घुमफिर
वाह ! मेघौली

श्री स्वस्थानी कथामा महादेवले सतीदेवीलाई बिबाह गरेर खरले छाएको झुपडीमा लैजान्छन् । र, आफु टन्न भाङ/धतुरो खाएर सुत्छन् ।
खरको झुपडी महादेवले रचना गरेको घर हुन्छ । उनको बास्तविक घर हुँदैन । तर सतीदेवीले बास्तविक घर सम्झिन्छिन् । र, भव्य माइतीघर सम्झिँदै माकुरोको जालो लागेको श्रीमानको घर सफाई गर्छिन् ।
महादेव लामो निन्द्राबाट ब्युँझिन्छन् । सतीदेवी उनको छेवैमा पल्टिएकी हुन्छिन् । महादेवले खरको भुपडी लात्तले हानेर भत्काउँछन् । र, सतीदेवीलाई सुन्दर कैलाश पर्वतको दर्शन गराउँछन् ।
महादेव भन्छन्, प्यारी हाम्रो घर ।
खरको झुपडी देखेर विरक्तिएकी सतीदेवी कैलाश पर्वत देखेपछि खुशीले गदगद हुन्छिन् ।
चितवनको मेघौली सेराई रिसोर्ट पुग्दा हामीलाई त्यस्तै अनुभव भयो ।
मित्सुबिसी पजेरो हाँकेर श्रीमति मंगलासँग मेघौली गएको थिएँ । नारायणगढदेखि मेघौलीसम्म बाटो त्यति राम्रो थिएन ।
‘एडभेञ्चर ड्राइभिङ’ गरेर मेघौली सेराई पुगियो ।

योगेश्वर अमात्य, सिंगर/ट्राभलर
मलाई प्रवेश गर्ने वित्तिकै जंगल छिरे झैं लाग्यो । रिसोर्टमा अग्लो घाँस रोपिएको रहेछ । अगाडि खरका भिल्लाहरु देखिन्थे । बाटोमा गिट्टी बिच्छाइएको थियो ।
मेरो गाडी अगाडि बढ्यो ।
हामी रिसोर्टको मुख्य भवनमा पुग्दा ताजका कर्मचारीले लक्सरै बसेर हात हल्लाउँदै स्वागत गरिरहेका थिए । भव्य स्वागत पायौं ।
हामी रिसोर्टभित्र प्रवेश गर्न खोज्यौं । तर, रिसोर्टको प्रवेशद्धार बन्द गरिएको थियो । कर्मचारीले रिसोर्टको ढोका खोल्दिए, र हामीलाई भित्र जान आग्रह गरे ।
ढोका खुल्ने वित्तिकै रिसोर्टको चित्ताकर्षक लवी, निलो विशाल स्वीमिङ पुल, राप्ती नदी र निकुञ्जको हरियाली जंगल एकसाथ देखियो । त्यो दृश्य अमेजिङ थियो, अहिले शब्दमा वर्णन गर्न सक्दिन ।
महादेवले खरको भुपडी भत्काएर कैलाश पर्वतको दर्शन गराउँदासायद सतीदेवीले पनि हामीले झैं महशुस गरिन होला ।
वाओ ! ‘अमेजिङ’
मेघौली सेराई गज्जबको रिसोर्ट रहेछ । रिसोर्टका भिल्लाकै उचाई बराबरको जंगल ।
‘अ रियल सफारी रिसोर्ट !’

चितवनको मेघौली सेराई ताज सफारी लजबाट देखिएको दृश्यहरु ।
म अफ्रिकन सफारी रिसोर्ट त पुगेको छैन । सायद अफ्रिकन सफारी रिसोर्ट सरहकै बनेको छ, ताज मेघौली सेराई ।
भारतीय बहुराष्ट्रिय ब्रान्ड ताजको व्यवस्थापन । एशियाकै उत्कृष्ट होटल व्यवस्थापक कम्पनी ।
ताजको सेवा अलि महंगो हुन्छ । आतिथ्य पनि राम्रो हुन्छ ।
हामीलाई कर्मचारीले ताजकै ‘रेप्यूटेड’ आतिथ्य सत्कार गरे । म गायक योगेश्वर भएर पनि होइन, नेपाली भनेर पनि होइन । ताजको आतिथ्य सबै पाहुनालाई एउटै हुन्छ ।
ताजको सेफहरु सिपालु हुन्छन् । खाने कुरामा पनि कुनै गुनासो रहेन ।
हामी दुबै जनाले सोँचेजस्तो सेवा पायौं । दुई दिनको बसाई राम्रोसँग बित्यो ।
हामी प्रेसिडेन्सियल स्वीटमा बसेका थियौं । एक रातकै एक लाख रुपैयाँभन्दा बढी रेट थियो । दुई दिनको बसाइलाई तीन लाखभन्दा बढी रुपैयाँ तिरेँ ।
अतिथि देवः भवः
मलाई देवताजत्ति मान्नु पर्दैन । पाहुना जति मान्दिए पुग्छ । त्यो ताज सफारीका कर्मचारीले गरेका छन् ।
ताजको सेवा कसैसँग तुलना गर्न मिल्दैन । ताजको जुन सर्भिस छ नि, त्यो विश्वको एउटै होटलले मात्र दिन सक्छ । त्यो हो, दुबईको होटल ‘ब्रुज अल अरब’ ।
मैले मेघौली सेराईमा तिरेको पैसा असुल भयो ।
म मेघौली सेराई खुलेको २०/२५ दिनमै पुगेको थिएँ । रिसोर्टको प्रेसिडेन्सियल स्वीटमा बस्ने पहिलो पाहुना भन्दै थिए, कर्मचारी ।
पछि, होटल अन्नपूर्णका कपिल राणा र सिर्जना राणा पनि प्रेसिडेन्सियल स्वीट रुपमा बस्नु भयो भन्ने सुनेँ ।
०००
बुवा पनि सौखिन ।
सानै उमेरदेखि बुवासँग इन्डिया जाँदा ताज होटलमा बस्थ्यौं ।
मुम्बईमा ताज प्यालेस छ । त्यहाँ जाँदा त्यहीँ बस्छु।
हाम्रो देशमा पनि ताज भित्रियो भन्दा धेरै खुशी लाग्यो । ताज होटलमा गएर बस्ने रहर लाग्यो । पछिल्लो समय धेरै नेपाली आन्तरिक पर्यटक बनेर घुम्छन् । म पनि आन्तरिक पर्यटक बनेर मेघौली जान कस्सिएँ ।
ताजको मेघौली रिसोर्टमा कोठा अनलाईन बुकिङ गर्न खोजेँ । इन्डियाको ताज होटलमा बस्दा नेपाली क्रेडिट कार्ड चल्छ ।
क्रेडिट कार्डमा बकैदा लेखेको हुन्छ, भ्यालिड फर नेपाल एन्ड इन्डिया अन्ली ।
तर, ताज मेघौलीमा कोठा अनलाइन बुकिङ गर्न खोजेको सकिन । सायद ताजले नेपालीलाइ रिसोर्ट बुकिङ गर्ने सुविधा नै दिइएको रहेन्छ ।
एक हिसावले रिस पनि उठ्यो, नेपालीलाई के ठानेको ताज ग्रुप र चौधरी ग्रुपले ।
नेपालीलाई बुकिङ सुविधा किन नदिइएको ? मनमनै प्रश्न उब्जियो ।
मैले ताजको सबैभन्दा महंगो कोठामा बस्ने अठोट गरेँ ।
कसरत गरेर मेघौली सेराईको प्रेसिडेन्सियल स्वीट बुक गरेँ र दुई रात बसेर फर्किएँ ।
प्रेसिडेन्सियल स्वीटको एक रातकै दुई लाखभन्दा बढी ‘रेट’ थियो ।
मैले ताज ग्रुपको अगाडि नेपालीको इज्यत राख्न सबै नेपालीको प्रतिनिधित्व गर्दै सबैभन्दा महंगो प्रेसिडेन्सियल स्वीटमा बसेँ
कसैलाई डान्स रेष्टुरेन्ट जाँदा सन्तुष्टी मिल्ला, कसैलाई ट्रेकिङ जाँदा मिल्ला । कसैलाई जुवातास खेल्दा मिल्न सक्छ, कसैलाई पुजा पाठ गर्दा सन्तुष्टी मिल्न सक्छ ।
मलाई होटल तथा रेष्टुरेन्टमा गएर राम्रो सर्भिस पाउँदा सन्तुष्टी मिल्छ । मेरो ब्याट्री रिचार्ज हुन्छ । र, मलाई रिल्याक्स हुन्छ ।
बुवाको पनि यही स्वभाव थियो । मलाई सरेको होला । बुवाको सम्झना पनि आइरहन्छ ।
म भन्छु, ताजले पनि बुझ्नुपर्छ । नेपाली पनि ताजको पाहुना हुन सक्छन् । ताजको महंगो सेवा लिन सक्छन् । अहिलेसम्म उनीहरु विदेशीलाई मात्र ‘केटर’ गर्न खोजेका होलान ।
नेपालमा मोटो रकम खर्च गर्ने धेरै छन् । बार तथा रेष्टुरेन्टमा लाखौं खर्च गर्छन ।
मैले ताजको जुनियर स्वीट पनि लिन सक्थेँ हुला । तर, नेपालीले अनलाइन बुकिङ गर्न नपाएकै कारण प्रेसिडेन्सियल स्वीट लिएको हुँ ।
०००
मेघौली सेराई विद्यालयजस्तो लाग्यो । विद्यालयकै झैं आफ्नै रुटीन रहेछ ।
यति बजे यहाँ जाने, यति बजे यो गर्ने, यति बेला खाने भनेर ।
हामी उनीहरुले जता लगे, त्यतै गयौं ।
मैले पहिल्यै मेरो प्रिय पेय पदार्थ १८ वर्ष पुरानो ‘ग्लेनफडीख’ मगाएको थिएँ । त्यहाँ पुग्दा १८ वर्षको ह्वीस्की आइपुग्यो ।
मंगलालाई स्याम्पेन ।
पानी परिरहेको थियो । मलाई पानीमा रुझ्न मन पर्ने, गज्जबै भयो ।
राप्ती नदिको किनारमा बसेर खायौं, पियौं, रमायौं ।
होटलका स्टाफले हात्ती सफारी लगे । जीप सफारी पनि गयौं । डुंगामा राप्ती नदि सयर पनि गर्यौं ।
आफ्नै मुलुकमा ‘अमेजिङ एक्सपेरियन्स’ !
रिसोर्टमा एउटा बिल्डिङ बनाइएको रहेछ । त्यो चाहीँ चित्त बुझेन ।
जंगलमा ठूलो कंक्रिटको स्ट्रक्चर सोभायमान देखिएन ।
तर भिल्लाहरु गज्जब छन् । भिल्लाले जंगलाई अंगालो मारेर बसेको जस्तो लाग्यो । प्रेसिडेन्सियल स्वीटको त कुरै छाडौं । रिसोर्टले लिने मूल्य अनुसारकै भिल्ला बनेको छ ।
हामी फर्किने बेलामा कर्मचारीले गरेको विदाई पनि सम्झन लायक थियो । समय मिलेमा अवश्य पनि फेरी मेघौली ताज पुगिन्छ ।
०००
मलाई भन्न पनि लाज लाग्छ, म नेपालभन्दा बढी विदेश घुमेको छु ।
के मलाई सचेत नागरिक भन्न मिल्छ ?
मलाई हिमाली र पहाडी भेगतिर घुम्न रहर छ ।
मलाई चितवन एकदमै मन पर्छ । त्यो मेरो देश हो । पोखरा र हेटौंडा पनि मन पर्छ । म अक्सर गइरहने ठाउँ हुन् ।
म जमनामा सिकार खेल्न पनि निस्किन्थेँ ।
म सँग अमेरिकन जीप थियो । जीप मोडिफाईड गरेर ओपन गरेको थिएँ । जीपमै बसेर बन्दुक हान्न मिल्थ्यो ।
त्यही जीप हाँकेर हामी सिकार खेल्न तराई झथ्र्यौं ।
चन्द्रनिगाहापुर र निजगढको बिचको जंगलमा ब्लक किन्न पाइन्थ्यो । त्यहीँ ब्लक किनेर सिकार खेल्थ्यौं ।
हाम्रो ठूलो ग्रुप हुन्थ्यो ।
ग्रुपमा मेरो काम गितार हान्ने र गित गाउने हुन्थ्यो । बन्दुक हान्ने त दाईहरु उत्तमजंग थापा, प्रदीप बिक्रम राणा लगायत हुनुहुन्थ्यो ।
म राती क्याम्प फायरमा गितार बजाउने र गीत गाउने गर्थें ।
कालिज सिकार गर्न इन्द्रावती, सुकुटे बिचसम्म पुग्थ्यौं । काभ्रेका धेरै ठाउँ सिकार खेल्दै पुगेको छु । तराई पनि सिकार खेल्न गइन्थ्यो ।
तौडहमा हाँस पाइन्थ्यो, दक्षिणकाली जाने बाटोमा कालिज हान्न पाइन्थ्यो । ओम बिक्रम विष्ट दाईसँग धुलिखेल पछाडि कालिज हान्न गइयो ।
मैले दार्जिलिङको नर्थ प्वइन्ट स्कुलमा पढेँ ।
त्यहाँबाट फादरहरुले कहिले ट्रेकिङ लैजाने, कहिले हाइकिङ लैजाने गर्थे । मलाई बच्चैदेखि हिँड्नु भनेपछि ‘पनिश्मेन्ट’ नै लाग्थ्यो ।
म आठ/दश वर्षको उमेरदेखि नै हिँड्न थालेको हुँ । मैले सुरुमा ललितपुरको गोदावरी पढेँ । हामी जहिल्यै फुलचोकी गइन्थ्यो ।
त्यहाँ मान्छे हराउँछ भन्छन्, कसरी हराउँछन ?
मलाई अचम्म लाग्छ, हामी बच्चा हुँदा हराउँदैनथ्यौं । हामी स्कुलबाटै फुलचोकी गइरहन्थ्यौं ।
मलाई हिँड्न गाह्रो लाग्छ । हाम्रा ऋिषमुनि झैं स्वाट्ट अन्र्तध्यान भएर जान पाउने भए पहाड र हिमाली भेगमा गइरहन्थेँ हुँला ।
मलाई हिमाल पनि मन पर्छ, पहाड र तराई पनि ।
टाढाबाट हिमाल हेरेर घन्टौं विताइदिन्छु ।
मैले ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत राजु लामालाई गाउन दिएको छु । यो गीत हाम्रो टिमले रचना गरेको थियो ।
निकै चर्चा कमायो पनि ।
पोखरा जाँदा कहिलेकाहीँ आकाश खुलेको हुन्छ । र, आँखै अगाडि लस्करै हिमाल देखिन्छन् । मेरो जिउ सिरिङ्ग गर्छ । करेन्ट लाग्छ ।
‘हिमालमा हिउँ कस्ले जमायो, बल्ल मेरो हृदय रमायो ।’
म पहिलो पटक पोखरामा आँखै अगाडि हिमाल हेर्दा ‘शक’ भएको थिएँ । मलाई हिमालले झड्का दिएर पछाडि धकेलेको महशुस भयो ।
नेपालको हरेक ठाउँ जाँदा स्वर्गको झल्को आउँछ ।
०००
म बिदेशमा अझै जंगल सफारी गएको छैन ।
मलाई अफ्रिकाको जंगलमा सफारी जान मन छ । तर जान पाइरहेको छैन । अफ्रिकन सफारी विश्वमै उत्कृष्ट भनिन्छ ।
तर, अफ्रिका सफारीमा जाने कि नजाने ? दोधारमा पनि हुन्छु ।
पहिला बेलायतका सम्राटहरु नेपालमा सिकार खेल्न आउँथे । तराईको जंगल बेलायती राजपरिवारका सदस्यको अखडा थियो ।
ब्रिटिसको अफ्रिकाको ठूलो भू–भाग कब्जामा थियो । उनीहरुले चाहेको खन्डमा अफ्रिका गएर सिंहको सिकार खेल्न सक्थे ।
इन्डिया, बंगलादेश, पाकिस्तान सबै उनीहरुको थियो । इन्डियामा सिकार खेल्न जान सक्थे ।
तर, उनीहरु किन हाम्रो देशमै सिकार खेल्न आए त ? धेरै पछिसम्म शिकार खेल्न, नेपालको जंगलमा सयर गर्न ब्रिटिस स्रमाटहरु नेपाल आउँथे ।
नेपालको भूमि नै स्वर्ग हो । यहाँको मौसम विश्वकै उत्कृष्ट छ ।

Dipak
February 20, 2019 at 1:51 pm
Raamroo
मनोज नेवा: खड्गी
March 5, 2019 at 8:59 am
मन पर्यो । एक पटक पुग्छु म पनि ।
Dr. Gopal paudyal
November 5, 2019 at 4:21 am
Very nice article and dashing personality
shyam krishna sangat
November 5, 2019 at 9:27 pm
दाई अव नेपालमा धेरै समय खर्च गर्नु पर्छ । तपाईकाे लेख मन् पर्याे