पुगिन्छ । लोबुचे शेर्पा गाउँ हो । लोबुचेमा छैठौं दिनको बास बसियो ।
सातौं दिन,
अबको गन्तव्य एभरेष्ट बेसक्याम्प (सगरमाथा आधार शिविर) ।
लोबुचेबाट १५ किमी दुरीमा रहेको बेसक्याम्प पुग्न झण्डै ८/९ घण्टा हिड्यौं ।
लोबुचे र गोरफसेप अग्लो स्थानमा पर्छन् । अल्टिच्युड लाग्ने सम्भवना छ । तर कसैलाई केही भएन ।
हाम्रो सगरमाथा आधार शिविरसम्मको यात्रा राम्रो भयो । टिमको कोही पनि बिरामी भएनौं । आधार शिविर पुगेपछि विदेशीमा खुशीको सिमा थिएन । उनीहरु खुशीले उफ्रिए ।
आधार शिविर पुग्दा गाउँझैं देखियो । जताततै टेन्ट टाँगेर बस्नेको भिड छ । एउटा सिंगो गाउँजस्तै देखिन्छ । रंगिविरंगी टेन्टले उत्साह थपिएको छ । शरिर लखतरान भएपनि अनुहार उज्यालो देखिन्छ । विदेशीहरु फोटो खिच्न थाले ।
हाम्रो टिममा इन्डियन, मेक्सिकन, चिनियाँ लागयत नागरिक छन् । हामी बास बस्ने तयारीमा लाग्यौ ।
हामी लञ्च खान आधार शिविर पुगेका छौं । अब सिधै सगरमाथा चढ्दैनौं ।
अबको ६/७ दिन बेसक्याम्पमै बस्नुपर्छ ।
थकान मार्नुपर्छ । तालिम गर्नुपर्छ । सरसमान मिलाउनु पर्छ । हामी शेर्पा सगरमाथा चढ्नुअघि बेसक्याम्पमा पुजा गर्छौं ।
उँ माने पेमे हुँम् ।
भगवानसँग पुजा गरेर माफी माग्छौं । पुजा पनि जुन पायो त्यही दिन हुँदैन । बुद्धिष्ट परम्परा अनुसार राम्रो दिन हेरेर पुजा गर्छौं । हिमालमा देवीको बास हुन्छ । देवीहरुको शरिरमा खुट्टा टेक्नका लागि पुजा गरेर माफी माग्नुपर्छ । भगवानसँग सगरमाथाको चुचुरोमा पुगेर सकुशल घर फर्काइदिनुस भनेर प्रार्थना गर्छौं । देवीकै शक्तिले हाम्रो पेशा अहिलेसम्म टिकेको छ । जोखिमपूर्ण यात्रा सहजै पुरा गरिरहेका छौं ।
हिमाल चढ्न कहाँ सजिलो छ र !
एकदमै रिस्की छ ।
जे पनि हुन सक्छ ।
गाईडले धेरै दुख खेप्नुपर्छ ।
धेरै दुःख गरेर विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याउँछौं । उनीहरुको जीवनमा खुशी भर्ने काम गर्छौं ।
बेसक्याम्मा धेरै पटक तलमाथि गर्नुपर्छ । विदेशीलाई अल्टिच्युड पचाउने तालिम दिनुपर्छ । पर्यटकलाई क्याम्प वान, क्याम्प टु, क्याम्प थ्रि पुराउँदै बेसक्याम्पमा झार्छौं । उनीहरु तयार नहुँदासम्म तलमाथि गराई रहनुपर्छ ।
तलामाथि गर्दा पनि लेक लाग्ने हुन्छ । मेरो टिममा एकजना चिनियाँ महिलालाई तालिमकै क्रममा क्याम्प वानमै लेक लाग्यो । बेसक्याम्पबाट क्याम्प वान पुग्नै आठ घण्टा लाग्यो ।
तत्काल हेलिकोप्टर झिकाएर क्याम्प वानबाटै उनलाई काठमाडौं पठायौँं । पछि फेरी काठमाडौंबाट हेलिकोप्टर चढेर उनी बेसक्याम्प आइन् । र, क्याम्प थ्रीसम्म पुगिन् । त्यहाँभन्दा माथि जान सकिनन् ।
तलमाथि गर्ने क्रममै एकजना इन्डियन पुलिस आरोहीलाई क्याम्प टुमा लेक लागेपछि अक्सिजन लगाएर बेसक्याम्प झार्नुपर्यो ।
मैले भनेँ, ‘तिमी १२/१३ दिन बेसक्याम्प बस्न पाउँछ । बेसक्याम्पमा हिँडडुल गर, तलमाथि गर । पछि अक्सिजन लगाएपछि सगरमाथा चढ्न सकिन्छ ।’
त्यो मान्छेलाई मैले सगरमाथाको शिखरमा पुराएर जिउँदै फर्काउन सकेँ ।
000
म २२ पटक सगरमाथा चढिसकेको मान्छे । अनुभवी मान्छेसँग हिमाल चढ्न लागेकाले विदेशी आरोही ढुक्क देखिन्छन् ।
जति अनुभवी गाईड हुन्छ, उनीहरुमा त्यति धेरै कन्फीडेन्स हुन्छ । सजिलै सगरमाथा चढ्ने विश्वास हुन्छ । विदेशीहरुले खोज्ने नै पुरानो गाइड हो । अनुभवी मान्छेसँग सगरमाथा चढ्न जति पनि खर्च गर्न तयार हुन्छन् ।
तर हाम्रो एउटा रेट हुन्छ । कम्पनीले त्यही रेटमा हिमाल चढाउँछ । कम्पनीले पहिल्यै भनेको हुन्छ, ‘यति मूल्य तिर्ने हो भने यस्तो गाइड पाउँछौं ।’
सायद म महंगो गाईडमै पर्छु ।
कम्पनीले मलाई एक सिजनको २० हजार डलर दिन्छ । यो वर्ष ३० हजार डलर दिएको छ । सेभेन समिट ट्रेक्सले ‘तपाइँजस्तो अनुभवी मान्छेले स्वदेशमै बसेर काम गर्नुपर्छ’ भन्दै मलाइ महंगो मूल्य तिरिरहेको छ । अनुभवी आरोहीलाई स्वदेशमै बस्ने हौसला बढाइरहेको छ ।
यो काम सरकारले गर्नुपर्थ्यो । तर एउटा सानो कम्पनीले मेरो कामको कदर गरिरहेको छ ।
हुन त कम्पनीलाई पनि मार्केटिङ गर्न सजिलो भइरहेको होला । सबैभन्दा बढी सगरमाथा चढेको व्यक्ति गाईड छ भनेपछि विदेशीले पनि विश्वास गर्छन् । तर म जस्ता वल्र्ड रेकर्डधारी धेरै छन् । तर काममा सक्रिय छैनन् । कोही रिटायर्ड भएर बसेका छन्, कोही विदेश पलायन भए ।
सरकारले हेर्दै हेरेन, कम्पनीले पनि गाईड बनाएर राख्न सकेनन् ।
भविष्य नदेखेपछि यो पेशामा शेर्पाको आकर्षण घट्दो छ । नयाँ पुस्ताले सगरमाथा आरोहण गर्नेवाला छैनन् ।
सगरमाथा चढ्ने प्राक्टिस भइसक्यो । प्राक्टिस गराउँदा आरोहीलाई क्याम्प थ्रीसम्म पुर्याउने र बेसक्याम्प झार्ने पनि गरियो । सबै सगरमाथाको चुचुरो चुम्न आतुर छन् ।
यो दिन चुचुरोतिर लाग्ने २६ जना छौं ।
विहानै दुई/तीन बजे शिखरतिर निस्कियौं ।
पहिलो दिन ‘क्याम्प वान’ बस्दैनौं । प्राक्टिस गर्दामात्र ‘क्याम्प वान’ बस्ने हो ।
‘क्याम्प वान’ पुग्दा बिचमा खुम्बु आइसफल भेटिन्छ । यो डर लाग्दो ठाउँ हो । हिउँ सिसाको काँडा झैं धार परेर ठडिएको छ । अझ यो भासिने डर पनि उत्तिकै हुन्छ । खुम्बु आइसफल पार गरेर ‘क्याम्प वान’ हुँदै बास बस्न ‘क्याम्प टु’ पुग्यौं ।
क्याम्प वान ६,०५० मिटर ।
क्याम्प टु ६,५०० मिटर ।
अब हामीलाई ७,२०० मिटरको उचाईमा रहेको ‘क्याम्प थ्री’ पुग्नु छ । राती नै उकालो लाग्यौं । बास बस्न ‘क्याम्प थ्री’ मा पुग्यौं ।
यो आरोहीका लागि आराम गर्ने थलो पनि हो ।
अबको गन्तव्य, ‘क्याम्प फोर’
उचाई ७,९०० मिटर ।
यो अन्तिम शिविर हो । यहाँबाट सिधै सगरमाथा चुचुरोमा पुग्ने हो । हामी सगरमाथाको चुचुरो नजिकै आइपुगेका छौं । अब सगरमाथाको शिखर चुम्न १६/१७ घण्टाजति लाग्छ । टिम सकुशल छ । कसैलाई पनि लेक लागेको छैन ।
सगरमाथा चढ्दा हरेक पलमा जोखिम मोल्नुपर्छ । ठाउँ–ठाउँमा जोखिम छ । कहिले उकालो चढ्नुपर्छ, कहिलो ओरालो पनि झर्नुपर्छ । हिउँको बाटो हिँड्नुपर्छ । कति बेला भर्याङबाट गल्छीहरु तर्नुपर्छ । डरलाग्दा गल्छी हुन्छन् । थोरै गडबढी भए ज्यान जान्छ ।
डोरी चुचुरोसम्म टाँगिएको छ ।
चुचुरो पुग्ने बेलामा मान्छेको जाम हुन्छ । धेरै जना पुगेका हुन्छन्, पाइला सार्ने ठाउँसम्म हुँदैन । तर पनि आफ्नो बाटो हुन्छ, त्यही अनुसार हिँड्नुपर्छ ।
२०१९ मे १५ तारेख ।
बुधबार ७ बजेर ५० मिनेट गइसकेको छ ।
रातभरको कठिन यात्रापश्चात हाम्रो टिमले सगरमाथाको चुचुरो चुम्यो ।
मैले २३ औं पटक सगरमाथा चढेको रेडर्क बन्यो । यसअघिको आफ्नै रेकर्ड तोडियो । बधाईको ओइरो लाग्यो । तर, म रेकर्ड राख्नका लागि सगरमाथा चढेको होइन । मेरो उद्देश्य करोडौं रुपैयाँ खर्चिएर हिमाल चढ्न आउने विदेशीलाई सकुशल चुचुरोसम्म पुर्याउने र तल झार्ने हो ।
यो पटक एक जनाले राम्रो सेवा पायो भने उसले अर्को वर्ष १० जना हिमाल चढ्न पठाउँछ । पेशाले नै मलाई धेरै पटक सगरमाथा चढाएछ ।
खासमा, हामी माउन्टेनको क्याप्टेन हौं ।
हिमाल चढ्दा आफ्नो परिवार पनि विर्सिएका हुन्छौं । आरोहण गर्न आएका विदेशीको जीवनप्रति चिन्तित हुन्छौं । चुचुरोमा पुगेर सकुशल तल नझर्दासम्म हामी ढुक्क हुँदैनौं ।
000
म एउटै सिजनमा दुई चोटी सगरमाथा चढेँ ।
एक हप्ताभित्रै २४ औं पटक सगरमाथा आरोहण गरेर आफ्ने रेकर्ड फेरी पनि तोडेँ ।
पहिलो पटक चुचुरोमा पुगेर झर्दासम्म फेरी चुचुरोमा पुग्नुपर्ला भन्ने सोँचेकै थिएन ।
म लिडर गाइड हुँ ।
मेरो कम्पनीका सगरमाथा चढ्ने चारवटा ग्रुप थिए, चारै ग्रुप मैले हेर्नुपर्थ्य । पहिलो लटमा चिनियाँ आरोहीलाई चुचुरोमा पुर्याएर तल झर्दै थिएँ । फेरी बाटोमा भेटिएको इन्डियन पुलिसको टिमले मलाई रिक्वेस्ट गर्यो, तिमीले नै हामीलाई चुचुरोमा पुर्याउनु पर्छ ।
अनिमात्र दोस्रो पटक चढ्ने निर्णय गरेको हुँ ।
यदि चारवटै ग्रुपले तिमी जानुपर्छ भनेको भए पनि म जानै पथ्र्यो । यो हाम्रो जिम्मेवारी हो । बल्लतल्ल तल झरेका थियौं । मलाई फेरी माथि चढ्नुपर्ने भयो ।
तर मैले अल्छि मानिन ।
यो त मेरो काम हो ।
मैले जिम्मेवारी पुरा गर्नुपर्छ ।
२०१९ मे १९ ।
इन्डियन टोली माथि उक्लिसकेको थियो । म चिनियाँलाई बेसक्याम्प झारेर फेरी सगरमाथाको चुचुरोतिर लागेँ । इन्डियन टोली बाटोमा जाँदै थियो, अरु गाइडसँग ।
म बेसक्याम्प झर्दा उनीहरु क्याम्प टु मा थिए । उनीहरु क्याम्प थ्रि मा जाँदा, म क्याम्प टु मा पुगेँ । अनि क्याम्प थ्रीबाट पिकअप गरेर उनीहरुलाई क्याम्प फोर पुर्याएँ ।
०१९ मे २१ ।
जेठ ७ गते, मंगलबार ।
रातभरको यात्रापछि विहान ६ बजेर ३८ मिनेटमा चुचुरो पुग्यौं । र, बेसक्याम्प झर्यौं ।
मेरो २४ पटक सगरमाथा चढ्ने रेकर्ड बन्यो । एकै सिजनमा दुई चोटी चुचुरो पुगेँ ।
आरोही चुचुरोमा पुग्दा खुब खुशी हुन्छन् । उनीहरुको खुशी देख्दा हाम्रो उत्साह झन बढ्छ । चुचुरोमा फोटो खिच्छन् । चिच्याउँछन् ।
मैले सगरमाथा चढ्न थालेको सन् १९९४ देखि हो । अहिलेसम्म सयौं मान्छे सगरमाथाको चुचुरोमा पुर्याएँ । कुनै बेला २०/२५ जान हुन्थे, कहिले ५/६ जना पनि ।
000
हामीलाई सरकारले हेर्ने नजर राम्रो छैन । सरकारले अनगुमनका लागि एउटा अफिसर पठाउँछ । त्यो अफिसरले बेसक्याम्प आएर राम्रो व्यवहार गर्दैन । उ सबैभन्दा अगाडि पुगेर सबैभन्दा पछाडि फर्किनु पर्ने हो । सरकार र आरोहीबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हो । तर गर्दैन ।
काठमाडौंबाट फोन गरेकै भरमा हिमाल आरोहणको समन्वय कसरी हुन्छ ? सही ढंगले अनुगमन कसरी हुन्छ ?
हामी शेर्पालाई समन्वय गर्ने अफिसरको जिम्मेवारी दिँदैनन् । एसएलसीको सर्टिफिकेट चाहिने रे ! अनि सरकारी अफिसरले चाहीँ हिमाल नै चढ्न नपर्ने रे ! एकपटक पनि हिमाल नचढेको व्यक्तिले के बुझ्छ ? के अनुगमन गर्छ ?
अनि
हामीलाई कसरी राम्रो व्यवहार गर्छ ?
उसलाई हिमाल चढ्दाको दुःख र पिडा नै थाहा हुँदैन ।
हिमालमा कस्ता गतिविधि भइरहेका छन् ? आरोहीले परमिट ल्याएको छ कि छैन ? त्यहाँको गतिविधि बुझ्न काठमाडौं बसेर फोनको भरमा कुरा गरेर हुन्छ । उनीहरु सरकारी भत्ता पनि खान्छन्, कम्पनीबाट पनि पैसा खान्छन् । तर काम सही ढंगले गर्दैनन् ।
एक पटक इन्डियन जोडीले हिमाल नचढी फोटोसपबाट फोटो मिलाएर हिमाल चढेको दाबी गरे । त्यो अफिसरले बुझ्दै नबुझी फाइल सदर गर्यो ।
विदेशमा नेपाललाई सगरमाथा र शेर्पाको देश भनेर चिनिन्छ । विदेशमा देशलाई चिनाउने व्यक्तिको कुनै कदर छैन । अब शेर्पाको नयाँ पुस्ता आरोहणमा आउनेवाला छैनन् । राज्यले शेर्पालाई प्रोत्साहन गर्न सकेन । म मेरो छोरा र छोरीलाई आरोहणमा पठाउनेवाला छैन ।
आफुले दुख पायौं, भविष्य देखेनौं । भविष्य नदेखेको पेशमा छोराछोरीलाई किन लगाउने ? पढाएरु अरु जागिर वा व्यापारमा लगाउँछौं ।
अहिले आरोहण गर्ने शेर्पा धेरै घटिसकेका छन् । पुराना कति रिटायर्ड भए, कति बाहिरिए ।
नयाँ पुस्ता आइदिएनन् ।
पहिला हामी सिजन आउने बेला तीन महिना अगाडि नै जागिर देउ भन्दै कम्पनीको मालिकको खुट्टा ढोग्न जानु पर्थ्यो । अहिले कम्पनीको मालिक शेर्पाको खुट्टा ढोग्न आउँछन् ।
सगरमाथामा १०/१२ चोटी चढेका शेर्पालाई भत्ता दिएर हुन्छ कि, अफिसर बनाएर हुन्छ कि अडाएर राख्नुपथ्र्यो । नत्र आरोहण टुरिजम नै लोप हुन सक्छ ।
एउटा खेलाडीलाई आर्मी, पुलिसमा जागिर दिइन्छ । खै सगरमाथामा हिउँसँग लड्ने सैनिकलाई सरकारी जागिर ? हामी पनि एउटा सैनिक होइनौ ं र ?
सरकार चलाउने महोदयहरुलाई चुनौती दिन्छु, ‘आउनोस्, हिमाल चढ्नोस्, कति दुख हुने रहेछ । अनि केही थाहा पाउनुहुन्छ कि ।
000
पहिला र अहिले सगरमाथा चढ्ने प्रविधिमा धेरै चेञ्ज आइसकेको छ । पहिला निकै कठिन हुन्थ्यो । अहिले धेरै सजिलो हुन्छ । टेक्नोलोजी राम्रो र हलुका बनेको छ । अहिले डोरी पनि राम्रो क्वालिटको टाँगिएको हुन्छ ।
पहिला एउटा बुट नै १०किलोको हुन्थ्यो । अहिले १ किलोको पनि हुँदैन । अरु लुगा कपडा लगायतको पनि तौल कम हुन्छ । तौल कम भएपछि हिमाल चढ्न सजिलो हुन्छ ।
म २४ पटक सगरमाथा चढेँ । तर मृत्यूको नजिक पुगेर बाँचेको अनुभव गर्नुपरेको छैन । कुनै जोखिम आइपरेको छैन । सायद भगवानको कृपाले पनि होला । भगवानले तिमी शेर्पाहरु हिमाल चढेर गरिखाउ भनेर भन्नुभएको छ ।
अर्को वर्ष, अर्थात् २०२० साल
म २५ पटक सगरमाथा चढेको हुनेछु ।
र, उमेर ५० वर्ष पुगेको हुनेछ ।
यही अवसरमा सगरमाथाबाट रिटायर्ड हुन्छु । तर कामचाहीँ निरन्तर गर्छु । बेसक्याम्पमा लिडिङ गर्न सक्छु । वा, ट्रेकिङ गराउन सक्छु । अरु पिकहरु चढाउन पनि सक्छु ।
रिटायर्ड हुन्न, तर सगरमाथा चढ्दिन । म आफै पनि ग्रुप बटुलेर आरोहण गराउन सक्छु ।
र, एउटा किताव लेख्छु ।
झोमोलोङ्माको छोरो कामिरिता शेर्पा ।
